
धुर्कोट प्रमुखलाई ‘घाँसेकेटी’को चिठ्ठी
बसन्ता पोख्रेल
धुर्कोट-१, नयाँगाउँ, गुल्मी
गाउँपालिकामा दोस्रो पटक अध्यक्ष पदका लागि विजयी बन्नुभएकोमा सर्वप्रथम बधाई छ भूपाल पोख्रेललाई ।
हामी खोला वारी र पारी दुवै अपरिचित छैनौं । र, हामी दुवैलाई यस पालिकाको उत्तिकै माया र महत्व अनि चिन्ता छ । यस गाउँपालिकाको बारेमा दुवै नै अपरिचित छैनौं । तपाईंले राजनीतिको बाटो रोज्नु भयो अनि त्यही बाटोमा हिँड्नु भयो । अनि, रोज्नु भयो विकास र समुन्नतिको बाटो । मलाई सामान्य नागरिककै रुपमै रमाउन मन पर्यो, यही घाँसपात गर्दै प्रकृतिमा रमाउँदै अनि सबैलाई नियाल्दै । म राजनीतिमा धेरै अघि बढ्न नसके पनि मजस्तै सामान्य मान्छेको पनि राजनिति गर्नेहरुबाट केहि अपेक्षा हुने रहेछ, जुन अहिले मलाई भइरहेको छ भूपाल पोख्रेल तपाईंबाट । विकास होस् भन्दै यस पालिकाको चाँसो हुने रहेछ अनि माया पनि उत्तिकै ।
तपाईं र मलाई अनि धेरैलाई थाहा छ, धुर्कोट गाउपालिका देशकै नमूना गाउँ पालिका हो । यसरी भन्दै गर्दा, लेख्दै गर्दा तपाईं र म हामी चिन्तन गर्ने मान्छेले सोच्न जरुरी छ, यस गाउँपालिकाभित्र हरेक समय तेलमा दियो जलाउनेदेखि भुटुनमा घिउ राखेर तरकारी पकाउनेसम्मको अवस्था कस्तो छ ? के साँच्चै सबै खुसी र समान छन् त ? के सबैले सुविधा लिन पाए त ? मैले सबैलाई अनि तपाईंलाई बुझाइराख्नुपर्ला जस्तो लाग्दैन । साँच्चै तपाईंले भने जस्तै धेरै सचेत नागरिक बस्ने गाउँपालिकाको रुपमा परिचित छ धुर्कोट । यहाँका हरेक नागरिकले यस्को सुक्ष्म अध्ययन गरिरहेको हुन्छन् जस्तो लाग्छ ।
भ्रष्टाचार, घुसखोरी जस्ता थुप्रै विषय र यस्मा निकै चनाखो र सचेत हुनुहुन्छ जस्तो लाग्छ मलाई, छैन भने बन्नु है । यो मेरो आग्रह आममानिसको तर्फबाट । कतै तपाईंलाई यसबारे ध्यान नगएको हुन सक्छ, म त घाँसे केटी हुँ, हरेक पटक यी कुरा सोच्ने गर्छु । घरमा या घाँस काट्दा । तपाईंसँग आफ्नै पैतृक सम्पति यथेष्ट भएको र खान लगाउन मजाले पुग्ने भएको कारणले आम मानिसको सोचाई तपाईंले अवैध राजनीतिलाई नै अर्थोपार्जनको क्षेत्र बनाउँदैन र अझ तपाईं एक युवा, पहिले भएको विकास जस्तै पुन पूरा हुन् नसकेका कार्य पूरा हुन्छन् कि भनेर विश्वाससाथ तपाईंलाई प्रमुख बनाउन भोट दिएको पनि हुन सक्छन् । मलाई लाग्छ, अबको पाँच बर्ष तपाईंको लागि यो नै ठुलो अग्निपरिक्षा हो जस्तो लाग्छ भूपाल दाई ।
यसबाहेक तपाईंले भाषणमा हामी जनताको शासक होइन, सेवक भएर काम गर्ने भनेर बोल्ने गरेको बिषयले पनि धेरै नै चर्चा पाएको थियो । यस्मा तपाईंले जितिसकेपछि तपाईंमा के परिवर्तन आयो, त्यो त मलाई थाहा भएन । तर मलाई विश्वास छ, तपाईं त्यस्मा पनि धेरै नै सचेत हुनुहुन्छ । मलाई तपाईले जस्तोसुकै ब्यवहार गरे पनि मलाई त फरक नपर्ला । तर, यहाँका बासिन्दाहरुको कम से कम काम गर्ने बेलामा मुस्कान दिएर उहाँहरुका समस्या, सुझाव सुन्ने गर्नु हुन्छ भन्ने आशा लिएको छु । अनि वडा कार्यालय, धुर्कोट पालिकाको कार्यालय आउँदा जुन किसिमको प्रशासनिक दुःख झेल्नु पर्ने कार्य, बर्खा समय खोला पारी निस्किँदा बिग्रने बाटो बिल्कुल बन्द होस् भन्ने पनि चाहन्छन् यहाँका नागरिक ।
