
रेसुङ्गाको उचाइमा उभिएर म कति अग्लो !
एकान्तवासका प्रलाप
दीन पन्थी
म पंछी होइन । मेरा पंख छैनन् । म कल्पनाका पंख फट्फटाएर उड्छु सगरमा । म विचारका पंख खियाएर डुबुल्की मार्छु– सागरमा । मोती खोज्छु– अतुल जलधिको अतल गहिराइमा ।
सगर ! तँ उच्चा छैनस्, मेरी कल्पनाको उचाइभन्दा । सागर ! तँ गहिरो छैनस् मेरो विचारको गहिराइभन्दा । कहाँ उडाऊँ ? यति साँघुरो आकाशमा मेरा कल्पनाका चंगाहरु ? कहाँ डुबाऊँ, सागरको यो छिपछिपे पानीमा मेरा विचारका विराट् मौलाहरु ? ब्रह्माण्ड साँघुरो भो मलाई ।
साँझपख छ । म रेसुङ्गाको शिखरबाट जगत् नियाल्छु । रेसुङ्गाको उचाइमा उभिएर म कति अग्लो ! आहा ! फुच्चे अर्जुन म भन्दा तलै पसारिएको छ । कति टिठलाग्दा देखिन्छन् तलका थुम्का–थुम्कीहरु ! यस्तै अहंकार पस्दो हो बडाहरुले छोटाहरुलाई देख्दा । लाग्छ मभन्दा कोही अग्लो छैन जगत्मा अहिले । अर्कैको उचाइमा चढेर उच्च बन्दा पनि फूर्ति आउने रहेछ मान्छेमा । म पाँच फुटको मान्छे आठ हजार फुट अग्लिएको छु अहिले । मख्ख परेको छु आफ्नो उचाइमा ।
खस्रुका रुखहरु उभिएर पश्चिमतिर सूर्यको लालिमा हेर्दैछन् । झ्याउको कछाड बेरेर उभिएका यी बोटहरु अभिमानी छन् । यी झुक्न जान्दैनन् । तङ्खव नबुझेका धनमत्त मान्छेजस्ता अविनीत छन्– यी रुखहरु । वर्षा, हिउँ, तुसारो हुरी खपेर वर्षौंदेखि खडा खस्रुहरु आफूलाई सिद्ध तपसी ठाँन्दा हुन् । गन्दैनन् साना झाडीहरुलाई यिनले । यिनको तप्केनीले कुथुर्किएका सानातिना बोटहरु हरिया झण्डा हल्लाइरहन्छन् बतासको प्रेरणाले ।
गर्व नगर ए ! खस्रुका अविनीत बुटाहरु, तिमीहरुले हिमाल छेक्न सक्ने छैनौं । म हिमाल हेर्छु । हिमाल छर्लङ्ग छ । वर्षामा नुहाएर हिउँले मानौं यस शारदी सन्ध्यामा हिमाल व्रत बसेको छ । कुमारीको जस्तो कलिलो मुहार छ हिमालको । हिमालको सिउँदोमा सूर्यले सिन्दुर छरे । लाजले हिमाल सर्वाङ्ग रातो भो । सूर्य पनि राता भए, लाजैले होला, सूर्यले सुनौला बादलको रुमालले मुहार ढाक्न खोज्दैछन्, अस्ताचलको ढिकमा टाउको लुकाउन खोज्दैछन् । कस्तो बिछोडकालको विवाह हो यो यिनीहरुको ! छुट्टि सकिएको लाहुरेको विवाह जस्तो ।
क्षणभंगूर छन्– प्रकृतिका लीलाहरु । जगच्चक्षु सूर्यले हिमालसँग भोलि सखारै भेटौंला प्रिये ! भनी बिदा लिए । अस्ताचल राताम्य भयो, बन्धुयुद्धमा नेपालीले बगाएको रगत् मानौं अस्ताचलमा जम्मा भएको छ । प्रतापी सूर्यको यो अधोगति मलाई हेर्न मन लागेन । हुन त सधैंभरि कसको उन्नति भयो र लोकमा ?
गाईहरु धूलो उडाउँदै घर फर्कने बेला भो । गाईले धूलो उडाउने बेला भनेर यस समयलाई गोधूलि भन्छन् पाकाहरु । आजभोलि गाई वन पनि जान्नन्, धुलो पनि उड्दैन– बाटामा । आजभोलि मोटरले धूलो उडाउँछ जताततै । साँढेहरु डुक्रिन छाडे । मान्छेका साँढे चढ्ने पजेरोहरु डुक्रिन्छन् शहरतिर । मेरो शान्तिक्षेत्रमा आजभोलि बन्दूक पड्कन्छन्, बम पड्कन्छन् ।
देवदूतहरु डुल्ने यस हिमाली पाखामा यमदूतहरु घुम्न थाले संसाँझै । गाउँमा कफ्र्यु लाग्छ– रातमा । ढोकामा गजबार लगाएर जीवनको अस्तित्व ओढ्छन्–कालपासले त्रस्त मानिसहरु ! साँझ परेपछि यी वस्तीहरुमा मान्छे घरभित्र गँड्यौंला झैं गुडुल्किन्छन् । मान्छेका जीवनहरु खुम्चिएका छन्, जीवनसितै विचारहरु पनि खुम्चिएका छन् । मरिच जस्तै चाउरिएका छन्– जीवनहरु यस लोकमा । शून्य छ रेसुङ्गा । यो महर्षिहरुको तपोभूमि । एकान्त कोलाहल शून्य धर्तीको निधार हो यो । यहाँ फुक्छन्– बुद्धिका कँसिएका मुर्राहरु । यहाँ फुक्छन्– विचार र कल्पनाका बन्धनहरु । बैरागीहरुको स्वराज छ यो अनुपम । यहाँ शान्ति र आनन्दका दशै द्वार खुला छन् । यहीं खुल्छ समाधि ।
सिर्सिर बतास चलिरहेको छ । झ्याउँकिरीको संगीत गुञ्जिरहेको छ साँझको निस्तब्धतामा । अनुपम स्वरसौन्दर्य उरालेर गाउँदैछ झ्याउँकिरी । सबै राग र रागिनी छन् झ्याउँकिरीको संगीतमा । मानौ यो वेद हो तपस्वी वटुहरुको कण्ठबाट निस्केको । अनन्त अभिप्राय र अनन्त सौन्दर्य छन् झ्याउँकिरीको आवाजमा । झ्याउँकिरीको नादमा जीवनको सार छ । झंकार छ जगतको यसमा । मानौं यो आवाज हो सरस्वतीको वीणाबाट निस्केको । सुन ए ! रसिकहरु यो कस्तो पञ्चम राग हो । यसको स्वरसँग पराजित छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



