शान्तिका अग्रदूतमा काेटी काेटी वन्दना

अवतारी पुरुषलाई अन्यौलमा सम्झँदा

अरविन्द रिमाल

आफ्नो सात दशकको प्रजातान्त्रिक जागरणको इतिहासक्रममा नेपालले ऐतिहासिक महत्वका चार चरण पार गरेको छ, अर्थात् वि.सं. १९९७, २००७, २०४६ र २०६२–६३ सालमा । यो चानचुने उपलब्धि होइन । तर, विडम्बनाको कुरा के भने आम तवरमा २०४६ सालपछि र खास गरी २०६२–६३ सालपछिको राजनीतिक नेतृत्वको दृष्टिहीनता, परामुखता, सत्तालिप्सा र जातीय संकीणर्ताको सोचले गर्दा मुलुक अहिले कानूनविहीनता, दण्डहीनता, राजनीतिक अपराधीकरण जस्ताको चक्रव्यूहमा फसेको छ । फलस्वरूप राष्ट्रिय अस्तित्व नै संकटमा परेको छ । यस्तो संकटबाट बाहिर आउन देशको जनसमुदायको व्यग्रताले कहिले भौगोलिक सीमाको संरक्षणका लागि, कहिले राष्ट्रिय हितमा नदीनालाहरूको समुचित उपयोगका लागि त, कहिले धार्मिक आस्था वा आध्यात्मिक जागरणको रूपमा अभिव्यक्ति लिन पुगेको देखिन्छ ।

उत्तर र दक्षिणका छिमेकी स्वरूपका दुई विशाल ढुङ्गाहरूबीचको तरुल भएर बसेको भनिने नेपालमा अहिले यही तथ्यको दृष्टिगोचर भइरहेछ ।

‘नेपाल अंग्रेज साम्राज्यवादले चीनबाट खोसेर लिएको प्रदेश हो … र नेपाल चीनका पाँचोटा भौगालिक औंलाहरूमध्ये एउटा हो’ भनिएको कुरा चीनका कर्णधार माओत्से तुङलिखित ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिष्ट पार्टी’ नामक सैद्धान्तिक कृति पढ्दा यो पंक्तिकारसँग आफ्नो व्यथा र आक्रोश व्यक्त गर्ने न त ठाउँ थियो, न त नेतृत्व नै । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक–महासचिव पुष्पलालछेउ २००८ सालको शुरूतिर आफूले त्यसबारे गुनासो गर्दा उनको मौनताको अभिप्रायलाई आफूले ठम्याएको हिजो जस्तो लाग्दछ । ‘सर्वहारा अन्तर्राष्ट्रियतावाद’प्रति निष्ठाको नाममा आफ्नै राष्ट्रियतालाई गौण ठान्ने कोरा सैद्धान्तिक पराधीनताको कालखण्ड थियो, त्यो ।

यही पंक्तिकार पछि चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशनमा नेपाली पत्रकारको रूपमा २०१३ सालमा चीन जाँदा उसलाई आफूसँग सम्बद्ध उच्चस्तरीय चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको एकजना उच्च सम्पर्क–अधिकृत मिस्टर लिउले एक दिन नेपाल–भारत सम्बन्धका बारेमा चर्चा चल्दा ‘नेपाल भारतको प्रभाव क्षेत्रमा रहनुपर्ने’ अभिव्यक्ति दिए । यो वाक्यांश यस पंक्तिकारले कहिल्यै चिताउँदै नचिताएको प्रयोग भएको पाउँदा र सो उक्ति नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक नीति विपरीत भएकोले उसले त्यतिखेरै नै कडा आपत्ति जनायो । आफूभन्दा माथिको व्यक्तिले आदेश दिए बमोजिम होला मिस्टर लिउले ढिपी गर्न छाडेनन् । पंक्तिकारले उनलाई आफ्नो कोठाबाट बाहिर जान अनुरोध गर्नु पर्‍याे । लिउ महोदयले आफ्नो सम्बन्धित तहमा यसको उजुरी गरे होलान् नै र त्यहाँबाट यस पंक्तिकारको तथाकथित उदण्डताबारे त्यतिबेला पेकिंगमै भएका कम्युनिष्ट नेतात्रय मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ तथा कमर शाहसमक्ष गुनासो गरियो । तर त्यतिबेला यो पंक्तिकार वैचारिक पराधीनताप्रति क्रिटिकल हुन थालेको थियो । यो विवरण उसको ‘१९९७ सालदेखि २०१७ साल –– एक अवलोकन’ पुस्तकको पृष्ठ ३२१–३२२ मा उल्लेख भएको छ । त्यतिबेला नै उसले सगरमाथामाथि चिनियाँ दाबीको पूर्वाभास पाएको आज झल्झली सम्झना हुन्छ । चीन सरकारले आफ्नो सीमा संरक्षणको नाममा सगरमाथामाथि नै गरेको प्रभुसत्ताको दाबीसित २०१६ सालतिर प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला अनभिज्ञ थिएनन् । त्यही सालको माघमा भारतीय प्रधानमन्त्री जवहारलाल नेहरुको निमन्त्रणामा भारत–भ्रमण गर्दा उनले ‘भारतको सुरक्षा सिमाना हिमालयसम्म फैलिएको छ’ भनी प्रधानमन्त्री नेहरुले भारतीय संसदमा दिएको वक्तव्यको जोडदार ढङ्गले प्रतिवाद गरेको र पछि प्रधानमन्त्री नेहरुले आफ्नो वक्तव्यलाई संसदमै फिर्ता लिएको कुरा पनि उपर्युक्त पुस्तकमा उल्लेख छ । आज त्यो प्रतिवादको स्मरण गर्दा प्रधानमन्त्री कोइरालाले त्यतिबेला नै चिनियाँ नेतृत्वलाई पनि सगरमाथामाथिको दाबी छाड्न नेपालको अडानको संकेत दिइसकेका रहेछन् भन्ने लाग्दछ । २०१६ सालमा चीनको भ्रमण गर्दा उनले चिनियाँ प्रधानमन्त्री चाउ एन चाइलाई यस्तो दाबीबाट नेपाल र चीनबीच सम्बन्धमा नराम्रो असर गर्ने तथ्य अवगत गराएकोले नै २०१७ सालमा चिनियाँ प्रधानमन्त्रीले आफू नेपाल भ्रमणमा आउँदा ‘चीनले सगरमाथाको सम्बन्धमा नेपालद्वारा प्रस्तुत नक्शालाई मान्यता दिइसकेको छ’ भनी पत्रकार सम्मेलनमा भनेका थिए । पछि २०१८ सालतिर राजा महेन्द्र चीन–भ्रमणमा जाँदा अध्यक्ष माओत्से तुङले पूरै सगरमाथामाथि दाबी गरेको त सर्वविदितै छ । राजा महेन्द्र चीनसँगको राजनीतिक मित्रताको महत्व राम्ररी जान्दथे । तर उनी माओत्से तुङको दबाबसामु झुकेनन् र माओ आखिरमा आफ्नो हठ छाड्न बाध्य भए भन्ने कुराको रोचक वर्णन अमेरिकी इतिहासकार लिओ रोजले लेखेका नेपालसम्बन्धी पुस्तक ‘Nepal: Strategy for Survival’ मा पाइन्छ ।

