
राष्ट्र एकीकरणः भ्रम र यथार्थ
श्रीरामसिंह बस्नेत
राष्ट्रनिर्माता बडामहाराज श्री ५ पृथ्वीनारायण शाहलाई अरु बेला नसम्झिए पनि पुसको अन्तिम साता भने सम्झिन नबिर्सनेहरु नेपालमा धेरै नै छन् । २०६२ सालसम्म पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको बेग्लै महत्व थियो नेपालमा । तर राजनीतिले रुप फेरेपछि राष्ट्रका मूल्य र मान्यताहरु पनि फेरिदै जाने र पुस्तौंसम्म गौरब गर्न सकिने राष्ट्रिय संस्कारको निर्माण नहुने विडम्बनाबाट हामी गुज्रिरहेका छौं ।
परिवर्तन गर्न नपर्ने, नहुने पद्धतिहरुलाई पनि राजनीतिक परिवर्तनको निहुँमा परिवर्तन गर्ने अदूरदर्शी सोचको सिकार एकता दिवस मात्र होइन, प्रजातन्त्र दिवस (फागुन ७) पनि बनेको छ । सबैभन्दा उदेकलाग्दो त जुन नेपाली काँग्रेसको साहसको कारण २००७ सालमा प्रजातन्त्र स्थापना भयो, त्यही पार्टीले समेत पछिल्लो समय अरुका लहैलहैमा लागेर आफ्नो इतिहासलाई उपेक्षा गर्दै प्रजातन्त्र दिवसलाई विस्मृतिको अँध्यारो बुईगलमा फ्याँकिदियो । संयोगवश, एकता दिवसको उपेक्षा गर्ने विवेकहीनता पनि नेपाली काँग्रेसकै नेतृत्वमा ( प्रधानमन्त्री गिरिजाप्रसाद र गृहमन्त्री कृष्ण सिटौला ) सरकार रहेको बेलाबाट प्रारम्भ भयो ।
जे होस, पुसको अन्तिम सातामा राष्ट्रिय एकता दिवसको सन्दर्भमा केही चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । कतिपय मानिसहरु पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेका हुन् कि गोर्खा राज्यको विस्तार भन्ने कुरामा दिग्भ्रमित रहेका पाइन्छन् । यो विषयको निक्र्यौल गर्न हाम्रै देशको इतिहास र विश्वका अन्य मुलुकको इतिहास पनि केलाउनु पर्दछ । एकीकरण वा राज्यविस्तार जे भने पनि त्यो साहस पृथ्वीनारायाणले मात्र गरेका होइनन् । उनीभन्दा धेरै अघि नेपाल मण्डलका राजा यक्ष मल्लले सुरु गरेका थिए र उनको राज्यको सीमाना अहिलेको भारतको बिहार र उत्तरप्रदेशका केही भूभागसम्म फैलिएको थियो । तर उनको दुर्भाग्य के भयो भने उनले जितेका स्थानहरुमा पछिसम्म आफ्नो नियन्त्रण कायम राख्न सकेनन्, फलस्वरुप ति पुनः यक्ष मल्लको अघिनस्थबाट स्वतन्त्र हुँदै गए र उनको जितले स्थायी स्वरुप लिन सकेन । यो मामलामा पृथ्वीनारायण भने दूरदर्शी र चलाक देखिए । उनले विजय गरेका साना राज्यहरुमा या त आफ्ना भरपर्दा प्रतिनिधि राखेर आफ्नो सत्ता स्थापित गरे या त्यहिंका प्रभावशाली स्थानीयलाई आफ्नो प्रतिनिधि बनाएर आफ्नो सत्ता सुरक्षित बनाए । त्यसैले यक्ष मल्लको नियति पृथ्वीनारायणले भोग्नु परेन । यक्ष मल्लको अर्को दुर्भाग्य के भयो भने उनीपछि उनका छोराहरु