टिकटक होइन, ‘टिकटिकसित दगुरिरहेछ समय’
क्रान्ति
दीन पन्थी
संसारमा प्रत्येक क्षण क्रान्ति भइरहेछ । क्रान्ति संसारको रीति हो, नीति हो । संसार प्रतिपल सरिरहेछ, बदलिइरहेछ । बदलिनु क्रान्ति हो । बीज उम्रिन्छ, हुर्कन्छ, फुल्छ, फल्छ र मर्छ । मान्छे जन्मन्छ, हुर्कन्छ र मर्छ । यिनै त हुन् परिवर्तन वा क्रान्तिहरु ।
संवत्सर बदलिन्छन्, ऋतु बदलिन्छन्, मास बदलिन्छन् र पक्ष बदलिन्छन् । प्रत्येक महिनामा संक्रान्ति आउँछ । हिजो शरद् थियो, हेमन्त आयो । अलि अघि उज्यालो दिन थियो, अहिले अँध्यारो रात आयो । केही वर्ष पहिले कालो कपाल थियो, अहिले सेतै भयो कपास झैं । अस्तिसम्म स्याउजस्तै पोटिला गाला थिए, अहिले तिनमा चाउरी देखिए ।
हिजोका गुच्चा खेल्ने फुच्चाहरु आज समाज हाँक्ने अगुवा भए । हिजो बाँदर हिड्न नसक्ने भीरमा आज मोटर दगु-यो । हिजो दियालो, राँको बालेर बस्नेहरु बिजुली बत्ती बाल्ने भए । हिंजो चप्पल पड्काउँदै धुले बाटोमा हिड्नेहरु आज पजेरो र हेलिकप्टरमा सयर गर्ने भए । के यो परिवर्तन होइन ? क्रान्तिकारी समय हो । रातपछि प्रभात आउँछ । समयकै निर्देशमा चल्छन् सबै । प्रत्येक दिन प्रारम्भ हुन्छ सूर्योदयबाट । प्रत्येक सूर्योदय एउटा क्रान्ति हो, प्रत्येक सूर्यास्त एउटा क्रान्ति हो । क्रान्ति कालको गतिसितै हुन्छ । नित्य गतिमान् छ संसार ।
घडीको टिकटिकसितै दगुरिरहेछ समय । समयको गतिसितै बदलिइरहेछ संसार । संसारसँगै बदलिइरहेछन् व्यक्तिहरु, वस्तुहरु, विचारहरु । प्रत्येक पुस्तासँगै क्रान्ति भइरहेछ । समय क्रान्तिकारी छ पर्खनुपर्छ, छताछुल्ल भएर पोखिन्छ क्रान्ति, डाँडाभरि, पाखाभरि, मैदानभरि र मनभरि पनि । प्रतिगमन हुँदै हुन्न जगत्मा । प्रत्येक पिंढीले स्वागत गर्छ क्रान्तिलाई । क्रान्ति भनेर भ्रान्ति बोकिरहेछन् भ्रान्तहरु । मान्छे चिच्याउँछ क्रान्ति ल्याउन । नारा लगाउँछ इन्कलाब जिन्दावाद भनेर । समय न आई क्रान्ति हुन्न । क्रान्ति आएपछि रोकिन्न । क्रान्ति त हुरी झैं, बाढी झैं, तूफान झैं, झरी झैं आउँछ ।
रक्तपात क्रान्ति होइन । विध्वंस क्रान्ति होइन । कलह क्रान्ति होइन । कसैलाई मार्नु क्रान्ति होइन । नमारे पनि मर्छन् समय आएपछि सबै । मार्नु क्रान्ति हुने भए दैवी आपत्ति, हैजा, रोगहरु क्रान्तिकारी मानिन्थे । हत्याराहरु पनि मर्छन् समय आएपछि । बाघ पनि मर्छन्, हरिण पनि मर्छन् । परेवा पनि मर्छन्, बाज पनि मर्छन् । नारा, जुलुस, झण्डा, लौरो, बन्दूक, खुकुरी सम्झन्छौं हामीले क्रान्ति भनेपछि ।
