व्यास: मैले किन र कसरी चुनाव हारेँ ?

दीपकराज जोशी
व्यास नगरपालिका, तनहुँ ।

आदरणीय व्यास नगरवासी आमा बुवा, दिदी बहिनी, दाजु भाई साथै मेरा सहयात्रीहरु जसले मलाई विश्वास गरेर आफ्नो अमूल्य समय र अमूल्य मतको दान गर्नु भएको छ । जसलाई लिएर म निकै नै आभारी छु । हुन त चुनावी मैदानमा उत्रिए पछि कि जितिन्छ कि हारिन्छ । जुन कुरा स्वभाविक पनि हो । तर पनि केही गर्नको निम्ति कुनै पदमा बसेर जस्तो सम्भव बाहिर बसेर नहुने रहेछ। जसले मलाई यो मैदानमा होमिन बाध्य बनाएको हो । हुन त याे सुर र असुर बीचको लड़ाई हाे । कलियुगमा धरै जसो असुरको विजय हुन्छ । यो चुनावमा मैले भोटले नजिते पनि व्यास नगरबासीको मन जितेको छु । जसलाई डर, धम्की, पेट्रोल, मासुभात, रक्सी र पैसाले किन्न सक्दैन । झिनो मतान्तरले (झन्डै ६०० मत बदर हुँदा 252 मत मेरो कम) एउटा स्वतन्त्र उम्मेदवारले चुनाव हार्नु भनेको जित्नु बराबर हो । किनभने दलीय व्यवस्थामा कुनै पार्टी र यसको छत्रछायामा नरही मतदान गर्न सक्ने युवाहरुको जमात हुनु भनेकै परिवर्तनको चाहना अहिलेको पुस्तामा छ भन्ने कुराको संकेत हो ।

किन र कसरी चुनाव हारेँ ?

१. निर्दोष जनताको भोट पैसाले किन्न नखोज्नु र पैसा बाँड्ने नसक्नु,
२. जनताको भोकको मजाक बनाएर कुनै एक दिनको लागि मासु भातको लोभ बाड्न नसक्नु,
३. मदिराजन्य पदार्थको निम्ती खर्च गर्न नसक्नु,
४. गलत प्रचारप्रार र भ्रम फैलाउन नसक्नु,
५. सरकारी सम्पती दुरुपयोग गर्न नसक्नु,
६. धम्काउन र मारपीट गर्न नस्कनु
७. पेट्रोल बाँड्न नसक्नु,
८. सुरा, सुन्दरी र सम्पति प्रती आशक्ति नहुनु,
९.अन्य थुप्रै।

यो कली युग हो । यहाँ राम्रा मान्छे धेरै समय सम्म टिक्न सक्दैनन् । यो अस्थिर समाज असल व्यक्ति सुहाउँदो छैन।तर पनि यो समाज र राज्यलाई गति दिन असल व्यक्तिको आवश्यकता छ । कहिलकाहीँ त लाग्छ म ब्यक्ती यो समाजका लागि बनेकै होइन । किनकी यो समाज इमानदारीता मैत्री छैन । र, पनि मलाई आफ्नो इमान्दारिता प्रति खेद छैन र हुँदैन पनि ।
बिकृति र विसंगतिले भित्र भित्र फाटेको समाजमा नफाट्नको लागि ब्राण्डको ट्याग भएकै जुत्ता लगाउनुपर्छ । चाहे त्यो बलियो होस् या कमशल । यहाँ उचाल्ने र पछार्नेको भिड छ ।जहाँ सोझो तरिकाले काम गर्छु भन्नेलाई खुट्टा तानेर लडाइँन्छ। मलाई थाहा छ, म सँगै लड्नेहरुका लागि यो समय निकै कठिन बनेको छ । तर पनि नातिनोस् हामी एउटा कठीन यात्रामा जरुर छौँ तर यात्रा सक्किएको छैन । यतिबेला हामी सबै मिलेर शून्यलाई अँगाल्नुपर्नेछ । हामी फेरि उठ्नेछौं शुन्यबाट। यो अशान्त समाजको अस्थिर व्यवस्थासँगको लडाइँले हामीलाई थकाउन सक्दैन र सक्नु हुँदैन पनि । म सदैव तपाईंको साथमा छु । र रहिरहने छु।

सादा जीवन, उच्च विचार र स्वाभाविक कर्तव्य एवं व्यवहारप्रतिको मेरो निष्ठा ज्युँ का त्यूँ छ । मभित्रको व्यास नगरबासीप्रतीको श्रद्धा र विश्वास अझै गुमेको छैन । अझै थपिएको छ । भन्न त यो देश सतिले सरापेको देश हो । यहाँ जसले राम्रो गर्छ, राम्रो सोच्छ, त्यसको कहिल्यै भलो हुँदैन, भनिन्छ तर यसको अर्थ यो पनि होइन कि असल कर्म गर्न नै छोडिदिऊँ । जिन्दगी एउटा यात्रा हो । यो यात्रा परिवर्तनकामी हरुको लागि सहज छैन भन्ने थाहा छ । तर पनि हामी सँगै हिँड्ने छौँ हात काँध मिलाएर ।

यो चुनाबमा जित्नु, हार्नु मेरो लागि ठूलो कुरा होइन । जुन जीबन शैलिमा म जीबन जिउँछु त्यसमा मलाई जितले खुसि र हारले दुखी बनाउँदैन । किनभने म आशक्तिबाट टाढा छु । तर पनि जितको एउटा गुन्जायसले मात्रै पनि एउटा परिवर्तनका लागी केही गर्छु भन्ने एउटा मौका केही समयका लागि पर सारेको छ । केही छैन तपाईंको यो माया र विश्वासको अनादर गर्ने छैन ।
म व्यास नगरपालिकाप्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु । व्यास नगरबासीले गर्नुभएको मायाको सदैव ऋणि छु । जसलाई जीवनको अन्तिम समय सम्म चुकाउने भरमग्दुर प्रयास गर्नेछु । मलाई व्यास वासीको अनुहारमा हाँसो देख्नु छ। अझ त्यो हाँसको कारण बन्नु छ।

अन्तमा फेरि पनि सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।

म हारेर जित्ने यूद्ध लड्दैछु
नचाहेरै बनि क्रुद्ध लड्दैछु
नगर भो तिमी निसाफका कुरा
किनकी म आफ्नैबिरुद्ध लड्दैछु।।

उही तपाईहरुको,
दीपक


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button