राय, रत्न, रणमल्ल र भानिजको समेत अति महत्वाकाँक्षाका कारण राज्य भागबण्डा भयो । यसबाट सिंगो नेपाल मण्डल राज्य कान्तिपुर, भक्तपुर, ललितपुरमा विभाजित भयो र ती तीनकाबीच राम्रो एकता कहिल्यै भएन । यसको फाइदा पृथ्वीनारायणले उठाएका हुन् । यतिसम्म भयो कि ललितपुरमा त ६ जना प्रधानहरु (मन्त्री सरह) कै हालिमुहाली थियो । उनीहरु आफूले चाहेको मान्छेलाई राजा बनाउने र मन नपरे राजाबाट हटाउने गर्थे । उनीहरुले आफ्ना राजालाई हटाएर पृथ्वीनारायणलाई ललितपुरको राजा बन्न अनुरोध गरे । पृथ्वीनारायणले आफू त्यसरी राजा बन्न त गएनन्, भाइ दलमर्दन शाहलाई पठाए । यसरी पृथ्वीनारायणले उपत्यका विजय गर्नु अघि नै दलमर्दन केही समय ललितपुरका राजा बन्न पुगे । ती ६ प्रधानहरु यतिसम्म गद्धार थिए कि उनीहरुले आपसमा मिलेमतो गरी आफ्नै राजा विश्वजित मल्ललाई एक जना प्रधानकी पत्नीसँग अनुचित सम्बन्ध राखेको भनी परस्त्री गमनको झुठो आरोप लगाई तलेजुमा बोकाको बलि दिए झैं काटेर मारेका थिए । यस्तो वैमनस्यले ग्रस्त भएको मल्ल राज्यको पतन हुनु अवस्यम्भावी थियो ।
एकीकरण आफैंमा कुनै अपराध होइन, न पहिले, न अहिले । बिस्मार्कले आँट गरेर एकीकरण नगरेका भए जर्मनी एक सम्मुनत र शक्तिशाली राष्ट्र बन्ने थिएन । यद्यपि हिटलरले पछि त्यसको दुरुपयोग गरे । दोस्रो विश्वयुद्ध पछि पूर्व र पश्चिम जर्मनीमा विभाजित मुलुक सन् १९९०मा एकीकरण भई एउटै मुलुक हुनु पनि विश्व इतिहासको एक रोचक पाटो हो । सयौं राजा, रजौटाहरुको खानदानी भोगस्थलका रुपमा रहेको विभाजित भारतलाई सन् १९४७ मा भारत अँग्रेज शासनबाट स्वतन्त्र भएपछि सरदार बल्लभभाई पटेलले साम, दाम, दण्ड, भेद सबै हथ्कण्डा अपनाएर आजको विशाल भारत बनाएका हुन् । त्यतिखेर एकीकरणका क्रममा भएको केही त्रुटी कमजोरीको तुषका रुपमा काश्मिर विवाद अझैं कायमै छ । एकीकरण हुन नसकेको कारण दुई कोरियाका कोरियालीहरुको अन्तस्करण कहिलेसम्म रोइरहने हो ? कसले भन्न सक्छ ? एकीकरण सम्बन्धी यस्ता उदाहरण बग्रेल्ती पाइन्छन् ।
पृथ्वीनारायणले एकीकरण अभियान सुरु नगरी पहिलाको बाइसे, चौविसे राज्य नै कायम रहेको भए आज विश्वको मानचित्रमा नेपाल नामको कुनै स्वतन्त्र, सार्वभौम राष्ट्रको चित्र देख्न पाइने थिएन । पृथ्वीको यो भूखण्ड कुनै अरु नै देशको एउटा सानो प्रान्तको रुपमा रहने थियो । तसर्थ कसै न कसैले एउटा विशाल राष्ट्र निर्माणको महाअभियान प्रारम्भ गर्नु नै थियो । समयले त्यो अभिभारा पृथ्वीनारायणको काँधमा राखिदिएको मात्र हो । त्यसअघि यस भेगका अरु राजाहरुले गरेको प्रयास सफल नभएको वा दिगो नभएको कारणले पनि यो अभिभारा उनीमाथि आएको हो ।
