
राजाले पत्नीलाई नै गुरु स्वीकार गरे
महिला अधिकार र हिंसा
शान्ता सिम्खडा
दु:ख लाग्छ महिलाहरूले आफ्नो गरिमालाई नजानेको देख्दा । पिडा हुन्छ आफ्नो शक्तिलाई पहिचान गर्न नसक्दा एउटा हिन सोच भएको पुरुषको खेलौना भइरहेको देख्दा । अर्धनग्न भएर हिंड्नु स्वतन्त्र हुनु हो रे । विवाहित पुरुषले घरकी पत्नीलाई धोका दिएर, धम्क्याएर, तर्साएर बाहिर रखेल डुलाउँदै हिंड्छ । अनि हामीले चाहिँ किन दुइचारजनासँग सम्बन्ध राख्न नहुने रे ।
एउटा विवाहित पुरुष पत्नीलाई घात गरेर परस्त्रीसँग सम्बन्ध राख्छ । पत्नीलाई मानसिक तनाव दिएर डिभोर्स दिनको लागि दवाव दिन्छ । अझ जानीजानी आत्महत्या गर्ने वातावरण सृजना गरिदिन्छ । हामीले किन नहुने रे !
अनि त्यहाँ त्यो सब भन्ने नारी हुन्छे जो प्रत्यक्ष वा परोक्ष अर्कि नारीको जीवन र सम्बन्ध बर्बाद बनाउनमा महत्वपूर्ण भूमिका खेलिरहेकी हुन्छे । कति घिन लग्दो कुरा । अनि त्यो भन्दा घिनलाग्दो त त्यही नारी महिला हिंसा बन्द गरौं । महिला अधिकार सुरक्षित गरौं भन्दै नारा लगाउँदै हिँड्छे । अब कसरी सुरक्षित हुन्छन् महिलाहरू ? एउटी नारी आमा हुँदा छोरीलाई ज्वाईंले सहयोग गर्दा ज्वाईंप्रति गर्व गर्छे र खुसी हुन्छे । अनि छोराले चाहिँ बुहारीलाई माया, सहयोग गर्यो भने छोरा जोइटिङ्ग्रे भयो भन्छे र बुहारीलाई तथानाम गाली गर्छे भने महिला हिंसा कसरी रोकिन्छ महिला अधिकार कसरी सुरक्षित हुन्छ ।
एउटी नारी एउटा विवाहित पुरुषको वासनामा वा मोहमा वा धनको लालचमा पर्छे । उसलाई फसाउँछे वा आफैं अनियन्त्रित भएर फस्से । अनि अर्कि आफूजस्तै नारीको जीवन बर्बाद बनाइदिन्छे, नरक बनाईदिन्छे । उजाड बनाइदिन्छे । अब कसरी सुरक्षित हुन्छ नारी अधिकार र कसरी रोकिन्छ नारी हिंसा ? यहाँ पुरुषले गर्ने असी प्रतिशत हिंसामा नारीकै भुमिका बढी हुन्छ । कुनै न कुनै रुपमा नारी नै पिडक भैदिन्छे नारीलाई पीडा दिनमा । कतै दिदीबहिनी, कतै सासू, कतै बुहारी, कतै नन्दआमाजु, कतै भाउजुबुहारी, त कतै विवाहित पुरुषकि प्रेमिका (रखेल) भइदिएर । जबसम्म हामी आधुनिक, शिक्षित र सभ्य भनिएका महिलाहरूले आफ्नो शक्ति र गरिमालाई जान्दैनौं ।
जबसम्म हामीले आफ्नो आत्मसम्मानको लाज राख्न सक्दैनौं तबसम्म हामी कहिल्यै अधिकार सम्पन्न हुन्नौं । अनि हामी हिंसामा पर्न पनि छोड्दैनौं । महिला स्वतन्त्रताको परिभाषा शरीर केन्द्रित मात्र हुनाले झन् महिलाहरू खेलौना बन्ने क्रम बढ्दो छ । गार्गी, मैत्रेयी, विशाखा, रानी चुडाला, उभय भारती जस्ता महान् इतिहास रच्ने महान् नारीहरूले कहिल्यै आफ्नो अधिकारको लागि नाङ्गै हिंड्न पाउनुपर्छ । पुरुषहरूले धेरै नारीसँग सम्बन्ध राखे जस्तै हामीले पनि धेरै पुरुषसँग सम्बन्ध राख्न पाउनु पर्छ भनेनन् । किनकी उनीहरूलाई आफ्नो गरिमा र महत्व थाहा थियो । त्यसैले उनीहरूले स्वतन्त्रताको नाममा पुरुषका खेलौना बन्न स्वीकार गरेनन् । अपितु पुरुषहरूलाई नै मात दिने विदुषी बनेर निस्किए ।
हुन त यी नारीहरू महान् हुनुमा पुरुषको पनि उत्तिकै भुमिका छ । किनकी नारी र पुरुष भनेका सृष्टिको दुई भिन्नभिन्न अस्तित्वमा रहेका तर पुरक शक्ति हुन् । आफ्नी पत्नीको अधिकार र स्वतन्त्रताको सुरक्षा र सम्मान गर्दै मंडन मिश्रले आफूले पाएको ज्ञान, कला र सीपमा आफ्नी पत्नीलाई पनि बराबरको हकदार बनाए । परिणामस्वरुप उभय भारतीको अगाडि आदिगुरु शंकराचार्यले हार्नु पर्यो । उचित शिक्षादिक्षा र अधिकार पाएकी गार्गीबाट यज्ञवल्क्य जस्ता तेजस्वी विद्वान तपस्वीले हार्नु पर्यो । स्वयं यज्ञवल्क्यले आफ्नी पत्नी मैत्रेयीलाई आफ्नो सम्पूर्ण ज्ञान, साधना र सीपमा बराबर सहभागी गराउँदा मैत्रेयीले पनि ब्रह्मज्ञान प्राप्त गरिन् ।
रानी चुडालाले ब्रह्मज्ञान प्राप्त गरेपछि राजाले पत्नीलाई नै गुरु स्वीकार गरे । बुद्धकालिन समयमा पनि विशाखा, सुजाता जस्ता नारी अब्बल छन् । तर हामी त त्यस्ता पुरुषका पछि लाग्छौं जो घरमा पत्नी, छोराछोरी भएर पनि परस्त्रीलम्पट छन् । जसले खुद नारीलाई पिडा दिइरहेको छ । किनकी परस्त्रीको वासनामा फसेको पुरुषले कहिल्यै पनि आफ्नी पत्नीलाई प्रेम र सम्मान गर्न सक्दैन । पत्नीको आत्मसम्मानको रक्षा गर्न सक्दैन । पितृसत्तात्मक समाजको विरोधमा नारा लगाउँदै हिंड्ने हामी एउटा हिन पुरुष मानसिकताले नै तोकिदिएको स्वतन्त्रताको घेराबन्दीमा आफूलाई सुरक्षित ठानेर सुरक्षित महसुस गर्छौं । के एउटा हिन पुरुष मानसिकताभित्र स्त्रीको स्वतन्त्रता, इच्छा र आवश्यकताको परिधी मापन गर्न सक्ने हैसियत होला र ? असम्भव छ । त्यसैले हामीले आफ्नो गरिमालाई आफैंले पहिचान गर्न सक्नुपर्छ ।
आफूलाई परम स्वतन्त्र राख्ने कला मैत्रेयी, गार्गी, रानी चुडाला, उभय भारती, विशाखा जस्ता नारीबाट सिक्नुपर्छ ।



