६६ वर्षअघिकाे नेपाल-चीन घटना

सन् १९५६ अक्टोबर १ ! ६६ वर्षअघिकाे ऐतिहासिक बहुविध नेपाल- चीन मैत्रीघटनालाई भावपूर्णरुपले सम्झँदा !

अरविन्द रिमाल

पुष्पलालको प्रेरणाबाट ‘चीन भमणको रोमाञ्चकता’ र ‘सोभियत संघसँग चिनारी’को अनुभव ‘१९९७ सालदेखि २०१७ साल – एक अवलाेकन’ का ३११ देखि ३४२ पानासम्म जुन विस्तृत वर्णन छ, त्याे तीन रमाइला संयाेगबाट भएकाे थियाे, निम्ता आएकाे ओपचारिक पत्र नदेखाइकन पास्पाेर्ट पाउनु प्रधानमन्त्री टंकप्रसाद आचार्यकाे साैजन्यताबाट, कलकत्तामा चिनिया प्रधानमन्त्री चु एन लाईकाे निम्ताबाट, चिनियाँ कम्युनिष्ट पार्टीको आठाैँ महाअधिवेशनकाे क्रममा ‘प्राभद’का विशेष सम्वाददाताकाे सम‌जन्यबाट साेभियत संघकाे भ्रमण गर्ने निम्ता !
याे आलेख त्यसै क्रमकाे एउटा घटना वर्णन हाे जुन यसप्रकारले अघि बढ्छ ।

अमेरिकाले टिकाएकाे कुओमिङ्गटान चीनविरुद्धकाे मुक्ति सङ्ग्रामकाे सुसम्पन्नतालगत्तै सन् १९५९ अक्टोबर १ मा घाेषणा भएकाे चिनियाँ राष्ट्रिय दिवसकाे साताैँ जयन्ती दिवस थियाे, त्याे समाराेह । त्यस विश्व ऐतिहासिक सङ्ग्रामका महानायक चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङ्ग, जनवादी चीनका नवनिर्वाचित राष्ट्रपति ल्यु शावाे चि, चीनका प्रधानमन्त्री चु एन लाइ, नेपालका प्रधानमन्त्री टङ्कप्रसाद आचार्य, इण्डाेनेशियाका राष्ट्रपति सुकार्नाे, कम्बाेडियाका राजकुमार सिँहानुक, चिनियाँ प्रधान सेनापति चु तह, गणतन्त्र चीनका प्रथम राष्ट्रपति सन यात सेनकी विधवा शुङ्ग चिङ्ग लिङ्गआदि अग्रणी नेताहरु, इण्डाेनेशियाकाे कम्युनिष्ट पार्टीका महासचिव डी. एन. आइडिट, उप- महासचिव लूकमान एवम् विदेशका अन्य गण्यमान्य पाहुनाहरु भव्य तियान मेन मण्डपमा उभ्भिएका थिए । ठीक अगाडि विशाल तिइन मेन चाेक थियाे । मण्डपकाे मुनिकाे दाहिनेपट्टि ठूलाे प्यारापेटका खुँडकिलाहरुमा विश्वका ८0 भन्दा बढी देशमा कम्युनिष्ट पार्टीका नेता, नामचलेका अनेक विशिष्ठ पाहुनाहरु बसेका थिए। त्यहीँ नेपाल कम्युनिष्ट पार्टीका पाेलिटब्युराे सदस्य शम्भुराम श्रेष्ठ, केन्द्रीय कमिटी सदस्य शैयद कमर शाह, ने. क. पा. काे अर्धमुखपत्र ‘मशाल’का विशेष प्रतिनिधि अरविन्द रिमाल पनि थिए ।

अचानक सिमसिम पानी पर्न थाल्याे । उत्सवीय आनन्दले नै भन्नुपर्ला, कसैबाट पनि हलचल भएकाे थाहा भएन । थाहा त्यतिबेला मात्र भयाे जब प्रत्येक पाहुनालाई रेशम मिसिएकाे चकलेट रङ्गकाे वर्साति थमाइयाे, पानीले रुझिनबाट वच्न ! अनि सबै जनाले जुरुजुरु उठ्दै रेनकाेट लगाउँदाकाे शरशरकाे हल्का आवाज अहिले पनि कानमा गुञ्जिरहेकाे लाग्छ ! कस्ताे चमत्कारिक आयाेजन ! त्याे रेनकाेट आफूले काठमाडौँमा वर्षातयाममा मित्र एवम् कमरेडहरुकाे प्रशंसासूचक हेराईसहित धेरै वर्षसम्म आभारपूर्वक उपयाेग गरेकाे पनि सम्झना हुन्छ ।

