कुन कुहिरोले ढाक्दैछ ज्योतिर्मय अक्षरहरुलाई ?

दीन पन्थी

सत्य बोल्नुपर्ने हो । सत्य जाग्नुपर्ने हो । सत्यले जित्नुपर्ने हो । आज किन असत्यको बलमिच्याइँमा सत्य मिचिइरहेछ ? सत्य किन सुतिरहेछ ? सत्य किन हारिरहेछ ? स्वाभिमान किन झुकिरहेछ ? मानौं हिमाल झुकिरहेछ सानो हुरीको धक्काले । मानौं समुद्र सुकिरहेछ चैते खडेरीले ।

मेरा अक्षरहरु आज किन धूमिल र धूलिधूसर भइरहेछन् ? कुन बादलले छेक्दैछ मेरी चन्द्रमालाई ? कुन कुहिरोले ढाक्दैछ ज्योतिर्मय अक्षरहरुलाई ? सत्य किन घुरानमा मिल्किरहेछ ? असत्य किन शिरमा झल्किरहेछ ? कसले छेकिरहेछ जगच्चक्षुलाई हत्केलाले ? चौरस्ताहरुमा भाँड, नट, बिट र विदूषकहरुका विद्रूपमय नौटंकीहरु भइरहेछन् । जगत् हाँस्छ । छट्टु र छद्मभेषीहरुका अश्लील लीलाहरु म टुलुटुलु हेरिरहेछु । उफार्नु पर्छ जनतालाई हावा भरेर भकुण्डो झैं । उफ्रिन्छन् पछारिन्छन् । आकाशिन्छन्, खस्छन् । भत्काएर सबै मनावी मूल्यहरु खण्डहर बनाउनुपर्छ । एकदम शून्य र महाशून्य बनाउनुपर्छ ।

शून्यमा, रिक्ततामा, अन्धकारमा त्रासको राज चल्छ । जगाएर दानवी शक्तिलाई, नचाउनुपर्छ– भूतप्रेत, मसान र किचकन्नीहरुलाई खण्डहरहरुमा । मध्यरात न हो । निशाचरहरुको राज्य जम्छ । यो रात हो । प्रत्येक दिनान्तपछि रात आउँछ । निशान्तपछि प्रभात आउँछ । संसार गतिशील छ । प्रत्येक प्रभातमा कुहिरो चिर्दै घाम लाग्छ । घामसँगै जाग्छन् अक्षरहरु । अविनाशी छन् अक्षरहरु । मेरा अक्षरहरु ! जाग सत्यसन्धानमा अग्रसर होऊ । चेतनाको ज्योतिर्मय जादू बोकेर अँध्यार पाखाहरुमा ज्योति छर । त्रस्तहरुलाई सान्त्वना देऊ, मस्तहरुलाई जगाऊ । स्वतन्त्रताका कालजयी सन्देशहरु बोकेर बन्धन र बाधाहरुमाथि धाबा बोल । अक्षर निदाएको बेलामा मनपरी गर । भोक भजाएर भाँडो भर । गरीबी भजाएर भोज गर । सिद्धान्त घोकाएर मोज गर । रातरातभर लाटोकोशेराले गाइरहन्छन् सिद्धान्तहरु । यो औंसीको रात हो– आसुरी प्रवृत्तिहरु जाग्न देऊ ।

बलले जितेको राज्यमा बलमिच्चाइ चल्न देऊ । छलकपट जम्न देऊ । असत्य हुर्कन देऊ । सत्य अस्ताउन देऊ । प्रज्ञा, प्रतिभा र सद्भाव भाग्न देऊ । यस अँध्यारोमा राक्षसी उपद्रो हुन देऊ । उज्यालो लुकेको बेला अँध्यारोको सम्राज्य चल्न देऊ । सत्मा अडिंदा सुकरातले झैं गरलपान गर्नुपर्छ । ‘चित्’मा टेक्दा काँढामा हिड्नुपर्छ । असत्य र अन्याय देखेर वाणीमा ताल्चा ठोक्न सकिएन । अक्षरहरु हुन्–क्षर हुन सक्दैनन् । अँध्यारो र उज्यालोको लुकामारी चलिरहन्छ जगत्मा । जुनकिरी सँधै उज्यालो बोकेर उडिरहन्छ अँध्यारोमा । वसन्त आएपछि कोइलीले सुमधुर स्वरमा गीत गाउँछ । जीवन चलिरहन्छ नदीप्रवाह झैं । बञ्जर पाखाहरुमा पनि घाँस उम्रन्छ । पहरामा पनि सुनाखरी फुल्छ ।

