कप्युदयहरुको उदय र देशको दुर्दशा

केशवराज आचार्य

देशमा केही मुठ्ठीभर व्यक्ति वा व्यक्तिहरुको समूहले (जसलाई अगाडि कपटबाट उदय भएकाहरु ‘कप्युदय’ भनिन्छ) बैँक, इन्स्योरेन्स्, निर्माण व्यवसाय, ईन्जीनियरिङ कलेज, मेडिकल कलेज, इन्जीनियरिङ परामर्श सेवा, हाइड्रोपावर आदि इत्यादि लिन मिल्ने जति सबै लाइसेन्स लिएर बसेको अवस्था देखिन्छ । त्यहि अवस्था अन्य बाणिज्य वा उद्योग सम्बन्धित कामहरुमा पनि लागु हुने गर्दछ ।

देश भरिका कुनै पनि काम अरुले पाउनु हुँदैन; कप्पुदयले मात्रै पाउनु पर्छ भन्ने उनीहरुको मनोवृत्ति देखिन्छ । त्यसका लागि कप्युदयहरु साम, दाम, दण्ड, भेदका अनेकौँ जालो र अस्त्र बिछ्याएर बसेका हुन्छन् ।’किनेको’ सम्बन्ध बलियो हुने अहिलेको मौँलदो संस्कृतिले गर्दा पनि कप्युदयहरुलाई भएभरका कामहरु आफ्नोमा थुपार्ने र अकुत आम्दानी गर्ने अनि तल देखि माथिसम्मका बिकाउ ‘पद’ हरुमा लगानी गरेर अरु काम थुपार्ने दुष्चक्र चलाउन सहज भएको देखिन्छ ।

बिकाउ पदहरु भन्दा बाहिरबाट निर्णय भएर कहिलकाहिँ कप्युदय भन्दा बाहिरकाले पनि काम पाउने देखिएमा कप्युदय नै अख्तियार, लेखा समिति, राजस्व कार्यालय, वा भएभरका अन्य संम्बन्धित निकायहरुमा उजुरी गर्न पुग्ने तथा सम्पूर्ण प्रक्रियालाई नै ठप्प पार्ने, उल्टाउने वा बिकाउ पदहरुको प्रयोग गरेर खोस्ने सम्मको कुकृत्य गर्न पनि पछि पर्दैनन् ।

अहिले नकरात्मकतालाई नै सुन्न रुचाउने बढ्दो मनोवृत्तिले गर्दा पनि अफवाह फैलाउन सहज भएको देखिन्छ । अरु रछ्यान माथि ढुङ्गा हान्न रुची नराख्ने हुँदा चुप लाग्छन् तर कप्युदयहरु त्यस्तै अवस्थामा खेल्न माहिर मनोवृत्तिका हुन्छन् र किनेका मिडियाद्वारा जोडतोडले त्यस्ता मनगढन्ते कुराहरु आफ्नो पक्षमा हुने गरी हल्ला गराउन सँधै अगाडि देखिन्छन् ।

नेपालका सार्वजनिक खरिद ऐन र नियमावली अरु कुनै पनि एजेन्सीका स्टान्डर्ड डकुमेन्ट्स् भन्दा कम छैनन् । बरु हतारमा गरिएका पछिल्ला छ वटा संशोधनहरुले सार्वजनिक खरिद नियमावलीलाई उँट बनाएको चाहिँ छ । तर आफ्ना बदमासीलाई छुपाउन र आफ्नो अनुकूल हुने गरी काम गराउन कप्युदयहरु नै ती ऐन र नियमावलीहरु दोषी छन् भनेर हल्ला पिटाउन सबैभन्दा अगाडि भेटिन्छन् ।

कप्प्युदयहरुले कर, भ्याट छली गर्न अनेकौँ फण्डा अपनाउँछन्, गुणस्तरको काम गर्दैनन्, कामदारलाई समयमा र यथोचित तलब दिँदैनन् तर तिनै कप्युदयहरुले नै बारम्बार काम पाइरहेका हुन्छन् । केही काम अरुले पाउने देखिएमा हुँदा नहुँदा जाली कुराहरुको प्रचार गराउने र विभिन्न शक्तिकेन्द्रमा धाउने गर्दछन् । त्यस माथि दुखद पक्ष चाहिँ के हो भने जो व्यक्ति वा संस्था रक्षक हुनुपर्ने हो तिनै व्यक्ति वा संस्थाहरु केही दामको लोभमा भक्षक भएर त्यस्ता कप्प्युदयहरुलाई आड भरोसा, सुरक्षा र हौसला दिइरहेका भेटिन्छन् ।

केही मुठ्ठीभर कप्युदयहरुले पूरै प्रक्रिया, संघ, संघठन, निकाय र राज्यलाई आफ्नो प्रभावमा पारेर देशलाई ठूलो घाटा पारिराखेका छन् । यो मनोवृत्ति र संस्कृतिको बेलैमा विरोध नगर्ने हो भने देश ठूलो दुर्घटनामा पर्ने सम्भावना रहन्छ ।

यो देशमा डरलाग्दोसँग मौलाइरहेको “कप्युदय समस्या” लाई समाप्त वा क्षयीकरण नगरीकन जति नै जोड गरे पनि, जे जे गरे पनि यो देशले काँचुली फेर्ने वाला छैन ।

त्यसैले यो देशलाई माया गर्नेहरु सबै मिलेर यस्ता कप्युदयहरुको भण्डाफोर गर्नु पर्ने अहिलेको प्रमुख आवस्यकता देखिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button