स्वस्थानी कथामा महिला ‘सुझबुझ’

सुशीला शर्मा

हिन्दु संस्कृतिभित्र रहेको रोमाञ्चक धार्मिक मानिएका पुस्तकहरुमध्ये स्वस्थानी ब्रत कथा जुन एक महिनाभरी वाचन गर्दै त्यसै ग्रन्थमा उल्लेख गरिएका पात्रको बारेमा कल्पनाशिल भएर र तिनै ग्रन्थमा उल्लेख गरिएका पात्रमा डुबेर फूल, भेटी चढाउँदै हाम्रा आमा, दिदी, बैनीहरुले तन्मयका साथ स्वस्थानी ब्रत बसेको, साङ्गे गरेको हेरेर हुर्कियौं । भलै अहिले स्वस्थानी किताब अगाडि राखेर पाठ गर्दै महिनाभरी ब्रत बस्ने फुर्सद छैन र यसको अर्थ पनि केलाउन थालिएको छ ।

अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एशियाली अध्ययन, महिला र यौनिकता विषयकी अध्यापक जेसिका भेन्टिन बिकएन्होल्जले स्वस्थानी ब्रतकथाबारे पुस्तक नै प्रकाशित गरेकी छन् । उनको अध्ययनको आधारमा १६औं शताब्दीमा यो परम्परा शुरु भएको हो । उनकै अध्ययनको आधारमा स्वस्थानीलाई सोहृौ शताब्दीतिर नेपाल भाषामा जयन्तदेवले स्वस्थानी कथा लेखे र अठारौं शताब्दीपछि मात्र नेपाली भाषामा स्वस्थानी कथा प्रचलनमा आएको हो भन्ने मान्यताहरु छन् ।

यस लेखमा उल्लेख गरिएका कुराहरु चाँहि नेपाली भाषामै लेखिएका स्वस्थानीसँग सम्बन्धित हो ।

हाम्रा समाजमा दिनदिनै बालिकाहरु, युवतीहरु बलात्कारका घटनाले सम्बन्धित व्यक्ति, परिवार र समाज नै आक्रान्त छ । बलात्कार अपराध हो भनेर आवाजहरु पनि उठी नै रहेका छन् । बलात्कारका कानून पनि बनेका छन र विद्यमान कानूनले बलात्कारीलाई छुन नसकेकोले मृत्युदण्डसम्मका बहस समाजमा चलिरहेका छन् । तर बर्षौदेखि वाचन गरिदै आएका महिलाहरुले एकभक्त भएर पूजा अर्चना गर्ने स्वस्थानी ब्रतकथा अर्थात पवित्र कथामा उल्लेख गरिएको भगवान विष्णुले जालान्धर पत्नीलाई गरेको बलात्कार, ७० वर्षीय शिवले ७ वर्षीय गोमालाई विवाहको लागि गरेको प्रस्ताव अनि अस्विकार गर्दा दिर्ईएको श्राप (सजाय) लाई भगवानको पालाको या भगवानले गरेको कार्य भनेर मौन छौ । अनि त्यसलाई पवित्र नै रहन दिएका छौं । यस्तै किस्साहरुले धार्मिक जलप दिइएका कथाहरुमा महिलालाई गरिएको प्रयोगबारे महिलाले बुझ्न, प्रश्न गर्न, अस्विकार गर्न तर्क गर्न पछि पर्नु हुँदैन भन्ने यस लेखको आशय हो ।

स्वस्थानी कथा रोमाञ्चक छ । देवताहरु भन्छन्, मेरा त स्त्री छैनन्, मेरो घर छैन् । अनि स्त्री पनि आफैं उत्पति पनि गरिदिन्छन् । कता कता जाल झेल गर्छन, झुक्याउँछन् । भनेको नमाने श्राप दिन्छन् । भक्ति गरेपछि फेरि खुसी हुन्छन् र बरदान पनि दिन्छन् । बार बार स्त्री जातिहले शोभा बढाउनुपर्ने कुराको उल्लेख गरिएको छ । स्त्रीका लागि मुक्तिको लागि अति ठूलो ब्रत भनिएको छ ।

