‘राम्रो म प्रवृत्ति’लगायत समकालीन राजनीतिबारे १ पर्यटनकर्मीका ४ कुरा
नरध्वज तामाङ (क्षितिज)
पेशाले एक पर्यटन ब्यवसायी हुँ । तैपनि एक सचेत नागरिकको हैसियतले कुनै न कुनै राजनितिक गतिविधिमा संलग्न हुनु कुनै नौलो कुरा भएन । म पनि कतै न कतै संलग्न छु । यसलाई अन्यथा लिने कुरै भएन । यसले मलाई एक हिसाबले फाईदा पनि गरेको छ । कम्तीमा यहाँभित्रको सुक्ष्म कुराहरु मज्जाले बुझ्ने मौका त पाएको छ ! भलै यसले केही राम्रा कुराको बाबजुद धेरै नराम्रा कुराहरुको साक्षी हुनुपरेको नै किन नहोस् ! तर पछिल्ला केही समयदेखि हाम्रो समग्र राजनीतिमा देखापरेका यावत गतिविधिहरुको प्रत्यक्ष अप्रत्यक्ष साक्षी थोरबहुत आफैं पनि हुनुपर्दा चैं मनमा धेरै कुराहरु खेलिरहेको थियो । तत्काल लागेका धेरै कुराहरु भन्नका लागि म आफू उभिएको धरातलले पनि मिल्ला नमिल्ला त्यो आफ्नो ठाउँमा छ । तैपनि आफुलाई लागेका थोरै कुराहरु बुँदागतरुपमा मिलाएर लेख्ने जमर्को भने गरेको छु ।
१. राम्रो म प्रवृत्ति: राजनीतिकर्मी धेरैलाई लाग्दो हो, समग्र राजनीति मेरै वरिपरि घुमिराछ । अझ देशै मेरै वरिपरि घुमिराछ भन्ने लाग्दो हो । तर वास्तविकतामा कहिँ पनि यस्तो हुन्न । यो खासमा भ्रमभित्रको पनि महाभ्रम मात्र हो ।
कुनैबेला स्कुल पढ्दा मलाई नि त्यस्तै लाग्थ्यो- म गएल हुँदा स्कुल नैं चल्दैन… तर चिज त त्यो होइन रैछ नि ! स्कुल त कोहि आए नि नआए नि चल्नेरैछ । पछि उच्चशिक्षाको क्रममा विश्वबिद्यालयमा जाँदा मेरो मुस्किलले १०% जतिमात्र हाजिर पुग्थ्यो । त्यो बेला नि कक्षा त चल्थ्यो । यसरी नै चलिरह्यो । त्यसैले यहाँ कोहिबिना केही कुरा रोक्दैन । कोहि नहुँदा आकाश खस्दैन- धर्ती फाट्दैन ।
२. योगदानको कुरा: राजनीतिमा अर्को महत्त्वपूर्ण कुराको धेरै चर्चा हुने गर्छ – योगदान । योगदानको सम्मान गर्नु आफ्नो ठाउँमा छ । गर्नु पनि पर्छ । सिनियर पुस्ताको राम्रो कुराहरु सिक्दै अगाडि बढ्नुलाई त राम्रै मानिन्छ । तर अबको राजनीतिमा भोटो फटाईले मात्रै केही हुन्न भन्ने लाग्छ । त्यो कुरा पछिल्ला धेरै इभिडेन्सहरुले प्रमाणित पनि गरिसक्या छ । भर्खरै घण्टी समुहले कस्ताकस्ता मैं हुँ भन्ने वरिष्ठहरुको मुटुमा घन्टी बजाएर दिउँसै रात पार्ने बनाइसक्यो । यो कार्यकालमा घण्टीलगायत अन्य स्वतन्त्र समूहहरु बिग्रेनन् भने आउने चुनाव अझ महाबिशेष हुने अहिल्यै आँकलन गर्न सकिन्छ । किनकी मुलधारका भनिने दलहरु सुध्रिने कल्पना तत्काल गर्न सकिने अवस्था छैन । सङ्केत राम्रो छैन ।
३. बिरासतबारे: पुराना र ठुला भनिने दलका नेताहरु अझै बिरासत, बाउबाजेको यो पार्टीमा योगदान, मेरो आफ्नो यति दशकको निरन्तर योगदान र जिवनको कुनै कालखण्डमा जेलनेल भोग्या कुरालाई हाइलाइट गरेर त्यसकै ब्याजले अब पनि स्थापित हुन्छु भन्ने भ्रममा रमाउन थाल्यो भने हुन चैं केही न केही हुन्छ – अरु त त्यस्तै हो; लास्टाँ केशव स्थापित हुन्छ ।
४. पार्टीभित्रको फरक मतबारे: आन्तरिक राजनीतिमा पनि फरकमत/फरकलाइन राख्न पाइयो । यसलाई निषेध गर्नुहुँदैन । कति स्वच्छ बहस गर्ने भन्ने चैं स्वभाबिकरुपमा हुनुपर्छ । तर यतिमात्र होकि तपाईंको आफ्नो फरक मत जेन्युइन उदेश्यका लागि हो कि केही प्राविधिक हिसाबकिताब मिलान गर्नका लागिमात्र हो भन्ने मुख्य कुरा हो । यदि तपाईंको अडान जेन्युइन उद्देश्यका लागि हो भने चैं थोरै किन नहोस् त्यसले अर्थ राख्छ । राख्नु पनि पर्छ । त्यो प्रश्नको जगले तपाईं जहाँ उभिए पनि भोलिको यात्रामा कतै न कतै प्लस पोइन्ट नैं गर्छ भन्ने लाग्छ । ईमान र प्रतिबद्धताको हार कहिँ हुन्न- ढिलो नै किन नहोस् !
हुनत यो मेरो कोरा बुझाई पनि हुनसक्छ । किनकि यहाँ हर कुरामा कोहि पुर्ण छैन । हुन्न । तर जसले जसरी बुझे नि अबको नेपालको राजनीति चैं सिधा ढंगले बढ्नेवाला छैन । अब कसैले बिश्लेषण गर्नै नसक्ने घुमाउरो चरणमा पुगिसकेको छ ।
(लेखक तामाङ रिमठिम पर्यटन संजालको संस्थापक सचिव हुन् ।)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)