Advertise
Hike & Write

मृत्युसँग हारेको छैन जीवनले । अँध्यारोसँग हारेको छैन प्रकाशले । ‘सत्यमेव जयते नानृतम्’ भनेर गुन्जिरहन्छन् वैदिक ऋचाहरु । मेरा अक्षरहरु ! प्रतीक्षा गर । स्वार्थ, बेइमानी, छलकपट र बलमिच्याइ चलेको बेला धर्मले हारेको छ, सत्यले हारेको छ, प्रकाशले हारेको छ, न्यायले हारेको छ, अक्षरले हारेको छ । जसको शक्ति उसको भक्ति साँढे नीति चल्छ । ढोंगहरु चल्छन् । स्वाब्हरु चल्छन् । धर्मध्वजीहरु धर्मात्मा मानिन्छन् । हामी उज्यालोको प्रतीक्षामा छौं । अक्षरहरुको खोजीमा छौं । उज्यालो र अक्षरको प्रकाशमा सत् र चित् जाग्छन् । सत् र चित्को अभाव छैन जगत्मा । जीवनको क्षणभंगूरतामा हरेक मातहरु भग्न हुन्छन् । धनका, यौवनका, जनका, अधिकारका, अंहका मातहरु सबै माटोमा मिल्छन् । क्षर छन् सबै । आत्मा, कीर्ति र ज्ञान अक्षर छन् सधैं । मेरा अक्षरहरु ! ओजस्वी बन । अक्षरहरु ढाकेर ढाकिन्नन्, मारेर मारिन्नन्, थुनेर थुनिन्नन् ।

इतिहास बनाउने अक्षरहरु हार्दैनन् । ज्ञानविज्ञानका ज्योति बोकेर हिंड्ने अक्षरहरु मृत्युञ्जय छन् । अजरामर छन्, अविनाशी छन् । अक्षरहरु कालसँग पैंठेजोरी खेलेर बाँच्छन् । कतिले अक्षरहरुलाई कुल्चिन खोजे ती कुल्चिएनन् । कतिले अक्षरहरुलाई बन्दी बनाउन खोजे, अक्षरहरु बाँधिएनन् । अक्षरहरुलाई कुल्चिन खोज्ने कति माटोमा मिलिसके, अक्षरहरु भने सदा कालजयी बनेर रहिरहे । इतिहासको कुन दानवी शक्तिले अक्षरलाई चपाउन सक्यो र ? कुन आसुरी प्रवृत्तिले इतिहासमा अक्षरलाई दबाउन सक्यो र ? स्वाभिमान, स्वतन्त्रता, ज्ञान, विज्ञान, कला, साहित्य एवं सकल वाङमयका संवाहक हुन् अक्षरहरु । इतिहासको धरोहर बोकेर ज्योतिर्मय पथबाट आगततर्फ लम्कन्छन् अक्षरहरु । कसले रोक्छ अक्षरहरुको यस महायात्रालाई ?

सिकन्दरसँग झुकेनन् अक्षरहरु । चंगेज खान र तैमूर लब्सँग लत्रेनन् अक्षरहरु । मुसोलिनी, हिटलर र पोलपोटसँग दबेनन् अक्षरहरु । इतिहासका प्रत्येक तानाशाहहरु अक्षरहरुसँग अन्ततः पराजित भए । अक्षरको विजययात्रा जारी छ । अब पनि झुक्दैनन् अक्षरहरु कसैसँग ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button