अर्को कुरा, शिक्षा, खानेपानी तथा स्वास्थ्यको छ । तपाईंको, हाम्रो घरमा मजदुरी गर्ने मजदुर, भरिया दाजुभाईहरु बिरामी भए भने उनीहरुले के गर्लान् भनेर साह्रै पिर लाग्छ मलाई । अनि उच्च शिक्षा लिनेको लागि पनि केही सहयोग तपाईंबाट अवश्य हुन्छ, मलाई यो कुरा विश्वास छ । हरेक कार्यालयमा राम्राभन्दा हाम्रा छिराउन खोज्लान् । चनाखो बनेर राम्रालाई छान्नु है भूपाल दाई । कृषि क्षेत्रमा जोड दिँदै गर्दा करोडौंका बजेट कृषि सिंचाईमा लगानी लगाउँदा उनीहरुले बारीमा भन्दा पनि गाग्रीमा खानेपानी भर्न पाएका छन् कि छैनन् ? कतै गाउँमा नाइके भन्नेहरुले तपाईंलाई भ्रम पारेका त छैनन् ? कागजी रुपमा राम्रै लेखेर कहीँ गाउँको कहानी दुःखलायक त छैन ? अनि शिक्षाको कुरा गर्दा उनीहरुको सन्तानहरुले पढ्न सकेका छन् कि छैनन् ? त्यो पनि सोचनिय बिषय बनेको छ । दुख लाग्छ, कहिलेकाहिँ म मेलामा एक्लै रुन्छु, एकान्तमा बग्छन् आँसु । यहाँका धेरै सार्वजनिक खुल्ला जग्गाहरु विकासको नाममा स्कुल, हस्पिटललगायत धेरैलाई कुर्वान गरिसकेको विषय मैले तपाईंलाई भनिराख्नु परेन । हामी यही माटोमा खेली हुर्केका धेरै सार्वजनिक ठाउँहरु अहिले हस्पिटल, मल बनाउने ठाउँ स्कुल लगायतले ओगटिसकेको सर्वजिवितै छ । ती ठाउँहरुबाट यहाँका बासिन्दाले के पाए के गुमाए भनेर लेखाजोखा गर्न तपाईंको ध्यान जानै पर्छ भन्ने ठानेकी छु । कसैको घर बनाउने जग्गा छैन त कसैले सार्वजनिक ठाउँ ओगटेर आफ्नो घर, गोठ बनाउँदै बार्दै गरेको सुन्नमा आउँछ । खै, यसलाई तपाईंले कसरी हेर्ने हो ? राजनिति त राम्रोको लागि हुनु पर्ने जस्तो लाग्छ । तपाईंले राम्रो गर्दा कोही आउलान् बिगार्न तर बिगार्नलाई हुँदै होइन । यदि त्यस्तो भएमा त्यो राजनितिभन्दा पनि कुनिति भयो जस्तो लाग्छ । यो कुरा मैलेभन्दा तपाईंले नै धेरै बुझेको हुनु पर्छ । अनि बुझ्ने हाम्रो होनहार राजनीतक प्रतिभा भएका तपाईं युवा हो ।
खैर के लेखू र अरु त, पत्र छोट्याउने कोशिसमा छु । म जस्तो घाँसे केटी अनि बेहिसाब यात्रीलाई यहाँको बारे जानकारी नहुने कुरै भएन ।
कोर एरियाबाहेककालाई विकास भन्नु पोखरी बन्नु, मठ मन्दिर बन्नु मात्रले पुग्दैन । खानेपानी, राती हिँड्नलाई प्रत्येक ठाउँमा बिजुली, सार्वजनिक शौचालय, वातावरणमैत्री खुल्ला पार्किङ, ठाउँ ठाउँमा जेष्ठ तथा अपांगमैत्री बाटोघाटो र मन डुलाउने पार्कलगायत खोजेको हुन्न सक्छ आम मानिसले । अनि कतै यसलाई पर्खिरहेको त छैनन् आमबासीले ? त्यस्ता बिषयमा तपाईंको ध्यान गयो कि गएन, त्यो मलाई थाहा भएन । छैन भने एकचोटि गम्भीर भएर सोच्नु है ।
गीत संगीत, मनोरञ्जन, खेलकुदलगायतका यावत कुरालाई धार्मिक एवं ऐतिहासिक स्थल रहेको बिचित्र गुफा जस्ता थुप्रै स्थल कतै तपाईंको बाटो हेर्दै छन् कि । आशा बोकेका छन् कि कतै तपाईंको विकास को बाटो हेर्दै । ठुस्स परेर रहेका पुराना कला संस्कृतिलाई पनि हँसाउनु पर्छ है खिस्स हाँस्ने गरी । हामी मिलेर यस्को विकास उठानमा कदम चाल्ने आशा जगाएकी छु मैले तपाईंबाट । यहाँ त धेरै बहुप्रतिभाका युवा छन् हरेक कुरामा । धेरै कर्मचारी उत्पादन गर्ने यो पालिका, सबैको नाम लिँदालिँदै दिन बित्छ होला । उनीहरुको ज्ञान, योगदानको कदर र उपयोगका साथै सम्मानको लागि तपाईं एक कदम अगाडि हुनुहुन्छ भन्नेमा मलाई विश्वास छ ।
अन्तमा, रोजगारी र जिविकोपार्जनको सम्भाव्यता अध्ययन, पर्यटन भित्र्याउने लगायतका यावत कुराहरुमा दुरदर्शिता राखेर काम गर्दै पाँच बर्षको तपाईंको कार्यकाल सुखद र सफल रहोस् भूपाल दाई ।
साथै उपाध्यक्ष विजयी उम्मेदवार सीता गिरी पनि यस्तै अपेक्षाका साथ सबैको कार्यकाल पुर्ण सफलताको कामना गर्दछु । अनि सम्पूर्ण राजनैतिक दल पनि कुर्सीमा हुँदा पालिकाकै लागि र नहुँदा पनि यसै विकासका लागि आवाज उठाउनु हुन अनुरोध गर्दछु ।
धन्यवाद सबैलाई मेरो चिठ्ठी पढ्नु भएकोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)