केपी ओली, शेखर कोइराला र राजेन्द्र लिङ्देनबारे के भन्छन् अरविन्द रिमाल ?

लेख/विचार

हालैका तीन राजनीतिक महासंङ्ग्राम ! तीन परिदृश्य !! अनि एकै साझा निष्कर्ष- विचार, चिन्तन तथा परिवर्तनकाे आँटिलाे उद्यम !!! अतिशयाेक्ति विना भन्नुपर्दा, तथ्य- सत्य यही हाे- अत्यन्त सार्थक एवम् संक्षिप्तरूपमा । तर यसले अनिवार्यरूपमा विस्तारपूर्वक चर्चा, विश्लेषण तथा निष्कर्षकाे अपेक्षा गर्दछ । तर याे जिज्ञासासहित- नेपालकाे राजनीतिमा व्यक्ति हाेइन, विचार कहिले प्रभावी हाेला ?

पश्चिमी राजनीतिकशास्त्रीहरु राजनीतिज्ञ वा तिनका कार्यकलापलाई तीन किसिमका नाम दिनेगर्छन्- वामपन्थी, मध्यमार्गी तथा दक्षिणपन्थी । सजिलाेका लागि याे आलेखमा पनि त्यही शैली पछ्याउँदै संयाेगवश, एकै समयजसाे भएका ती तीनाेटै दलका महाधिवेशनका मुख्य चरित्र तथा प्रमुख पात्रकाे चर्चा गरिन्छ ।

वामपन्थी:

नेकपा-एमाले दशाैँ महाधिवेशन र त्यसका ऐतिहासिक सिद्धान्त निरूपणकर्ता केपी शर्मा ओली पञ्चायत निरङ्कुशताविरुद्ध गाैरवशाली वामपन्थी संघर्षका अनेक अभियन्तामध्येका एक, ‘हिन्दुवादी’ भनिटाेपलिने तर वस्तुत: अघिअघिका सबै भारतीय सत्तापक्षहरुकाे नेपालविरुद्ध लक्ष्यित हैकमवाद- विस्तारवादकै रणनीतिलाई निरन्तरता दिने भारतीय जनता पार्टीकाे सरकारले नेपाली जनतामाथि दशैँ-तिहारकाे मुखमा लगाएकाे आसुरी नाकावन्दीविरुद्ध नेपालकाे प्रतिराेध संग्रामका प्रधानसेनानी, पछि आफ्नै नीतिगत दाेष तथा व्यावहारिक त्रुटिका कारण याे टीकाकारबाट अनेक पटक तीव्ररूपमा आलाेचित तर हाल फगत द्वेष, ईर्ष्या, चरित्रहत्या आदिका निन्दनीय राजनीतिक- ‘बाैद्धिक’ – मिडिया प्रहारका केन्द्रविन्दु भइकन पनि इतिहासमा भईपरिआएकाे दृष्टिदेाष, विकृति तथा जडसूत्रवादलाई चिर्दै मुलुककाे सङ्गठित राजनीतिक आन्दाेलनरूपी बागमती नदीकाे मुहान बागद्वार १९९३ सालमा स्थापित नेपाल प्रजा परिषद भएकाे र त्यस क्रान्तिकारी उद्यमका अभियन्ता त्यही परिषदले १९९७ सालमा छरेका राणा पारिवारिक शासनतन्त्रविरुद्ध चार पर्चा भएकाे सैद्धान्तिक यकीन आफ्नाे पार्टीको दशाैँ महाधिवेशनकाे राजनीतिक कार्यक्रममा सर्वसम्मत तवरले लिपिबद्ध गर्नेगराउने सिद्धान्तकार भए– नेकपा-एमाले अध्यक्ष केपी शर्मा ओली !

माओवादी आतङ्कवादसँगकाे खाेटाे एकता र पार्टीभित्र हाेलीवाइनवादी नेतृत्व तत्त्वका घातक चलखेल नदेख्नु वा त्यसकाे वेवास्ता गर्नु, अशिष्ट एवम् याेग्यताहीन सल्लाहकारहरुबाट माेहित हुनुजस्ता अरु कमीकमजाेरी कम गम्भीर त हाेइनन् तापनि आजकाे सन्दर्भमा ओलीका सामु अरु सबै राजनीतिक दलका टाउकेहरु नक्कली मुजुरसम्म पनि बन्न नसकेका लुते मुसाका छाउरा देवानजस्ता मात्र देखिन्छन् । यस प्रकारले उनी वर्तमान राजनीतिक कालखण्डमा एक धरहरे व्यक्तित्त्वकाे रूपमा स्थापित छन् ।

