केपी बा ! अब तपाईं दाहिने दिमाग चलाउनुस्

तपाई साँच्चैको शिष्ट, दयाशाली, ओजस्वी र सर्वप्रिय बन्नुस्

मोहन ढुँगेल

आदरणीय केपी बा
सादर नमस्कार

बा ! तपाईलाई केही गुनासा, केही निराशा, केही उत्तेजना र केही वितृष्णा भरिएको मेरा मनको भावना सुनाउन लाग्दैछु । सायद यो प्रकट भएपछि मलाई तपाईका अरु छोराले घृणाको नजरले, आक्रोशको अधरले प्रतिवाद गर्लान् । तर, म तपाईको विरोधी हैन । तपाईको शुभेच्छुक हुँ । म तपाईकै निर्वाचन क्षेत्रको एउटा छोरा हुँ । यी हातले तपाईलाई टिका लगाईदिएर त्यहाँसम्म पु¥याउने एउटा सानो दुश्साहसी पनि म नै हुँ । विगतका निर्वाचनका बेला एउटा उर्वर राजनीतिक भविष्य भएको र हाम्रो भावि लेख्ने अगुवाका रुपमा जहिलै तपाईको दृढता, तपाईको उच्च आत्मविश्वास र तपाईले देखाउँदै गरेको सपनाको महलमा ओत लाग्न खोज्ने बज्रस्वाँठ पनि मै हो । हिजोका दिनमा तपाईलाई कुनै समस्या पर्दा निन्द्रा खल्बल्याएर रातभर जागा बस्ने एउटा अजिर छोरो पनि हुँ म ।

छिमेकीले हाम्रा सिमानाका सबै दैलोमा भोटे ताल्चा लाउँदा तपाईको साहसलाई “जिन्दावाद” भन्ने म पनि हुँ र हाम्रो घरको पश्चिम पट्टिको छानामा “चुच्चे बुइँगल” जोड्दै गर्दा सुदूर पूर्वको एउटा कुनामा बसेर बेजोडसँग थपडी बजाउने म पनि हो ।

त्यति मात्र होइन बा !

हावाबाट बिजुली निकाल्ने आँट गर्दा ओहो भन्ने पनि हुँ म, घर घरको भान्सामा ग्यास पु¥याउने सपना सजाउँदा आहा भन्ने पनि हुँ म । काठमाडौंमा मोनारेल कुदाउने होस् या नेपाली झण्डाको पानी जहाज बगाउने या त मेरो घर झापाबाट मेरो साथीको घर कञ्चनपुरसम्म पुग्ने “लामगाडी” को सपना बुन्दा होस् मैले कहिलै पनि तपाईलाई शंकाको नजरले, खिसिट्यूरीको भावले हेरिन, आसै गरेँ, विश्वासै गरेँ । मलाई था छ, सपना नबोकी उकालो चढ्न सकिँदैन । उकालो नचढी संसार पनि त देखिँदैन । घरको अभिभावकले कहिले काहीँ आफ्ना पारिवारिक सदस्यलाई सपना देखाएर मनोबल बढाउने हाम्रो हरेक नेपाली घर घरको संस्कृति पनि त हो । घर परिवारमा आइपर्ने बिपतका अगाडि सतिसालको रुख भएर ठिङ्ख उभिनु घरका ठुलाबडाको कर्तव्य पनि त हो । हो, तपाईले त्यस्तै कर्तव्य निभाउनु भएकै हो, निभाउँदै आउनुभएको छ । त्यसैले म आफुलाई पनि तपाईँको छोरै मान्छु, त्यसैले पनि यो हुटहुटी जागेको हो कि तपाई मेरो एक अभिभावकलाई एउटा सानो मान्छे लुरे छोराको तर्फबाट मनका केही बह पोखूँ । किनभने म तपाईलाई शायद सशरीर भेट्ने हैसियत पनि राख्दिन, भेट हुने सम्भावना पनि देख्दिन । तपाई बढेमानको पहाड, म सानो ढुंगा । त्यसैले यो लेख्ने धृष्ठता गरेँ, बिराए माफ पाउँ ।

आदरणीय बा !

तपाई राजकीय सत्ताबाट ओर्लेपछि अस्वाभाविक रुपले आक्रोशित र उत्तेजित हुँदै आउनु भएको देख्दैछु, यदि यो मेरो दृष्टिदोष मात्र हो भने फेरि पनि माफी पाउँ । तर, होइन मेरो आँखा र कानले मलाई ठिक सन्देश दिएको हो भने तपाई साँच्चै बा को भूमिका निभाइरहनु भएको छैन । बाले हरेक कुरालाई सकारात्मक देख्नु पर्छ, हरेक विषयलाई सकारात्मक आँखाले हेरेर सकारात्मक दिमागले सोचेर सकारात्मक वाणीबाट प्रकट गरे न परिवारका अन्य सदस्यले सकारात्मक बुझाई बुझ्छन् । हिजो मात्र तपाईले चुनावमा भयंकर धाँधली देख्नुभो, बुथ क्याप्चर पनि देख्नुभयो, काठमाडौंको मतगणना ढिलो भएको कारण सत्ताको बद्नियत देख्नुभो । तपाईको त्यो सार्वजनिक दृष्टिलाई देशभरका मतदाताले, मतगणनामा संलग्न आफ्नै पार्टीका कार्यकर्ताले र रातदिन नभनी अनिँदोको पर्वाह नगरी काम गर्ने कर्मचारीले कुन रुपमा बुझे होलान्, कुन रुपमा लिए होलान् ? तपाईले त भन्दिनु भो सकियो तर, त्यसको समाजमा दीर्घकालीन असर कस्तो प¥यो होला ? तपाईँको शुभेच्छा मात्र प्रकट गर्ने र तपाईको छोरो जस्तै हुँ भन्ने ममा कस्तो भाव प्रकट भयो होला ? सायद अनुमान लाउन भुल्नु भयो बा !

