
राजनीतिः हारे डाँका, जिते राजा
दीन पन्थी
कुनै समय राजाको नीति हुन्थ्यो राजनीति । शक्तिसिद्धान्तबाट बने राजाहरु । सुरक्षाको भावमा खडा भए राज्यहरु । इतिहास साक्षी छ राज्य जोर्दा र फोर्दा भएका रक्तपातहरुको । इतिहास साक्षी छ राजनीतिको नाममा भएका क्रूरता, हिंसा र छलकपटको । राजनीतिमा अक्कल–झुक्कल देखिने नीति र आदर्शहरु त अपवाद मात्र हुन् । पहिले राजैराजा थिए संसारमा ।
नराणां च नराधिप भनेर गाउँथे कविहरु । अहिले राज्य छन्, राजनीति छन्, राजदूत छन्, राजपत्र छन्–केवल राजा छैनन् । राजा नभए पनि राजाका हाउभाउ छन्, विरासत छन्, इतिहास छन् । नाम फेरिए पनि काम फेरिएका छैनन् । राजनीतिको उही कुरुप रुप छद्मभेषमा अभिनय गरिरहेछ । अप्राप्त राज्यसत्ता प्राप्त गर्न र प्राप्त राज्यसत्ता जोगाइराख्न खेलिने खेल हो राजनीति । यो निकै आकर्षक, यशस्कर र लाभदायी छ । यो खेल बांगोटिंगो हुन्छ । रेफ्रीको नियम, निर्णय चल्दैन यसमा । बल नै नीति हुन्छ यस खेलमा । तागत नै नियम हुन्छ यस खेलमा । हारे डाँका, जिते राजा, हुने नीति हुन्छ राजनीतिमा ।
सर्वश्रेष्ठ अनीतिको नाम हो राजनीति । यो कटु सत्य हो । मेरा कुरा कसैलाई मन परुन् वा नपरुन् तर यो सत्य घाम झैं छर्लब्ग छ, बर्खे झरी झैं छताछुल्ल छ । आदर्श, सिद्धान्त निष्ठा, त्याग, इमान, नैतिकता सबै हुन्छन् राजनीतिमा तर विचार र चिन्तनमननको तहमा मात्र । राजनीतिको अन्तर्य छलप्रपञ्च, लोभ, क्रुरता, अविश्वास र कपटले भरिएको हुन्छ । सौजन्य र चरित्रले चल्दैन राजनीति । अव्यावहारिक आस्था र निष्ठाको स्थान हुँदैन राजनीतिमा । भावना र नैतिकताको मान हुँदैन राजनीतिमा । मनमा हलाहल पालेर मुखमा अमृत पस्कनु पर्ने राजनीतिमा सत्यको स्थान हुँदैन । राजनीति बाँगोटिँगो, विद्रूप बुख्याचा झैं बुझिनसक्नु हुन्छ । राजनीति एउटा मिश्रण हो, एउटा विद्रूपमय ककटेल हो लोभको, प्रवञ्चनाको, हिंसाको, कुटिलताको, व्रmूरताको र अहब्कारको । हो राजनीति विचारबाट चल्छ–एउटा कुटिल विचारबाट, छलकपटको बांगोटिंगो चिन्तनबाट र जसरी पनि राज्यसत्ता प्रांप्त गर्ने लोभीपापी सोंचबाट । राजनीतिमा नेता नीतिअनुसार चल्नु पर्दैन, बरु जसरी नेता चल्छन् त्यही नीति हुन्छ ।
शिवजी जसरी नाचे पनि ताण्डव नृत्य हुन्छ, आदर्श नृत्य हुन्छ । जीवन्त राजनीतिमा रक्तसञ्चारजस्तै हुन्– हिंसा, षड्यन्त्र, धोका, स्वाब् र छलकपटहरु । जनता नझुक्याईकन, जालझेल नगरीकन, अर्कोलाई सत्ताबाट न गलहत्याईकन कोही सर्वोच्च पदमा पुग्दैन । राजनीतिमा षड्यन्त्र जायज मानिन्छ । साम, दान, भेद र दण्ड त उपाय हुन् राजनीतिका । धोका र षड्यन्त्र त कर्तव्य हुन् राजनीतिका ।
खुर्सानी जति पिरो भयो त्यसको त्यति प्रशंसा हुन्छ । तरबार जति धारिलो भयो त्यसको त्यति प्रशंसा हुन्छ । विष जति मारक भयो त्यति काम लाग्ने हुन्छ । राजनीति पनि जति षड्यन्त्रमय, छलकपटपूर्ण र हिंसामय बन्यो त्यति रोमहर्षक हुन्छ र सफल हुन्छ । मैले राजनीतिको निन्दा गरेको होइन, जीवन्त राजनीतिका सत्यहरुको चर्चामात्र गरेको । राजनीति त्याग, सन्न्यास र वैराग्यको मेसो होइन, भोग, राग र द्वेषको मेलो हो । राजनीतिमा धर्म, त्याग, निष्ठा, सिद्धान्त खोज्दै हिड्नेहरु जोगी भएर हिडे हुन्छ, खरानी घसे हुन्छ । त्यस्ता लकीरका फकीरहरु गुफा पसेर ध्यानमा बसे हुन्छ । राजनीतिमा पाप भनेको हार्नु हो, धर्म भनेको जित्नु हो । त्यसैले त ‘सदा समरविजयीनाम्’ भनेर स्तुति गाइन्थ्यो ।
