एउटा समूह छ, जसले योग, ध्यान र अध्यात्मको सहारा लिएर समाजलाई अराजकतातिर धकेलिरहेको छ

माघे संक्रान्ती, योग र अध्यात्म

शान्ता सिम्खडा

हिन्दु तथा अन्य धर्म र जाती सम्प्रदायका मानिसले पनि आ आफ्नो चल्तीको संस्कार अनुसार माघ एक गतेलाई चाडको रुपमा मनाउने गर्छन् । सायद यो हाम्रो राष्ट्रिय पर्व हो । हिन्दु समाजमा माघ एक गते भन्ने बित्तिकै घ्यू, चाकु, तीलको लड्डु, सेलरोटी, खिचडीजस्ता परिकारहरू मस्तिष्कमा आउने गर्छन् । यस्ता पर्वमा आफन्त, विवाह गरेर गएका चेलीबेटीहरूसँगको भेटघाट र भलाकुसारीले बढी महत्व राख्छ । यो भागदौडको युगमा सबै परिवार आफन्तसँगै बसेर दुखसुख साटासाट गरेर मनाइने यस्ता चाडपर्वहरू थोरै समय भए पनि विश्राम लिने चौतारी बन्छन् ।

तर आज आज (माघ एक गते) राष्ट्रिय योग दिवस भएकोले योगसम्बन्धि आफ्नो थोरै केही अनुभव, अध्ययन र सत्संगको आधारमा केही लेख्ने मन भयो । ‘योगलाई शारीरिक व्यायाम, आसन र स्वास्थ्यसँग मात्र जोडेर परिभाषित गरिनु हुँदैन । शारीरिक स्वास्थको साथै मानसिक, अध्यात्मिक एवं सामाजिक स्वास्थ्यको पनि सेतु हो योग । जीवत्माको परमात्मासँगको मिलन हो योग । सोझो अर्थमा आफैंसँगको मिलन हो योग । तर एउटा समूह यस्तो छ, जसले योग, ध्यान र अध्यात्मको सहारा लिएर समाजलाई अराजकतातिर धकेलिरहेको छ । युवापुस्तलाई विकृतिको बाटोतिर डोर्याइरहेको छ ।’

तपाईं हामीलाई लाग्छ, ‘मैले खत्रा दार्शनिकको दर्शन पढेको छु । खात्रा साइन्टिसहरूको अन्वेषणको निचोड पढेको छु । त्यसैले म खत्रा हुँ । जस्तोसुकै कुरालाई पनि तर्क गरेर जित्न सक्छु । ममा यत्ती खुवी छ । म दिनलाई रात र रातलाई दिन भनेर प्रमाणित गरिदिनसक्छु । झुटलाई सत्य र सत्यलाई झुट साबित गर्ने क्षमता राख्छु ।’ हामी भित्रका अहंका काँडाहरू हाम्रा हरेक रोमकुपमा ठडिएर बसेका हुन्छन् । दुम्सिका काँडा झैँ । कोहि सामुन्ने आयो कि त घोचेर प्रहार गरिहाल्ने । तर हामीले खत्रा देखेका दार्शनिक आफ्ना अतृप्त वासनाका कुन्थाहरूको डसाइलाई सहन नसकेर वा त्यसलाई पुरा गर्न नसकेर पूरा गर्ने अहंमा तर्क-कुतर्क, कर्म-कुकर्म गरेर सोझा साधालाई ठग्ने पागल पनि हुन सक्छन् । हामीले खत्रा मानेका विद्वान यस्तै पागलहरूको फलोअर हुन सक्छन् । साइन्स अर्थात् हामीले देखेको विज्ञानको ज्ञान पनि अत्यन्त लघुतम छ । यो अनन्त विश्वब्रह्माण्डमा हाम्रो तर्कको संसार सायदै पाँच प्रतिशत छ । बाँकी पन्चानब्बे प्रतिशत संसार हाम्रो तर्क र बुद्धिभन्दा बाहिरको क्षेत्र हो । त्यही पाँच प्रतिशतमा पनि आधालाई मात्र आधुनिक विज्ञानले छुन सकेको होला । त्यसमा पनि अस्सी प्रतिशत भन्दा बढी खोज त विरोधाभास नै होला । यो बीस प्रतिशतमा पनि हामी खत्राहरूले मुस्किलले दस-बीस प्रतिशत नै जानेका हौंला । त्यो पनि हाम्रो जस्तो देशमा अधिकांश जानकारी प्रयोगात्मक नभै सिद्धान्तमा आधारित हुन्छ । अब हामी कस्तो खत्रा हौं त ?

