
नयाँ बर्षको मध्यरात बीच सडकमा जे पनि हुनसक्छ !

रितु शाक्य
मध्यरात्रीको ठिक १२ बजे । चर्को स्वरमा एकैचोटी आवाज घन्किन्छ, ‘ह्याप्पी न्यु यर !’ पटाका पड्काएको पनि आवाज आउँछ ।
कस्तो मिठो निद्रा लागिरहेको थियो, झसङ्ग भएँ । उठेर झ्याल खोली बाहिर हेरें । बाटो पुरै तिहार झैं झिलिमिली पारिएको थियो । बाटोभरी मानिसहरु घुमिरहेका थिए । बाटोको दायाँ–बायाँ अनेक खानाका स्टल राखिएका थिए, जहाँ मानिसहरु रमाउँदै खाँदै रमाइलो गर्दै थिए । हरेक रेस्टुरेन्ट, होटेल, लजहरुमा डिस्को चल्दै थियो । धेरैजसो मद्यपान, धुम्रपानमा ब्यस्त देखिन्थे ।
एक छिनपछि एउटा नरमाइलो घटना भयो । एउटी तरुनी टिल्ल रक्सी पिएर बाटोको बीचमा ढलमल हुँदै रोइरहेकी थिई । साथमा एउटा युवा पनि ढलमल गर्दै जागिरहेको थियो । दुवै एक अर्कामा झगडा गर्दै थिए । हुँदा हुँदा त हाताहात नै भयो । सबले छुटाउन खोजे, झन् ठुलो संग्राम नै भयो । दुवै घाइते भए । दुवैलाई पुलिस आएर पक्डेर लगे ।
म झ्याल थुनेर पलंगमा पल्टिएँ । आँखा ढोका जस्तै खुल्लै भयो, निन्द्रा त भागिहाल्यो । नयाँ साल मनाउन आएकाहरुको ताल त्यस्तो छ । पहिलो दिन जेलमा, अर्को दिन के हुन्छ होला, म सोच्दै थिएँ । मानिसहरु नयाँ साल मनाउन खुब मरिहत्ते गर्छन् तर नयाँ सालको महत्व बुझेका भने खासै हुँदैनन् । मातिने गरी रक्सी पियो, चुरोट–हुक्का अनि के के जाति पियो, माछा मासु अनि के के परिकारमा रमायो, घुम्यो, रमाइलो गर्यो, त्यो मात्र त तरिका होइन नि नयाँ साल मनाउने ।
मलाई त कस्तो नरमाइलो लाग्छ यस्तो सब देख्दा । आजभोलिका युवापुस्ता कुन बाटोमा लागिरहेका छन् ? के चीजको कमी भएछ ? न शिक्षाको न अभिभावकको निगरानीको ? म त बुझ्नै सक्दिनँ । रात–रातभर होटेलहरुमा युवा युवतीहरुको भिड हुन्छ । विभिन्न नशाजन्य पेय पदार्थ पिएर रातभर सडकमा हल्ला गर्छन् । बेहोशीमा शरीरका कपडाको पनि ख्याल हुँदैन । मात्तिएर बाटोमै लडिरहेका हुन्छन् । यो सबको दोषी को हो ? अनि यस्तोमा बलात्कार, हत्या–हिंसा जस्तो जघन्य अपराध नहुने कसरी ? यसमा युवायुवतीको चेतनाको कमी त छँदैछ, अभिभावकको पनि लापरवाही अनि सरकार पक्षको पनि नीति नियमको कमी भएको हो कि जस्तो लाग्छ । सामाजिक रुपबाट पनि यो सब असभ्य लाग्छ । हामीले पैसा कमाउने व्यस्तताको धुनमा आफ्ना बच्चाबच्चीहरुलाई संस्कार दिन त चुकेनौं ? यसतर्फ हामी सबको ध्यान जानु जरुरी देखिन्छ । सरकारले पनि रात्रीको समयमा यसरी खुल्ला रुपमा मदिराको व्यापारलाई रोकथाम गर्नु पर्ने हो ।
आज यो अवस्था छ, यसको गहन चिन्तन भएन भने त झन् झन् यो समस्याले बिकराल रुप लिन सक्छ । देशलाई विकसित बनाउने यी युवापुस्ता यसरी बिग्रिन थाले भने भोलिको हाम्रो देशको अवस्था के हुने हो ? चिन्ता पो लाग्छ ।
आजभोलि हुनत जीवन विज्ञान जस्ता अध्यात्मिक र बैज्ञानिक विभिन्न आश्रमहरु पनि खुलेका छन् जहाँ घरमा संस्कारहिन भएका युवालाई सहि बाटो देखाउने, जीवनको मूल लक्ष्य चिनाउने, उनीहरुभित्र दविएका विविध सकारात्मक कुशल सम्भावनाहरु प्रस्फुटन गर्ने काम हुन्छ । सबैमा अध्यात्मको बारेमा जनचेतना जगाउन सके यस्ता विकृतिहरुको अन्त्य हुन सक्थ्यो । मानिसहरु फजुल खर्च जति पनि गर्न गाह्रो मान्दैनन् तर आफुलाई जिन्दगीभर सत्मार्गमा लाने र सद्बुद्दि दिने अनि सम्वृद्धिमा डोहोर्याउने ज्ञान लिनेतर्फ खर्चिनलाई लोभ गर्छन् ।
दैनिक योग, ध्यानजस्ता पूर्ण योगका निशुल्क कक्षाहरु तथा शिविरहरु कति छन् तर त्यसतर्फ धेरैको ध्यान गएको देखिदैन । खाली मोजमस्तीमा बानी लागेकाहरुलाई जीवन रुपान्तरण गर्ने यस्ता विधामा ध्यान खिच्न चुनौती नै छ । तैपनि कोसिस हामीले जारी राख्नै पर्छ ।
नयाँ सालको आगमनले सबको मन मस्तिस्कमा चेतना बढोस्, विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर सबलाई प्राप्त होस् । आधुनिकतामा भन्दा अध्यात्ममा सबको चाख बढोस् । जिन्दगीमा दिनयोग्य ध्यान, दान, लिन योग्य ज्ञान, धारण योग्य आत्मसन्तोष, त्याग्न योग्य अहंकार, गर्न योग्य करुणा र सेवा, अपनाउन योग्य सत्यता, पढ्न योग्य ग्रन्थ आदि सत्य कुराहरु ग्रहण गर्ने क्षमता सबलाई प्राप्त होस् ।
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद् दुःख भाग्भवेत् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
राम्रो सोच रितुज्यु
नयाँ बर्श मदिरा सेवन गरेर होइन योग ध्यान गरेर मनाउनु पर्छ।काश यो कुरा धेरै भन्दा धेरैले बुझे कति राम्रो हुनेथियो ।
???
राम्रो सोच रितुज्यु
नयाँ बर्श मदिरा सेवन गरेर होइन योग ध्यान गरेर मनाउनु पर्छ।काश यो कुरा धेरै भन्दा धेरैले बुझे कति राम्रो हुनेथियो ।