आन्दोलनः १९९७ लाई २००७ ले ओझेल पार्यो, २००७ लाई २०६३ ले

अरविन्द रिमाल

‘ए , दशरथचन्द, गंगालाल, शुक्रराज शास्त्री र धर्मभक्तलाई मार्ने रे !’
‘ए, टंकप्रसाद, चुडाप्रसाद, रामहरि शर्मा र गोविन्दप्रसादलाई चारपाटे मुड्ने रे !’
‘ए, गंगालाल र गणेशमानलाई त कोर्रैकार्राले दिन्हौं ठोक्छन् रे तर ऐय्या पनि भन्दैनन् रे !’

यस्तो कुराहरू सुनेर आफ्नो बालसङ्गाती चन्द्रधर उप्रेती र म क्रमशः १० र ७ वर्षको उमेरमै १९९७ सालमा अप्रत्यक्षरूपले राजनीतिक भुमरीको असरमा परेका थियौं । त्यो राणाशाहीको ‘जल्दोबल्दो’ जमाना, जुद्धशम्शेर महाराजको टाइम थियो । तिनताका राणा प्रधानमन्त्रीलाई ‘श्री ३ महाराज’ले सम्बोधन गरिन्थो ।

नेपालका तात्कालीन हुँदोखाँदो – घरानीयाका जल्दाबल्दा तन्नेरीहरू स्वतन्त्रता र देशभक्तिको भावनाले भरिएर स्वाभिमानी एवं मानवोचित हक, अधिकार एवं सम्मान हासिल गर्नका लागि पारिवारिक निरङ्कुश शासनतन्त्र- राणाशासनविरुद्ध क्रान्तिकारी संघर्षमा होमिएका जमाना थियो, त्यो । यस्तो संघर्षमा लागेबापत आफ्नो जायजात मात्र होइन कि ज्यूज्यानै पनि लिइने खतरालाई बुभदाबुभदै पनि उनीहरू डटेर अगाडि बढेका थिए । फलस्वरूप, पहिलो पटक १९९७ सालको असार ९ गते पाटनमा भोटो देखा जात्राको दिनबाट शुरू गरेर उनीहरूले राणाशासकहरूलाई चोर लुटेरा भन्दै चार पटक पर्चाहरू काठमाडौं उपत्यकाका तीनवटै शहरभरि र स्वयं राणा दरवारभित्र छ्यापछ्याप्ति छरे ।

ती पर्चाहरुमा राणतन्त्रको अन्त्य, मानव अधिकारको रषा, विधिविधानको शासनको स्थापना, राणापरिवारहरूले लुटेर चुसेर कंगाल बनाइएका जनताको ती पचहरूमा राणातन्त्रको अन्त्य, मानव अधिकारको रक्षा, विधिविधानको मंगलकल्याणको स्थापना, संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्थाको माग गरिएका थिए । त्यो पर्चा के थियो , राणाशाहीविरूद्ध सचेत राजनीतिक हुंकार थियो, शंखघोष थियो, राणाशासन व्यवस्थाको अवश्यम्भावी अन्त्यको सूचक थियो ।

इतिहासमा अमर

यस्ता वीरहरूमा एकजना खरिदार भक्तलाल श्रेष्ठका जेठा छोरा गङ्गालाल दिए जो देशको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषदले संगठिततवरले बलाएको नेपालको आधुनिक प्रजातान्त्रिक आन्दोलनका एक खम्बा, अतुल्य शहीदको सुयशले हाम्रो इतिहासमा अमर छन् । आज हामी नेपाली यिनै क्रान्तिवीरको जन्मशताब्दी मनाइरहेका छौं ।

गंगालालको जीवनलाई जान्ने बुझ्ने चेष्टा गर्दा म अन्यायी आपराधिक शासनतन्त्रविरूद्ध लड्ने विचार नितान्त स्वतन्त्र विचार हुनेगर्दछ तर त्यसको पूर्ण अभिव्यक्ति आफ्नो लक्ष्य सुस्पष्ट भएको संगठित राजनीतिक दलले नै दिँदोरहेछ भन्ने मान्यता राख्दछु ।

