निराशाको बर्मुढा ट्रयाङ्गलमा बालेन, हर्क, गोपालहरुको क्षितिज

विचार आ-आफ्नो

बाबुराम पौडेल

राजधानीमा बालेन विजय उन्मुख छन् । धरानमा हर्क र धनगढीमा गोपालले जनताले दिएको विजयमाला पहिरिसके ।

मूलधारका राजनैतिक पार्टीको टिकट खरिद गर्न नसकेका कैयौं स्वतन्त्र विद्रोहीहरुलाई पनि जनताले जिताइसके । कतिपय विजय उन्मुख छ ।

राजनीतिमा भोट मागेर, मन जितेर अथवा धरानका हर्क साम्पाङ्ले जस्तो एक्लै प्रचारमा हिंडेर चुनाव जित्नु खास जित्नु हो । मत किनेर, बुथ कब्जा गरेर, साम दाम दण्ड भेद अपनाएर जित्नु प्राविधिक जित हो । र, जित्ने कामचाँही ठूलै काम हो । तर भोटमा जितेर पनि जनहीतका काम गरेर जनताको मन जितिरहनु र जनताको मनमा बसिरहनुचाहिँ सबैभन्दा ठूलो काम हो, जित हो ।

अब बालेन, हर्क, गोपाल वा अन्य स्वतन्त्र विद्रोहीहरुलाई चुनावताकाका प्रतिबद्धता, योजना वा भावी योजनाका काम गर्न सहज छ त ? छैन । किनभने, उनीहरुले एक्लै जितेका छन् र बाँकी टिममा राजनैतिक दलबाटै पदाधिकारी आएका छन् । प्रचलित ऐन कानूनको रित पुराएर विकास निर्माण वा जनअपेक्षा अनुरुपका काम गर्नका लागि चाहिने बोर्ड बैठकको निर्णय गराउन यसरी स्वतन्त्र आएकाहरुलाई फलामको च्यूरा हुनेछ । त्यसैमा पनि राजनैतिक दलहरु र तिनका झोलेहरुले यिनीहरुप्रति राख्ने पूर्वाग्रह वा निर्देशित अवज्ञाका कारण एउटा काम पनि हुन गर्न नदिने वातावरण बनाइने छ ।

उदाहरणका लागि बालेनले पदबहाली गरेको अर्को दिनबाट काठमाडौंको फोहोर फाल्ने ल्याण्डफिल्ड साईड बन्द गराउन प्रतिक्रियावादी र दलका दलाल सक्रिय हुनेछन् । राजनैतिक दलपक्षका ती दलका झोले, तलुवा चटुवा, भ्रष्ट निकम्मा कर्मचारीहरुद्वारा गठित कर्मचारी संघ संगठनहरु दलकै निर्देशनमा बाधकको रुपमा आउने छन् । तिनले कानूनी रुपमा फसाउने तिकडम र जाल बनाउन थाल्नेछन् । काठमाडौंमा एक दिनकै कूचिकार हडतालले पनि त्यहाँका बासिन्दाको ध्यानाकर्षण गराउन सक्दछ । संघीय र प्रदेश सरकारले पूर्वाग्रहपूर्बक बजेट बिनियोजन गर्ने वा असहयोग गर्ने त छँदैछ ।

अन्य ठाउँमा उल्लेखित जस्तै वा स्थान बिशेषानुसारका समस्या खडा गरिने छ र मूलधारका राजनैतिक दलका रबैयाप्रति असन्तुष्ट भएको जनमत उजागर हुने क्रममा जितेका बालेनहरुलाई ५ बर्षमा १ दिन पनि सुख सन्तोषपूर्बक काम गर्न दिईने छैन । यति मात्र होइन कि महिना दिनभित्र राजिनामा दिन वा अपदस्थ गराईन बाध्य पारिने स्थितिको श्रृजना गरिनेछ ।

हिन्दी फिल्म नायकका अनिल कपुरले एक दिनका मूख्यमन्त्रीको रुपमा गरे जस्तो काम बालेन वा अन्य बालेनहरुले गर्न सक्ने, हुने कुरै भएन । त्यसो भए यिनिहरुको अधिकार क्षेत्रभित्र र मुलुक भरबाट यिनीहरुको जितका लागि ब्यग्रतापूर्बक चासो राखेको करोडौं जनताले पनि थाहा पाउने गरी कसरी काम गर्ने गराउने गर्लान् त यिनीहरुले ?

छैन सजिलो । तर जनताका प्रत्येक मुद्धा वा काम पारदर्शी र निष्पक्षपूर्वक गर्न गराउन प्रस्ताव गर्दा बाधक देखिने पक्ष, हस्तक्षेप गर्ने तत्व र असहयोग गर्ने ब्यक्ति संस्थाबारे उजागर, भण्डाफोर र नाङ्गो पार्न थाल्ने हो भने असहयोगमा उत्रने प्रतिक्रियावादीहरु दुला खनेर भूमिगत हुनेछन् । तिनीहरुका संस्था वा संगठन धुलिसात हुनेछन् । जनताको थेगिनसक्नु सहयोग र समर्थन आउन थालेपछि मुलुकभर स्वच्छ राजनीति गरेर जनसेवा, देशसेवा गर्न चाहने अरु जनप्रतिनीधिहरु समेतको मनोबल बुलन्द हुनेछ । सयौं बालेन, हर्क र गोपालहरु जन्मिने छन् । देशले निराशाको बर्मुढा ट्रयाङ्गलबाट डाईभर्ट भएर असिमित आशा पुरा गर्ने नयाँ क्षितिजतर्फको बाटो पक्डिने छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button