मेरो प्राणभन्दा प्यारो नौकुण्ड

सिर्जना लामा
नौकुण्ड, रसुवा ।

मैले नौकुण्ड जन्माएको हैन, नौकुण्डले मलाई जन्माएको हो । त्यसैले मलाई मेरो प्राणभन्दा प्यारो नौकुण्ड लाग्छ ।

पाँच बर्षको अवधिमा जनप्रतिनिधि (नौकुन्ड गाउँपालिकाको उपाध्यक्ष) भएर काम गर्ने सिलसिलामा नौकुण्डको शिरदेखी पाउसम्मका बृद्धबृद्धा, बाआमा, महिला युवा जमात सबै सबैको दुख, अभाव र आकांक्षालाई धेरै गहिरो रुपमा महसुस गरेको छु । सायद कुनै यौटा घर छैन जुन घरको यौटा न यौटा युवा सदस्य हरियो पास्पोर्ट बोकेर आफूलाई माया गर्ने सम्पुर्ण परिवारबाट टाढिएर पराईको देशमा युवा जोस र जाँगरलाई पराईकै माटो उर्बर बनाउन खटिएको नहोस् ।

जनताको लागि चुनिएकी म जनप्रतिनिधि जनताको घरघरमा पुगिरहँदा देखिएका भेटिएका थुप्रै समस्या र पीडाहरुमध्ये गाउँगाउँबाट युवाशक्ति विदेशिनु परेको बाध्यतालाई हेर्दा अत्यन्त मन चिसो हुने गर्थ्यो र गाउँको युवालाई गाउँमै भरपर्दो रोजगार सिर्जना गरी विदेश भन्दा स्वदेश नै बलियो निर्भर कसरी बनाउन सकिएला जस्ता प्रश्नहरुले मस्तिष्कमा ठाउँ जमाउँथ्यो । जनतासँग प्रत्यक्ष जोडिएर जनताको कथा, व्यथा र भावना बुझ्दै पालिकाभित्रको समग्र भुगोल र भुगोलभित्रका सम्भावनाहरुलाई गहन रुपमा नियाल्द नौकुण्ड गाउँपालिकाको सवालमा हरेक गाउँको हरेक युवा, महिला बृद्धसम्मलाई दक्षता अनुसारको अवसर प्रदान गर्न सक्ने गरी योजनाहरु बनाउन सकिने प्रसस्त स्रोतहरुलाई नजिकबाट जान्ने अवसर जुर्यो ।

संघियता स्थापना भएपछिको पहिलो जननिर्वाचित प्रतिनिधि हामी, हाम्रो सुरुवाती समय भौतिक स्रोत साधन समतेको जोरजामसहित पालिकालाई पुर्ण ब्यवस्थापन गर्दै धेरै कार्यबिधीहरु सिक्नमै गयो र जनताको लागि सम्भव भएसम्मको कार्य गर्ने कोसिस पनि रह्यो । अब हालको यो चुनावबाट चुनिने प्रतिनिधिलाई सहज रुपमा विकासको कार्यलाई अघि बढाउन सकिने मार्ग बनेको अवस्था छ ।

मैले यो चुनावमा जीत हासिल गर्न नसकेता पनि मेरो अन्तर हृदयमा नैकुण्डबासीको भविष्य सुनौलो बनाउने ठूलो चाहना र सपना भएकोले मेरो तर्फबाट पहल गर्न सकिने काममा सधैं अघि बढ्ने छु । जनताको दुखमा अगाडि उभिने छु । सुखमा खुशी हुने छु । जितेर अधिकार प्राप्त भएको अवस्थामा मैले देखेका भेटेका अनगिन्ती सम्भावनाहरुलाई एक एक केलाउँदै योजनाबद्ध रुपमा नमुना कार्यहरु गर्न पुर्ण प्रयत्नशील रहन्थेँ । यद्यपि जीत सम्भव भएन तर पनि मैले पहल गरेर हुनेसम्मको कामको लागि मेरो तर्फबाट पुर्ण रुपमा पहल हुने छ । र, पालिकालाई विकसित बनाउने कार्यमा निरन्तर साथ र सहयोग गर्न कहिल्यै पछि हट्ने छुईन ।

धनीगरिबबीचको खाडल, जातजातीबीचको, भुगोलभुगोलको भेगिया खाडल, धर्मसंस्कार बीचको खाडल, विचार र सिद्धान्त बीचको खाडललाई पुरेर सबै जाती, सबै वर्ग, सबै लिङ्ग, सबै धर्म सबैलाई सबैले समान व्यबहार समान सम्मान दिन सक्ने स्वरुप बनाउनु छ । समाजको लागि यो कार्यमा हामी सम्पुर्ण नौकुण्डबासी एक जुट भएर लाग्न अपरिहार्य छ । राजनीतिक पार्टी फरक होला, भाषा फरक होला, भेग फरक होला, वर्ण फरक होला, संस्कार संस्कृति फरक होला तर यथार्थमा हामी सबै यौटा पालिकाभित्रको यौटा जिल्ला भित्रको यौटा देशभित्रको परिवार हौं । यो विविधता नै हाम्रो देशको सुन्दर गहना हो । हामीले यसैभित्र गर्वका साथ रमाएर एक अर्काको सहायता, एक अर्काको सारथि बन्न सक्नु पर्छ ।