गङ्गालाललाई राजनीतिकतवरले समुचितरूपमा चिन्ने व्यक्ति वर्तमानमा हामीले पाउन गाहै छ । अपवादका रूपमा उनी शहीद हुँदाका ७–८ वर्षकी बहिनी पुष्पलता श्रेष्ठ र ५ वर्षका कान्छो भाइ विजयलाल श्रेष्ठ छन् । उनीहरूका सम्झनाले हामीलाई ती क्रान्तिवीरको विलक्षण जीवन गाथाबारे निश्चय नै थप परिचय दिने नेछ । तर सबभन्दा दुर्भाग्यपूर्ण कुरा त के भने जुन दाजुको प्रेरणा र प्रभावबाट माहिला भाइ पुष्पलालले बेग्लै क्रान्तिकारी धारको राजनीतिक आन्दोलन– कम्युनिष्ट आन्दोलनको श्रीगणेश गरे, गंगालालले महानायक मानेका टंकप्रसाद आचार्यसित उनले संयुक्त मोर्चा गठन गरे, तिनै व्यक्तित्वबाट हामीमध्ये कुनै समकालीनले पनि गंगालालको जीवनी र त्यसको कार्यबारे जानकारी लिएनौं वा लिने सोच राखेनौं ।

संघर्षको आव्हान

हाम्रो मुलुकको पहिलो आमसभामा नागरिक अधिकार आन्दोलनका प्रणेता शुक्रराज शास्त्रीले १९९५ सालको मंसीर १३ गते इन्द्रचोकको डबलीमा उक्लेर भाषण गरे । त्यसको लगत्तैपछि गंगालालको जोशिलो भाषण जनतालाई दमनकारी – शोषक सरकारलाई सहेर नबस्न र मनुष्य सुहाउँदो अधिकार लिन संघर्ष गर्न आव्हान थियो ।

जेठो छोरा राणाविरूद्ध राजनीतिक संघर्षमा लाग्दा पूरै परिवारमाथि नै आइपर्नसक्ने खतरालाई भखरै मात्र ५–५ छोरा र एउटा छोरीलाई छाडेर परलोक भएकी पत्नीकी पतिले गंगालाललाई सम्झाए । ‘बाका यतिका छोरा छदैछन् । म एकजना नभए पनि के हुन्छ ? म देशकै लागि मरिमेटिन तयार छु’ भनी गंगालालले पितालाई सान्त्वना दिएको उल्लेख हामी पाउँदछा,ैं इतिहासकार भुवनलाल प्रधानको पुस्तकमा ।

नेता जे ता ती सबले मर्नु साझा सबैको ।
सब शब गई बल्छन् काखमा नै चिताको ।।
तब किन डरुँ म ? मृत्यु देखिन कम्मर कसैको ।
हूँ एक बीर पुत्र वीर म नेपालको ।।

यो कविताले उनको बलिदानी भावलाई अरू नजिकैबाट परिचय दिन्छ । तर पनि स्वतन्त्रता एवं मानव अधिकारका लागि ज्युज्यानै दिने आफ्नो तत्परताको चरम पुष्टि चाहि नेपाल प्रजा परिषद्को सदस्य भई क्रान्तिमा उत्सर्ग हुने उनको अठोटले दिन्छ ।

राजनीतिक दलको अनिवार्यता

ने.प्र.प.का संस्थापक अध्यक्ष टंकप्रसाद, उपाध्यक्ष दशरथचन्द, महासचिव रामहरि शर्मा, सदस्यद्वय धर्मभक्त माथेमा र जीवराज शर्मासँग परिचय त के करा तिनको नाम पनि नसुनेको अवस्थामा गंगालालले त्यस दलको सदस्यता वरण गर्नुले नै आफ्नो राजनीतिक उद्देश्य एवं लक्ष्य संगठित राजनीतिक दलको कार्यकलापबाट मात्र हासिल हुने उनको अठोटको पुष्टि गर्दछन् ।

यिनै क्रान्तिवीरले शोभाभगवती मन्दिरनेर विष्णुमति नदीतटको बलिवेदीमा होमिन तथा आफ्नो लक्ष्यसिद्धिका लागि छातीमा गोली थाप्न पनि डराउँदैनन् भनी अर्का क्रान्तिवीर, आफ्ना उपाध्यक्ष दशरथचन्दलाई आश्वस्त गराएका थिए ।