सात्विक भोजन गरी महिना दिनसम्म एक चित्त लगाएर गरिने स्वस्थानी ब्रतको आचारसंहिता या नियम भनेको दिनदिनै ब्रतालुले स्वस्थानी कथा सुन्नु हो । अनि त्यही कथा ग्रन्थमा लेखिएको अनुसारका फूलपाती, नैवेध विधिपूर्वक ठीक्क पारेर पूजा गर्दै अर्पण गरिरहनु हो ।

यस कथामा देवता, राक्षस, युद्ध, यज्ञ, रगत पिएको, कोखाबाट छेडेको, घाइते भएर भूँईमा ढलेको अनि क्रोधको ज्वाला निस्केका जस्ता भयानक कुराहरु छन् । बेला बेला हरर फिल्म जस्तो पनि लाग्छ स्वस्थानी ब्रत कथा । मन शान्ति गर्न ध्यान मुद्राजस्तोमा तल्लिन हुँदा यस्ता डरलाग्दा कथाले ध्यान मोडिदैन र ? भन्ने प्रश्न पनि मनमा आउन सक्छ है ।

महिलाहरुलाई यौनिक बस्तु र यसैमा मात्रै ईच्छुक देखाउन पनि यस पुराणका कथाकार पछि परेका छैनन् । पत्नी वियोगमा हिँडेका महादेवलाई देखेर यौन चाहनाले ऋषिपत्नीहरु उनैको पछि लागेका कुराहरु पनि यसैभित्र छन् । साँझ परेपछि स्वस्थानी कथा बाचन गर्ने र माघ नुहाउने भन्ने चलन पनि त छँदै छ ।

स्वस्थानीमा पुराणको झल्को दिइएको छ भनिएकै छ कि यो स्कन्ध पुराण हो भनेर । पृथ्वी उत्पतिको बारेमा गजब कथा बुनिएको छ जुन वैज्ञानिक सत्यतासँग कतै मेल खाँदैन् । विष्णु भगवानको कानेगुजीबाट मधु र कैटव नामधारी पराक्रमी दैत्य भनेर दोश्रो अध्यायको कथा शुरु गरिएको छ, जुन एकदम हास्यास्पद लाग्छ । संसार जलमग्न हुँदा कमल उत्पन्न गराएर त्यसमै बसेर ब्रम्हाले सृष्टि गर्ने योजना बनाएका जस्ता अत्यन्त काल्पनिक कुराहरु यस स्वस्थानी ब्रतकथामा उल्लेख गरिएको छ । पृथ्वीको उत्पतिको बारेमा कौतुहलता हुँदा सायद ती कल्पनाहरु बुनिएका हुन सक्लान् । बार बार भक्ति र बरदान, श्राप र पापका कुराहरु उल्लेख गरिएका छन् । अधिकाँश पाप र भक्ती, पूजाआजापछि भगवान खुसी भएर बरदान दिएका कुराहरुले नै स्वस्थानी किताबलाई रंगिन बनाइएको छ ।

सबै पाप अनि भक्तीभावपछि पुण्यका कुराहरुमा महिलालाई नै सहभागी गराइएको छ । स्वस्थानी मातालाई केन्द्रमा राखेर अन्य आठ जना माताले वरिपरिबाट घेरेर अष्टदल बनाएको छ । ती सम्पूर्ण शक्तिशाली देवी नै हुन् र केन्द्रमा राखिएकी स्वस्थानी माताले चाँहि भक्तजनहरुलाई तुरुन्तै चिताएको फल दिन्छिन भनिएको छ । सम्पूर्ण सृष्टि रचयिता ब्रम्हा, विष्णु, महेश भनिएको छ भने नारी पात्रलाई पाप र धर्मको चंगुलमा रुमल्याइएको यो स्वस्थानी कथा उतिकै गर्वकासाथ महिनौसम्म हिन्दु संस्कृतिभित्र रहेर धेरैभन्दा धेरै महिलाहरु नै सहभागी भई भक्ति अर्चना गर्ने गर्छन् । स्वस्थानी माता भनिए पनि कथा उनै ब्रम्हा, विष्णु, महेश, ईन्द्रकै इर्दगिर्दमा घुमेको छ । यिनै कथाहरुबाट प्रभावित र व्यवहारमा समेत लागु गरिएको प्रचलनहरुमा कन्यादान प्रमुख चलन हो । हालसम्म पनि विवाहको प्रमुख विधि कन्यादान छँदैछ । छोरीलाई कन्यादान गरेपछि बल्ल माईती पक्षले एउटा ठूलो पुन्य काम गरेको ठहरिन्छ । कन्यादान भईसकेकी छोरीले पतिको परिवार या पति नै पनि जस्तोसुकै असमझदार, अन्यायी भए पनि सहनुपर्छ भन्ने उक्तीलाई त यही स्वस्थानी कथामा उल्लेख गरिएको गोमा र शिव शर्मासँग विहे भएको घटनाले पुष्टि गर्दछ । गाँजा, भाङ्ग खाएर लट्ठ परेर बस्ने महादेवसँग सतिदेवीको विहे भएको र त्यसलाई आफ्नो भाग्य भन्दै सहश्र ती नारीहरुले स्वीकार गरेका उदाहरणले नारीलाई त्यागको प्रतिमूर्तिकै रुपमा देखाईएको छ ।