यो स्थानीय निर्वाचनमा हार ब्यहोरेका हामी सबै प्रतिस्पर्धीले यो बुझ्न जरुरी छ कि हार्नु सबै कुरा समाप्त हुनु होइन बरु थप सशक्त बन्ने मौकाको ढोका खोल्नु हो र आफ्नो ठाउँबाट विविध माध्यमले जनताको सेवामा सरिक हुन सक्छौं । सम्बन्धित निकायहरुलाई नियमन र अनुगमनको बाटोबाट खबरदारी गर्न सक्छौं । विकास र परिवर्तनको लागि पहल गर्न र झक्झकाउन सक्छौं । हामीसँग भएको योजनाहरुलाई समावेश गराउने कोसिस गर्न सक्छौं । आखिर हारे पनि जीते पनि उद्धेश्य त जनताको सेवा गर्ने नै हो ।

जीत हासिल गरेका प्रतिनिधिहरुले आफ्नो कार्यकाल भरिमा सबै जनतालाई भेदभावरहित, निश्पक्ष सेवा सुबिधा उपलब्ध गराई साँच्चै जनताको जिम्मेवारपुर्ण अभिभावकत्व निभाएर युवालाई रोजगार, जेष्ठलाई सम्मान हुने गरिको योजनाहरु अघि सारेर समग्र जनताको प्रिय पात्र बन्न सक्नु पर्छ । हामी मान्छेको जीवन कसैको पनि भर छैन । कति खेर कुन तरिकाले समाप्त हुन्छ, थाहा छैन । जिउँदो छउन्जेल नै म यो पार्टीको ऊ त्यो पार्टीको, जातको, धर्मको, यो ठाउँको, त्यो ठाउको भन्ने हुन्छ, मरेपछि सबैको ठाउँ यही माटोमा मिल्नु नै हो, जहाँ माटोले केही छुट्याउँदैन । यो पार्टी, त्यो पार्टी, धनी, गरिब, शिक्षित, अशिक्षित, ठुला, साना केही नभनी सबैलाई समान रुपमा स्वीकार्छ । त्यसैले चुनावी प्रतिस्पर्धामा होस् वा अन्य सामाजिक कार्य वा विचार सिद्धान्तको बीचमा मतभेद, मनमुटाव जे जे भए पनि यो माटो जस्तै सबैको साझा भएर समाजको लागि सबैले रिसराग त्यागेर, व्यक्तिगत लोभलालच त्यागेर एकअर्काप्रतिको दुश्मनी त्यागेर एक ढिक्कका साथ लाग्न जरुरी छ ।

संसार जित्नेहरुले मात्रै होइन, हार्नेहरुले अझ अहम् भुमिका खेलेर बदलिएको पाइन्छ । यो निर्वाचनमा हार भोगेका तमाम प्रतिस्पर्धीहरुले जितेर गएका प्रतिनिधि जुनसुकै पार्टीबाट होस्, निस्वार्थ भावले सहयोग गरेर समाजको रुप बदल्ने कार्यमा सहाभागी बन्नु पर्छ । पाँच बर्षपछि सोचौंला भन्ने सोचबाट बाहिर आएर बरु पाँच बर्षभित्रै गर्न सकिने सम्भावनाका कार्यहरुलाई विना सर्त अघि बढाउने कोसिस गर्नु न्यायोचित हुन्छ । कस्लाई के थाहा, पाँच बर्षमा को कहाँ हुन्छौँ या हुँदैनौ । त्यसैले आफ्नो सच्चा मनले चाहेको जनासेवाको चाहनालाई आजैका दिनमा दुखमा परेका, पीडामा परेका, थरिथरिका अभाव झेलिरहेका जनताको अनेकन घाउहरुमा मलम लगाउने काममा जितेर गएका प्रतिनिधिलाई साथ दिने गरी हातेमालो गर्न सकोँ सबैले ।

हामी कर्मशील मान्छे कर्म गर्न अघि सर्नु पर्छ । फलको आशा राख्नु हुँदैन । मैले गरेको काममा मेरो नाम मेरो पहिचान आउनु पर्छ भन्ने सोच नराखी हरेक दिन बिहान उदाएर सिङ्गो ब्रह्माण्डलाई रापतापसहित उज्यालो छर्दै असंख्य प्राणधारी प्राणी र वनस्पति समेतलाई जिवित रहन उर्जा प्रवह गर्दै फेरि अस्ताउने घाम जस्तै, पलपल अक्सिजन दिएर चलिरहने हावा जस्तै, प्रत्येक प्यासीको प्यास मेटाउने पानी जस्तै सबैको लागि समभाव राखेर विशुद्ध रुपमा जनताको जनताको दुखमा बलियो सहारा बन्न सकौँ । सबैमा शुभकामना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button