संकटले सन्यासी, जोगिन जोगी !

सुर्ताहरु

दीन पन्थी

इच्छाहरुले नोकर झैं कज्याउँछन् हामीलाई । रहरहरुले घोडा झैं दमाल्छन् हामीलाई । आदतहरुको तालमा विवश भएर नाच्छौं हामी । रुढी र संस्कारहरुका जुवामा गोरु झैं नारिन्छौं हामी । एक्काका घोडा झैं निरस यात्रामा जोतिन्छौं हामी ।

हामी भन्छौं– हामी स्वतन्त्र छौं । इच्छाहरु अनन्त छन् मान्छेका, आकाश झैं । भोगका, वासनाका, कामनाका, लालसाका अजब् भारीहरु हाम्रा काँधमा छन् । जति संग्रह छन् त्यति भय र सुर्ताहरु छन् । प्राप्तिसँगै सुरसाका मुख झैं लोभ छन् । पृथ्वीको सम्पत्तिले पुग्दैन मान्छेलाई । नबुझ्दासम्म सुख छ । मुडकट्टा भई बाँच्दासम्म आनन्द छ । अँध्यारोमा बस्दासम्म ढुक्क छ । यो उज्यालोले क्षितिजसम्म पसारिएर आफैलाई गिज्याउँछ ।

भेडा झै घाँस चर्नुमा मस्ती छ । गधा झैं भारी बोक्नुमा सन्तोष छ । बानर झैं वनबूटामा उफ्रनुमा स्वतन्त्रता छ । मत्त, प्रमत्त, उन्मत्त साँढे भई डुल्नुमा मजा छ । यो बुद्धि किन आफै बन्धनमा बाँधिन खोज्छ ? मान्छे भई सकस भयो बाँच्न मान्छेलाई । ज्ञान किन दुख्छ ? चेतना किन चहर्याउँछ ? बुद्धि किन बिझाउँछ ? मानवता किन रुन्छ ? सभ्यता किन साँघुरो बन्छ ? सुस्तामा सीमा मिचिँदा मुस्ताङको चित्त किन दुख्छ ? कञ्चनपुरमा एउटी छोरी लुटिदा किन आँखाआँखामा आँसु पुग्छ ? इराकमा नेपाली रेटिंदा किन नेपालमा राँको बल्छ ? भ्रष्टचारबाट देश बर्बाद हुँदा किन हरेक नेपालीको दिलमा विद्रोह उठ्छ ?

कागहरुजस्तै उड्छन् मान्छेका मनहरु । घरधन्दा र भुँडी भर्ने मात्र समस्या छैनन् । मंगललोक पुग्ने यानका कुरा पनि घुस्छन् मान्छेका टाउकामा । टाउकोभित्र अरिंगाल झैं गन्जागोल छन् समस्याहरु, सुर्ताहरु । चमेरा झैं उल्टो झुन्डिन्छन् मान्छेका संकल्पहरु । गर्छु भनेका कति संकल्पहरु झुन्डिरहेछन् । ¥याल काढ्दै जुर्मुराउने लोभहरु छन् । उल्काजस्ता अग्निपिण्डहरु उठाउने क्रोधहरु छन् । भित्रभित्रै जलाउने वडवानल झैं मात्सर्यहरु छन् । गाँजाजस्तै भिम्मल पार्ने काम र मोहहरु छन् । टाउकोभित्र हलाहल छ मान्छेको । त्यहाँ दन्दनाउँदा स्वार्थका ज्वालाहरु छन् । कहाँबाट बग्छ प्रेमको धारा ? कहाँबाट बग्छ करुणाको नदी ?

बैंस छँदा चाहिएनन् देउताहरु । सुख पर्दा चाहिएनन् कोही । स्वस्थ हुँदा चाहिएनन् धर्म पनि भगवान् पनि । बा–आमा र भगवान् पुकार्ने विपत्ति पर्दा हो । सम्पत्तिमा चाहिएनन् सदाचार र सत्कर्म पनि । सुखमा हिड्न सकेनौं भगवानसँगै हामी । विपत्तिमा पुकार्दा भगवान् प्रकट भएनन् भनी नास्तिक बन्यौं । संकटमा चाहिन्छ सहारा । बैंस ढल्दा, ज्यान गल्दा, विपत्ति पर्दा त्रासले खोजेका भगवान् बोकेर थर्कमान बन्छौं हामी ।