पुरुष नै जनिने ब्रम्हा, विष्णु र शिवचाहि आफैं उत्पति भएका कथाबाट नै हामीले सिधै यो एक कल्पनाशील पुरुषले लेखेको कथा जहाँ स्त्री जातीलाई भोग्य र दोश्रो तहको पराधिन, अधिनस्त र पुरुष देवताको कल्पनामा लिन हुनुपर्र्ने रुपमा प्रस्तुत गरिएको छ । हुनत यो स्वस्थानी कथा करिव ४ सय वर्ष अगाडिको धार्मिक कथा हो भन्ने विभिन्न लेख र अध्ययनमार्फत बाहिर आईसकेका छन् । समयसँगै कथामा उपकथा थपिदै आएका पनि भनिन्छ ।

मान्छेमा कल्पनाशिलता हुन्छ, कल्पना बुन्छ । अभिव्यक्तिको लागि कसैले त्यसलाई लेख्छन्, किंवदन्ती जस्तरी त्यसलाई समूहमा भन्ने गर्दागर्दै ती कथा बन्छन्, ग्रन्थ बन्छन् । समयन्तरमा ती लेखिएका कुराहरु पुस्ता पुस्ताबीच हस्तान्तरण हुँदै गर्दा यी रोमाञ्चक र त्यस्तै परे दैवीय शक्तिको एउटा पाटो या धार्मिक ग्रन्थ अनि सामाजिक संस्कृतिको रुपमा रुपान्तरण भएर चलिआएको हुन्छ जसलाई हामी ऐतिहासिकताको नाम पनि दिन्छौँ, पिता पुर्खादेखि चलिआएको रीतिथिति भन्छौं, नतमस्तक भएर त्यसलाई अंगाल्छौं ।

केही बर्षअगाडि कामकै सिलसिलामा एकजना आध्यात्मिक विचार र व्यवहार भएको साथीसँग म पनि साथ लागेर चर्चित र एैतिहासिक भनिएको साली नदी गएँ । त्यहाँ ब्रतालु महिलाहरुलाई भनेर केही फलफुल पनि लिएर गएका थियौं । हामीले फलफुल त्यहाँकै केही स्वयंसेवी पुरुषहरुलाई बुझायौं । त्यहाँको धार्मिक गतिविधि नियाल्यौं । माघको ठिहिरोमा निश्चित परहेजका खाना मात्र खाएर ओठ मुख नीलो बनाउँदै कोही महिलाहरु भजन गाइरहेका, कोही पुजा गरिरहेका, कोही चाँहि ‘देवी’ चढेर लगलग कामिरहेका देखिन्थे । कोही आध्यात्मिक सन्तुष्टिले मिलेकोमा प्रफुल्ल देखिएका थिए । कोही शारीरिक र मानसिक कमजोरीले गलेका दृष्यहरु देखिन्थे । मन्दिरमा चहलपहल निकै बाक्लो, सुरक्षकर्मी लगायत, स्थानीय युवा क्लवहरुले सालीनदी स्वस्थानी मेला हेर्न आउने भक्तजनहरुको व्यवस्थापन पनि गरिरहेको थियो । सरसर हेर्दा साली नदीको वातावरण यस मेलामा आध्यात्मिक नै देखिन्थ्यो र अहिले पनि देखिन्छ नै । साथ साथै वरपर ‘बाबा’ बनेर बसेका जोगी रुपधारीहरु, अपाङ्गता भएका व्यक्तिहरु आदिले बाटोमा ओहोर दोहोर गर्ने यात्रुहरुलाई मागेर हैरान गराएका दृश्य अनि माग्दा पैसा नदिनेलाई ती बाबाहरुले दिएका तथानाम श्राप पनि सुन्नलायक नै थियो । अपांगता भएको तर कलाकारी खुबी भएका किशोर किशोरी, बालबालिकालाई परिवारले यस्तै मेलाहरुमा राख्ने र उनीहरुमार्फत मागेर आएका आर्थिक आम्दानी उपभोग गर्दै जीवन चलाईरहेको उदाहरणहरु त प्रसस्तै देख्न पाईन्छ यी धार्मिक मेलाहरुमा ।

