मनलाई अनुसन्धान गरेर देवकीले के पत्तो लगाइन् ?

बगैंचामा होइन, मनमा फूल फुलाउनु पर्छ

देवकी केसी

धेरै दिनदेखि मेरो मन बेचैन बनेको थियो । मन कुनै पनि कुराले शान्त हुन सकेको थिएन । मनको बेचैन हटाउन सुन्दर बगैंचा हेर्दै थिएँ । बगैंचामा धेरै फूल फुलेका छन् । ती फूलको सौन्दर्य र वासनामा मोहित भएर माहुरी र भमराहरु चुम्बा लिइरहेका छन् । अहो, फूलहरु पनि कति थरिका राता, सेता, पहेंला, निला, हरिया आदि ।

फूलहरुको आकार पनि लाम्चो, गोलो, चारपाटे, त्रिकोण आदि । सुगन्ध पनि थरीथरीका । कसले धेरै सुगन्ध दिने भनेर फूलहरु आफै प्रतिस्पर्धा गरिरहेका झै । बगैंचामा हेर्ने हो भने एकै जातको फूल पनि कति रंगको अहो । गुलाफ मात्रै रातो, सेतो, पहेलों, कति थरि हो कति ? आफूलाई भने गुलाफ, लाहुरे, पारिजात, गोदावरीबाहेक अरु फूल न चिन्नु न त नाम नै जान्नु । फेरि ति फूलका बोटहरुको पनि आफ्नै छुट्टै बिशेषता थियो । कोहि फूलका बोट झ्याम्म परेका, कोहि काँक्रोको चिराजस्ता सर्लक्क परेका, कोहि आकाशबेलीका लहराजस्ता गुजुल्टिएका, कोहि अग्ला, कोहि बामपुड्के त कोहि काँडामा चेपिएर पनि मुसुक्क हाँस्दै फुलेका । त्यस्तो दृश्यले मोहित नपर्ने को होला र ? रोएर आफ्ना आमाबाबुलाई पिरोलिरहेका बच्चाहरु पनि बगैंचाको फूलहरु हेरेर मख्ख । मनमा विरक्त लागेर भौंतारिएका जति सबै त्यहि बगैंचाका फूलहरु हेर्दै मनको विरक्त शान्त पार्थे ।

यसरी औषधीले पनि हटाउन नसकेको मनको पीर हटाएर मनभरी खुशी फुलाउन सक्ने त्यो बगैंचाको फूलहरुसित त्यस्तो राज केछ होला म सोच्ने गर्दथें । के ती फूलहरुको सौन्दर्य हो त मान्छेको मनको चिन्ता हटाउने ? नत्र भने संसारमा फूलहरुभन्दा त धेरै उत्कृष्ट चिजबिज निर्माण भएका छ् मान्छेकै मनोरञ्जनकै लागि भनेर । तर पनि तिनीहरुले मान्छेको मनको विरक्त हटाउन किन नसकेको होला ? आखिर के छ फूलहरुसित र प्रकृतिसित जो मान्छेका मनका व्यथा हटाएर मनोरञ्जनमा भुलाउन माहिर छ । म बगैंचाको फूलहरु हेरेर त्यहि कुरा सोच्दथेँ ।

तर पनि मेरो मनको बेचैन भने न त त्यो फूलबारीका फूलहरुले न त ती मान्छेले निर्माण गरेका मनोरञ्जनका आधुनिक चीजहरुले नै हटाउन सकेको थियो ।अरु त के प्रकृतिको सुन्दरता भनेपछि भुतुक्कै हुने मलाई त्यही प्रकृतिको हरियाली, चराचुरुङ्गीको चिरबिर र कलकल खोलाले पनि मेरो मन, मस्तिष्कमा सन्तुष्टि र चैन भर्न सकेको थिएन । औषधीको चमत्कारले पनि बेचैन कम हुनै नसक्ने के भो मलाई ? म आफै अचम्भित थिएँ । ध्यान गर्दा, प्रकृतिको काखमा लडिबुडी गर्दा पनि, बैज्ञानिक चमत्कारका बस्तुहरुको स्पर्शले पनि आफ्नो मनको बेचैन कम हुन नसकेपछि म आफ्नो मनको बेचैनको कारण म आफैभित्र खोज्न थालेँ । म मेरो मनको बेचैनीबारे अनुसन्धान गरेर थेसिस लेख्न थालेँ ।

