
मध्यपुर थिमिका मेयरलाई ‘गुच्चा’ साथीको चिठ्ठी
मोहन के. श्रेष्ठ
४ -शंखधरचोक, मध्यपुर थिमि
सर्वप्रथम बधाई छ साथी सुरेन्द्र तिमीलाई ।
साथी हामी यस नगरमा गुच्चा खेल्दै हुर्कँदै आयौं । यस नगरको स्वरुप बारेमा हामी दुवै नै अपरिचित छैनौं । तिमी राजनीतिको बाटोमा हिंड्यौं । म सामान्य नागरिककै रुपमै रमाउन मन लाग्ने परेँ । म मजस्तै सामान्य मान्छेको पनि राजनिति गर्नेहरुबाट केहि अपेक्षा हुने रहेछ, जुन अहिले मलाई भइरहेको छ साथी सुरेन्द्र तिमीबाट ।
यस नगरमा कर कस्ले तिर्छ, मैले साथीलाई बुझाई राक्नु पर्ला जस्तो लाग्दैन । यहाँका निमुखा बासिन्दादेखि उच्च वर्गसम्मको करले चल्ने नगरपालिकाको बजेट सुनेको छु बर्षको ३ अर्बभन्दा बढी छ रे । त्यो करको कसरी सहि सदुपयोग गर्ला भनेर ठुलो चाँसो लिने गर्छ आम नगरवासीले । तिमीले भने जस्तै धेरै सचेत नागरिक बस्ने नगरको रुपमा परिचित छ यो मध्यपुर थिमि नगर । यहाँका हरेक नागरिकहरुले यस्को सुक्षम अध्ययन गरिरहेको हुन्छ जस्तो लाग्छ मलाई ।
भ्रष्टाचार ! तिमी यस्मा निकै चनाखो र सचेत छौ जस्तो लाग्छ मलाई, छैन भने बन्न है ! यो मेरो आग्रह आममानिसको तर्फबाट । तिमीसँग आफ्नै पैतृक सम्पति यथेष्ट भएको कारणले आम मानिसको सोचाई तिमीले अवैध अर्थोपार्जन गर्दैन कि भने विश्वाससाथ तिमीलाई मेयर बनाउन भोट दिएको पनि हुन सक्छ । मलाई लाग्छ, अबको पाँच बर्ष तिम्रो लागि यो नै ठुलो अग्निपरिक्षा हो जस्तो लाग्छ साथी ।
यसबाहेक तिमीले तिम्रो भाषणमा हामी जनताको शासक होइन, सेवक भएर काम गर्ने भनेर बोल्ने गरेको बिषयले पनि धेरै नै चर्चा पाएको थियो । यस्मा तिमीले जितिसकेपछि तिमीमा के परिवर्तन आयो, त्यो त मलाई थाहा भएन । तर मलाई विश्वास छ, तिमी त्यस्मा पनि धेरै नै सचेत छौ । मलाई तिमीले जस्तो सुकै ब्यवहार गरे पनि मलाई त फरक नपर्ला । तर यहाँका बासिन्दाहरुको कम से कम काम गर्ने बेलामा मुस्कान दिएर उहाँहरुका समस्या, सुझाव सुन्ने बानी बसालौला भने मैले आशा लिएको छु । अनि वडा कार्यालय, नगरपालिका आउँदा जुन किसिमको प्रशासनिक दुःख झेल्नु पर्ने कार्य बिल्कुल बन्द होस् भन्ने पनि चाहन्छन् यहाँका आमनागरिक ।
अर्को कुरा ,शिक्षा स्वास्थ्यको छ । तिम्रो हाम्रो घरमा मजदुरी गर्ने मजदुर, भरिया दाजुभाईहरु बिरामी भए भने उनीहरुले के गर्लान् भनेर साह्रै पिर लाग्छ मलाई । उनीहरुको सन्तानहरुले पढ्न सकेका छ कि छैनन्, त्यो पनि सोचनिय बिषय बनेको छ । दुख लाग्छ, कहिलेकाहिँ, रुन्छु एकान्तमा । यहाँका धेरै सार्वजनिक खुल्ला जग्गाहरु विकासको नाममा स्कुल, हस्पिटललगायत