महँगो चुनाव लोकतन्त्रको उपहास

प्रा.डा. सुमन कर्माचार्य
मन्थली, रामेछाप

कुनै बेला प्रजातन्त्रका लागि हाँसीहाँसी फाँसी चढ्ने शहीदहरू र क्रान्तिका लागि सजिलै निस्कने युवायुवतीहरूले कल्पनासम्म पनि गरेका थिएनन होला, पटकपटक स्थापित र विस्थापित हुँदै स्थापना भएको ३२ बर्षभित्र नै यसरी लोकतन्त्रको हुर्मत यसैका ठेकेदारहरूले लिने दिनहरू पनि आउलान् भनेर ।

लोकतान्त्रिक चुनावमा, जो उम्मेदवार हुन्छन्, ती पनि पैसाका बलमा टिकट थाप्न व्यस्त, दिने पनि आफ्नो खल्तीका मानिस र पैसाका मुठाका बलमा टिकट बाँडन व्यस्त, टिकट पाएपछि अनेक लोभ देखाएर, खुवाएर, खाएर, दाम चढाएर भोट किन्न व्यस्त । मानौं, लोकतन्त्रको चुनावको संस्कृति नै यही हो । खुलेआम कुरा हुन्छ फलानाले यतिमा टिकट किनेछ, फलानाले यति लाख, करोड खर्च गरेछ चुनावमा । यो सबै सामान्य रूपमा पचिरहेको छ, आजको लोकतन्त्रमा ।

हाम्रो लोकतन्त्र कतातिर जाँदैछ ? लोकतन्त्रको ठेक्का लिएर ठेकेदार भएका, लोकतन्त्रका मसिहा मानिने नेताहरू अहिले के सोचेर बसेका होलान् ? उनले सोचेको लोकतन्त्रको आवधिक चुनाव कस्तो हुनुपर्ने, आज कस्तो रुपमा थला परेर बसेको छ ? लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेका पुस्ताहरू पनि अहिले दलहरूका हर्ताकर्ता छन्, उहाहरूले यो बिकृतिलाई कसरी बिश्लेषण गरिराख्नु भएको छ ? ती विचराहरू जसलाई लोकतन्त्रको आन्दोलनको ‘अ’ को जानकारी छैन, र लोकतन्त्रको मूल्य र मान्यताको ‘म’ थाहा छैन, पद, पैसा र प्रतिष्ठा पाउनु नै लोकतन्त्र हो भनी बुझेका छन्, ती बबुराहरूलाई त लोकतन्त्रको गतिलो अभ्यास नै यही हो भन्ने लागि रहेको होला । मनि, मसल र मनोमानी नै लोकतन्त्रको आदर्श हो उनीहरूका लागि ।

अर्काथरी ब्यालेटमा विश्वास नभएका बुलेट नै सबै समस्याहरूको समाधान हो भनी विश्वास गर्नेहरू छन् । जसले संसदीय व्यवस्थामा संसद भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्छन् । ब्यालेटलाई रणनीतिक रुपमा उपयोग गरेर साम्यवादको स्थापना गर्ने सपना देखेर र देखाएर आजसम्म हिँडेका छन्, हिँडाएका छन् । वास्तवमा, संसारमा जसले साम्यबादका स्थापना गर्न क्रान्ति सफल गरे तर सम्भव भएन । कसै न कसै तरिकाले ती कि त ब्यालेटतिर या पूँजीवादी व्यवस्थाको साडीको फेरो समातेर बसेका छन् । त्यसैले जे भए पनि ब्यालेटमा विश्वास आधा मात्र भए पनि घिस्रेर हिँडनै परेको छ । लोकतन्त्रको यो आवधिक चुनावमा । कतै गठबन्धन, कतै मत हाल्ने चिन्हको विक्री व्यापारबाट काम भइरहेको छ ।

अर्काथरी, कुनै बेला बहुदलीय व्यबस्थामा कुनै विश्वास थिएन, राजाका नेतृत्वमा निर्दलीय व्यवस्थालाई जिताएर बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्दै हिँडे । राजाको नेतृत्व र पञ्चायती व्यवस्था निर्विकल्प हो भन्दै भाषण गर्दै हिँडे । माओ, लेनिन, किमइल सुङ्का रेड बुकहरू कौडीका भाउमा खुला बजारमा विक्री हुन्थे, साम्यवादीलाई खुलेआम प्रचार प्रसारका सुविधा थियो तर लोकतन्त्रको स्थापनाका लागि शंखघोष गर्ने ‘तरुण’ पत्रिका बोक्नेलाई ६ वर्ष जेल हालिन्थ्यो । तर जे भए पनि ती निर्दलीय राजावादीहरू पनि रूप फेरेर बहुदलीय लोकतन्त्रमा घुस्रिएर घिस्रिरहेका छन् ।