मुलुकमा कम्युनिष्ट भनिने राजनीतिक दलहरुमा आफूभन्दा अरुलाई क्रान्तिकारीहरु गन्दै नगन्ने अहिलेसम्म जुन अहंकारी जडसूत्रवाद छ, त्यसलाई छाडेर नयाँ सत्यविचारलाई स्वीकार्ने समूहमा प्रधान, अङ्ग्रेजीमा भन्नुपर्दा, First Among the Equals देखिए, यिनी । तीताे, गुलियाे जे हाेस्, आजकाे सत्य यही हाे, अब ओली तथा नेकपा- एमालेलाई ‘रहित’ गरी वामपन्थकाे परिकल्पनासम्म पनि घाेर आत्मघाती साेच हाे, holy wineले बिटुलाइएकाे साेच हाे, ‘चरम वामपन्थ बाल व्याधि’ हाे, भने राष्ट्रिय राजनीतिकाे दृष्टिबाट घाेर सङ्कीर्णतावादी,राष्ट्रघाती साेच हाे । याे चेत सबैले राखे, देशकाे भलाे हुनेछ ।

यति लेख्दालेख्दै पनि थप्नैपर्ने एउटा अर्काे महत्त्वपूर्ण कुरा हाे, नेकपा- एमालेले सैद्धान्तिकरूपमा स्थापित गर्नुपर्नेे अर्काे क्रान्तिकारी अवधारणा, अर्थात्, राष्ट्रियता एवम् राष्ट्रिय विभूतिहरुप्रति सुस्पष्टता । नेकपाका संस्थापक- महासचिव पुष्पलालले आफ्नाे नेतृत्वकालमा यी विषयमा सूत्रात्मक तथा संक्षिप्त तर सकारात्मक अवधारणासहित आँटिलाे व्यावहरिक उदाहरण प्रस्तुत गरेकाे स्मरणीय छ ।

Ad

पुष्लालले आफू अन्तर्राष्ट्रियतावादी कम्युनिष्ट भइकन पनि राष्ट्रियता तथा देशकाे अखण्ड सार्वभाैमसत्ताकाे संरक्षण गर्ने दायित्वनिर्वाह भारतीय सत्ताकाे नेपालप्रति हस्तक्षेप र हैकमवादी व्यवहारकाे दृढ तथा निरन्तर विराेधबाट गर्दै गए। उनले नेपाल प्रजा परिषदसँग सम्युक्त माेर्चा गरेकाे ऐतिहासिक घटनाक्रमबाट विचार गर्दा उनी यसभन्दा निश्चितरूपमा अघि बढ्नेथ्ये, तर पार्टी भित्रैका षडयन्त्रकारीहरुले उनलाई पदच्युत गराइछाडे, सम्युक्त माेर्चा पनि टिक्न दिएनन्। अर्काे उल्लेखनीय कुरा, काल, समय तथा परिस्थिति पनि उनकाे लागि उपयुक्त थिएन– सानाे देशकाे, कान्छाे कम्युनिष्ट पार्टीले यस्तो सर्वथा नाैलाे अवधारणा अघि बढाउनु सरासर दुस्साहसिकता ठहराइनेथ्याे ।

अब नेकपा- एमाले आफूमाथि बाह्य खटनपटन नभएकाे कारण यसबारे सकारात्मक तवरले खुलेर आउनसक्छ ! तर कहिले ? ओली नेतृत्वकालमा भए सहज, नत्र पछिकामा जडसूत्रवादीहरुकाे धत्ताेसराप, लुते स्यालहरुकाे हुयिया आदि सामना गर्ने कत्तिकाे आँट, ह्याउ, कर्तव्यवाेध हुनसक्ला– यसै भन्न सकिन्न ।

याे पनि चेत रहाेस्, राष्ट्रियताकाे, विशेषगरी साना देशकाे राष्ट्रियताकाे अवमूल्यन ठूलाबडा देशका ‘सिद्धान्तकार’ले आफ्नाे राष्ट्राहंकारवाद लाद्न रचेका हुन् जसलाई वामपन्थी शिविरभित्र पनि अराजतावादी सिद्धान्तका रूपमा खूबै चलेकाे वा चलाइएकाे छ । तर देशभक्ति सबै वादहरुमा सर्वाेपरि छ, हाे र सदा हुनैपर्छ !

