शारीरिक अंगका आधारमा मानिसको भविष्यवाणी

देवकी केसी

शरीरका सबै अङ्गहरुका आआफ्ना बिशेषता र संरचना हुन्छन् । विभिन्न अङ्गका आकार हेरेर बैज्ञानिक र ज्योतिषशाश्त्रमा समेत व्यक्तिको भबिस्यबाणी हुने गरेका छन् । यद्यपि मेरो विज्ञान र ज्योतिषशास्त्रमा दुवैमा विज्ञता त छैन । तर शरीरको अङ्गहरुको संरचनाको आधारमा मानिसको भविस्यवाणीको प्रमाणित त कि विज्ञानले गर्ला कि त ज्तोतिषशास्त्रले गर्ला त्यो बेग्लै कुरो हो ।

तर, मैले यहाँ उल्लेख गर्न खोजेकोचाहिँ बालापनमा मेरो शरीरको एउटा अङ्ग हेरेर मानिसले गरेको एउटा भविस्यवाणी नै हो । मेरो कान अरु मेरा दौँतरीका भन्दा सानो नै थियो । त्यसैले मलाई बुढापाकाले मेरो कान हेरेर भविस्यवाणी गर्दथे । अहो, यसको त कति सानो कान यसको त आयु पनि छोटो हुन्छ । यसको विहेमा पछि टन्न गहना ल्याउने पोइ पर्यो भने पनि यसले त कानभरी गहना लगाउन नपाउने भइ कानै सानो पो रैछ । त्यही बेला मेरो मुखबाट फुत्त एउटा जवाफ आएछ (मेरो कान सानो भएर के भो त ? टन्न गहना ल्याउने पोइ परे के गहना लगाउन मेरा कान मात्र छन् र म हातैभरी सुनका चुरा ल्याउनु भनौँला नि । सायद मेरो जवाफले रिस उठेछ क्यारे । सानै भए नि कस्तो चोथाले रैछे भनेर उल्टो मलाई गाली गरेको त्यो बालपनको घटना अझै मलाई सम्झना छ । कान साना हुने अभागी कम उमेरमा मर्छन रे अनि कान ठुलो हुने भाग्यमानी लामो आयु हुन्छ रे मलाइ हेरेर भन्थे । खोइ म एकपटक ठुलो दुर्घटनामा परेर नि लामो उपचार पछि बाँचे, के मेरो कान सानो भएर छिटो मर्न म दुर्घटनामा परेको वा अभागी भएर हो र ? मेरा मनमा यी प्रश्न उब्जिए ।

शरीरका अङ्ग हेरेर भविस्यवाणी गर्नेप्रति मेरो एक रत्ति पनि भरोसा छैन । कुरो यहाँ शारीरिक अङ्गका संरचनाका आधारमा भविस्यवाणी गर्ने मात्र होइन । खास कुरो त यहाँ के भने महिलाको हरेक अङ्गलाई यहाँ कामुकता र लाजसित मात्रै जोड दिएर गलत विश्लेषण गर्ने गलत परिपाटी बसेको छ । यदि शारीरिक अङ्गकै आधारमा भाग्यमानी र अभागी हुने भए ख्याउटे अब्राहम लिंकन अमेरिकाको रास्ट्रपति हुँदैन थिए होलान् । हेलन केलर र झमककुमारी साहित्यको तारा बनेर उदाउँदैन थिए होलान् । बलवान दश टाउके रावणको युद्धमा मृत्युवरण हुँदैन थियो होला । त्यो कुरुप इसप बालबालिकाको लागि राम्रो कथा सुनाएर मनोरञ्जन दिने असल मान्छे हुदैन थियो होला अनि सुन्दरी क्लियोपेत्राको त्यो दुखद अन्त्य हुदैन थियो ििहोला ।

त्यसैले शारीरिक अङ्गको आधारमा मानिसहरुको भविस्यवाणी गर्ने गलत प्रवृत्तिभन्दा मानिसको काम, लगनशीलता र विचारको आधारमा मानिसको भविस्यवाणी गर्नु नै मेरो नजरले उपयुुक्त ठान्दै आएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button