हरुवाहरुलाई इतिहासले राक्षस बनाइदिन्छ, जितुवाहरुलाई देव । कसैले एक जना मान्छे मारे आजन्म कैद हुन्छ । राजनीतिको नाममा हजारौं मान्छे मारे सर्वोच्च पद प्राप्त हुन्छ । ‘वीरभोग्या वसुन्धरा’ अर्थात् जो शक्तिशाली छ पृथ्वी उसैले भोग्छ । यही रीति, स्थिति र नीति हो राजनीतिको । जो कमजोर छन् ती ठगिन्छन्, लोप्रिन्छन्, लुटिन्छन्, मारिन्छन् । कमजोरले सिद्धान्तका कुरा गर्छन्, धर्मका कुरा गर्छन्, समानताका कुरा गर्छन्, सत्यका कुरा गर्छन् । बलवान्हरु आफै सिद्धान्त, धर्म र सत्यको निर्माण गर्छन् ।
राजनीतिमा शक्ति नै परम सत्य हो, शक्ति नै परम शुभ हो । राज्य, राजा र राजनीतिको उत्पत्ति युद्धबाट भएको छ । पढेका सिद्धान्तले र मनगढन्त आदर्शले राजनीतिको अभ्यास चल्दैन । राजनीति डर र लोभका नैसर्गिक सिद्धान्तले चल्छ । दण्डका डरले नै मान्छेले राज्यका कानून मान्छन् । राज्यको उत्पत्ति नै दण्डबाट भएको छ । दण्ड भनेको लौरो हो । लौराले सोंठ्याएर जनतालाई भयभीत नतुल्याई राज्य चल्दैन । हिंसा जायज मानिन्छ राजनीतिमा । हरेक राष्ट्रका जगमा युद्ध हुन्छ । राष्ट्रका सीमारेखाहरु रगत्ले कोरिएका हुन्छन् ।
हिंसाबाट भय उत्पन्न हुन्छ । भयबाट बलवान्प्रति सम्मान र कमजोरमा समर्पण उत्पन्न हुन्छ । बलशालीप्रति देखिने सम्मान भयोत्पन्न हुन्छ । पदासीन नेताका पछि लाग्ने भरौटे–पछौटेहरुको सम्मान लोभोत्पन्न हुन्छ । डरपोकलाई डर देखाउनु, लोभीलाई केही दिनु, शक्तिशालीसँग हात जोड्नु र कमजोरलाई गोदगाद गर्नु राजनीतिका उपाय हुन् । वर्तमान राजनीतिमा जनतालाई सत्तारोहणका लागि भ¥याँग मानिन्छ । प्रत्येक नेता यिनै भ¥याँगका सोपानहरुबाट सत्ताको शिखरमा पुगेको हुन्छ ।
सत्ताको शिखरमा पुगेपछि भ-याँग चाहिन्न । राजनीतिमा साधन जे भए पनि साध्य सत्ता हो, पद हो । क्रुर कर्म नगरी राज्यसत्ता र ऐश्वर्य प्राप्त हुँदैनन् । कूटनीति भन्छ– नेताको बोली विनम्र हुनुपर्छ तर हृदय छुराको धारजस्तो हुनुपर्छ । बोल्दा मुस्कुराएर बोल्नुपर्छ तर कर्म क्रुर र निर्दयी हुनुपर्छ । राजनीति त्यस्तो हुन्छ जस्तो हामी देख्दैछौं, भोग्दैछौं । राजनीति त्यस्तो हुन्न जस्तो हामी पढ्दैछौं वा सोंच्दैछौं । राजनीति कटु सत्य हो ।
राजनीतिले इतिहास निर्माण गर्छ । राजनीति मियो हुन्छ । अरु नीति यसैको वरिपरि घुम्छन् । हो शक्तिसिद्धान्तलाई नीति सिद्धान्तले जित्यो भने निःसन्देह राजनीति सब्लो हुनेछ । इतिहास पढ्दा, वर्तमानका व्यवहार हेर्दा बांगोटिंगो छ राजनीति । राजनीतिको यही बाब्गो बीभत्सरुप हामी देखिरहेछौं, भोगिरहेछौं । राजनीतिको यथार्थ यही रहेछ– भन्न हामी बाध्य छौं । हो राजनीतिमा आदर्श र सिद्धान्त व्यवहारमा अनुवाद भएछन् भने यी विचारहरु असत्य सावित हुनेछन् । म चाहन्छु मेरा विचारहरु असत्य बनून् ।
राजनीतिमा सत्य जागोस्, स्वार्थ भागोस्, नातावाद, नेतावाद र विजेतावाद लुकून् । राजनीतिमा नयाँ संस्कृतिको, नयाँ सभ्यताको, इमानको, सौजन्यको, देशप्रेमको उदय होस् । मान्छेका मनमा जबतक वैमनस्य, लोभ, क्रोध र अहंकारका भावबीज रहलान्, तबतक ती राजनीतिमा पनि देखिएलान् ।
रामराज्य नै आएछ भने हामीले पनि भौगौंला, हेरौंला । सपनाहरु विपना भएको त्यस दिनमा उत्सव मनाउँला ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




जति पढ्यो, पढूँ लाग्छन् सर हजुरका लेखहरू,
फुर्नासाथ प्रकाशित होऊन् यस्तै अन्य आलेखहरू !!!