धर्म-संस्कृति हराउँदा हाम्रोपन रहन्न

रुपा पौडेल

धर्म आफ्नो पहिचान हो, अस्तित्व पनि हो । त्यसैले धर्म छोड्न हुँदैन । आफ्ना पुर्खाले मानिआएको धर्म छोड्दा अफ्नो पहिचान हराउँछ । अस्तित्व हराउँछ । धर्म हराउँदा संस्कृति हराउँछ, संस्कृति हराउँदा हाम्रोपन हराउँछ ।

हाम्रोपन हराउँदै जाने हो भने एकदिन हाम्रो देश पनि हराउँछ । किनभने धर्म र संस्कृति बिनाको देश प्राणविनाको शरीरजस्तै हो । प्राण नभएको शरीरलाई मुर्दा भनिन्छ । त्यो धेरै दिन टिक्दैन । त्यस्तै धर्म र संस्कृति बिनाको देश धेरै दिन टिक्दैन ।

सनातन धर्म भनेको परापूर्वकालदेखि चलिआएको मानवीय सद्गुणरूपी धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति हुँदैनन् । साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुनुहुन्छ ।

सनातन धर्म विश्वको सबैभन्दा पुरानो तर वैज्ञानिक धर्म मानिन्छ । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ ।

धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो, उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथ्वीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सास भर्नु भनेजस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो ।

धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुनजान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ । वेदले दिएको शिक्षा अनुरुप चलेको समाज र सामाजीक संस्कारहरु नै वैदिक हुन् । त्यसैले प्राचीनकालदेखि वैदिक संस्कारअनुसार चलिआएको धर्म नै वैदिक सनातन धर्म हो ।

वेद भनेको ज्ञानको भण्डार र ईश्वर प्राप्तिको सुमार्ग हो । यही कल्पको तेत्रायुगमा नेपालको दमौलीमा जन्मनुभएका वेदव्यास ऋषिले ४ वेदलाई संस्कृत भाषामा लिपिबद्ध गरिदिनुभयो । जगत कल्याणको निम्ति लेखिएको चार वेद भित्र योग, ईश्वर ध्यान, असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र, अर्थशास्त्र, कला–संगीत साहित्य, आयुर्वेद, वैज्ञानिक आविष्कारहरु आदि इत्यादी सम्पुर्ण कुराहरु उल्लेखित छन् । सभ्यताको पहिलो साहित्य, वैज्ञानिक आविष्कारहरुका पिता र सम्पूर्ण धार्मिक ग्रन्थहरुको मूलश्रोत वेदलाई नै मानिन्छ ।

Ad

धर्म धारयते इति धर्म भनेर गीतामा भनेझैं धर्म भनेको आफ्नो गुण धारणा गर्नु हो– उत्तरदायित्व बहन गर्नु हो । जस्तो कि पानीको धर्म शितलता दिनु प्यास मेटाउनु हो । आगोले सानो ठूलो, धनी गरिब यो या त्यो भन्दैन, डढाउँदछ किनकि आगोको धर्म नै पोल्न, डढाउनु हो । त्यसैले बुझ्नु जरुरी छ सबैले आआफ्नो गुण धारण गरेर कर्तव्य र दायित्व निर्वाह गर्नु नै धर्म हो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button