एकीकरणबारे धेरै भ्रमहरु व्याप्त छन् । ती मध्ये एक भ्रम केही तामाङ मित्रहरुमा पाइन्छ । काठमाडौं उपत्यकासँग जोडिएका जिल्लाहरु सिन्धुपाल्चोक, मकवानपुर आदिमा तामाङहरुकोे अझै पनि बाक्लो बस्ती छ । कुनै बेला उनीहरुको छुट्टै राज्य र तामाङ राजा थिए । ती राज्यलाई पृथ्वीनारायणले जितेर आफ्नो बनाए र हाम्रो राज्य खोसियो भनेर केही तामाङ मित्रहरुले सामाजिक सञ्जाल र अन्यत्र पनि पृथ्वीनारायणप्रति आक्रोश पोख्ने गरेको पाइन्छ । तर यथार्थ त्यो होइन । तामाङ राज्यलाई पृथ्वीनारायणले जितेका होइनन् । त्यो भन्दा पहिले नै मल्ल राजा र सेनवंशी राजाहरुले तामाङ राज्य आफ्नो राज्यमा समाहित गरिसकेका थिए । पछि पृथ्वीनारायणले उपत्यकाको मल्ल राज्य र मकवानपुरको सेन राज्य विजय गर्दा विगतको तामाङ राज्य पनि स्वतः पृथ्वीनारायणको नेपाल एकीकरणमा समाहित हुनपुगेको हो । तामाङ राजा पृथ्वीनारायणसँग होइन, त्योभन्दा धेरै अघि मल्ल र सेन राजाहरुसँग पराजित भएका हुन् । त्यसैले तमाङ समुदायले पृथ्वीनारायणप्रति आक्रोश पोख्नु अज्ञानतावश मात्र हो । पृथ्वीनारायणकै सेनामा पनि तामाङ सैनिकहरु रहेका प्रमाण पाइन्छन् । एकीकरणका कारण आफ्नो पुर्खाको राजपाठ गुमेको कारण अहिले आफूहरु सत्ताशक्तिविहीन हुनुपरेको भन्ने हीनतावोध पालेर बस्ने अन्य बंशजहरु पनि बेलमौकामा भेटिन्छन् । तर उनीहरुले के चाँहि हेक्का राख्दैनन् भने यदि एकीकरण नभएको भए त अहिले उनीहरु नेपाली बनेर बाँच्ने सौभाग्य पनि पाउँदैन थिए । उनीहरुको पहिचान अरु नै केही हुने थियो । आफ्नो राज्यसत्ता गुमेपछि पहिचान जे भए पनि के फरक पर्छ र ? अथवा नेपाली नै बन्नु पर्छ भन्ने नै के छ र ? भन्ने सोच राख्ने हो भने त बेग्लै कुरा हो, जसको कुनै जवाफ दिईरहनु आवश्यक पर्दैन ।
पृथ्वीनारायणको कदमलाई अहिले आएर अनेकौं आग्रह, पूर्वाग्रहको चश्मा लगाएर विश्लेषण गर्नेहरु पनि छन् । मुख्यतः विभिन्न नेताहरुले वन्द शिविरमा आफ्ना कार्यकर्ताहरुलाई जे सिकाउँछन, जे सुनाउँछन, जे पढाउँछन्, जे घोकाउँछन् त्यसैलाई नै अन्तिम सत्य मान्ने, आफ्नो विवेक प्रयोग गरी त्यसको स्वतन्त्र विश्लेषण गर्ने कष्ट नउठाउने परिपाटी हाम्रो मुलुकमा यत्रतत्र भेटिन्छ । पृथ्वीनारायण पनि मानिस नै थिए, उनीबाट पनि जानेर वा नजानेर त्रुटीकमजोरी हुनु अस्वभाविक होइन । त्यसैले उनलाई पनि र कसैलाई पनि देवतासरह नै मान्ने वा दानवसरह नै ठान्ने प्रवृत्ति नितान्त गलत हो ।

