खित्का छाडेर हाँसे किताबमा सिद्धान्तहरु

नूतन/पुरातन

दीन पन्थी

हिजोलाई पुरातन भन्छौं हामीले र आजलाई नूतन । प्रत्येक आज भोलिमा बदलिदै जानु समयको नियम हो । भोलिले आजलाई पुरातन भन्ला । संसार समयगतिसँगै सर्दै जान्छ । सबै पुरातन पूर्व नूतन हुन् र सबै नूतन हुनेवाला पुरातन हुन् । सर्दै जाने संसारमा स्थिर र अटल केही छैन, सूर्य, चन्द्र, पृथ्वी सबै सर्छन् आ–आफ्नो गतिमा । प्रतिक्षण इतिहास बन्ने समयको दौडमा सबै पुरातन हुन्छन् । समय पछि नहेरेर कुँद्छ तर हामीले पछि पनि हेर्नुपर्छ ।

कालको गति नबुझ्ने अबुझहरुलाई लाग्दो हो यस संसारमा एक ममात्र नूतन हुँ अरु जम्मै हुन् पुरातन । वर्तमान अतिशय छोटो छ । हामी आयौं भूतबाट । आगतको यात्रामा हामी निस्केका छौं । हामी प्रतिक्षण भूत हुन्छौं, हामी प्रतिपल पुरातन हुन्छौं । हामी मान्छे हौं । हामी शरीरले मात्र बाँच्दैनौं मनले पनि बाँच्छौं, मस्तिष्कले पनि बाँच्छौं, कीर्तिले पनि बाँच्छौं, प्रीतिले पनि बाँच्छौं । हामीलाई वर्तमानले मात्र पुग्दैन, अलिकति विगत साँच्छौं, अलिकति आगत चियाउँछौं । विगत हाम्रो इतिहास हो, वर्तमान हाम्रो जीवन हो, आगत हाम्रो आशा हो । विगतका मधुर यादहरु सम्झेर, आगतका मधुर आशाहरु संगालेर हामी वर्तमानको तितोलाई भुल्छौं ।

यथार्थ त वर्तमान नै हो । समस्याले चाँपेको वर्तमानका भुक्तमानहरु सहने सामथ्र्य विगत र आगतका स्मृति र आशाले दिन्छन् । जीवन मृगमरीचिका न हो । हिजोलाई आजले भुल्यो भने भोलिलाई पर्सिले भुल्नेछ । को रह्यो र सधै ? कसका वैभवहरु चिरस्थायी बने र ? कसका शक्ति र सत्ता सधै रहे र ? रहने इतिहास हो, संस्कृति हो, कथा हो । कीर्ति हुन् रहने, स्मृति हुन् शेष रहने । मान्छे त माटो हुन्छ युग नबित्दै। कसले हेर्छ चिहान खोस्रेर ? विगतको भव्यता र आगतको नव्यता–सम्झेर–कल्पेर बाँच्नुपर्छ मान्छेले तितो रुखो वर्तमानमा ।

कसैले भन्छन्– उहिलेका कुरा खुइलिए । पुराना कुरा सम्झेर अब काम चल्दैन । तर म भन्छु उहिलेका कुरा खुइलिएका छैनन् बरु हामी खुइलिएका छौं वा खुइलिदै छौं प्रतिपल कालको मुखतिर धकेलिंदै छौं । मान्छेको इतिहास खुइलिन्न । उहिलेको पृथ्वी हो, आज बनेको होइन । जसमाथि हामी बाँच्छौं, मर्छौं । हाम्रो सृष्टि, स्थिति र लय यहीं हुन्छ । हाम्रो जन्मस्थान र चिहान यहीं हो । हामी उफ्रेर मंगल पुगे पनि हाम्रो वासस्थान यहीं हो । के हाम्रो वासस्थान खुइलियो ? के हाम्रो पितापुर्खादेखिको यो कर्मभूमि विलीन भयो ? के पृथ्वीले प्राणीलाई अन्न, जल, फलफूल दिन छाडिन् ? कसरी पुरातन, बेकम्मा भएर खुइलिइन् त पृथ्वी ?