दक्षिणपपन्थी:

अब राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन र परिवर्तनकाे आह्वानसहित आएकाे युवा अध्यक्ष राजेन्द्र लिङ्देन ।

दरवारद्वारा प्रायाेजित भनिए पनि यी व्यक्ति, गाेप्य मतदानबाट निर्वाचित भएका, दलभित्रका तीन जड पुरुषहरुलाई सत्ताच्युत गरिदिने भएका नयाँ राजनीतिक हस्तिका रूपमा अगाडि आएका छन् । अहिले यिनी सांसद पनि छन् । राष्ट्रियता र देशभक्तिले युक्त हिन्दुधर्म प्रधान मुलुक हुनुपर्ने एजेण्डा छ, यिनकाे । राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्रवादी संविधान पनि मान्ने, अब आएर राजतन्त्रकाे पुनर्स्थापनाकाे माग गर्ने दहीच्यूरे राजनीतिबाट बेग्लै चिनारी हुनेभएकाे राजनीतिक शक्ति हाे भन्ने दावी पनि यिनका् र यिनका ओैपचारिक- अनाैपचारिक प्रवक्ताहरुकाे छ ।

बाह्य शक्ति केन्द्रकाे ठाडाे निर्देशनमा वर्तमान संविधानकाे प्रत्येक हरफ तथा पानालाई हाेलीवाइनले बिटुलाएर पूरै नेपाली समाजकाे अधिकाँश समूहलाई ‘अन्य’मा दर्नेमा यस दलकाे पनि निर्विवाद हात रहेकाे हाे । तर संविधानलाई जातिवादी, साम्प्रदायिकतावादी तवरले अमान्य ठहराई खुला देश विभाजनकाे माग गरी संविधान जलाउने जस्ता अराष्ट्रिय दुष्कर्म गर्ने दल त, ‘संविधान प्रदत्त विचार स्वतन्त्रता’काे अकाट्यताकाे आधारमा संसदमा स्थापित छन् र सत्ता गठबन्धकका अङ्ग बन्न सक्छन् भने संसदमा गतिलै उपस्थिति भएकाे राप्रपाकाे नयाँ नेतृत्व अहिले आफ्नाे नयाँ परिवर्तित विचारबाट अघिबढ्दाकाे चुनाैती पनि राजनीतिक समाजलाई स्वीकार्य नभई सुख्ख छैन । लेबुल भिराउँदैमा कसैकाे विचार अरु कसैलाई अवाञ्छित हुनुहुँदैन ।

यस प्रकारले राप्रपाकाे नयाँँ नेतृत्वले आफ्नै परिभाषाकाे भए पनि एउटा नयाँ परिवर्तनकाे वैचारिक झण्डा उठाएकाे छ ।

चार वर्ण, छत्तीस जातकाे सबैले आर्ज्याका याे सुन्दर शान्त विशाल मुलुकमा हरेक रूपरङ्गका वैचारिक फूल शान्तिपूर्ण ढङ्गले फुल्न र फक्रिन दिनुपर्छ । अनावश्यक फुल आफैँ ओलाउने छन्, यसमा द्विविधा हुनुहुन्न ।

तथापि राप्रपा नयाँ अध्यक्षले पूर्व राजासँग आफ्नाे अन्तरङ्ग सम्बन्ध नहुने बताएकाे खबर प्रेषित भए पनि, उनी राजतन्त्रबारे खुला, स्पष्टरूपमा आउनैपर्ने बाध्यता छ । कुनै दललाई बाह्य प्रायाेजित हुँदाहुँदै पनि देश विखण्डनकाे माग गर्ने, कुनै दललाई उही बाह्य शक्तिकाे स्वार्थमा हत्यावादी राजनीति गर्ने ‘अधिकार’ छ भने राप्रपा देशकाे भविष्य तथा राजतन्त्रबारे आफ्नै अवधारणा राख्ने अधिकारबाट किन र कसरी बञ्चित हुनुपर्ने ?

अतः राप्रपा नेतृत्वसामु पनि शब्दाडम्बरी हाेइन, ठाेस विचार- चिन्तनका साथ अगाडि आउनुपर्ने चुनाैती छ ।

मध्यमार्गी:

नेपाली काँग्रेसकाे १४ओैँ महाधिवेशन र जर्जराएकाे नेतृत्वलाई हटाई परिवर्तनकाे जब्बर चुनाैती दिई अगाडि आएका अग्ला राजनीतिक व्यक्तित्व देखिए, डा. शेखर काेइराला !