कुनै पनि व्यक्ति, कार्य वा घटनाक्रमलाई मूल्याङ्कन गर्दा त्यसको समयको आधारमा गरिनुपर्छ, आजको वा भोलिको आधारमा होइन । पृथ्वीनारायणले कीर्तिपुरवासीहरुको नाक काटेको, जयन्त रानाको छाला काढेको इत्यादि कुराहरु अहिले उठाएर उनको आलोचना गरिन्छ । अहिलेको दृष्टिले हेर्दा ती कार्यलाई उचित मान्न सकिदैन । तर जति बेला ती घटना भए त्यतिखेर मानवअधिकारको मान्यता स्थापित भईसकेको थिएन र युद्धको सन्दर्भमा जे पनि जायज मानिने जमाना थियो । अहिले २१औं शताब्दीमा पनि विश्वमा चलिरहेका विभिन्न द्वन्द्व, युद्ध र आतङ्कका घटना हेर्दा पृथ्वीनारायणका पालामा भन्दा कम हिंसात्मक छैनन् । टाढाको दृष्टान्त लिईरहनु पर्दैन, २०५२ फागुन देखि १० वर्षसम्म हाम्रै देशमा चलेको ‘जनयुद्ध’ (जनताले जनता मार्ने युद्ध ?) का घटनाहरुले त पुराना सबै हिंसालाई गौण बनाई दिएको छ । यतिमात्र होइन, जनयुद्धले इतिहासमा भएका सबै हिंसा जस्तै भीमसेन थापाका पालामा भएका हिंसा, जङ्गबहादुरले गरेका कोतपर्व, भण्डारखाल पर्व आदि सबैलाई सामान्य र स्वभाविक घटनामा रुपान्तरित गरिदिएको छ । किनकि जनयुद्धले राजनीतिक शक्ति प्राप्त गर्न जस्तो हिंसा पनि गर्न सकिन्छ भन्ने किसिमको मान्यता स्थापित गरेको पाइन्छ । अझ भीमसेन थापा र जङ्गबहादुरले त तिनीहरुको मात्र सफाया गरेका थिए जो तिनका प्रतिद्धन्दी थिए र जोबाट उनीहरुलाई खतरा थियो, सत्ता सँघर्षसम्म कुनै पहुँच वा सरोकारै नभएका निर्दोष नागरिकहरुलाई उनीहरुले मारेका थिएनन् । तर जनयुद्धमा भने तिनै निर्दोष नागरिकहरुको सफाया गरियो ।
पृथ्वीनारायणले विशाल राष्ट्र एकीकरण गरेको होइन, गोरखा राज्यको विस्तार मात्र गरेका हुन् भनेर एकीकरणलाई अवमूल्यन गर्ने प्रयास पनि हुने गरेको पाइन्छ । यदि यो तर्कलाई मान्ने हो भने यो देशको नाम नेपाल नभई गोर्खा रहने थियो र राजधानी पनि काठमाडौं नभई गोर्खा नै हुने थियो होला ।
राणा शासनकालको कारण लामो समयसम्म नेपाल अशिक्षा र अज्ञानताको अँध्यारोमा गुम्सिन बाध्य भयो । फलस्वरुप नेपालको इतिहास नेपालीबाटै लेखिन सकेन । नेपालबाट लखेटिएका अँग्रेज पादरीहरुले आफ्नो स्वार्थअनुसार लेखेका इतिहास नै पछि इतिहास लेख्न अघि सर्ने नेपाली इतिहासकारहरुका लागि प्रमुख स्रोत र सन्दर्भ सामग्री बन्न पुगे । त्यस्तो कमजोर र एकपक्षीय आधारमा लेखिएका र लेखाइएका इतिहासको आधारमा मात्र विगतको लेखाजोखा गर्नु न्यायोचित हुँदैन कि ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




श्रीरामसिंहजीले लेख्नु भएको मलाई एकदमै समय सान्दर्भिक लाग्यो । सबैले मनन गर्नुपर्ने विषयनै हो । जे जस्तो भएनि हामिले हाम्रो सभ्यता कला साहित्य संस्कृतिलाई बिसर्नु हुँदैन । हाम्रो धरोहरलाई मास्नु हुँदैन । जय देश ।
very nice.