रिटायर्ड लाइफ, ओल्ड एज र लोन्लीनेस

तारा श्रेष्ठ
विराटनगर-६

मानिसले जिविकोपार्जनका लागि कुनै न कुनै पेसा अपनाएका हुन्छन् । कृषि, व्यापार, उद्योग व्यावसाय, नोकरी ज्याला मजदुरी अन्य विविध । पढेलेखेका युवाहरुलाई सरकारी नोकरीले आकर्षित गरेको छ । अहोरात्र मिहिनेत गरेर सरकारी क्षेत्रमा प्रवेश पाएका कर्मचारीहरु बफादार, इमानदार, कर्तव्यनिष्ठ, अनुशासित र लगनशील हुन्छन् । आफ्नो कार्यबाट कहींकतैबाट चुक्न नपरोस् भनेर कार्यालयमा लागिपरेका हुन्छन् । एकछिन ढिलो भयो या काम विशेषले कार्यालय जान नसक्दा सर्वश्व नै गएको अनुभव गर्ने र झारा टार्न खोज्ने कर्मचारी यहाँ नभएको हैन । कार्यालय समयमा पुग्नु पर्ने र सेवाग्राहीप्रति उत्तरदायी बहन गर्नु पर्ने हुँदा उनीहरुले सामाजिक हुन र परिवारसँग समय व्यतित गर्न पाइरहेका हुँदैनन् ।

कतिपय मानिस सरकारी जागीर खाएर समाजमा ठूलो पल्टने हुन्छन् । आफ्नो पद र प्रतिष्ठा रहुन्जेल मानिसलाई मानिस नगन्ने, कर्कश व्यवहार गर्ने, समाजमा घुलमिल नहुने आदि व्यवहार देखाउँछन् । भोलि फर्केर समाजमा बस्नु पर्ने, छरछिमेक चाहिने यथार्थलाई बिर्सेर आफ्नो रवाफ र खरो व्यवहार देखाउनेहरु सामाजिक बन्न नसक्री अवकाशपछि नितान्त एक्लो हुन पुग्दछन् । सत्ता र शक्तिको पूजा गर्ने हाम्रो समाजमा पदबाट अवकाश पाएपछि उनीहरुको मान रतिभर नहुने हुन्छ । जुन व्यक्ति नोकरीसँगै समाजमा घुलमिल हुन्छ, सारोगारोमा सहभागी बन्छ, सकेको सहयोग गर्छ, उनीहरु सधैं सबैको प्रिय बन्न सक्छन् र अवकाशपछि पनि एक्लो हुदैंनन् ।

काम गर्न सकुन्जेल आसेपासे पनि निकै हुन्छन् । परिवार पनि सबै खुसी हुन्छन् । आफन्तसँग भेटघाट पनि बाक्लै हुन्छ। बालबच्चा पनि झुम्मिन्छन् । जागिरको समयसँगै मानिसको समय पनि बितिरहेको हुन्छ । ऊ बिस्तारै बुढेसकालतिर प्रवेश गरिरहेको हुन्छ । छोरा छोरीको बिहेदान, कोही बिदेसिदैं, आफूसँग टाढा बन्दै जान्छन् । जब अवकाशको समय नजिकिन्छ तब उसले आफूले जीवनमा के गरेँ, के गरिनँ भनेर आफ्नो मूल्याङ्कन गर्न पुग्छ । त्यति बेलासम्म ढिला भइसकेको हुन्छ । जो व्यक्ति बहाल रहँदा समाज, घर परिवारलाई हप्किदप्की र थर्काएर राख्न खोज्छ, रवाफ देखाउँछ, अवकाश पाएपछि समाजमा ऊ एक कौडीको रहँदैन ।

उमेरभरि कमाएको पैसा बालबच्चा हुर्काउँदा र पढाइलेखाइमा खर्च हुन्छ । जब छोराछोरीले केही गर्लान् र सहयोग पुग्ला भन्दाभन्दै खानै नहुने रोग लाग्न थाल्छ । औषधीको सहारा लिन पर्ने हुन्छ । छोराछोरी लाखापाखा हुन थाल्छन् । दिनभर घरमा एक्लै बस्नु पर्दा दिक्दारीको सिकार हुन पुग्छन् । बुढाबुढीसँगै बाँचिरहे त ठिकै हो, त्यसमध्ये एक गइयो भने जीवन अझ निरस बन्दछ । अझ पुरुषलाई एक्लै बाँच्न सजिलो हुन्न । बुहारीसँग सेवा लिन गारो हुन्छ । विभिन्न आक्षेपहरु लाग्न सक्छन् । कतिले लगाउँछन् । कति ससुराबाट बुहारीहरु शोषित हुन्छन् । जस्ले गर्दा ससुराको स्याहारसम्भार गर्न हिच्किचाउँछन् । परिणाम एक्लै बस्न बाध्य हुन पर्छ । छरछिमेकका महिलासँग बोल्दा, हेलमेल गर्दा पातिएको बुढाको संज्ञा मिल्दछ । जब जब बुढेसकालको निकट पुग्छन्, उनीहरू हिडडुल गर्न चाहँदैनन् । एकैठाउँमा बसिरहँदा मोटोपन बढेर सुगर प्रेसरको सिकार बन्न पुग्छन् । चुपचाप एकै ठाउँमा बसिरनु पर्दा खुट्टा सुनिने, घुँडा दुख्ने ,कब्जियत हुने धेरै समस्या उत्पन्न हुन थाल्छ । कान कम सुन्ने, आँखामा समस्या देखिने, दाँत कम्जोर भई खान नसक्ने, राति निन्द्रा नलाग्ने जस्ता समस्याबाट एक्लो भई जीवन बोझिलो बन्न थाल्छ र बिस्तारै मानसिक रोगी बन्न पुग्छ ।

