
श्रीखण्डलाई काठ, शालिग्रामलाई ढुँगा र शँखलाई किरा नभन्नू
शंखे किरा, हुटिट्याउँ र माकुराहरु
दीन पन्थी
शंखे किरा, हुटिट्याउँ, माकुरा र छेपाराहरु मेरो वरिपरि छन् । शंखे किरा कडा खोलभित्र सुरक्षित छन् । ती खोलभित्र जोगिएर प्रलयपछिसम्म बाँच्न चाहन्छन् । हुटिट्याउँहरु आकाश थाम्न बेला–कुबेला उत्तानो पर्छन् । माकुराहरु जाल बुन्नमै तल्लीन छन् । छेपाराहरु रंग बदल्न खप्पिस छन् ।
म वरिपरि हेर्छु । मान्छे देख्दिनँ कतै । मेरो भाषा बुझ्दैनन् शंखे किराहरु । मेरो भावना बुझ्दैनन् हुटिट्याउँहरु । मेरो विचार बुझ्दैनन् माकुराहरु । मेरो वेदना बुझ्दैनन् यी छेपाराहरु । विचार साट्न सक्दिनँ म यिनीहरुसँग । यिनीहरुको भाषा मैले जानेको भए म यिनीहरुलाई ग्यालिलियोको ज्योतिष पढाइदिन्थें, शंकरको वेदान्त पढाइदिन्थें, कौटिल्यको अर्थशास्त्र बुझाइदिन्थें, डार्विन, फ्रायड, माक्र्स र रुसोका विचारहरु सिकाइदिन्थें । अलिकति विज्ञान र अलिकति वैराग्य भरिदिन्थें यिनको मनमस्तिष्कमा ।
शँखे किरा खोलभित्रै मर्छ । प्रलय नहुँदै उसको प्रलय हुन्छ । आकाश नखस्दै हुटिट्याउँको आकाश खस्छ । जाल बुन्दाबुन्दै माकुरालाई उसैका माउखाने छौंडाहरुले खान्छन् । छेपारोलाई अझै ठूलो छेपारोले निल्छ । संसार यसरी नै चल्छ यसरी नै । मलाई लाग्छ मान्छेले धेरै सिकेको छ– शँखे किरा, हुटिट्याउँ, माकुरा र छेपाराहरुबाट । मान्छेका मानौ गुरु हुन् ती तुच्छ जीवहरु दत्तात्रयका गुरुजस्तै । मौरीबाट धन संगाल्न सिके झैं शँखे किराबाट घर बनाउन पो सिक्यो कि ? आफू सुरक्षित रहेर अरुको चिल्लीबिल्ली हेरेर रमाउन कसले सिकायो मान्छेलाई ? एउटी आमा भन्दैछ आफ्नो बच्चालाई– घामपानीमा छाता ओढेर हिँड् बाबु ! झरीमा रुझौला, घाममा डढौला, ओजोन तह फाटेको छ, सूर्यकिरणको विषाक्त विकिरणमा परौला । कत्रो जगजगी छ मान्छेको जीवनमा । जोगिँदाजोगिँदै पनि सकिंदै गएका पुर्खाहरुको श्राद्ध–तर्पण भइरहेछ । मसानघाटमा चिताबाट धुवाँ उडिरहेछ ।
शँखे किराको खोल मान्छेलाई काम लाग्छ मलामी जाँदा एकोहोरो बजाउन । मान्छेको खोल शँखे किरालाई काम लाग्दैन । न त काम लाग्छन्– यी कर्मकाण्ड, दूना, टपरी र जौ तिल । जन्मेपछि मर्न पर्छ भनेर घोकिरहने मान्छे किन शंखे किरा बन्न खोज्छ ? धन्यवाद दिन्छु । कस्तो पवित्र जीव हो जो मरेर पनि मन्दिरमा चढ्छ । कस्तो भाग्यशाली प्राणी हो जो निस्प्राण भईकन पनि उच्च घोष प्रकट गर्छ ।