उहिलेको हो वायु अहिलेका मान्छेले बनाएका होइनन् । उहिलेकै हावामा सास फेर्छन् क्रान्तिकारी आधुनिकहरु पनि । उहिलेकै पानीले जीवन धानिएको छ हाम्रो । यी हिमाल, यी पहाड, मान्छेले उठाएका हुन् र ? यी मैदान मान्छेले सम्याएका हुन् र ? यी खोलानाला र सागरहरु मान्छेले खनेका हुन् र ? यी चन्द्र, सूर्य, ताराहरु आज बनेका हुन् र ? यी सब पुरातन हुन् । नूतन केही छैनन् । जुन धर्तीमा हामी बामे स¥यौं त्यो हामी नजन्मदै थियो । जुन आकाशमा हामीले सास फे-यौं, त्यो हामी नजन्मदै थियो । मान्छेले नयाँ पृथ्वी, नयाँ आकाश, नयाँ वायु लिएर यहाँ आएको होइन र लिएर पनि जान्न । उहिलेको केही पनि खुइलिएको छैन । बरु हाम्रो बुद्धि खुइलिएको छ, विवेक खुइलिएको छ । विगतका जम्मै भव्यता, सभ्यता र संस्कृति हराइदिने हो भने हामी बुंगा हुन्छौं, बर्बर हुन्छौं । पुर्खाले हामीलाई भाषा दिए । भाषा नूतन होइन, पुरातन परम्परा हो ।

Ad

हाम्रो वाणी हामीले बनाएको होइन । अग्रजबाट सिक्यौं हामीले भाषा । भाषा नभए हामी बाँदर झैं हुन्थ्यौं सभ्यता र संस्कृति नभएका । भाषामै उनिएर आएका हुन्– सभ्यता, संस्कृति, कला कौशल र ज्ञानविज्ञानहरु । हामीले ज्ञानविज्ञान, संस्कृति, कलाकौशलको विराट् विरासत पाएका छौं अतीतबाट । हिंजोले सिकाउँछ सभ्यताको पाठ आजलाई । हिजोलाई लत्याएर कोही सभ्य बन्न सक्दैन आज । आजको सभ्यता हिंजोको जगमा उभिएको छ । सभ्यता र संस्कृति परम्परागत हुन्छन् । परम्पराबाट विकृति पनि आउँछन् । निफनेर फाल्नुपर्छ विकृतिलाई भूस झैं । स्याहार गरेर राख्नुपर्छ सस्कृतिलाई चामल झैं ।

सभ्यतामा थपिने नूतन आयामहरुलाई स्वागत पनि गर्नुपर्छ । बेकम्मा भएका प्रचलनहरुलाई बिदाइ पनि गर्नुपर्छ । प्रत्येक पिंढीमा परिवर्तन हुन्छ, त्यो युग धर्म हो । त्यसलाई आत्मसात् गर्नुपर्छ । गुणलाई ग्रहण गर्ने गुणग्राही बन्नुपर्छ मान्छे । अवगुणसितै गुणलाई हु¥र्याउने प्रवृत्तिले हामीलाई समृद्ध र समुन्नत बनाउँदैन । मानवसृष्टिको प्रारम्भमा मान्छे नाब्गै थियो । ढुंगाका हतियार बोकेर वन–वनमा भौंतारिन्थ्यो । उसँग कपडा थिएन, भाषा थिएन, सभ्यता थिएन, संस्कृति थिएन, ज्ञानविज्ञान थिएन, कलाकौशल थिएन, आचारविचारको नैतिकता थिएन । यी जम्मै मान्छेले आर्जेको हो पछिबाट ।

आजसम्मका उपलब्धिहरु पनि पूर्ण होइनन् । पछि थपिदै जालान् उपलब्धिहरु । नूतनताको नाममा पुरातन धरोहरहरु भत्काउने होइन । हो विकृतिहरु राख्ने होइन । आफ्नै शरीरको पनि मल फाल्नुपर्छ । सतीप्रथा थियो, हरायो । दासप्रथा थियो, हरायो । छुवाछूत प्रथा छ नराम्रो, त्यो पनि हराएर जानेछ । कुविचार, कुप्रथा, संकीर्णता हराएर जानेछन् सबै । संस्कृति, सभ्यता, उदारता जोगाएर राख्नुपर्छ सबै ।

