
भूगोल, इतिहास र संस्कृतिको अध्यापन अनिवार्य गर
सत्यराम कासिछ्वा
सूर्यमढी-९, भक्तपुर
विद्यालय तहमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन छाडेपछि उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाण पत्र तहमा ऐच्छिक विषय छनोट गरेर पढ्ने विद्यार्थी क्रमश न्यून हुँदै आयो ।
प्रवीणता प्रमाणपत्र तह खारेज भएसँगै कक्षा ११–१२ मा समेत ती विषयमा विद्यार्थीको रुचि नहुँदा फलस्वरुप हाल विश्वविद्यालयको तहमा इतिहास, भूगोल र संस्कृति विषय पढ्ने विद्यार्थी शून्य सरह भएपछि प्राध्यापकहरु विगत ५–६ वर्ष भन्दा अघिदेखि हाजिर गर्ने र घर फर्किने अवस्था आए पनि तलब रोक्न सकिएको छैन । तर ती प्राध्यापकहरुलाई पनि अन्य विषयगत क्षेत्रमा स्थानान्तरण गर्न पनि सम्भव भएन । तर पनि यदाकदा संस्कृतिको अध्यापन भए तापनि अनुसन्धान र खोजनीतिमा पर्याप्त नहुँदा आवश्यक जनशक्ति र व्याख्या विश्लेषणका लागि विदेशी विद्वान झिकाउनु पर्ने बाध्यताले नेपालको मौलिक ऐतिहासिक मूल्यमान्यता माथि प्रहार गरेको हामीले चाल पाउँदैनौं । प्राविधिक धारका नयाँ विषयहरुको प्राथमिकताका कारण इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अध्यापन क्रमश ओझेलमा परेका छन् ।
विद्यालय स्तरको सामाजिक शिक्षामा पूर्वको टिस्टा देखि पश्चिम सतलज काँगडासम्मको इतिहास, भूगोल र संस्कृति विषयगत रुपमा केही अंश राखेपनि विद्यार्थीको रुचि अन्य विषयतिर केन्द्रित छ भने कक्षा ११–१२ मा विषयगत पाठ्यक्रम समावेश छैन । साथै ती विषयहरुको पाठ्यक्रमलाई समयानुकूल व्यवसायिक र रोजगारीका क्षेत्रमा परिर्वतन नगरी अनुसन्धान भन्दा सिद्धान्तको प्राथमिकता दिएका कारण विद्यार्थीमा ती विषय पढ्ने चेष्टा हराउँदा उक्त विषयमा विद्यार्थी खोज्नपुर्ने अवस्था आएको छ ।
इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययनपश्चात अब आफू कसरी पालिने भन्ने कुराको चिन्तासँगै एमसीसीलगायत एसपीपी सम्झौता तथा भारतीय अतिक्रमण र विस्तारवादी नीतिले नेपाली समाजको आफ्नै मौलिकता समेत गुम्न सक्ने अवस्था छ । नेपाली समाजको विकासक्रममा आएका विविध घटनाहरुसँग प्रत्यक्ष सरोकारका यी विषयहरुमा नयाँ विद्यार्थीको दिनानुदिन अभावले राष्ट्रियता र देशभक्तिको भावना राम्रोसँग उजागर हुन सकेको छैन । जसले इतिहास, भूगोल र संस्कृति जस्ता विषयसँग जोडिएका ऐतिहासिक महत्व हराएर जाने र राष्ट्रियतामाथि आँच आउने हुन्छ । जसले नेपालको पर्यटन उद्योगदेखि नेपालको ऐतिहासिक मौलिक पहिचानमा समेत धक्का पर्छ । साथै नेपालको इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अनुसन्धान र व्याख्या वर्णन गर्न समेत गैरनेपाली र विदेशीलाई गुहार्नुपर्ने वा ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिले राष्ट्रियता गुम्ने र देशको अस्तित्वमा समेत खतरा पर्छ ।
यसर्थ देशको भूगोलमा रहेका स्रोतसाधन, खनिज पदार्थको न्यायोचित प्रयोग र प्रशोधन, ऐतिहासिक कला संस्कृतिको संरक्षण एवं सम्वर्दन सहित सार्वभौम देशको स्वाधीनता, स्वाभिमानमा उभिएर आत्मनिर्भर हुँदै देशको ऐतिहासिक मौलिक पहिचान सहित सुखी समृद्ध राष्ट्र निर्माणका लागि योग्य जनशक्ति तयार गर्न अन्य प्राविधिक विषयसँगै विशेष सहुलियत वा छात्रवृत्तिमा इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अध्यापन हुनु आवश्यक छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