मनको बेचैनीको कारण पत्ता लगाउन धैर्यताका साथ मुस्किलले मन र मस्तिष्कलाई एकीकृत गर्दै ध्यानमग्न भएपछि मेरो मस्तिष्कको पानामा एक्कासी बेचैनीको कारणहरु कोरिन थाले । त्यसलाई मैले एकएक गरेर पल्टाउने काम गरेँ । मेरो मनको बेचैनीको कारण पनि मेरो आफ्नो मन पो रहेछ त । यहि मेरो मन, मस्तिष्क र भौतिक शरीर हो जसले बगैंचाका थरीथरीका फूलहरु र तिनका बास्नाहरुलाई राम्रो देख्छ । आफ्ना मनका बेचैनीहरु फ्याँकेर त्यसैको सौन्दर्यमा डुब्छ । अरु त के कुरा हिलोजस्तो फोहोरमा फूलेको कमलको फूलको सौन्दर्यलाई देख्ने र खुशी हुने पनि हाम्रो मन मस्तिष्क हो ।

संसार राम्रो देख्न त मान्छेले आफ्नो मन मस्तिष्कमा सुन्दर फूलहरु फुलाउनु पर्दो रहेछ अनि मात्रै बाहिरको ससार सुन्दर हुँदो रैछ । जब मनभित्र नै सुन्दर फूलहरु फुल्दैननश भने त्यो बगैंचाको सुन्दर फूलहरुको के अर्थ भो र ? आखिर ती बगैंचाको सुन्दर फूलहरुलाई हेर्न र बुझ्न पनि त मनको बगैंचामा सुन्दर फूलहरु फुलाउन पर्यो नि पहिले त ।

निस्कर्षमा पुगेँ, मान्छेको सुख, दुख, सन्तुष्टि,असन्तुष्टि, खुशी सबै मान्छेको मनमा निर्भर हुँदो रैछ । त्यसैले मान्छेले बगैंचामा फूल, हरियाली, सेता हिमाल, कलकल खोला, झरझर झरनामा सुन्दरता खोज्नुभन्दा त पहिले आफ्नै मन सुन्दर बनाउनु नै बेश । आफ्नो मनभित्र फूल फुलाउन सके मान्छेले संसार नै उमंगले भरिएको देख्दो रैछ । र, कुरुपतामा पनि सुन्दरता देख्दो रैछ । जब मानिसको मनभित्रै सुन्दर फूल फुलेको छैन भने त्यो प्रकृतिको सुन्दरताले मान्छेको मनको बेचैन के हट्न सक्थ्यो ? मनको बगैंचा नै बाँझो भएपछि बाहिरी संसारको सुन्दरता हेरेर के आफ्नो मनको बेचैनीलाई शान्त पार्न सकिन्थ्यो र ? यसरी आफ्नो मनभित्रको बेचैनीलाई पुर्ण अनुसन्धान गरिसकेपछि मैले आफ्नै मनभित्र फूल रोपेर सुन्दर बगैंचाको निर्माण गरेँ ।

त्यसपछि त मेरो मनको बेचैनी दुर भयो अनि त मैले सारा संसार सुन्दरताले भरिभराउ देख्न थालेँ । मनमा फूल फुलेपछि संसार नै उमंगले झुल्दोरैछ र बेचैनी भस्म हुँदो रैछ भन्ने निचोड मैले आफ्नै मनलाई अनुसन्धान गरेर पत्तो लगाएँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. उत्कृष्ट लेखिका श्री देवकी के.सी. मा हार्दिक बधाई ज्ञापन गर्दछु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button