माकुरीले जितेपछि अञ्जुले भनिन्, ‘मतपत्रको कोठा मेरो लागि मात्र खालीखाली’

राजनीति विश्वासमा चल्छ अनि म राजनीतिमा छु

अन्जु आचार्य

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा दोश्रो कार्यकालको लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिएँ । तर गणितीय सार्थकता पाउन सकेन ।

अघिल्लो कार्यकालमा भएको राम्रा कामलाई निरन्तरता दिदै थुप्रै नयाँ कामका योजना लिएर नेपाली कांग्रेस पार्टीको तर्फबाट मेरो उम्मेदवारी थियो । त्यसका लागि पार्टीप्रति म आभारी छु । पहिलो कार्यकाल पहिलो पटक भएकाले सबैकुरा सुरुबाट सुरु गर्नुपर्ने थियो । स्थानीय कानुनदेखि देशमा नै पुरा रुपमा नियमावालीहरु नबनेको अवस्था थियो । म र हाम्रो टिम पनि नयाँ थियो । तर पनि त्यो कार्यकाल मेरो लागि स्वर्णकाल सावित भएको रेकर्ड मेरो डायरीमा रेकर्ड छ ।

राजनीतिमा प्राय भन्ने गरिन्छ, अधुरा काम पुरा गर्न दोश्रो या अर्को पटक । म त्यसो भन्ने पक्षमा छैन । किनकी म मेरो कार्यकालमा मेरो तर्फका काम, कर्तब्यप्रति अत्यन्तै सन्तुष्ट छु । तर पनि कामको अवस्थामा भएका कमि कमजोरीलाई सच्याउँदै दुप्चेश्वर पालिकालाई सुन्दर र समृद्ध गाउँपालिका बनाउने मेरो अठोट थियो । केवल अर्को कार्यकालमा मेरो अनुभव र नयाँ योजनालाई नागरिकको लागि काम गर्नु थियो । अब त्यो सबै अधुरो रहनगयो ।

समयको माग अनुसारका गतिविधिहरु सञ्चालन गरी महिलामैत्री, बालमैत्री, युवामैत्री पालिका निर्माणमा जुट्ने मनिस्थिति बनाएकी थिएँ । अघिल्लो कार्यकालबाट भएको सिकाईलाई व्यवहारिकता दिदै उपाध्यक्षको अधिकार क्षेत्रभित्र पर्ने गतिविधिहरुलाई सञ्चालन गर्ने योजना थियो । पहिलो कार्यकालमा नै नेपाल सरकारको मन्त्रालय स्तरसम्म मेरो कामको सफलताको रेकर्ड छ । यी र यस्तै धेरै अठोट लिएर दोश्रो कार्यकालको लागि मतदाताको घरदैलोसम्म पुगेकी थिएँ । तर निर्वाचनको मत परिणामले उपाध्यक्षको पदमा रहेर कार्य सम्पादन गर्ने अधिकार दिएन । म अझै बिचलित भएकी छैन । म सधैंभर दुप्चेश्वरका नागरिकहरुको सेवामा तल्लिन रहनेछु । अबको मेरो कार्यक्षेत्र एउटा पालिका मात्र होइन, नुवाकोट जिल्ला नै हो ।

निर्वाचनबाट प्राप्त मतले मलाई जिम्मेवारीबाट उपबिजेता बनाएको छ । यसका लागि मलाई मत दिएर साथ दिनुहुने सबै मतदाता, समर्थक र सहयोगी नागरिकहरुप्रति ऋणी छु, आभारी छु । निर्वाचनमार्फत मेरो पक्षमा मत बटुल्न सँगै सहकार्य गर्नुहुने नेपाली कांग्रेसका सबै नेता, कार्यकर्ता र समर्थकहरुमा पनि विशेष रुपमा आभार ।

म अंकगणितको हिसावले मतमा पछाडि परे तर सैद्धान्तिक रुपमा अगाडि रहेको आभाष भैरहेको छ । उपाध्यक्षको लागि मत संकेत गर्नुपर्ने केही मतपत्रको कोठाहरु मेरो लागि मात्र खालीखाली रहेको पाएँ । यस्ता कुरा नजानेर गरिंदैन, नियतले गरिन्छ अनि म नियतकर्तालाइ चिन्दछु । उनीहरुप्रति पनि म दुखित छैन । किनकी उनीहरुको डरको मानसिकताले मलाई राजनैतिक रुपमा अगाडि बढाउन नदिने खेल हुन सक्छ । तर म उच्च मनोबलका साथ नेपाली कांग्रेस पार्टी र नागरिकको कामको सेवामा निरन्तर रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु । काम गर्न कसैले जिम्मेवारी दिने र बन्चित गर्नुपर्दैन म आफैं आफ्नो काम सृजना गर्नसक्छु, जिम्मेवारी लिन सक्छु भन्ने विश्वास छ ।

दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएकी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीकी उम्मेद्वार माकुरी तामाङज्यूलाई मनैदेखि बधाइका साथमा सफल कार्यकालको शुभकामना दिन चाहन्छु । कार्य सम्पादनको क्रममा कुनै अप्ठ्याराहरु आए भने म आफूसँग भएको अनुभव साट्न सधै तयार छु । त्यस्तै गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना पनि दिन चाहन्छु । हामीले सुरु गरेका कामहरुलाई नयाँ टिमले पूरा गर्नुहुनेछ र राम्रा कामको अनुशरण गरी निरन्तरता दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button