Advertise
Hike & Write …

संकटले सन्न्यासी बन्ने धेरै छन् । जोगिन जोगी बन्ने धेरै छन् । दुःख भोग्नुभन्दा दुःख पर्ने सम्भावनाले बढी पिरोल्छ सबैलाई । एउटा साहसिक अभियानजस्तो, एउटा रोमाञ्चक यात्राजस्तो, उल्लासमय वसन्तजस्तो, पूर्व रंगिएको प्रभातजस्तो थियो हिजो जीवन ।

देखिरहेछु– रातो रंगले पोतिएको अस्ताचल । अब रात पर्छ । मध्यरातको छायाँ म देखिरहेछु । पश्चिम हेरेर म जीवनको क्षणभंगूरता पढिरहेछु । पूर्व हेरेर म जीवनको लालसा थपिरहेछु । मान्छेका आशाहरुले तान्छन् यतातिर । तृष्णा, वासना र जिजीविषाहरुले तान्छन् यतातिर । निराशा, वैराग्य र मुमुर्षाले तान्छन् उतातिर । यही तानातानमा म तनावमा छु, सुर्तामा छु । मोहनी अवतारमा मोहित भई जगत् नाचिरहँदा म कसरी थपडी नबजाऊँ ?

अलि पर एउटा बैरागीले घोक्दैछ– तृष्णा नजीर्णा वयमेव जीर्णा । जीवन ! केही खानपानका जिभ्राका स्वादहरु; आँखालाई सुन्दर रुपहरु, रंगहरु केही; कानलाई केही संगीतहरु, प्रशंसाका शब्दहरु; केही पहिरन र आभूषणका प्रदर्शनहरु; केही ऐश्वर्य र ओहदाका गर्वहरु; केही अपुताली जोगाउने प्रयासहरु; केही मैथुनका गुप्त क्षणहरु; केही मुरी अन्नका रासहरु; केही रक्सीका घ्याम्पाहरु; केही हाँसो र धेरै आँसुहरु; मृत्युसितको द्वन्द्व–युद्धका लागि केही हतियारहरु–दवाइका ट्याब्लेटहरु । यिनै हुन् जीवनका गाथाहरु ।

अन्तमा युद्ध हारेर भीष्म झैं धर्तीमा पल्टिन्छ मान्छें । यो जीवनको खेल धूलेबाजी झैं लाग्यो मलाई । कसले जित्छ मान्छेले अन्तिम युद्ध ? जीवन एउटा जग्जगी हो छुराको धार झैं । भूतको पश्चात्ताप र भविष्यको चिन्ताले गिजोल्छ जीवनलाई । वैभव नहुँदा जुटाउनुको चिन्ता छ । त्यसै चाउरिन्न मान्छे । सुर्ताको अनन्त प्रहारले चाउरिन्छ मान्छे ।

झोपडीमा मात्र चिन्ता छैन, महलमा पनि चिन्ता डुल्छ । चेतना नभए मान्छेको चित्त किन दुख्थ्यो ? शरीरमात्र दुख्थ्यो होला । बुद्धि नभएको भए भविष्यको सुर्ताले किन सताउँथ्यो ? किन पढ्नुपर्यो मान्छेले रौंचिरा दर्शनहरु ? किन पढ्नुपर्यो मान्छेले इतिहास, भूगोल अरु शास्त्रहरु । दाम कमाउने चिन्ताहरु, नाम कमाउने लालसाहरु, ठूलो बन्ने अहंकारहरुले उछिनपाछिन चलिरहेछ । किन चाहियो ज्ञानविज्ञान, कला र साहित्य ? आहार जुटाउने सोझो धन्दामा लागे हुन्छ । ढुंगे युगमा सिकेको विद्याले काम चल्छ ।

खानुपर्छ– भोजन जुटाऊ । लड्नुपर्छ– हतियार बनाऊ । शासन गर्नुपर्छ– बल बढाऊ । रतिक्रीडा गर–वंश बढाऊ । जसको बल छ– उसको पृथ्वी । मसल बढाऊ– बलमिच्याइ गर । व्यर्थ टाउको खाने ज्ञान र पुस्तक नल्याऊ । कमजोर बनाउने– नीति र सदाचार नल्याऊ । अक्षरहरु मिल्काऊ ।

भूत बिर्स, त्यो गयो । भविष्यतको सुर्ता नगर । वर्तमानमा रमाऊ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button