त्यसाे त प्रधानमन्त्री चुकाे विशेष सुझाउमा उनीभित्री हालिएकाे टपकाेटकाे पनि सम्झना हुन्छ ! कुरा के भने चीन- भ्रमण सकेर साेभियत संघकाे भ्रमणमा जानुअघिल्लाे दिन आभार जनाउन र बिदाई भेट गर्न प्रधानमन्त्री चुकाे कार्यालय गएकाे थिएँ । उनकै पार्टीले भेट गरेकै टपकाेट लगाएर जाँदा उनले भेऊ पाइहालेछन्, याे ठिटाेलाई रुसकाे जाडाे थेग्न याे काेटले त पुग्दैन । अनि त्यस्ताे सल्लाह दिएका रहेछन् । २०१४ साल मंसीरकाे भद्र अवज्ञा आन्दाेलनक्रममा नेकपाका तात्कालीन महासचिव डा. केशरजङ्ग रायमाझीकाे नेतृत्वमा रानीपाेखरीस्थित सर्वेाच्च अदालतकाे मूल ढाेकाबाहिर शान्तिपूर्ण धर्ना दिन गइएकाे थियाे । साथमा नेकपा केन्द्रीय सदस्य पी. बी. मल्ल र पूर्व काेशी प्रान्तीय समितिका सेक्रेटारियट सदस्य माेहनचन्द्र अधिकारी पनि थिए । त्यहाँ जाँदा त्यही काेट लगाएकाे थिएँ । सत्याग्रहीहरुलाई पुलीसले त्यहाँबाट लगारेर बिजुलीअड्डानिर राखिएकाे लहरीमा हाल्न लैजाँदा मलाई पछिल्तिरबाट ठूलै ढुङ्गा ढाडमा बजारिएकाे थियाे । त्यही बाक्लाे काेटले बचायाे, ढाड भाँचिनबाट !

अब उहीँ चिनियाँ समाराेह चर्चा ! विशाल तियान मेन चाेकबाट विविध क्षेत्रमा देशका चमत्कारी प्रगतिहरुलाई झल्काउने विभिन्न झाँकीहरु गुज्रिरहेका थिए । यी सबै वर्णन मेराे ‘१९९७ सालदेखि २०१७ साल- एक अवलाेकन’ मा ‘चीन- भ्रमणकाे राेमाञ्चकता’ अध्यायमा गरिएकाे छ ।

यसकाे पूर्वसंध्यामा, सेप्टेम्बर ३० तारिखकाे रात पेकिङ्ग हाेटलकाे विशाल हलमा चीनकाे कम्युनिष्ट पार्टी तथा चीन सरकारले सम्युक्तरुपमा भव्य स्वागत समाराेह आयाेजना गरेका थिए । त्यसमा हामी उपराेक्त तीनजना पनि थियाैँ । तत्कालीन नेकपा महासचिव मनमाेहन अधिकारी चिनियाँ पार्टीकाे आठाैँ महाधिवेशनकाे पहिलाे सत्रमा उपस्थित भएकाे भाेलिपल्टै एउटा विशेष अस्पतालमा भर्ना भइसकेका थिए । त्यस समाराेहमा प्रधानमन्त्री आचार्यले हामीहरुप्रति देखाएका मैत्रीभावबाट शीर्षस्थ चिनियाँ नेताहरु लगायत विश्वभरिका प्रतिष्ठित अतिथिहरु आनन्दले छक्क परेका थिए । आइडिट तथा लुकमान लगायत त्यहाँ उपस्थित सबै कम्युनिष्ट नेताहरुले हाम्राे अभिनन्दन गरेका थिए । यी सबै अविभाजित नेकपाकाे गाैरवशाली इतिहासका पाना थिए ।

सन् १९५६ अक्टोबर १ ! आजकाे दिनमा यी सबै घटनाकाे, आफू पनि आफ्ना नेता पुष्पलालकाे साैजन्य तथा सदाशयताबाट साक्षी बन्ने साैभाग्य पाएकाे सम्झनामा केही शब्द काेर्न पाउँदा हर्षविभाेर नभइरहन सक्दिन !

नेपाल तथा चीनकाे मित्रता अमर रहाेस् । जय नेपाल !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button