शंख एउटा तुच्छ किराको खोल– पाञ्चजन्य भएर भगवान् कृष्णको ओंठसित जोरिन्छ । घरका खोपा–खोपामा छन्– एक टुक्रा श्रीखण्ड, एक–दुई शालिग्राम, एउटा घण्ट र एउटा शँख । स्वर्ग, वैकुण्ठ, शिवलोक, ब्रह्मलोक सबै ठाउँमा पुर्याउने यिनै हुन् साधन चतुष्टय । मेरो मुखबाट अकस्मात् निस्कन्छ– शशंखे किरा ! मलाई नछोड् । म सचेत भएर भन्छु फेरि- श्रीखण्डलाई काठ नभन्नू, शालिग्रामलाई ढुँगा नभन्नू र शँखलाई किरा नभन्नू ।
हुटिट्याउँ जति कराए पनि आकाश खसेन । हुटिट्याउँ खूब उडेका थिए, त्यसै दिन भूकम्प गयो । हुटिट्याउँलाई भूकम्पको पूर्वज्ञान हुन्छ होला । भूकम्पमा हुटिट्याउँ परेको एउटा पनि समाचार आएन, न त सहायता मागेर कुनै हुटिट्याउँले निवेदन नै दियो ।

निर्दोष हुटिट्याउँसँग मलाई माफ माग्नुछ । मैले व्यर्थै तिमीहरुलाई आफ्नो तुच्छ अभिव्यक्तिको साधन बनाएँ । त्रास, आश, परिहास, मूर्खता, संकीर्णता धूर्तता, अविश्वास, पाखण्ड, आडम्बर सब मान्छेमै खचाखच भरिएकै थिए । म अन्यत्र भट्कें । मलाई माकुराहरुसँग झोंक चल्छ । माकुराहरु जाल बुन्छन् । माकुराले जाल बुनेमा ऋण लाग्छ भन्थे बुज्रुगहरु । माकुराहरु जाल बुन्न गरीबकै घर ताक्छन् । धनीको घर साफसुग्घर हुन्छ, दिनदिनै कूचो चल्छ । अँध्यारोमा, फोहोरमा जाल बुनेर सरल, निर्दोष प्राणीलाई खाने यी माकुराहरुको म निन्दा गर्छु । जाल थाप्ने जालीहरु वीर होइनन् । झुक्याएर दूनो सोझ्याउने कायरहरु । बलियो कूचो बनाएर बढार्नुपर्छ कसिंगरसितै माकुराहरु । माकुराहरु विषालु पनि हुन्छन् ।
कुनै दिन संसारभरि माकुरै–माकुरामात्र रहेमा के होला ? म आत्तिन्छु र सोंच्छु आखिर माकुराको जालमा को पर्छ त ? उत्तर आइहाल्छ– माकुरे जालमा आखिर माकुरै पर्छ । छेपाराहरु पनि छन् मेरो सेरोफेरोमा । मान्छेभन्दा पनि जेठा यी डाइनोसरका खलक हुन् । विशाल पुर्खाहरुका यी वामपुड्के सन्तानहरु रंग फेर्न खप्पिस छन् । छेपाराहरु हाम्रा वन–उपवनमा छन्, बस्ती र शहरमा छन् । दिनदिनै संगत गर्नुपर्छ छेपाराहरुसँग । छेपाराहरुको रंग फेरिइरहन्छ । म झुक्किइरहन्छु ।
हिजोको छेपारो आज चिनिन्न । म भ्रमित हुन्छु जब मेरो वरिपरि छेपारै–छेपारा देखिन्छन् । मौका ढुकेर निश्चल ध्यानमा हुन्छन् छेपाराहरु । कस्तो भूरंग छ त्यस्तै भइदिने छेपाराहरुको प्रवृत्ति हुन्छ । आस्था, निष्ठा, दृढता, इमान भन्ने हुँदैन छेपारे सिद्धान्तमा । संकल्प व्यर्थ छ छेपाराको शास्त्रमा । डम्फूको ताल बुझेर नाच्नुपर्छ, कालको चाल हेरेर चल्नुपर्छ ।
शँखे किरा, हुटिट्याउँ, माकुरा र छेपाराहरु आदर्श प्राणी हुन् मान्छेका । यिनले अभिनय सिकाएका छन् मान्छेलाई । मान्छेको बारेमा के लेख्नु भनेर यी प्रख्यात जीवलाई पात्र बनाउन मन लाग्यो । तर यो जीवविज्ञान होइन मेरो । पशुतन्त्र होइन यो । यो पशुअनुकरण तन्त्र पनि होइन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)