हुन पनि ४०० वर्ष अगाडिदेखि अभ्यास हुँदै आएका धार्मिक, सांस्कृतिक मूल्य र मान्यताहरु जो हाम्रो मनमस्तिष्कमा गढेर बसेका छन्, ती कुराहरुले हामी नराम्ररी गाँजिएका छौं । यति मात्र होइन, अहिले त हामीलाई यस्तो पनि लाग्न थाल्या छ कि अन्य धर्महरुले हाम्रो हिन्दु धर्ममाथि हस्तक्षेप गर्न थालिसक्यो, हाम्रो यति पुरानो र सभ्यता मिसिएको धर्ममा आँच आउन लागिसक्यो अनि भएका संस्कृतिको जगेर्ना गर्न पर्दैन र ? आदि आदि ।

यसो भनिरहँदा हामी महिला र पुरुषमा छर्लङ्गै देखिएका विभेदयुक्त संस्कृतिलाई समानताको आँखाबाट हेरौं न त । स्वस्थानी कथा, तीजलगायत महिलाले मात्रै देवता रिसाउने डरले बार्नुपर्ने छाउ, छोईछिटो लगायतका विषयलाई चाहि अलिकति बहसको दृष्टिबाट हेरौं भन्दा कसैको रायचाँहि हरेक कुराको कारण खोज्ने बहस र चिन्तन गर्नृको केही फाईदा छैन, स्वैच्छिक रुपले लिईने ब्रतमा किन यति धेरै चासो भन्ने पनि देखियो । होला, कसैलाई यी सब आध्यात्मिक कार्य गरेर मनमा शान्ति मिलेको होला, केही माईन्ड फ्रेस भए होलान्, केही तनाव व्यवस्थापन भए होलान् तर यो समग्र होइन । संसारमा समय अनुसार परम्परागत तर विभेदित संस्कृति परिमार्जित र परिष्कृत पनि भएका छन् अनि हाम्रो समाजमा चाँहि महिलाहरुलाई मात्रै लक्षित गरिएका धार्मिक संस्कृतिहरुमा बहस गर्दा या गर्न खोज्दा, नारीवादीले भन्ने कुरा, परम्परा भत्काउने कुरा गर्नु हुँदैन यो त सामाजिक प्रकार्य हो, यसैगरी त समाज चल्छ जस्ता कुराहरु पनि आउने गर्छन् ।

धर्म साहित्यमा भएका भेदभावपूर्ण कुराहरुबारे प्रश्न उठाउनु र यो त अन्यायी खालको छ भन्नू धर्म विपरित जानू होइन तर बदलिँदो परिवेश, वर्तमान समयमा असमान शक्ति सम्बन्धहरुबारे धर्म, धार्मिक ग्रन्थ, कथा साहित्यमा नै लेखिएका रहेछन् भने पनि त्यस्ता सवालहरुबारे त प्रश्न उठ्नै पर्छ नि । अनि सम्बन्धित पक्षले त्यसलाई न्यायिक, सकारात्मक बनाउनै पर्छ ।

