काठमाडौं महानगर बैठकको प्रत्यक्ष प्रसारणपछि तीन चिन्ता

मोहन ढुँगेल

काठमाडौं महानगरपालिका यसपाली तीन विषयले देशको ध्यान खिच्न सफल भएको छ । एक, वर्षौंदेखि दलीय पकडमा रहेको महानगरको नेतृत्व यस पटक स्वतन्त्र एवं राजनीतिमा एकदमै नवआगन्तुकको हातमा पुग्यो । अर्थात् लामो समयसम्म राजनीतिक दलहरुको पकडमा रहेको नेतृत्व यसपाली परिवर्तन गरेर मतदाताले दलविहीन नेतृत्वलाई स्थापित गरिदिए ।

दोस्रो, नेवार समूदायको वर्चस्व रहेको देशकै ठुलो महानगरमा यसपाली गैरनेवारलाई नेतृत्वमा ल्याएर काठमाडौंवासीले परम्परागत दृष्टिकोण परिवर्तन गरेको सन्देश पनि दिए । यस सँगसँगै मतदाताले विभिन्न राजनीतिक धरातलबाट आएका वडाध्यक्षहरुको समिश्रण समेत गरेर मेलमिलाप, सद्भाव र आपसी सहयोग सहकार्यको जनादेश समेत दिए ।

तेस्रो, नवनिर्वाचित महानगर प्रमुख बालेन्द्र साहले पारदर्शितालाई जोड दिँदै कार्यपालिकाको बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरे । यो निर्णयका कारण जेष्ठ १६, २०७९ सोमबारको पहिलो बैठकमा धेरैको ध्यान गयो र अधिकांशले त्यो बैठक गतिविधिलाई आफ्नै अगाडि हेर्न, सुन्न र विश्लेषण गर्न पाए ।

त्यो बैठकका बारेमा अब केही भनिरहनु परेन, सबैले देखे सुनेको विषय हो, तर त्यसमा अन्तरनिहित केही खड्किएका विषयका बारेमा केही भन्नु लेख्नु पर्ने आवश्यकता चाहिँ रह्यो ।

बैठकको प्रत्यक्ष प्रसारण हेरिसकेपछि तीन विषय अद्भूत, अपेक्षित र चिन्ताजनक देखिए । ती हुन् एक, हाम्रो कर्मचारीतन्त्रको प्रवृत्ति । दुई भिन्न भिन्न राजनीतिक धरालतबाट आएका कार्यपालिका सदस्यहको मनोवृत्ति र तीन, स्वयम् महानगर प्रमुखले आगामी दिनमा तय गर्नु पर्ने बाटो र संसदीय अभ्यासको ज्ञान ।

