
एसइइः अङ्क कम ल्याए भनेर सन्तानलाई तनाव नदिऊँ
जीपीए- तनाव र भविष्य!
आचार्य डिल्ली
आज कक्षा १० को परीक्षाफल प्रकाशित भयो । लब्धाङ्कलाई लिएर छोराछोरीलाई तनाव दिने काम नगरौँ । एक त अहिले १० को परीक्षाफल भनेको कक्षा ६‚ ७ को जस्तै परीक्षाफल हो । थप अध्ययन र जागिरका लागि कक्षा १२ को लब्धाङ्कपत्र मात्रै काम लाग्छ ।
हाम्रो पढाइ अनुसन्धानविनाको छ । खोज‚ परीक्षण‚ अनुसन्धान गर्ने बानी विकास गर्नमा जोड दिऊँ । वरपरको वातावरण‚ गाउँघर‚ परम्परागत ज्ञान‚ घरेलु प्रविधिसँग सम्बद्ध कुरा सिकाऔँ ।
विगतमा जुम्ला‚ हुम्लामा स्याउ‚ सिमीको राम्रो खेती गर्न सक्ने वा पाटनमा घाँस व्यवस्थापन गरी भेडा‚ घोडा पाल्न सक्ने प्रतिभालाई उसलाई आजीवन आवश्यक नपर्ने अङ्रेजी अनिवार्य गराई असफल बनायौँ । त्यसकै कारणले त्यहाँको स्याउ‚ सिमी खेती र भेडाघोडा पालन ध्वस्त बनायौँ । त्यसको दोषी हामी पनि हौँ ।
+ ४ जीपीए ल्याउने विद्यार्थी गहुँ र जौ चिन्दैनन् । सिमी र चना छुट्याउन नसक्ने अवस्थाका छन् ।
- लटे र लुँडे (माटे र रातो माटे)को साग चिन्दैनन् ।
- हजुरबाले अन्ठाउन्न वा बत्तीस रुपैयाँ भन्नुभयो भने बुझ्दैनन् ।
- हजुरमाले चिन्ने सप्तर्षि र तीन आँख्ले/तीन तारा (मृगशिरा) चिन्दैनन् ।
- कुन घाँस खुवायो भने गाईवस्तुलाई पोषिलो हुन्छ भन्ने थाहा हुँदैन ।
हामीले के सिकायौँ ?
उनीहरूको क्षमता कति हो बुझौँ‚ जबरजस्ती भारी नलदाऔँ । त्यो अर्को अपराध हो । धेरै अङ्क ल्यायो‚ विज्ञान पढाउनै पर्छ भन्ने नसोचौँ । त्यस्ता विद्यार्थीले विज्ञान पढ्न नसकी एक वर्षपछि मानविकी वा व्यवस्थापन पढाएको मेरो अनुभव छ ।
उनीहरूलाई जीवनोपयोगी सीप सिकाऔँ । मानव बनाऔँ । अङ्क कम ल्याइस् भनेर सन्तानलाई तनाव नदिऊँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)