अहिले पनि कामकाजी महिलाहरुलाई सतिदेवीले झैं सधैं श्रृंगार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहन फुर्सद होला त ? एउटा भक्ति गर्ने अर्कोले खुसी भएर तथास्तु गर्ने समय होला त ? के समाज भाग्यवाद र भोग्यवादमै अल्मलिँदैमा मुख्य मुद्धाहरु पछाडि परिरहेका त छैनन् ? प्रश्नहरु थुप्रै उठ्छन् ।

जे भए पनि अहिलेका पढेलेखेका युवापुस्ता ती महिला हुन् या पुरुष, हामी हिन्दु संस्कृतिभित्रकै छौं भने पनि यस संस्कृतिमा भएका सबै इतिहासहरु पढौं, विश्लेषण गरौं, राम्रा आदर्शका सबै मानवलाई भलो हुने विभेदरहित पक्षलाई अप्नाउन पनि सकिन्छ । यदि ती धार्मिक लाग्ने कथा, साहित्यमा मानव मानवबीचमा निकै ठुला विभेद छन, महिलालाई चिजवस्तुमात्रै ठानिएका छन भने अवश्य ती विषयमा बहस गरौं । त्यो बहस स्वस्थानी ब्रत कथालाई नै लिएर पनि किन नगर्ने ? हामी योग ध्यान गर्न सक्छौं, दियो बालेर त्यस अगाडि बस्न पनि सक्छौं । हामी आफूलाई हानी नुहुने गरी पेट खाली राखेर दिनभरी नै बस्न पनि सक्छौं ।

अहिले त पक्कै पनि सचेत युवा युवतीहरुले यो स्वस्थानीमा लेखिएका कुराहरु कथा हुन् भन्ने बुझी नै सके होलान् । तर युवा पुस्ताले आफैले यी ग्रन्थहरु नपढेका भए पनि तिनै ग्रन्थहरुलाई व्यवहारिक जीवनमा लागु गर्ने अभिभावकको पुस्ता भएकोले उनीहरुले पनि यी कुरा के रहेछ भनेर अध्ययन, विश्लेषणचाँहि गर्नै पर्ने हुन्छ । महिनौसम्म त्यस किताबभित्र भएका कथाहरुमा महिलालाई कुन रुपमा कथिएको रहेछ भन्ने पनि सुझबुझ पनि गरौं है ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

3 Comments

  1. वैज्ञानिक दृष्टिकोणमा पौराणिक आख्यानमा भएका तत्कालीन सामाजिक प्रचलन र विधिहरुलाई सठीक र सान्दर्भिक विवेचना र विश्लेषण गर्ने सुन्दर प्रयासमा यो लेख अत्यन्त महत्वपूर्ण रहेको छ।
    समयको परिवर्तनको साथ साथ यस्ता रीति रिवाजहरुमा व्यापक परिवर्तनका पदचापहरु यसरी नै स्पन्दित हुन्छन्। नारीहरुले पनि समयको परिवर्तन वा विकाशका हरेक कदम कदमका साथ साथै धेरै क्रान्तिकारी परिवर्तनहरु समाजमा गरि रहेकाछन्।
    यस दिशानिर्देशमा यो लेखले धर्म र संस्कृतिको नाममा सामन्तवादी सत्ता कवच रुढिवादी प्रचलनलाई गलत हो भनेर बझ्ने र बुझाउने काम राम्रो संग गरिरहेको देखिन्छ।

    1. धन्यवाद यस्तो सकारात्मक प्रतिकृयाको लागि 🙏

  2. सान्दर्भिक अत्यन्तै सुन्दर लेख 🙏🙏
    स्वस्थानी कथा रोमाञ्चक छ । देवताहरु भन्छन्, मेरा त स्त्री छैनन्, मेरो घर छैन् । अनि स्त्री पनि आफैं उत्पति पनि गरिदिन्छन् । कता कता जाल झेल गर्छन, झुक्याउँछन् । भनेको नमाने श्राप दिन्छन् । भक्ति गरेपछि फेरि खुसी हुन्छन् र बरदान पनि दिन्छन् । बार बार स्त्री जातिहले शोभा बढाउनुपर्ने कुराको उल्लेख गरिएको छ । स्त्रीका लागि मुक्तिको लागि अति ठूलो ब्रत भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button