मङ्सिर चार जनताको विचार

चन्द्र घर्ती मगर

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज राती १२ बजेपछि मौन अवधी शुरु हुदैछ । अहिलेसम्म उम्मेदवारहरुले घरदैलोमा पुगेर आआफ्नो प्रतिबद्धता जाहेर गरे अब जनताले गहिरिएर चिन्तनमनन गर्ने र उनीहरुको विश्वसनीयता लेखाजोखा गर्ने महत्त्वपूर्ण समय हो ।

चुनावमा जनताले पार्टी र जाती हेरेर हुन्न । महिला र पुरुष भनेर पनि हुन्न । उमेर गनेर मात्रै बुदा र युवा भन्नुहुन्न । पदाइ लेखाइ भएकैले बुद्धिमानी र ज्ञानी भन्ने पनि हुँदैन । समाजमा स्थापित यस्ता मापदण्डलाई अब क्रमशः फेर्दै लानुपर्नेछ । उम्मेदवारको क्षमता, योग्यता, इमानदारीता, चरित्र र चेतना स्तरले उनीहरुले गर्ने काम र परिणाम निर्धारण गरिदिन्छ । केवल फरक आस्था, फरक भूगोल, फरक जातीको साँघुरो घेराभित्र अल्झिएर सुशासन र समृद्धिको विशाल उद्देश्यलाई अधुरो राखिरहनु हुँदैन ।

पुराना दलहरुका आआफ्नै गौरवमय इतिहासहरु छन् तर तिनीहरुभित्र अनेकौं बेथितिहरुको अभ्यास पनि भइरहेका छन् ।समाज रुपान्तरणको उद्देश्य लिएर गठन भएका दलका अधिकांश नेताकार्यकर्ताहरुमा जसरी नि पद प्राप्त गर्ने होडबाजी चलिरहेको छ । राजनीतिक आदर्श र समाजको मनोविज्ञानलाई आत्मसात गर्न अब नैतिक रूपमा शुद्धीकरण हुन अति आवश्यक छ । अब पनि नयाँ सोंच र नयाँ दंगबाट अगाडि नबद्ने हो भने पतन त निश्चित हुनेछ नै साथै राजनीति पनि दुर्घन्धित भइरहनेछ । मुख्य पार्टीका विधानलाई अझै परिस्कृत र प्रगतिशील बनाउनका लागि गतिशील विचारका नेताहरू नेतृत्वमा आउन जरुरी छ । शिर्ष नेतृत्वको उन्नत दृष्टिकोणले पार्टीकै गतिविधिमा धेरै अन्तर पार्नसक्छ र समग्रमा देशलाई नै फाइदा पुग्नेछ । अहिले दलहरू सिर्फ सत्तादेखि सत्तासम्मको मानसिकतामा छन् । नेताकार्यकर्ताहरु ठेक्कापट्टाको नाउँमा भत्ताको भत्तामा मात्रै टिकेका छन् । जनता पनि यहीँ घोलचक्करमा रमाइरहेका, हराइरहेका छौं । चुनाव भनेको औचित्यहिन घोषणा पत्र छाप्ने र बाँड्ने, सांसद पद नविकरण गर्ने वा सांसदको अनुहार बदल्ने कर्मकाण्ड नभएर जनताले अशल नेता पहिचान गर्ने र छान्ने प्रक्रिया हो । त्योभन्दा पनि अझै देशका लागि राजनेता जन्माउने अवसर पनि हो ।

प्रमुख पार्टीहरुका क्रियाकलापले जनता त्यति खुशी हुनसकेका छैनन् । जनताको केहि भिन्न अपेक्षा छ तर नेताहरुले चाहिँ बुझ्ने मन गरेकै छैनन् । दलहरुको यस्तै यथास्थितिवादी सोंचप्रति उब्जिएको चरम वितृष्णा र विकल्पको खोजीकै कारण हर्क र बालेनहरु उदाए । हर्क र बालेनहरुको आवरणमा आज थुप्रै उम्मेदवारहरु खडा भएका छन् भलै, दलहरूलाई धक्का दिने सामर्थ्य नराख्लान् तर गम्भीर चुनौतीको संकेतका रूपमा भने बुझ्नैपर्ने हुन्छ ।