परिवारका सदस्यहरू काममा ब्यस्त भएकै कारण बुढाबुढीको राम्रो ख्याल गर्न र औषधोपचार गर्न सकिराखेका हुदैनन् । यी कारणले आफूलाई परिवारमा बोझ बन्दै गएको महसुस गर्ने गर्दछन् । छोराछोरीले असल व्यवहार देखाउन नसक्दा कति बाबुआमाले आत्महत्यासम्मको बाटो अपनाएको पाइन्छ । निम्न आय भएका सन्तानले आफ्ना छोराछोरी र परिवारको रेखदेख गर्दागर्दै आफ्ना बाआमालाई समयमा औषधोपचार गर्न सक्दैनन् । कतिपयले आफू सक्षम हुँदाहुँदै पनि बेवास्ता गरिदिन्छन् । जतिजति बुढाबुढी हुँदै गयो, उतिउति उनीहरु आफ्नो समय र छोरा छोरीको समय दाँजेर आफूले उनीहरुको भविष्य बनाउदै जीवन सकेको, जायजेथा सकेको, आफूसँग नभएकै कारणले छोरा बुहारीले आफुलाई नहेरेको, सम्झेर पेचिलो बचनहरु लगाउने गर्दा सन्तान रुष्ट हुने गर्दछ । बुढाबुढीको छुच्याइँ र रुखो व्यवहारले पनि एक्लो हुँदै जान्छन् । सबै दोष बाआमा या छोरा बुहारीलाई मात्र थोपार्नु हुन्न । उनीहरुले पनि सकेको सहयोग गर्नु पर्छ । सिर्जनशील हुनुपर्छ । यसो गर्नाले शरीर चलाएमान र सक्रिय हुन्छ । परिवारमा खुशी भरिन्छ । छोराछोरीले पनि बाआमालाई सक्दो माया र सम्मान गर्नुपर्छ । समय मिलाएर घुमाउन लानु पर्छ । उनीहरुसँगै बसेर खाने, टिभि हेर्ने, कामकाज गर्नाले उनीहरुको जीवन रसिलो बन्दछ । घरका केटाकेटीले पनि वृद्ध बाआमालाई गरेको व्यवहारबाट सकारात्मक सोच, भविष्यमा जिम्मेवार र संस्कारी नागरिक बन्न सहयोग पुग्छ ।

हाम्रो समाजमा यस्ता पनि सन्तान छन्, जस्ले कुकुरलाई माया गरेर पाल्ने, आफ्ना बाआमालाई वृद्धाश्रम पुर्याउने । यस्ता कार्यले सन्तानमा सकारात्मक सन्देश जाँदैन । बाआमा छोराछोरी जस्ता बन्न सक्दैन तर छोराछोरी बाआमा जस्ता बन्ने दिन चाँडै आउने तितो सत्यलाई सन्तानले बिर्सन हुन्न । यथोचित सामाजिक सुरक्षा, वृद्धवृद्धाका लागि केयर होम, केयर टेकर, क्लब, टहल्ने पार्क र उचित वृद्धभत्ताको ब्यवस्था नहुँदा उनीहरू एक्ला हुने गर्दछन् ।

पाखुरीमा बल, पद, प्रतिष्ठा सत्ता र शक्ति भन्ने क्षणिक छ । त्यसैले भविष्य सोचेर सामाजिक बन्नु पर्छ । सकेको सहयोग गर्नु पर्छ । बाआमालाई बोझको रुपमा हेर्न हुन्न । उनीहरुको सम्पत्ति नभए पनि बेवास्ता गर्नु हुन्न । उनीहरुलाई मिठो खानभन्दा पनि परिवारको न्यानो साथ, स्नेह र मिठो बोलिले खुशी राख्न सकिन्छ । नोकरीबाट अवकाश प्राप्त भए पनि जीवनबाट अवकाश नलिउन्जेल परिवारको साथ सहयोग र स्नेह पाइरहौं । सबैमा शुभकामना छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button