कलेज विद्यार्थीसँगसँगै स्कुलका अध्यापक भई आफ्नो राजनीतिक उद्देश्यको धारलाई अझ तिखो बनाउँदै उनले आफ्नो राजनीतिक चेतनाको अभिवृद्धि अध्ययन एवं अध्यायपनको संयोगबाट गर्दैगएको तथ्य स्पष्ट हुन्छ ।

Advertise
Hike & Write

घरपरिवारमा ठूल्दाइको रूपमा रहेका गंगालाल सामाजिक क्षेत्रमा आमूल परिवर्तनकामी क्रान्तिवीरको रूपमा ढालिइसकेको पाइन्छ– रामेछापको भङ्गेरी गाँउबाट राजधानीको ढोका टोलको डेराघरमा आउन जेलसम्ममा एक शिक्षक एवं साहित्य– सर्जकको रूपमा क्रान्तिकारी कवि गोपालप्रसाद रिमालका सहकर्मी रहेका उनी सोकै क्रान्तिको बाटो प्रशस्त गर्न सहयोगी मित्रहरूको खोजीमा लागेको पाइन्छ । यसै क्रममा उनी काठमाडौंको झोंछे टोलका हरिकृष्ण श्रेष्ठको सम्पर्कमा आउँछन् र नेपाल प्रजा परिषदका सदस्य बन्न पुग्छन् । अनि उनले स्वच्छन्द तथा कदाचित अराजकतावादी स्वभावका यट्खाबासी गणेशमान सिंहलाई आफु प्रवेश गरेको क्रान्तिकारी संस्थाभित्र ल्याउँदछन् । त्यसपछि त दशरथचन्द एवं धर्मभक्तको परिचय हुन्छ र उनी ने प्र.प.का अध्यक्ष वा प्रेसिडेन्टको नाममा जारी चारैवटा पर्चा छर्ने कार्यमा सहभागी हुन्छन् । पार्टी अध्यक्षसँग चाँहि उनको पहिलो भेट परिचय त्यसदिनमा मात्र हुन्छ, जुन दिन १९९७ सालको कार्तिकमा जनकपुरमा समातिएर नेल, हतकडी र गलबन्दीले बेरिएका टंकप्रसाद आचार्यलाई राणा अदालतसामु उभ्याइँदा दशरथचन्दको योजनाअनुसार पार्टी प्रेसिडेण्टलाई कमरेडस् ! द प्रेसिडेन्ट !! स्यालुट ! को सम्बोधनद्वारा स्वागतसम्मान गरिएको थियो ।

ऐक्यबद्धता

सन् १९९७ सालको मंसीर– पुषतिर नै कोही राजबन्दी मारिने र केही चारपाटे गरिने भए भन्ने गाइँगुइँ हल्ला चलिसकेको थियो । आज सम्झदा अनौठो लाग्छ, त्यत्रो गुप्ति र हल्ला अभेद्य ठानिएको कठोर राणाशासनको जमानामा पनि चन्द्रधर उप्रेतीले अचम्मको सुँइको लगाएर माघ १२ गते मकहाँ आएर “ ए अरविन्द, आज धर्मभक्तलाई सिफलमा झुण्डाउने रे, जाउँ हिंड् त्याँ, भने । त्यो अभिव्यक्ति तमाशे बटुवाको जस्तो कौतुहल थिएन, त्यो त आफूले भित्रैदेखि बहादुर ठहरÞ्याएको मानिसको आदर्श र बलिदानप्रति सहानभूति एवं ऐक्यबद्धताको उद्गार थियो । हामी दुबैका जेठा दाजु क्रमशः पुष्करनाथ उप्रेती र मुकुन्दनाथ रिमाल पनि सदस्य भएका संस्थाका एक यशस्वी नेता थिए, धर्मभक्त । त्यसको दुई दिनअघि माघ १० गतेको रात शुक्रराज शास्त्रीलाई मृत्युदन्ड दिइएको वीर स्थल त्रिपुरेश्वर पचली दर्शन गर्न हामी दुवै गएको सम्झना छ । २००८ सालदेखि ११ सालसम्ममा अनेक पटक भद्रगोल जेलमा थुनिंदा आफ्नो कोठाको झ्यालबाट त्यस स्थलको दर्शन गरेपछि मात्र आफ्नो जेलका दिन प्रारम्भ हुने गरेको यहाँ उल्लेख गर्न पाउँदा मलाई गर्व हुन्छ ।