अहिले देशैभरी स्वतन्त्र उम्मेदवारीको लहर छ । कतिपय क्षेत्रमा त झण्डै दर्जन जतिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तिनीहरुले वास्तविक स्वतन्त्रहरुको पवित्र भावनामा खेलवाड गरिरहेका छन् । हर्क र बालेनहरुको पहिरनले आफ्नो लगन पनि छोप्न सकिन्छ कि भन्ने भ्रममा पनि होलान् । धेरैजसो त अरुको जन्ती हुन नसकेर बरु आफ्नै मलामी बनेर हिडिरहेका छन् । यस्तो संकीर्णताले अशली स्वतन्त्रहरुको अभियानमै क्षति पुर्याउनेछ ।

सबै स्वतन्त्र उम्मेदवारहरु अहिलेका उत्तम विकल्प होइनन् । जो हुन् तिनको पहिचान हुनुपर्छ र जित्नु पनि पर्छ तर त्यस्ता स्वतन्त्र एकाध मात्रै छन् । जनतालाई झुक्याउनेहरुको संख्यामा अर्को एक थान पार्टी र ब्यक्तिहरु थपिएका हुन् । जनतालाई पुरानै दलहरूले जसरी नै झुटा आश्वासनका चर्का कुरा गरेर थप अलमलमा पारिरहेका छन् । अहिलेसम्मको प्रस्तुति र शैली हेर्दा आगामी यात्राका लागि ती आफैं रनभुल्ल मनस्थितिमा छन् । उनीहरुमा समाधान कम र लहड बदी छ । उनीहरुको भित्री मनमा विकल्प बन्नका लागि बिद्रोह गौण र अवसरबाद हावी छ । परिवर्तनका लागि गर्नुपर्ने संघर्षप्रति अरुची तर अराजकतामाथि अत्यधिक भरोसा देखिन्छ । प्रायःजसो स्वतन्त्रहरुको धरातल कमजोर भएकालेे अस्तित्व रक्षाको भय पनि छ । निर्वाचनपश्चात् मतपरिणामलाई स्विकार्दै सधैं सुखदुःखमा सँगसँगै रहिरहने भरपर्दो आधार मतदातालाई दिन सकिरहेका छैनन् । देशमा परिवर्तन ल्याउने हुतहुती पुरा गर्ने नै भने चुनावपछि संयमतापूर्वक थप मेहनत गर्न तयार हुनुपर्नेछ ।

हरेक अशल कार्यले उचित समय र सत्कर्मको प्रतीक्षा गरिरहेको हुन्छ । त्यस्तै अशल कर्म जनताले मङ्सिर ४ गते मतदानमार्फत गर्नुपर्नेछ । नेताका जग नै जनता हुन् । जनताले उम्मेदवार छनौट गर्ने तरिका फेर्ने साहस गरे नेता पनि अवश्य फेरिन्छन् । त्यसैले, यसैपाली भ्रष्टाचारले थिलथिलो भएका हाम्रा हातखुट्टाहरु तन्काउदै, धोकैधोकाले भाँचिएका आशाका पखेट्टाहरु फट्फटाउदै निस्वार्थ, निर्धक्क भएर हिम्मत गरौं । हाम्रो जीवनमा सुधार ल्याउनसक्ने र भावी पुस्ताको उज्यालो भविष्य कोर्नसक्ने सबैभन्दा सक्षम र नैतिकतावान उम्मेदवारलाई भोट हाल्ने प्रण गरौं । मुखले मात्रै ईमानको कुरा गर्ने बेइमानहरुलाई ठेगान लाउने अवसरको सदुपयोग गरौं । लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्रतापूर्वक निर्णय लिने अधिकार हरेक नागरिकलाई छ । देशको समृद्धि, सुशासन र व्यवस्थाका लागि त्यो हाम्रो कर्तव्य पनि हो । आफ्नो कर्तव्यप्रति एकदिन मात्रै पनि इमान्दार बन्यौं भने भविष्यमा पछुतो मान्नुपर्ने अवस्था हुँदैन कि!?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button