पुरानो हो भनेर सुन फाल्नु हुँदैन, नयाँ हो भनेर कसिंगर राख्नु पनि हुँदैन । हामीले विगतबाट धेरै राम्रा उपहार पाएका छौं । चीनको ग्रेटवाल, भारतको ताजमहल, मिश्रका पिरामिडहरु सबै हिजोका उपहार हुन् आजलाई । होमर, भर्जिल, वाल्मीकि, व्यास, कालिदास, गेटे, दाँते, टाल्सटाय, गोर्की, प्रेमचन्द, सम, लेखनाथ र देवकोटाजस्ता स्रस्टाहरुका कालजयी सृजनाहरु उपहारस्वरुप पाएका छौं हामीले हिंजोबाट । सुकरात, अरस्तु, चाणक्य, कपिल, पतञ्जलि, बुद्ध, रुसो, माक्र्स र गान्धीका विचारहरु के हामीलाई विगतले दिएका सम्पत्ति होइनन् ? भिन्ची, मार्कोनी, एडिसन, न्यूटन र आइन्स्टाइनका आविष्कारहरु के आजको हाम्रो सभ्यताका आधार होइनन् ? के सम्पूर्ण मानवसभ्यता आज एक दिनमा प्रकट भएको हो ?

हाम्रो विगत भव्य छ । यस्तो विगतलाई बोक्रे बुद्धि र संकीर्ण दृष्टिले तिरष्कार गर्नु के कृतघ्नता होइन ? कृतघ्नताको उपचार कहाँ छ ? होड चलेको छ अहिले नयाँ नेपाल बनाउने । बनाएर बन्ने होइनन् नयाँ र पुराना । समयक्रममा बन्छन् सबै नयाँ र पुराना पनि । सबैका आउँछन् बैंस । बाँचे बन्छन् सबै बूढा । नयाँ नेपालमा पनि पुराना चलन छन् धेरै । खुट्टाले टेकेर हिँड्छन् सबै । आँखाले हेर्ने, कानले सुन्ने, मुखले बोल्ने पुरानै चलन छ । फेरिएको देखिन्न कतै। उनै पहाड, उनै हिमाल, उनै तराई, उनै नदीनाला, उनै लेकबेंसी । म त उस्तै देख्छु नयाँ नेपाललाई । दृष्टिभ्रम भएको हो कि मलाई । हो, परिवर्तन भएको छ । हो, क्रान्ति भएको छ ।

सिंहदरबारमा बस्ने मान्छेका अनुहारहरु फेरिएका छन् । कुर्ची, टेबुलहरु फेरिएका छन्, कार्पेट फेरिएको छ । बानी फेरिएका छैनन् । नागनाथका ठाउँमा सर्पनथ बसेका छन् । बोतल फेरिएको छ, रक्सी उही हो । बोक्रो फेरिएको छ गुदी उही हो । मान्छे फेरिएका छन् प्रवृत्ति उही हो । भोकहरु घटेनन्, बढें । भ्रष्टाचार हटेनन्, डटे । घोषणा, भाषण, गोष्ठीबाट उदायो नयाँ नेपाल । बोलीमा नूतनता आयो, व्यवहार पुरातन छ । कतै भुखमरीले मान्छे मरे, कतै दिनहुँ भोज भए । गरीबी हटाउन यानहरु उडे आकाशमा ।

गरीबी आकाशबाट देखिएन । भ्रष्टाचार माथिबाट देखिएन । विमानमा उड्नेहरुका गरीबी हटे । पृथ्वीबाट विमान उडेको हेर्नेहरुका गरीबी बढे । भोकको खेती गरेर भोग जुटाउने नूतन चलन छ नयाँ नेपालमा । खित्का छाडेर हाँसे किताबमा सिद्धान्तहरु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button