बहुप्रतिभाशाली बालेन शाह कुशल राजनीतिज्ञ हुनसक्लान् ?

विचार आ-आफ्नो

आँचलकुमार शर्मा

‘जनता जनार्दन हुन्’, यो भनाइ शाश्वत हो भन्ने कुरा यतिबेला काठमाण्डौँ लगायत देशैभरि आउँदै गरेको अप्रत्याशित नतिजाले चलचित्र झैँ झलल देखाइसकेको अवस्था हो ।

तत्कालीन समयमा पिताले शुरू गरेको निर्दलीय व्यवस्था सही छ कि छैन? वा जनताले मन पराएका छन् कि छैनन्?वा जनताले बहुदल चाहेका पो हुन् कि?भन्ने चासोका साथ राजा वीरेन्द्रले जनमत संग्रह गरेका थिए ।तत् समयमा मालेले बहिष्कार नगरेको भए ४ लाख भोटको अन्तरले एकदलीय पञ्चायतले जित्ने थिएन र ०३७ साल जेठ १ गते नै बहुदल आउने थियो तर जनमत संग्रहको नतिजाबाट रन्थनिएको मालेले ०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कार मात्रै गरेन, वीरगञ्ज, झापा र काठमाडौँमा ‘नकारात्मक भोटिङ’को अभ्यास समेत गर्‍यो।

जनमत संग्रहको दुई वर्ष पछि अर्थात् ०३८ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन हुँदा त्यसबेलाको पञ्चायती व्यवस्थासँग वाक्क भएका जनताले ठ्याक्कै अहिलेको अवस्था जस्तो नेता भनेका भ्रष्ट हुन्छन् भन्ने भान परेका जनता रुष्ट थिए ।

उक्त निर्वाचनमा तत्कालीन समयमा मन्त्री समेत भइसकेका र नेवारी वस्तीको बाहुल्य रहेको काठमाडौँका हर्ताकर्ता साथै नेवार समुदायकै जोगमेहर श्रेष्ठले आफ्नो उमेदवारी दिए र तत्कालीन समयमा यी सबै आधार हेर्दा आफ्नो प्रतिस्पर्धी नै नभएको र चुनाव जित्नेमा उनी विश्वस्त थिए।

देश निर्वाचनमय हुँदै थियो र जोगमेहर श्रेष्ठका अगाडि कोही कसैले चुनाव जित्ने न्यून अवस्था पनि थिएन र यत्तिकैमा एक गरीब,अनपढ,निम्छरो,विधवा किसान परिवारकी गैरनेवारले जोगमेहरविरुद्ध उमेदवारी दिइन् ती महिला थिइन् ‘नानी मैयाँ दाहाल’।

अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘Frist, they ignore you then they lough at you then they fight you then you win’ (अर्थात् शुरूमा उनीहरूले तिम्रो वास्ता गर्दैनन् त्यसपछि उनीहरू तिमीमाथि हाँस्न थाल्छन् अनि तिमीमाथि आक्रमण गर्न थाल्छन् र अन्त्यमा तिम्रो जीत हुनेछ), नानीमैयाँसँग पनि यही भयो । विपक्षीहरूले अनपढ, बहुलाइ, भिखारी, नेवार होइन, यसले चुनाव जित्दिन जस्ता कुरा गर्दै व्यक्तिगत कुरा गरेर होच्याउने काम गरे तर पञ्चायती व्यवस्थासँग थकित भएका जनताले अन्त्यमा नानीमैयाँ दाहाललाई मत हालेर जिताए र जोगमेहरले चुनाव हारे ।

काठमाडौँको वर्तमान अवस्था पनि विलकुल यही अवस्थाबाट गुज्रिरहेको छ । बालेन शाहले हजारौँको मतले अग्रता लिइरहँदा केही वर्गहरू बालेन शाहले जित्ने अड्कल गरिरहेका छन् भने केही वर्गहरू नेवारी समुदायका केशव स्थापितले जित्ने अड्कल गर्दै नानीमैयाँलाई जस्तै बालेन शाहको बारेमा पनि गलत टीकाटिप्पणी गरिरहेका छन् ।

तत्कालीन समयमा राज्य व्यवस्थासँग आजित भएका जनताले उक्त व्यवस्थाको झाँको झार्नका लागि नानीमैयाँ दाहालको विकल्प रोजेका थिए भने वर्तमान अवस्थाका जनताले यो व्यवस्थाको विरुद्ध एक शिक्षित साथै बहुप्रतिभाशाली जोसिला युवा बालेन शाहलाई विश्वास गरेर आफ्नो अमूल्य विश्वासस्वरूप मत दिएको देखिन्छ ।

बलियो काठलाई धमिराले धुल्याए जस्तै देशलाई खोक्रो बनाइसकेका ती वर्ग र संयन्त्रका लागि ‘बालेन शाह’ पिरलो भएको प्रष्ट भइसकेको छ । तिनका रातको निन्द्रा हराम भएको छ । मै हुँ भन्ने राजनीतिका हिमायतीहरूको विरासत निकट समयमै समाप्त हुने वातावरण सिर्जना भएको छ ।

अन्ततोगत्वाः शिष्ट, सभ्य, उत्कृष्ट सोच, आकर्षक व्यक्तित्व, सबैका लोकप्रिय, हरेकका मनमनमा बस्न सफल र बहुप्रतिभाशाली ‘बालेन शाह’ एक कुशल राजनीतिज्ञ चाहिँ हुन सक्लान् या नसक्लान् त्यो हेर्न बाँकी छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button