अहिले झुल्केको अर्काथरी, यी सबैहरूको क्रियाकलापलाई विश्लेषण गरेर आजित जनमतलाई एक टठ गर्दै कोही गीत र जादुगरी योजनाका भाषणले, कोही केही वर्षदेखि जनताका दैनिक जीवनका कुराहरूलाई उठान गर्दै, कोही धेरै वर्षदेखि रैथाने भएर जनतालाई सुसुचित गराउँदै राजनीतिक रङ्गमञ्चमा लोकतन्त्रको सही सदुपयोग गर्दै केही गरी छाडने जाँगर र जोशले उदाएका छन् । हालका राजनीतिक रङ्गमञ्चका चटके कलाकारहरूसंग आजित भएर जनताले निराशाको भोट उनीहरूका काँधमा बिसाइ दिएका छन् ।

तर माथि उल्लेखित ती तिनै थरिलाई यसको हेक्का भयो भएन अहिलेसम्म चाल पाउन सकिएको छैन । तर हेक्का राख्ने खालको बेहोरा त अहिलेसम्म देखिएको छैन । ती निराशाका भोटहरू जसले लोकतन्त्रका लडाइँका सिपाही र बाहक दलहरूलाई आफ्नो मनबाट हटाएका छन् । यसले जनताको मन लोकतान्त्रिक बहुदलीय व्यवस्थाका दलहरूबाट विकर्षण भएको देखाउँछ । जुन लोकतान्त्रिक व्यवस्थाका लागि खतराको सङ्केत हो । बिचारहरूबाट सञ्चालित सङ्गठित संस्थाहरू बाहेकका व्यक्तिहरूबाट जनताका इच्छा आकांक्षाहरूलाई पूरा गर्न धेरै पापड पेल्नु पर्ने हुन्छ । यही आउँदो ५ बर्षमा यो विकल्पबाट पनि काम हुन सकेन भने जनतामा घोर निराशा उत्पन्न हुनेछ । जसको फाइदा अर्को लोकतन्त्र विरोधीले लिनेछ ।

लोकतन्त्रको महत्व कि त उत्तर कोरिया कि त चीनका जनतालाई थाहा छ । त्यहाँ कति जनताहरू त्यसका लागि छट्पटाएर बसेका छन् मृत्यु भोगेका छन्, यातना सहेका छन्, तर अझै धेरै वर्ष धेरै पुस्ताले त्यहाँ लोकतन्त्र देख्न पाउने छैनन् तर हामीलाई यो लोकतन्त्र बढी भएको छ । यसका मूल्य र मान्यताहरूलाई हामी भत्काउँदै छांै । यसका मूलभूत सिद्धान्तहरूका खिलाफ हाम्रा क्रियाकलापहरू छन् । आवधिक चुनावमा भोटको किनबेच गर्छौ, आचारसंहिता र देशका नियम कानुनलाई धोती लगाउछौ, बल मिच्याइ गर्छौ । मासु, रक्सी र भोजमा मत किन्ने हरकत गर्छौ र त्यसलाई पुरुषार्थ ठान्छौ । गर्वका साथ भन्छौंं खुलेआम मैले मत किन्न सकेँ भनेर । यी कुकर्म गर्न सक्नेहरू ठूलो नेता र असल कार्यकर्ता मानिन्छ । हामी यसैलाई अनुमोदन गर्दै छौं । मानौ लोकतन्त्रको खाँटी चरित्र त्यही हो ।

अब विचार गरेर सच्याउन ढिलो हुन लाग्यो । लोकतन्त्रमा नहुनु पर्ने र नगर्नु पर्ने क्रियाकलाप सबै भएका छन् । जुन हुनुपर्ने त्यो भएको छैन । लोकतन्त्रलाई आधा मनले स्विकार्ने, कर परेकोले स्विकार्ने र जनताको निराशालाई आफ्नो पक्षमा पार्ने कसैलाई पनि सायद् दिलबाट नै लोकतान्त्रिक व्यवस्थासँग धेरै लगाव छैन । हिलो खोलामा बाढी आएको बेला माछा मार्ने दाउ भएकाहरूले खोला सङ्लो हुन दिने छैनन् ।

लोकतन्त्रको विकास विचार मिल्नेहरू बिचको एकताले सम्भव हुन्छ । देशको उन्नति र जनताको भलाइ पनि त्यसैबाट हुन्छ तर विचारका राजनीति गर्नेहरूले गत ३२ वर्षमा जे चरित्र र व्यवहार देखाए, त्यसले नेपालको लोकतन्त्रको भविष्यलाई धरापमा पारेको छ । अझै पनि महसुस गरेका छैनन् कि लोकतान्त्रिका पद्दतिको धज्जी हामीले उडाउदैछांै भनेर । लोकतन्त्रका पुनस्र्थापना पछि समाजमा भइरहेको नैतिकता र इमान्दारिताको ह्रास, संंस्थागत भ्रष्टाचार, आफू अनुकूल देशका नियम कानुन चलाउने पद्दतिले जनतामा चरम निराशा छाएको छ, बेलैमा यसमा गम्भीर नभए देशमा अर्को राजनीतिक दुर्घटनाको सम्भावना नजिक छ ।

बेलैमा सचेत होऔं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button