१. हाम्रो कर्मचारीतन्त्र चाप्लुसी, अवसर पाएको बेला हेपाहा र मिचाहा छ, यो प्रवृत्ति हिजो पनि थियो आज पनि छ र भोलि पनि हटाउन गाह्रो छ । बैठकको प्रत्यक्ष प्रसारण नगरेको भए महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पटक पटक प्रमुखलाई कानेखुसी गरी गरी सिकाइरहेको दृष्य कसैले देख्न पाउँदैनथ्यो । त्यसैगरी बैठकका एजेण्डालाई फ्लोरमा प्रस्तुत नगरी पारित गर्ने प्रशासकिय अधिकृतको धृष्ठता हामीले चाल पाउन सक्दैनथ्यौ । प्रत्यक्ष प्रसारणमै हामीले थाहा पाइरहेका थियौं कि त्यो हाकिम साबको कानेखुसी प्रमुखले चाहेकै थिएनन्, उनी त्यस्तो काम गरेर बार बार देखाउन चाहन्थे, “बैठकको प्रक्रिया म प्रमुखलाई सिकाइरहेको छु,” “बैठक कसरी चलाउने हो म प्रमुखलाई सिकाइरहेको छु” जुन आवश्यक नै थिएन, अन्त्यमा प्रशासकीय अधिकृतले प्रमुखलाई विवादित नै बनाइछाडे । बैठकमा प्रस्तुत गरेर पारित गर्नु पर्ने एजेन्डा उनैले पारित भएको घोषणा गरेर । लामो समयसम्म राजनीति अभ्यास गरेर, पटक पटक वडाको नेतृत्व गरेर आएका पाका वडा अध्यक्षहरुको अगाडि कर्मचारीतन्त्रको हेपाहा र मिचाहा प्रवृत्तिले असहज अवस्था आउनु स्वाभाविक हो । महानगर मात्र होइन, अहिले देशभरका प्रशासकीय अधिकृतहरुले बैठकको निर्णय सुनाउनु अघि तत् तत् पालिकाहरुहरुको राजनीतिक प्रतिनिधित्व र त्यसको संवेदनशीलतालाई ख्याल गर्न जरुरी छ । नत्र कर्मचारीतन्त्रको सानो गल्तीले ठुलो राजनीतिक असमझदारी पैदा गरिदिन सक्छ र त्यसले त्यस्ता पालिका र ती पालिकामा बसोबास गर्ने आम मानिसको जीवनमा नकारात्मक असर गर्न सक्छ । किनभने स्थानीय तहको निर्वाचन २०७९ मा धेरै पालिकामा कुनै दलको बहुमत छैन र सबैले सहकार्य गरेर स्थानीय तहको विकास निर्माणमा काम गर भन्ने जनादेश छ, यस पटक । त्यसमाथि जनताको ठुलो आस्था विश्वास बनेर स्वतन्त्र उम्मेदवारले पनि पालिकाहरुमा नेतृत्व पाएका छन् । बहुदलीय प्रणालीमा दलहरुले आ आफ्ना एजेण्डा लिएर चुनावी मैदानमा उत्रेका हुन्छन्, ती एजेन्डा कार्यान्वयन गर्न खोज्नु उनीहरुको धर्म पनि हो । तर, मेयरका आडमा दलका अन्य जनप्रतिनिधिलाई पाखा लगाउन खोज्नु, बैठकका निर्णयहरुमा उनीहरुको स्वामित्वबाट बन्चित गर्न खोज्ने प्रवृत्तिले अन्ततः मतदाताको नजरमा जननिर्वाचित प्रतिनिधिहरुको साख बिगार्ने काम मात्र हुन्छ । त्यो छनक काठमाडौं महानगरपालिका कार्य समितिको पहिलो बैठकमा देखिनु दूर्भाग्य नै मान्नु पर्छ । नीति नेतृत्वको कार्यान्वयन कर्मचारीको भन्ने सिद्धान्तलाई अब देशैभरका पालिकाहरुमा लागू गर्दै जानु पर्ने देखिन्छ ।

२. दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको मनोवृत्ति । महानगरको बैठकमा यस्तो राजनीतिक मनोवृत्ति पनि मुखररुपमा देखियो । बैठकका एजेन्डाहरुमा आफ्नो मत राख्नु, राय बाझ्नु र असन्तोष देखिनु स्वभाविक हो तर केही वडाध्यक्षहरुले आम मानिसले बुझ्ने भाषामा स्वतन्त्रबाट निर्वाचित प्रमुखलाई “तपाईको रोजी हाम्रो छाडी” भनेर एक्लै हिँड्दा दूर्घटना होला हामीलाई साथै लैजाउ भनेर धम्की दिन पनि भ्याए । यद्यपि प्रमुखले एक्लै हिँड्ने कुनै संकेत कतै दिएको पाइएको छैन । बरु, आफु निर्दलीय प्रमुख बनेको हुनाले सबैको साथ नलिई अघि बढ्न नसकिने र आफ्नो सोचाइ एक्लै जाने नरहेको भनाइ पटक पटक आएकै हो । यो दलीय व्यवस्थाको चरित्र पनि हो तर यस पटकको महानगरको जनमतलाई भने वडा अध्यक्षले बुझेर पनि बुझ पचाएको देखियो । १ लाख ९० हजार मत सबै नै हाम्रै हो भन्ने केही जनप्रनिधिको दम्भले पनि आगामी दिन महानगर प्रमुखका लागि शुभ संकेत होइन । तर, त्यो पूर्ण जनमतको हिस्सा वडा अध्यक्षहरुको कति हो र नगर प्रमुख एक्लैको कति भन्नेमा पनि वडा अध्यक्षहले हेक्का राख्नुपर्छ किनभने बैठकको प्रत्यक्ष प्रसारण यो नै पहिलो र अन्तिम पक्कै होइन हो । यस्तोमा आम समूदायले प्रश्न गरिसकेका छन्, ओ, हेलो, वडाध्यक्षज्यू ! स्वतन्त्रलाई हेप्नी, एक्लो भन्ने ? जनमतलाई उडाउने ? महानगरबासीको मन हेर्या छ ? उनीहरुको मत गन्या छ ? हो, नगर प्रमुखले स साना विषयमा पनि आम सहमति गरेर जानै पर्छ अर्को विकल्प छैन । प्रमुखको मात्र अधिकार क्षेत्रभित्र पर्ने विषयमा पनि सहकार्य गर्नैपर्छ, अर्को विकल्प छैन । तर, दलीय दम्भ, दलीय प्रभाव र दलीय दबाबलाई एकातिर पन्छाएर समग्र नगरको विकासमा एकचित्त भएर लाग्ने हो भने काठमाडौं पक्कै पनि अरु पालिकाको गुरु बन्न सक्छ ।

३. महानगर प्रमुखले विकास निर्माण र योजनालाई मात्र होइन, प्रविधिक विषयमा पनि आधारभूत जानकारी लिनुपर्छ । नत्र हाम्रो कर्मचारीतन्त्रले उठ्नै नसक्ने गरी थला बसाइदिन सक्छ । बैठकको कार्यविधि जान्नु त प्रमुखको पहिलो दायित्व हो । सहकार्य अर्को विषय हो र सहयात्रा प्रमुख गन्तव्य हो । पहिलो बैठकले पक्कै पनि यो सिकाएको होला । बैठकको सूचना दिनुअघि एजेण्डाका बारेमा सहभागीहरुलाई लिखित जानकारी दिनु, तयारी गर्न पर्याप्त समय दिनु र एजेण्डामा क्रमैसँग छलफल र क्रमैसँग टेबुल गर्नु र पारित गर्नु संसदीय प्रक्रिया हुन् । यो कुरामा प्रमुख सर्तक हुनैपर्छ । नत्र प्रस्ताव फिर्ता लिएर फेरि प्रक्रियामा लानुपर्ने असजिलो अवस्था भोग्नुपर्ने हुन्छ । त्यस्तै देशका कानुन, कानुनी कार्यविधिका बारेमा पनि आधारभूत जानकारी हुनुपर्छ र बैठक बस्नुअघि पर्याप्त गृहकार्य आवश्यक हुन्छ । त्यसै पनि प्रमुखलाई विज्ञहरुको समूह बनाउन कसैले रोक्दैन, विषय विज्ञलाई औपचारिकरुपमै नियुक्त गरेर उनीहरुबाट सल्लाह लिन पनि प्रमुखलाई कसैले बाधा गर्दैन । तसर्थ काठमाडौं मात्र होइन सबै पालिकाले आफ्नो अधिकारक्षेत्र र आर्थिक अवस्था अनुसार यस्ता विषयविज्ञहरुको सेवा लिएर अघि बढेमा प्रस्तुत गरिएका प्रस्ताव फिर्ता लिएर फेरि अर्को प्रस्ताव प्रस्तुत गर्ने अपमान सहनु पर्दैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button