घात, आघात, विश्वासघातले चरितार्थ भएकाे महाअधिवेशन भएकाे भनी राजनीतिक पर्यवेक्षक बताउँछन्, यसलाई । साथै, नेकाँ पूरै जडताग्रस्त ठानिएकाे सङ्गठन नभएकाे पनि टडकाराे देखियाे ।

कुनै समयमा सर्वथा स्वेच्छाचारी देखिएकाे सत्तापक्षसित नजिकै भए पनि सत्ता लाभ- सविधाबाट वञ्चित भएका, परिवारभित्रका भए पनि आफ्नै वा सहयाेगी ठानिएका अरु परिवारवादीहरुद्वारा ‘वरियता’काे सामन्ती पुरेतवादी मनाेवृत्तिकाे आडमा छिर्के हानी पछारिए पनि फिनिक्स चराेसरह राजनीतिक क्षितिजमा ठूलै आयाममा उदाएका पात्र भएकाे देखिए, शेखर काेइराला ! यिनी अध्यक्षमा निर्वाचित भएका भए यिनकाे परिवर्तनकाे एजेण्डाले कसरी व्याहारिकरूप लिन्थ्याे भन्ने प्रश्न सर्वथा काल्पनिक हुनेछ । तथापि यिनकाे परिवर्तनकाे शंखनाद मुलुककाे समग्र राजनीतिक वृत्तमा नगुञ्जिए पनि नेकाँभित्र त आगामी दिन, सप्ताह, महीना र वर्षाैँसम्म पनि नगुञ्जिरहन सक्दैन ।

नेकाँकाे बूढाे रूख आफ्नै मालीहरुका चरम हेलचक्याँइका कारण जर्जराउँदै गएकाे देखिए पनि यस्ताे कडा शिशिरमै त्यसमा नयाँ पालुवा लागेकाे देखियाे । तर बूढाहरु त बूढै भए । तिनले नव पालुवालाई आफ्नाे वंशवृद्धिमा सहायक कारक तत्त्व नठानेर, आफ्नाे जराे उखेल्ने विषाक्त झारपात ठानेकाे पाइयाे । फलस्वरूप, यी नयाँ वृद्धिका मालीलाई, शेखर काेइरालालाई सिद्ध्याउनका लागि यिनका विरुद्ध चक्रव्यूह रचे, आफ्नैले आफ्नाविरुद्ध– यसपटक त नारी सहभागितासहित ! तर, पुराणकथा विपरीत यी ‘अभिमन्यू’ शारीरिक रूपले सजीव छन्, विचाररूपमा पनि जीवित रहिरहने अपेक्षा गरिन्छ ।

अब यस घटनाक्रमलाई यसरी पनि हेराैँ ।

परिपक्व राजनीतिक विश्लेषक अनार सिँह कार्की नेकाँमा देखिएकाे यस तूफानी घटनाक्रमबाट मेशिन नै बिग्रेकाे नेकाँ संयन्त्रलाई नयाँ कालीगढ हाेइन, माैलिक उपाय आवश्यक भएकाे ठाेकुवा गर्छन्! हुन पनि, नेकाँ जस्ताे सङ्गठनकाे मन-मुटु- मगज जम्मै जखमी भएकाे ओैँल्याउँछन्, जानकारहरु । नत्र भने २००७ काे जस्ताे युगान्तकारी परिवर्तन ल्याउने क्रान्तिकाे नेतृत्वकारी दल ,२०४६-४७ सालकाे प्रजातन्त्र पुनर्स्थापनाकाे विश्व इतिहासमै अद्वितीय जन आन्दोलनलाई सर्वाेच्च कमाण्डरकाे नायकत्व दिने दल, नेपाललाई नयाँ संविधान दिई सर्वथा उल्लेखनीय आम तथा स्थानीय निर्वाचन गराउने सम्युक्त सरकारकाे नेतृत्व गर्ने दल प्रजातन्त्र, स्वतन्त्रता, समानता, जनमङ्गलकल्याणकाे प्रतीक भएकाे भनिने चारतारे दल अहिले आफैँँ मूल संरचनाकार भएकाे संविधानकाे मुटु् झिकेर “परमादेशीय” हुकुमप्रमाङ्गीबाट बनेकाे गठबन्धनीय लाचार सरकारकाे ‘नेतृत्व’ गर्न पुग्ने थिएन । अध्यक्षीय प्रत्यासी शेखर काेइराला यस गठबन्धनबारेे खुलेर आएकाे नभए पनि त्यही चारतारे झण्डा ठडाइएकाे, तर एउटा पाङ्ग्राे लाचार अकर्मण्यता, अर्काे पाङ्ग्राे राजनीतिक आतंकवाद, तेस्राे पाङ्ग्राे दलीय विश्वासघात र चाैथाे पाङ्ग्राे समाजवादी बिल्ला भिरेकाे साेशल फासिज्म भएकाे जर्जर माेटरगाडीलाई स्यालले हाँकी पञ्च बूढाबूढीले धकेलेर परिवर्तनकाँक्षी याेद्धालाई सिद्ध्याउनमा प्रयाेग भएकाे दारुण दृश्य देखिने थिएन । तर पनि यसरी घाइते बनाइएका शेखर हारेर पनि विजयी भएका छन् भने मारीच, अन्धकारद्वय, कङ्गाल र सुपर्णखासेवित स्याल ‘जितेर’ पनि पछारिएका छन् भन्ने रूपकले जन्म लिएकाे देखिन्छ ।

