मिखायल गोर्वाचाेभलाई चिन्न, जान्न र बुझ्न बेग्लै साेच चाहिन्छ

यी युगद्रष्टा, महासुधारक थिए र रहिरहने छन्

अरविन्द रिमाल

मिखायल गोर्वाचाेभलाई चिन्न, जान्न, बुझ्न बेग्लै राजनीतिक साेच चाहिन्छ !

स्वार्थी दलीय गुटबन्दी, चरम नाेकरशाही, भ्रष्ट कर्मचारीतन्त्रले जर्जर साेभियत समाजकाे पुनराेद्धार गर्न सकिन्छ कि भनेर इतिहासकाे चुनाैती बेहाेरेका राजनीतिज्ञ हुन्, यिनी । यस्ताे ऐतिहासिक कार्यमा आफ्नाे देश र समाजले ‘बन्धुत्व’का नाममा पाेष्नु परेका नामधारी ‘कम्युनिष्ट’ तर भ्रष्ट- पारिवारिक पूर्व यूराेपेली शासनतन्त्रका लागि दुरुपयाेग भइरहेका अगाध साधनस्राेत आफ्नै अभावग्रस्त जनताकाे मङ्गलकल्याणमा सदुपयाेग गर्न परम आवश्यक ठाने, यी राजनीतिज्ञले ।

समयाेचित राजनीतिक- राज्यीय- सामाजिक परिवर्तन तथा सुधारमा कतिपय विदेशी राज्यसत्ताहरुबाट अन्तर्ध्वशकाे खतरा देखेर- बुझेर यिनले विभिन्न राज्य व्यवस्थाहरुमाझ शान्तिपूर्ण सहअस्तित्वकाे सिद्धान्त तथा व्यवहार अनिवार्य भएकाे विश्व अभियान चलाए । यसका लागि पहिलाे आवश्यक शर्त शीतयुद्धका फाैजी सङ्गठनहरुकाे विघटन नै हाे भन्ने दृढ विश्वास गर्दै यिनले सक्दाे अन्तर्राष्ट्रिय समझदारी जुटाउन पनि सँगसँगै अभियान चलाए । यस क्रममा अमेरिकालगायत अनेक पश्चिमा देशहरु तथा छिमेकी देश चीन तथा मित्रदेश भारतसित पनि शिखर वार्ता गरे ।

क्रुर दुर्भाग्य ! यिनका अधिकाँश देशवासीहरुले यिनकाे यी अभियानकाे सार्थकता बुझ्न सकेनन्, यिनका आफ्नै विश्वस्त भनिएका सहयाेगी- सहकर्मीले यिनलाई बीच मझधारमा त्यागे, फलत: साेभियत कम्युनिष्ट पार्टीका महासचिव तथा देशका राष्ट्रपतिविरुद्ध दलीय षड्यन्त्र र फाैजी कूकाे आयाेजना हुन थाले, सम्झौता सम्पन्न गर्ने पश्चिमी ‘साझेदारहरु’ले अमेरिकाकाे साेझाे खटनपटनमा साेभियत समाजभित्र गडबडी मच्चाउने, बढाउने विश्वातघाती कर्तुत गरे, यिनका विरुद्ध फाैजी कू पनि भयाे, यिनी सत्ताच्युत गरिए । अमेरिकी शासनतन्त्रले अब स्लाभ सभ्यता र रुसी समाजलाई ध्वस्त गर्ने आफ्नाे युगाैँ पुरानाे सपना साकार हुने ठानेर कुनै खुला तथा अन्तर्ध्वँशात्मक काम गर्न छाडेन, चुकेन ।

यता, गाेर्बाचाेभ अभियान पुरानाे शासन दाेषहरु र अफगानिस्तानमा घाेर दुस्साहसिक फाैजी हस्तक्षेप तथा आक्रमणका कारणबाट पनि घातमा परिसकेकाे र साेभियत समाज भ्याउन नसक्ने फाैजी खर्चबाट भासिइसकेकाे तथ्यले पनि आफ्नै त्रासदीपूर्ण काम गरिरहेकै थियाे !

अरु कुरा त, पछिका घटनाक्रम त सफा ऐना जत्तिकै छर्लङ्ग छन् ।

प्रत्येक ठूलठूला मानिस, प्रत्येक मूर्धन्य राजनीतिक व्यक्तित्वमा पनि हुने-गर्ने वैयक्तिक कमीकमजाेरीमा यी अपवाद थिए हाेलान् !

तर विश्व ऐतिहासिक महत्त्वका सद्कार्यमा लाग्दा पनि दुर्नाम, बदनामी, चारित्रिक हत्यामा परेका यीजस्ता दुर्लभ सुधारक, नवीन चिन्तक, महाअभियानकर्ता पनि अरु काेही भएनन् जस्ताे लाग्छ, विश्व इतिहासमा !

यिनै, एकमात्र मिखायल गोर्वाचेाभलाई यथाेचित श्रद्धाञ्जली अर्पण गर्दै उनकाे आत्माकाे चिरशान्ति कामना गर्दछ, याे टीकाकार !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button