पृथ्वीनारायणको सन्दर्भमा काँग्रेसको मार्गचित्र
लक्ष्मण घिमिरे/लोकेश ढकाल
नेपाली काँग्रेसको स्थापना केवल प्रजातन्त्रको लागि मात्र भएको होइन । यसको स्थापना प्रजातन्त्रको माध्यमले राष्ट्रियता र राष्ट्र बलियो बनाउनको लागि भएको हो । काँग्रेस जनतामा अधिकार भएन, जनता बलिया भएनन् भने देश कमजोर हुन्छ, जनताको मत अनुसार सञ्चालन हुने प्रजातान्त्रिक शासन पद्धतिबाट मात्र राष्ट्र वलियो हुन्छ भन्ने मतमा विश्वास गर्दछ । काँग्रेसका संस्थापक, राजनेता वीपी कोइरालाले पनि हामीलाई यही कुरा सिकाएर जानु भएको हो । काँग्रेसको सिद्धान्तको प्रमुख आधार भनेको नै राष्ट्रियता हो । त्यसैले नेपाली काँग्रेसले आफ्नो सिद्धान्त ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ उल्लेख गरिरहँदा सबै भन्दा अगाडी राष्ट्रियतालाई राख्नुको अर्थ पनि यही हो ।
नेपाल राष्ट्र र राष्ट्रियताको कुरा गर्दा नेपाल राष्ट्रको एकिकरण गर्ने, राष्ट्र निर्माण गर्ने पृथ्बीनारायण शाहलाई सम्मान नगर्नु, उनको योगदानको चर्चा नहुनु दुःखद् पक्ष हो । संविधानसभाले संविधान जारी गरिरहँदा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति अलिकति पनि सम्मानभाव व्यक्त नगर्नु नेपाली राजनीतिकै ठुलो भूल थियो । प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले यस तर्फ अन्देखा गर्नु ऐतिहासिक गल्ती थियो । शाहवंशका केही राजा निरंकुश भए, प्रजातन्त्र र जनअधिकार खोसे भनेर राष्ट्र निर्माताप्रति देशले अपमान गर्नु निश्चयः नै नेपाली राजनीतिक इतिहासकै खेदजनक घटना हो ।
०६२/०६३ को जनआन्दोलनको सफलतापछि काँग्रेसको नेतृत्वमा रहेको सर्वदलीय सरकारको काँग्रेसकै गृहमन्त्रीको निर्णयबाट नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनमा राज्यस्तरबाट ‘जन्म जयन्ती एवम् एकता दिवस’ मनाउँदै आएको परम्परालाई अनायास तोड्ने काम भएको घटना र त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै तत्कालिन गृहमन्त्रीको प्रस्तावमा प्रधानमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर ‘पृथ्बी जयन्ती एवम् राष्ट्रिय एकता दिवस’ लाई राष्ट्रिय पर्वको रूपमा मनाउने र त्यस दिन सार्वजनिक विदा दिने निर्णय गर्न लाग्दा काँग्रेसकै एक मन्त्रीले त्यो प्रस्तावको विरोध गरेकै कारण यो प्रस्ताव असफल भएको कारणले ऐतिहासिक राष्ट्रवादी दल काँग्रेसको राष्ट्रियताको धार धुमिल भएको यथार्थलाई हृदयङ्गम गर्दै राष्ट्रिय भावनाको यो मुद्धामा अब नेपाली काँग्रेसले पुनर्विचार गर्ने बेला भएको छ भन्ने आम काँग्रेसीजनले महशुस गरेका छन् ।
हिजो परिस्थितिको बाध्यता वा भुलवस् यसो गरिए तापनि अब राजनीतिक परिस्थिति बदलिएको छ । आम नेपाली जनता राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा खेलेको अतुल्य भूमिकालाई सम्मान गर्दै राज्यले उनलाई सम्मान गर्नुपर्छ भन्ने पक्षमा छन् । वीपी कोइराला जस्तो महान राष्ट्रवादी नेताले राष्ट्रियताकै लागि जोखिम मोलेर राष्ट्रिय एकता र मेलमिलापको नीति लिएको पनि यही पौष महिनामा नै हो । नेपाली काँग्रेसले अझै पनि वीपी कोइरालालको मेलमिलापको नीतिको सान्दर्भिकता सकिएको छैन भनिरहेको अवस्था, शान्ति प्रक्रिया र संविधान निर्माणको क्रममा काँग्रेसले लिएको नीति र निर्णयको कारण काँग्रेसको इतिहासले स्थापित गरेको राष्ट्रियताको धारलाई केही धुमिल बनाएको अवस्थामा त्यो धारलाई अझ सशक्त बनाउन, काँग्रेसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणमा खेलेको गौरवशाली भूमिकाको उच्च सम्मान गर्नु पर्छ भन्ने हाम्रो निचोड छ ।
(लेखकद्धय काँग्रेस नेता हुन् ।)