संसद अगाडिको आत्मदाह आत्महत्या होइन, त्यो त हत्या हो

अब त ब्युँझ

गोविन्द मैनाली

नयाँ बानेश्वरमा भएको आत्मदाह आत्महत्या होइन त्यो हत्या नै हो । हाम्रो समाज, राज्य मिलेर गरेको हत्या । उनमा केही समस्या होला, चाहे त्यो मनोसामाजिक नै किन नहोस् तर अधिकांश साना र मझौला उद्यमी, त्यसमा पनि कृषि उद्यमीले भोग्नु परेको विकराल अवस्था र राज्य गुमनाम मात्र हैन, बिचौलिया, माफिया र दलाल रहेको प्रमाण हो यो ।

राज्यको अवस्था यस्तै र अझ नाजुक हुँदै जाने हो, सरकार देशैभर साम्राज्य गरिरहेका डिर्पाटमेन्टल मार्ट सञ्जाल, बिचौलिया, माफियाले चलाउने हो, चन्दाले सांसद र मन्त्री पद खरिद बिक्रि हुँदै जाने हो , बैंक र पुँजी कथित एकाध व्यापारिक सम्प्रदायको हातमा सुम्पने हो, थिति नबसाउने हो भने यस्ता घटना अब सामुहिक रुपमा आउन सक्छन् ।

नेतृत्व ज्यानमारा हुँदै गएको छ । राज्यशक्ति जनहत्यारा सावित हुँदैछ । महंगी, भ्रष्टाचार, अनियमितता, स्रोत साधनको दोहनका कारण सर्वसाधारण बाँचेर पनि मरेतुल्य छन् । मौकामा लुट ,लुट फेरि पनि लुट भन्दा अर्को दर्शन नै छैन । एकाधबाहेक जो जहाँ छन्, त्यहीँबाट लुटको धन्दा सुरु हुन्छ ।

आम नेपाली नै मनोसामाजिक रोगबाट ग्रस्त छौँ । कसलाई कतिखेर आत्महत्या गर्ने परिस्थिति बन्छ ठेगान छैन । संस्कृति र परिस्थिति यस्तो विकास बनाइयो कि केही गर्न खोज्ने मर्नुपर्ने, केही नगर्ने चौकेहरु चकाचौँध हुने । अहिलेको उपभोक्तावादी संस्कृतिका कारण मान्छेले सुख सम्पत्तिमा मात्र देख्न थाल्यो । महत्वाकांक्षा अति पाल्यो । सीमितता र कर्म बिर्सियो । शिक्षा ठेट्नो बन्यो नफेरि नहुने भैसक्यो । घोक्ने भन्दा गरी खाने सीप सिकाउनु पर्यो ।

काम नभएको हैन, गर्न गराउन नचाहेको हो । ससाना सीपका कामले भरतीयहरु नेपालमै लाखौँ कमाउँछन् । राज्यले त्यतातिर ध्यान दिने हो भने लाखौँ नेपालीले देशमै कमाउँछन् । ती काम हामीले गर्नु हुँदैन बरु विदेशमा चर्पी सोर्नु हुन्छ भने शिक्षा समाजले सिकायो ।

यही आत्मदाहको घटनाले अनेक विषय र समस्या उजागर गरेको छ तर निरो बाँशुरीको धुनमा मग्न छ । नेतृत्व लम्पट हुनमात्र खोज्छ । आशक्तिमा यिनलाई सिद्धार्थको त्याग कसले पढाउने ? विवेक कसले सिकाउने ? हृदयमा बत्ती नबलेपछि जति भोल्टको चिम बाले पनि भित्र निस्पट्टै हो ।

भित्री आँखा नखुलेसम्म, कानले नसुनेसम्म विवेक र करुणाको बत्ती नबलेसम्म गफले जति आकाश पाताल जोडे पनि केही हुन्न ।

अब त ब्युँझ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button