धेरैलाई कुर्वान गरिसकेको विषय मैले तिमीलाई भनिराख्नु परेन । हामी फुटबल खेली हुर्केका धेरै सार्वजनिक ठाउँहरु अहिले हस्पिटल, मल बनाउने ठाउँ स्कुल लगायतले ओगटिसकेको सर्वजिदितै छ । ती ठाउँहरुबाट यहाँका बासिन्दाले के पाए के गुमाए भनेर लेखाजोखा गर्न तिम्रो ध्यान जानै पर्छ भन्ने ठानेको छु । सुन्नमा आउँछ, राजनिति पसेपछि नेपाल कोरिया मैत्री हस्पिटल पनि राम्रो भएन रे । खै तिमीले कसरी हेर्ने हो ? राजनिति त राम्रोको लागि हुनु पर्ने जस्तो लाग्छ, बिगार्नलाई हुँदै होइन । यदि त्यस्तो भएमा त्यो राजनितिभन्दा पनि कुनिति भयो जस्तो लाग्छ । यो कुरा मैलेभन्दा तिमीले नै धेरै बुझेको हुनु पर्छ ।
खैर, पत्र छोट्याउने कोशिसमा छु । म जस्तो साइकल यात्रीलाई साइकल लेनको कल्पना नहुने कुरै भएन तर भरोसा गरेको छुईन । किनकि, सबै ठुला गाडीले पेल्ने ललितपुरको काम चलाउ साइकल लेन देखिसकेको छु । वातावरणमैत्री अध्ययन गर्ने बानी बसाल्न भनी म तिमीलाई सुझाउन चाहन्छु ।
कोर एरियाबाहेककालाई विकास भन्नु पोखरी बन्नु, मठ मन्दिर बन्नु मात्रले पुग्दैन । खानेपानी, राती हिँड्नलाई प्रत्येक ठाउँमा बिजुली, सार्वजनिक शौचालय, वातावरणमैत्री खुल्ला पार्किङ, ठाउँ ठाउँमा जेष्ठ तथा अपांगमैत्री बाटोघाटो र मन डुलाउने पार्कलगायत खोजेको हुन्न सक्छ आम मानिसले । त्यस्ता बिषयमा तिम्रो ध्यान गयो कि गएन, त्यो मलाई थाहा भएन । छैन भने एकचोटि गम्भीर भएर सोच है ।
गीत संगित, मनोरञ्जन, खेलकुदलगायतका यावत कुराहरु बुझेकै मान्छे हौ तिमी । यस्को विकास उठानमा कदम चाल्ने आशा जगाएको छु मैले तिमीबाट । उपेन्द्र मान (फुटबल(, मन्देकाजी (कराँते), हरिसुन्दर (गीतसंगीत) लगायतकाहरु जस्ता धेरै नै प्रतिभावानहरुको नगर पनि हो भने कुरा तिमीलाई मैले सम्झाईराख्नु परेन । यस्ता नामहरु लेख्दै गएँ भने दिन नै बित्ने प्रतिभावान तथा एक से एक दिग्गजहरुको नगर पनि हो यो । उनीहरुको ज्ञान, योगदानको कदर र उपयोगका साथै सम्मानको लागि तिमी एक कदम अगाडि होलाऊ भन्नेमा मलाई विश्वास छ ।
अन्तमा, रोजगारी र जिविकोपार्जनको सम्भाव्यता अध्ययन, पर्यटन भित्र्याउने लगायतका यावत कुराहरुमा दुरदर्शिता राखेर काम गर्दै पाँच बर्षको तिम्रो कार्यकाल सुखद र सफल रहोस् यार ।
साथै उपमेयरमा बिजयी उम्मेदवार भाई बिजयकृष्णबाट पनि यस्तै अपेक्षाका सबैको कार्यकाल पुर्ण सफलताको कामना गर्दछु ।
धन्यवाद सबै पाठकलाई मेरो छोटो पत्र पढ्ने समय निकाल्नु भएकोमा ।
उहि साधारण नगरबासी
मोहन
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