जेहाेस्, नेकाँकाे दलीय राजनीति अब उप्रान्त मठाधीशिय पाराले चल्ने वा चल्नसक्ने, निश्चितरूपमा, देखिन्न । झन् त्यसमा ‘अविजित’ व्यक्ति पार्टी विधानबमाेजिम स्वत: कार्यसमिति सदस्य हुनहुँदा उनीसँग आफ्ना वपचार सुस्पष्टतासित राख्ने, तिनकाे पक्षपाेषण गराउने महत्त्वपूर्ण सुअवसर छ । अनि युवा ‘लडाकाहरु’ देशका परम हितका प्रश्नहरुमा कत्तिकाे हाेश राख्दछन् भन्ने जाँच्न- बुझ्न पनि यति सहायक हुनेछ । किनभने तीमध्ये कसैबाट राष्ट्रघाती विचार प्रस्तुत भएकाे पाइन्छ । नेपालकाे परम राष्ट्रिय हितमा भारतीय सत्तासित पारस्परिक लाभकाे सम्बन्ध राख्ने- बढाउने कार्यमा तथा मुलुकलाई विदेशी शक्तिकेन्द्रकाे सैनिक गठबन्धनमा ल्याउने र उत्तरी महाशक्तिराष्ट्र छिमेकी चीनसँग शत्रुता गराउने खुला रणनीतिक चाल भएकाे MCC ‘सम्झौता’ वा ‘सहयाेग’ भनिने तर वस्तुत: बन्धनकारी समर्पणपत्रकाे विराेध गर्नमा चुक्नु राष्ट्रलाई कदापि मान्य नहुने हेक्का रहाेस् ।

यति सबै भन्दाभन्दै, निचोड के आँउछ भने नेकपा- एमालेमा ‘वृद्ध’ पुस्ताका लागि उत्तराधिकारी तथा युवा पुस्ताबाट गन्तव्यप्राप्तिका लागि समुचित सहयाेगकाे पूरापूर अनिवार्यता छ भने नेतृत्व पङ्क्तिले पनि खुला प्रश्न एवम् अबाधित छलफलकाे अनिवार्यता स्वीकार्नै पर्छ ।

राप्रपा तथा नेकाँ नयाँ पुस्तालाई भने बूढाहरुलाई गफ गर्न दिएर आफू कर्मठताकाे क्षेत्रमा अगाडि बढ्न सहज छैन । साथै, नेकाँका लडाका युवाहरुले जाेशमा राष्ट्रिय हितकाे हाेश मिलाएर लम्कन परम आवश्यक छ । कतै प्रजातन्त्रवादलाई आयातीत ‘लाेकतन्त्रवाद’ले नष्टप्राय गर्न नपाओस् भन्ने जागरुकता यिनमा सदा रहिरहाेस् ।

सर्वथा सकारात्मक पक्ष अहिलेकाे राजनीतिक घटनाक्रमकाे के छ भने आफ्नाे राजनीतिक इतिहास मूलरूपमा बुझ्ने र दलभित्र नयाँ नेतृत्व तथा विचार- परिवर्तनकाे शंखनाद घन्किएकाे छ ।

शान्तिपूर्णरूपले, स्वतन्त्रतापूर्वक विचार प्रवाहित भइरहुन्, परिवर्तनकाे लहर बढ्दै जाओस् तथा जय नेपाल राष्ट्रिय नारा बनाेस् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button