त्रासदी रक्तपात, मृत्यु, लुटपाट होइन क्रान्ति । जनता झुक्याएर आफ्नो दुनो सोझ्याउने चतुरहरुको मेसो पनि होइन क्रान्ति । क्रान्ति पात झर्नुमात्र होइन, पात पलाउनु पनि हो । क्रान्ति फूल ओइलाउनु मात्र होइन, फल लाग्नु पनि हो । के कोइलीको मधुर गुञ्जन क्रान्तिको सन्देश होइन ? त्यो गुञ्जन के वसन्तको स्वागतगान होइन ? क्रान्ति एउटा युगान्त हो विचार र प्रविधिको । क्रान्ति एउटा निशान्त हो सुप्रभातको संकेत । क्रान्ति एउटा युगारम्भ हो नूतन सोंच र निर्माणको । प्रत्येक नूतन पुरातन बन्दै जाने यस संसारमा स्थिर केही छैन । युग बदलिन्छन् । मान्छे बदलिन्छन् । विचार बदलिन्छन् । विधि बदलिन्छन् । प्रविधि बदलिन्छन् । भाषा बदलिन्छन् । भेष बदलिन्छन् । संसारमा कसैका सधै न सत्ता टिक्छन् न वैभव टिक्छन् न शरीर नै टिक्छन् ।
मात्रात्मक परिवर्तन त प्रतिपल भइरहेको हुन्छ । समय–समयमा गुणात्मक परिवर्तन हुन्छ । परिवर्तन जीवन हो । हरेक जीवितहरु फेरिन्छन् । घुचेटेर युगको परिवर्तन हुँदैन र अँठ्याएर परिवर्तन रोकिन्न पनि । एउटा बिन्दुमा इतिहास रोकिन्न । क्रान्ति रोकिन्न । क्रान्ति सत्य हो स्वीकार गर्नुपर्छ । क्रान्तिमा समाहित हुनुपर्छ सबै । विचार बीज हो क्रान्तिको, छर्नुपर्छ । प्रविधि बोट हो क्रान्तिको, हुर्काउनुपर्छ । क्रान्ति फूल हो, युगको सौन्दर्य ।
क्षण–क्षणमा प्रकट हुने नूतनतामा सौन्दर्य छ । स्थितिमा होइन, गतिमा सौन्दर्य छ । परिवर्तनमा सौन्दर्य छ । क्षणक्षणमा जीवन छ, आनन्द छ । सत्तालिप्साको प्रलाप क्रान्ति होइन । व्रmोध, लोभ र मात्सर्यको झोंक पनि क्रान्ति होइन । राग, द्वेष र हिंसाका सोपान चढेर क्रान्तिको लक्ष्य छाम्न सकिन्न । बकम्फुस भाषणहरुबाट युगपरिवर्तन हुँदैन । चौपारी भत्काउनेलाई होइन, बनाउनेलाई क्रान्तिकारी भनिन्छ ।
क्रान्ति विध्वंस होइन, नवनिर्माण हो, अन्वेषण हो, नवसृजन हो । जसले नवयुगको ढुक्ढुकी छाम्छ त्यही क्रान्तिकारी हो । विचार र प्रविधिले ल्याउँछन् क्रान्ति । क्रान्ति युगधर्म हो । प्रविधिमा क्रान्तिको अनुसरण सबैले गर्छन् । हाम्रा पुर्खाहरु पुल नहुँदा खोलो तर्थे । पुल बनेपछि खोलोमा पस्नु पर्दैन । लोभीपापीहरु क्रान्तिकारी होइनन् । मान्छेका दुःखनिवारणको लागि भिक्षु बन्ने गौतम बुद्ध क्रान्तिकारी हुन् । सत्यका लागि क्रसमा टाँगिने क्राइष्ट क्रान्तिकारी हुन् । सुकरात, रुसो, डार्विन, फ्रायड र माक्र्स जसले नयाँ विचार ल्याए ती क्रान्तिकारी हुन् । वैज्ञानिक अन्वेषणले जगत्मा परिवर्तन ल्याउँछ सबै वैज्ञानिकहरु क्रान्तिकारी हुन् । रगतको खोलो त सिकन्दर, चंगेजखान, तैमुर लब्ले पनि बगाएथे । रगतको होली त हिट्लर, बोकासा र पोलपोटले पनि खेलेथे ।
जगतमा लोभ उरालेर, क्रोध दन्क्याएर ईष्र्या फिंजाएर क्रान्ति हुँदैन । किनभने क्रान्ति नवयुगको द्वार हो, चैतन्य हो, सद्भाव हो, क्षमा हो, दया हो, खोज हो, त्याग हो र सत्य हो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)