हो, चनावमा एकै व्यक्तिले पाँच जनालाई बुथसम्म लगेर उसको सहमति बेगर छाप हानेको मैले पनि देखेको छु । त्यस्तो कार्यमा सबैको मिलिभिगत छ पनि । कतै तपाईकै कार्यकर्ताले त्यसो गरे, कतै अरुले । तर त्यो नकाम गरे, सबैले गरे । त्यसको नकाम रोक्ने त्यसै बेला हो । आफ्नो अनुकूलमा कसैले त्यो काम रोकेनन्, गरिरहे । तर, त्यो अब राष्ट्रिय मुद्धा हो त ? होइन । छिमेकीले तपाईलाई कुनै दिन छुद्र बचन बोले होलान्, तपाईको व्यक्तित्वले त्यसैलाई मूल मुद्धा बनाएर राष्ट्रिय जीवनसँग सरोकार राख्ने विषयलाई विषयान्तर गर्न उचित हुन्छ त ? अथवा त्यस्ता विषय उठान गर्ने ससाना बाछाको पछि लागेर अरु विषयभन्दा त्यस्ता विषयलाई तपाईले नै प्रतिरोध गर्न सुहाउँछ ? राजनीतिमा हैसियतको प्रश्न पनि अहम् हुन्छ, महाभारत युद्धले बसाएको मान्यता हो, सेनापति अर्को पक्षको सेनापतिसँग मात्र लड्न पाउँछ, घोडचढी अर्को पक्षको घोडचढीसँग भिड्न पाउँछ, गदायुद्ध गदाधारीसँग मात्र हुन्छ । तपाई त यसको पनि ज्ञानी होइन र ? तर यो ज्ञान जान्दा जान्दै तपाई कहिले सेनापतिसँग जाइलाग्नु हुन्छ, कैले घेडचढीलाई पनि छोड्नु हुन्न, कैले काहीँ मेसिनगन लिएर गदाधारीलाई झम्टिन पुग्नु हुन्छ । अलि शोभा दिएन कि बा !

आदरणीय बा !

फेरि पनि माफ पाउँ, हिजो आज तपाई अति नै छुचो, होपाहा भएर निस्कनु भएको छ । जता जानु हुन्छ त्यस्तै छुद्र वाणले हान्नुहुन्छ अरुलाई तर त्यो वाण मेरो मुटुमा आएर मेरो मुटु नै किन छियाछिया पार्ने गर्छ । त्यो हेपाहा बोलीले मेरो मस्तिष्कमा भेदन गरेर जान्छ । घरको मूली शिष्ट, सौम्य, आदरणीय, प्राथनीय र सबैको पुजनीय भएर बस्दा मलाई कति आनन्द आउँथ्यो । घरका बा सुदूर भविष्य देखाउने, सत्मार्गमा हिँडन सिकाउने, राजमार्गमा दौडन सिकाउने, मिठा मिठा सपना देखाएर त्यसलाई भेटाउन हामीलाई दौडाउन पाए हामी कति फरुङ्घ हुन्थ्यौं होला । तपाई सपना बाँड्ने हैन बा, सपना देखाउने र त्यसलाई हामी जस्ता शुभचिन्तकमार्फत् पुरा गराउने हो । आहा हाम्रा बा भनेर हामी छाती चौडा बनाउने हो । उफ भनेर छाती च्यापेर हिँड्ने छोरा छोरीले तपाईको सपना कसरी पुरा गर्न सक्छन् बा !

अब तपाईं दाहिने दिमाग चलाउनुस् बा, दाहिने दिमागबाट शुद्धता बहन्छ, देब्र दिमागबाट त दुश्टता मात्र निस्कन्छ बा । अब तपाई धेरै नबोल्नुस् बा, केही गर्नुस् र धेरै गर्न लगाउनुस् । अब तपाई धेरै अधीर नहुनुस् बा, धैर्यशाली बन्नुस्, अब तपाई स साना कुरामा अस्थिर नहुनुस् बा तपाईले हामीलाई देखाएका सपनामा झलमल्ल घाम लाग्ने गरी स्थिरचित्तको बन्नुस् बा ! तपाई साँच्चैको शिष्ट, दयाशाली, ओजस्वी र सर्वप्रिय बन्नुस् बा । किनकि अब समयको गति पहिले जस्तो छैन, अब म जस्ता हामी त्यस्तै दयावान, स्थिर, ओजस्वी र सर्वप्रिय बा को खोजीमा छौं । केही गल्ती भए माफ पाउँ बा !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button