माघ १२ गतेको रात हामी दुबै जना धोबीखोलाको तिरैतिर कालोपुल तरेर सिफल डाँडो उक्लिन लाग्दा पुलिसहरूले हामीलाई झपारेर घर फर्काई दिएका थिए । माघ १४ गतेको रात शोभाभगवती मन्दिर जाँदा विष्णुमति पुलवाीर नै पुलिसहरूले हामीलाई धपाई दिए । (यी दुबै घटनाहरूको विस्तृत विवरण मेरो १९९७ देखि २०१७ साल–– एक अवलोकनको १९९७ सालः प्रजातन्त्रको लागि पहिलो राष्ट्रिय आन्दोलन शीर्षकको अध्यायमा छ ।) गंगालालले आफ्नो प्यारो ढोका टोलकै बाटो आफ्नो जीवनयात्राको अन्तिम थलो शोभाभगवती मन्दिरनेर विष्णुमति नदीतट जाँदा आफ्नो प्रिय जीवनसाथी हसिनाको सम्बोधनद्वारा अन्तिम विदाई लिदै राणाशासनलाई धिक्कारेका थिए । दशरथ चन्दले पनि आफ्नी प्रेमिका जुलियाना राणाले आफैले बुनाएको चीडबट्टे खास्टो ओढेर राणाशाहीको पतन अवश्यम्भावी भएको हुंकार गर्दै थलोमा गोली थाप्दै शहादत वरण गरेका थिए ।

शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द तथा गंगालालको ज्यानै समेत लिएर राणाशासनले देशमा मनोवैज्ञानिक आतंक मच्चायो । त्यस्तो आतंक मानव मर्यादालाई रछ्यानमा फाली उसको मनोबललाई पुरापुर गिराइदिन गरिएको थियो तर यस कर्तुतबाट त राणाशासनमाथि त्यसले चिताएको भन्दा उल्टै शहीद र ज्युँदा शहीद टंकप्रसादका र उनका सबै राजनीतिक सहयोगीहरूको नाम कीर्ति एवं यश देशभरि फैलिंदै गयो । सिफल, पचली तथा शोभाभगवतीनेर आफ्ना विरोधीहरू सर्वथा निरस्त्र एवं आत्मरक्षाको साधन नभएको अवस्थाको लडाइँमा पनि राणाशासन लाजमर्दो गरी हारेको थियो ।

मानव अधिकार र प्रजातन्त्र प्राप्तिको लागि चलेको आन्दोलनको पहिलो संगठित अभिव्यक्तिलाई राणाशासनहरूले हिंसाद्वारा दबाउन त सके । तर हिंसाले हिसासहित अपराधको अन्त्य गरिदिने इतिहासको नियमबमोजिम हिंसाद्वारा नै पछि आफ्नो शासनव्यवस्था पनि ढल्नेछ भन्नेमा तिनीहरू आफैँ पनि सशंकित थिएनन् भन्न सकिदैन । आखिर भयो पनि त्यस्तै ।
सन् १९९७ सालको आन्दोलनलाई पूरापूरा दमन गरी देशमा राणा निरंकुश शासनतन्त्र ढल्न नसक्ने भएको छाप पारेता पनि न त राणाशाही पुरानै तालले शासन चलाउन समर्थ भयो, न त जनता पुरानै तालले शासित हुन राजी भए । १९९७ सालले सामाजिक, राजनीतिक भूइँचालो नै ल्याइदियो, जसका धक्काहरूले पछिपछिसम्म आफ्नो असर पारिरह्यो ।

