
आहा ! हारेर पनि नहारेकी नौकुन्डकी सिर्जना
सिर्जना लामा
लक्ष्य पनि जिद्दी छ
बाटो पनि जिद्दी छ
म हार कसरी मान्नु ?
मेरो हौसला पनि जिद्दी छ ।
सत्यको मार्ग हिँड्छु
सज्जनको साथ छ
बाटोमा कतै उजेली दिन
कतै अँधेरी रात छ
मभित्रको हिम्मतले कसरी हार्न सक्छ ?
जब मसँग बृद्ध बाआमाको आशीर्वाद छ ।
प्रिय मतदाता
खेलको नियम नै हुन्छ, एकले जित्दा अर्कोले हार्नुपर्ने । यसपटक हाम्रो अथक प्रयास हुँदाहुँदै जीत हाम्रो पक्षमा हुन सकेन । यो हार मेरो एकल हार होइन । मैले बोकेको सुखी जनता र समृद्ध पालिका बनाउने भिजनलाई स्वच्छ मतसहित साथ दिनुहुने सबैको हार हो । तर यो अन्तिम हार भने हुँदै होइन । यो पटक केही मतले हामी पछि पर्यौ । तर, अर्को पटकको लागि ढोका खुल्ला छ । बस् केही समयको पर्खाई मात्रै हो । यो पटक म हारे पनि तपाईं जनताको सुखदुखमा सधैं सँगै रहेर न्याय, विकासको लागि र आफुले गरेका प्रतिबद्धताहरुलाई पूरा गराउन खबरदारी गरिरहने छु । र, मबाट सम्भव हुनेसम्मको सहयोगको साथमा तपाईको एक एक मतको प्रेमपुर्वक कदर गर्दै न्याय दिने प्रतिबद्धता जनाउँछु ।
प्रिय समग्र जनता
मेरो उम्मेदवारी पार्टीको लागि थिएन, नौकुण्डको माटोमा जन्मेका तपाईं सम्पुर्णको लागि थियो । पाँच बर्ष उपप्रमुखको जिम्मेवारी निभाउँदै गर्दा प्रमुख पदको अधिकारभित्र पाँच बर्षको अवधिमा जनताले चुनेर पठाएको प्रमुख जनताकै घरदैलोमा रहेर काम गरियो भने नौकुण्डलाई देशकै नमुना गाउँ पालिका बनाउन सकिने स्पष्ट सम्भावना देखिएको हुँदा मैले पाँच बर्ष उपप्रमुख्रको रुपमा गरिएको कामहरुबाट प्राप्त अनुभव र तपाईहरुको आशिर्वादलाई लिएर प्रमुख पदको दावीमा उम्मेदवार बनेकी थिएँ । मलाई पदको लोभ थिएन न त मलाई कुनै व्यक्तिगत लाभको स्वार्थ थियो, थियो त केवल नैकुण्डको जनताको सुन्दर भाग्य र भविष्यको । त्यसैले आज मैले जितेर प्रमुख पद प्राप्त नहुँदैमा म व्यक्तिगत रुपमा कति पनि विचलित छुईन । छ भने केवल समग्र जनताको न्याय, सुख, शान्ति, प्रगती उन्नतिको चिन्ता छ । यसपालिको चुनावी मैदानबाट मलाई प्रत्यक्ष अधिकारमा रहेर तपाईं सम्पुर्णको सेवामा समर्पित हुने मौका त जुरेन तर म यहि नौकुण्डको तपाईको छोरी, चेली, भान्जी, भतिजी, नातिनी मलाई प्राप्त मतको प्रतिनिधिको रुपमा सधैभरी तपाई सम्पुर्ण नौकुण्डबासीको सुख, शान्ति र न्यायको निम्ति उभिने वाचा गर्दछु ।
प्रिय पार्टी पंक्ति
मप्रतिको पुर्ण विश्वासमा प्रमुख पदको टिकट प्रदान गर्नुहुने आदरणीय अग्रजवर्ग र दिनमा भोक रातमा निन्द्रा नभनी जनताको लागि जित्नु पर्छ भनेर अहोरात्र खट्नुहुने हाम्रा पार्टिका विविध विभागका सम्पुर्ण ईमान्दार, सजग, जागरुक , जुझारु देशप्रेमी, विकासप्रेमी जनताप्रति पुर्ण उत्तरदायी साथीहरुमा मेरो अथाह सम्मान र प्रेम छ । चुनावमा गणितीय मतले केही पछि भएर हार जीतको घोषणाको औपचारिक प्रक्रियाले हार्दैमा जनताको मनबाट पुर्ण रुपमा हारेकै छैनौं , हामीले मतको लागि मात्रै, जित्नको लागि मात्रै क्षणिक लाभको रंग छरेर जनतालाई मोहित पार्ने योजना बनाएनौ । बरु शुद्धताका साथ जनताको घरमा जनताकै सपना लिएर इमानदारपुर्वक गयौं, जुन सपना साकार पार्न पाँच बर्ष लाग्थ्यो, हाम्रो उद्धेश्य, हाम्रो योजना दुईचार दिनको लागि मात्रै टिक्ने लाभको लागि थिएन, समग्र जनताको दीर्घकालिन सुख, सुबिधाको लागि थियो । यो सत्यता बुझ्न जनतालाई अब धेरै समय लाग्ने छैन र आगामी दिनहरुमा जनता र विपक्षी पार्टीका समर्थक समेत हाम्रो पार्टिमा अथवा जनताको सुख दुखमा सामेल हुँदै जाने छन् । बस् हामी बफादारीसाथ जनताको गुनासो, जनताको मर्म, भावना र समस्यहरुमा कुनै पार्टी, कुनै जाती, कुनै भेगको रुपमा नछुटाई सबैको पक्षमा समान रुपमा उभिने छौं, यो नै हाम्रो धर्म हो ।
प्रिय विजयी प्रतिद्वन्द्वी
नुर्बु स्याङ्बो घले ज्यु यसपालिको यो चुनावमा विजयी हुनु भएकोमा हार्दिक बधाई एवं पुर्ण सफल कार्यकालको मंगलमय शुभकामना छ । अब तपाईंले पालिका प्रमुखको पदग्रहण गरिसकेपछि तपाईं समग्र नौकुण्डबासीको बुवाआमाको रुपमा मुख्य अभिभावक हुनु भयो । हामी कुनै पार्टीको, कुनै धर्मको, कुनै समुदायको हुनुभन्दा पहिला मानव हौं । यसमा दुईमत छैन । त्यसैले फरक विचार, आस्था र सिद्धान्तहरुलाई आआफ्नै ठाउँमा राखेर विशुद्ध रुपमा जनसेवामा लाग्ने सौभाग्य प्राप्त भएको छ तपाईंलाई । यो अवसरलाई अत्यन्त कुशलतापुर्वक सदुपयोग गर्दै नौकुण्डको जनताको जीवनस्तर उच्च बनाउने काममा लागि पर्नुहोस् । फेरि पनि अनगिन्ती शुभकामना तपाईंलाई ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