Ad

अब कुरा गरौं शास्त्रको । यो अनन्त विश्व ब्रह्माण्डको जति पनि अनन्त रहस्य छ, त्यो सबै जान्न सक्ने क्षमता केवल मानव मस्तिष्कमा मात्र छ । शास्त्रमा लेखिएका कुरा पनि यो अनन्त रहस्यलाई व्यक्त गर्न पर्याप्त छैन । वेदका लाखौं श्लोकहरूले पनि यो अनन्त रहस्यको सायदै दस प्रतिशत उजागर गर्न सकेको छ होला । बाँकी नब्बे प्रतिशत रहस्य गौंण छ । यो गौण रहस्यलाई जान्नको लागि हामी यी बाहिरका जानकारीहरूको प्रयोग गर्छौं । जुन हाँस्यास्पद र निरर्थक छ । यो गौंण रहस्यलाई जान्ने र महसुस गर्ने माध्यम भनेको केवल योग हो । बोलिचालिको भाषामा योग पछि ध्यान आउँछ । अध्यात्ममा ध्यान सिद्ध भएपछि मात्र योग घट्छ । तर भ्रनमा नपरौं । योगा अर्थात् शारीरिक व्यायाम योग होइन । हठयोगको माध्यमबाट साधनामा अघि बढ्ने साधकले कुनै विशेष आसन, प्रणायाम, क्रिया, मुद्रा आदि अपनाउला त्यो अलग कुरा हो । तर हामीले दैनिक जीवनमा गर्ने योग अभ्यासले अध्यात्मको लागि प्वाइन्ट मार्जिनमा त काम गर्ला तर रहस्यलाई उजागर गर्न सक्दैन । योग अभ्यास हाम्रो मानसिक शान्ति र शारीरिक स्वास्थको लागि उपयोगी हुन्छ । जुन त्यो गौंण रहस्यसम्म पुग्ने प्रथम खुट्किलो भने पक्कै हो । योग अर्थात् ध्यान साधना नै त्यो मार्ग हो, जहाँबाट हामीले यात्रा गरेपछि मात्र यो अनन्त रहस्यलाई बुझ्न र अनुभुत गर्न सक्छौं । अनन्य निष्ठा, भक्ति, समर्पणयुक्त साधना र धारणाले नै हामी यो अनन्त रहस्यमा लय हुन सक्छौं । एकाकार हुन सक्छौं । अनि हामी साँच्चिकै खत्रा हुन्छौं । नभए त हामी खतरा हौं । आफ्नै लागि, समाजको लागि, यो विश्वब्रह्माणकै लागि । नभए त अल्पज्ञान भयंकरम् भने झैँ सधैं खतराको रेडलाइट बालेर हिंडिरहने प्राणी हौ हामी मान्छे ।

हाम्रो तर्क र बुद्धिभन्दा परको यहि संसारलाई समेट्नको लागि योगको प्रादुर्भाव भयो । योगीहरूले समाधीलाई निर्विज अवस्थामा पुर्याए । आफूलाई तटस्थ राखी यो अव्यक्त रहस्यलाई बुझाउनको लागि ध्यान योग गर्ने विधि लिपिबद्ध गरे । समभाव र ब्रह्मभूत अवस्थामा रहेर लेखेका तिनै ग्रन्थहरूलाई शास्त्र भनियो । त्यसैले यस्ता ग्रन्थमा लेखिएका विधिहरू सबै योगप्राप्तिका नै विधि हुन् । जसमा सत्व, रज र तम तीनै गुणका विषेशतालाई समेटेर कर्मकाण्डदेखि योगका दुरुह आसन, अनुष्ठान, व्रत, नियम आदि विधिहरू दिइएको छ ।

योग भनेको जोड अर्थात् लयात्मक मिलन बिन्दु हो । प्राप्तिको अन्तिम अवस्था हो, जुन प्राप्त भैसकेपछि अरु प्राप्त गर्ने तृष्णा रहन्न । योग तृष्णाको अन्त्य हो । योग भेद विभेद भन्दा पर समत्वको अवस्था हो । योग कुनै जाती, लिङ्ग, धर्म, मान्यता भन्दा परत्तर अवस्था हो । यो जगतको अव्यक्त शक्तिसँग सायुज्य अवस्था हो योग । त्यसैले योगलाई शारीरिक फिटनेस र आसनमा मात्र सिमित राखिनु हुँदैन ।

सम्पूर्णमा राष्ट्रिय योग दिवसको शुभकामना ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button