त्यतिबेलासम्म नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति दृढ निष्ठा भएका सरकार प्रमुख तथा राष्ट्राध्यक्ष थिए । वर्तमान समयमा राष्ट्रिय हित र राष्ट्रिय स्वाधीनताप्रति नै असंवेदनशील शासकहरू हुँदागर्दा अथवा तिनीहरू इतिहासका कुनै कालखण्डका कुइसलिंग वा मिरजाफर नेपालको सत्तामा फर्केका जस्ता देखिँदा जागरुक जनसमुदाय आफू नै स्वतःस्फूर्त राष्ट्रिय पहिचानको अभियानमा लाग्नु स्वभाविक हो ।

सिद्धार्थ गौतमलाई लिएर हालै चलेको सार्वजनिक अभियानलाई यही श्रेणीमा लिनु उचित हुनेछ ।

सिद्धार्थ गौतमको जन्म तत्कालीन कपिलवस्तु अन्तर्गत पर्ने लुम्बिनीको सालवनमा भएको थियो र महाभिनिष्क्रमणमा प्रस्थान हुँदासम्म अर्थात् २९ वर्षको आयु उनले यसै भूमिमा बिताएका थिए । त्यो परम पावन स्थलले आज नेपालको गौरवलाई बढाइरहेको तथ्य इतिहाससिद्ध छ । ‘सिद्धार्थ गौतमले शरीर, भोग, मन, बुद्धि, मान्यता, अहंकारलाई देख्न सके । त्यसैबाट उनी क्रान्तिकारी संन्यासको पथमा अग्रसर हुन सके’ भनी गुल्मी जिल्लाको कौली गाउँमा जन्मिएका नेपाल पुत्र एवं भारत विख्यात सन्त सत्यदेव स्वामी भन्ने गर्दथे ।

आफ्नो संन्यास पथको साधनामा गाैतम बुद्धले तत्कालीन मगध राज्यको बोधगयामा गएर सात वर्ष कठोर तपमा रहेर ज्ञान प्राप्त गरेका थिए । उनले बुद्धत्व प्राप्त गरेको त्यो पवित्र भूमि आज भारतको विहार राज्यमा पर्दछ । अतः उनको यशस्वी नामसित नेपालका लुम्बिनी र तिलौराकोट मात्र होइन भारतका सारनाथ, बोधगया एवम् कुशीनगर पनि जोडिन्छन् । यस प्रकारबाट नेपालपुत्र सिद्धार्थ गाैतमका सन्देश हाम्राे दक्षिण एशियाली भूभागबाट अघि बढ्दै देशदेशान्तरसम्म पुगेकाेले, तत्स्थानका जीवन-दर्शन बनेकाले उनी विश्व नागरिक, महामानव हुन्, विश्वशान्तिका मार्गप्रदर्शक हुन् एवम् शान्ति, सद्भाव, करुणा, प्रेमका मन्त्रद्रष्टा हुन् ।

यी शान्तिका अग्रदूतमा काेटी काेटी वन्दना गर्दै जय नेपालकाे अभिवादन !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button