हुन पनि, १९९७ सालको आन्दोलनको प्रेरणाबाट २००२ सालमा बिनासरकारी अनुमतिको पहिलो पब्लिक स्कुल “शान्ति निकुन्ज” विद्यालय खुल्यो । अनि २००३ सालमा नेपाल नेशनल लीग नामक राजनीतिक संस्थाका नेता क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले आध्यात्मिक कविता वाचनद्वारा राणाशाहीविरुद्ध जनजागृति फैलाए । २००३, २००४, २००५ सालमा खुल्ला राजनीतिक गतिविधि ल्याउन जयतुः संस्कृतम्को नारामा संस्कृतभाषी छात्र आन्दोलन तथा त्रिचन्द्र कलेज विद्यार्थी आन्दोलन चर्काउन र सबभन्दा महत्वपूर्ण घटना त २००७ सालको क्रान्तिलाई सफलतामा पुरÞ्याउने हेतुले २००६ सालमा काठमाडौँ उपत्यकालाई राणाविरूद्ध आन्दोलनले तताउन सघायो । राजधानीको मुटुमै प्रजा पञ्चायतले उठाएको आन्दोलन र साथै जेलभित्रका अपूर्व अनसनहरू नेपाल प्रजा परिषद् आन्दोलनकै विस्तारित रूप थिए । यी नै घटनाक्रमले गर्दा राणाशासकहरूको हातबाट दिनको राज्य मात्र होइन, रातको शासन पनि जान थालिसकेको थियो । आन्दोलनका नामी नेताहरू कि त जेलभित्र कि त सशस्त्र मोर्चाको नेतृत्व समाल्नै व्यस्त थिए । त्यसैले राजधानीको निणार्यक लडाई चाहिँ कम अनुभवी तर उच्च मनोबलका नयाँ क्रान्तिकारीहरूले लडेका थिए । टंकप्रसाद आचार्यको आग्रहमा तिनीहरूले आन्दोलनभरि कुनै दलीय चिन्ह –– घन – कोदालो, चार तारा, हसिया हथौडा नभएको रातो झण्डा मात्र फहराई जाज्वल्य संघर्ष लडे र जीते पनि ।

घोर विडम्बना

तर घोर विडम्बनाको कुरा के भने यस्तो ऐतिहासिक भूमिका भएको १९९७ सालको आन्दोलनलाई २००७ सालको क्रान्तिको मात्र यशोगान गरी ओझेलमा पार्न थालियो । अनि थप दुःखको कुरा, २००७ सालको क्रान्तिको युगान्तकारी महत्वलाई २०६२–२०६३ का आन्दोलनकारीहरूले अवमूल्यन गर्न थाले ।

इतिहासको यस्तो खण्डन–मण्डन एवं विकृतिबाट त मुलुककै वर्तमान र भविष्य खण्डित हुनजान्छ, जसबाट देशकै प्रभुसत्तात्मक स्वाभिमान एवं स्वाधीन अस्तित्व खण्डित हुनपुग्छ भन्ने हेक्का हाम्रो राजनीतिकशास्त्री र इतिहासकारहरूमा रहेको पाइन्न ।

पहिला पहिला राणाशासक विशेषले भारतीय, अंग्रेज र फ्रान्सेली इतिहासकारहरूलाई आ–आफ्नो प्रशस्तिगान गर्न लगाई त्यसलाई मुलकको इतिहासको रूपमा अघिल्याएका थिए । अबचाहीं तिनै विदेशीहरू र त्यसमाथि परि भ्याटिकन, यूरोपेली समुदायले नेपालीहरूको इतिहास खण्डित गर्न नेपालीहरूलाई लगाउन थालेका छन् ।

इतिहासलाई खण्डित गरी प्रस्तुत गर्ने शैली सही भएको भए महानतम विश्वविभूति कार्ल माक्र्स्ले सैन्यवादी जर्नेल विस्मार्कलाई र अक्टोबर क्रान्तिका महानायक विश्व–वन्दनीय भ्लादिमीर इल्यिच लेनिनले रूसी जार पीटर महानलाई रूसको एकीकरणका अभियन्ता मान्दैनथे होलान् । हाम्रै प्रातःस्मरणीय क्रान्तिकारी पुष्पलालले पृथ्वीनारायण शाहको वस्तुवादी विश्लेषण एवं सकारात्मक मूल्यांकन गर्ने थिएनन् ।

माथि उल्लेखित तीनैजना सामन्ती शासक थिए । तर १९९७ को आन्दोलनका हाम्रा टंकप्रसाद, गंगालाल, दशरथचन्द, धर्मभक्त तथा शुक्रराज शास्त्री त एकसे एक क्रान्तिवीर थिए र हुन् । तसर्थ यिनीहरूको अवमूल्यन इतिहासप्रति नै विश्वासघात हो र ठानिनुपर्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button