यो मेरो देश पनि अचम्मको छ गाँठे !

केही अवलोकन, केही अनुभूति

केशवराज

यो मेरो देश पनि अचम्मको छ गाँठे !

यो देशमा एक अर्काका बीच सबैभन्दा कटु आलोचना गर्ने प्राविधिक विधाका कर्मचारी र आर्थिक प्रशासन विधाका कर्मचारी हुन् तर आवस्यकता अनुसार सबैभन्दा बढी चोचो-मोचो पनि तिनीहरुको नै मिलेको देखिन्छ ।

यो दुनियाँमा कसैको सबैभन्दा बढी कमजोरी देख्ने र बोल्ने कसैले गर्छ भने त्यो पत्नीले पतिको र पतिले पत्नीको हो । तर तिनीहरुका बीच चोचो-मोचो मात्र होइन, आवस्यकता अनुसार अरु के के कुरा मिल्छन् सबैलाई थाहा भएकै कुरा हो । त्यसैले क. प्रचण्डले भने झैँ त्यस बारेमा धेरै व्याख्या गरेर समय खेर फाल्ने काम नगरौँ ।

यदि साङ्केतिक रुपमा देशलाई एक ‘करार’ का रुपमा मान्ने हो भने त्यस करारको अहिलेका सबैभन्दा ठूलो ठेकेदार साहब र त्यस करारको आर्थिक प्रशासन शाखाका प्रमुख बीच हिजो देश निर्माण गर्ने कर्मठ युवाहरुलाई साक्षी राखेर निकै नोकझोँक चलेछ । मैले त्यो नोकझोँकलाई पनि ‘लक्ष्मी’ र ‘कुवेर’ का बीच अर्थात प्राविधिक विधाका कर्मचारी र आर्थिक प्रशासन विधाका कर्मचारी बीचको जस्तै देखिने मात्र तर भोलि सहजै आवस्यकता अनुसार चोचो-मोचो मिल्ने खालको होला भन्ने अनुमान गरको छु ।

यो देश पछि पर्नुको विभिन्न प्रमुख कारणहरु मध्ये एक लक्ष्मी र कुवेरका बीच तँ भन्दा म के कम भन्दै हुने गरेको सँधैको विवाद तर ‘देश हित र समयको माग’ अनरुप फेरी मिल्ने गरेको चचोमोचो पनि हो । तटस्थ भावले हेर्ने हो भने यी दुई बीचमा हुने गरेको द्वन्दको कारण; सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मा पाएका कुवेरहरुले खुद आफूलाई नै मालिक ठान्ने र लक्ष्मीले सम्पत्ति उत्पादन नगर्ने हो भने के व्यवस्थापन गरौँला भन्ने बारे नसोच्ने तथा हामीले पो उत्पादन गरेका हौँ त ती को हुन् भन्ने तर कुवेरबाट सम्पत्तिको सही व्यवस्थापन नहुने हो भने सम्पत्ति छरपस्ट भएर केही पनि बाँकि रहन्न भन्ने अनुमान गर्न नसक्ने लक्ष्मीहरु नै हुन् ।

तर कसैलाई मन परे पनि नपरे पनि सबैले स्वीकार गर्नै पर्ने एउटा तितो सत्य चाहिँ के हो भने जहाँ लक्ष्मीको हुर्मत लिने काम गरिन्छ, त्यहाँ सुख र समृद्धि आउने कल्पना पनि गर्न सकिन्न । अहिले नेपालले भौतिक प्रगति गर्न नसक्नुको जमीनी वास्तविकता पनि सायद त्यही नै हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button