तारन्तार क्रान्ति किन ?
प्रदीप उप्रेती
आन्तरिक द्धन्द्धको चपेटामा परेको मुलुकमा राजनीतिक सफलतापश्चात हरेक क्षेत्रमा सकारात्मक लक्ष्य अनुरुपको सही गन्तब्य निर्धारण गर्ने वातावरण तयार हुने देखिन्छ । किनकी घरेलु द्धन्द्धको प्रमुख कारक तत्व भनेकै मुलतः अशिक्षा, अज्ञानता, गरिवी एवं जनचेतनाको अभावले निम्ताएको प्रभावलाई लिन सकिन्छ । प्रस्तुत अवस्थापश्चात प्राप्त हुन आउने नतिजाको आधारमा सम्बद्ध राष्ट्र सफल वा असफल कुन कोटीको हो भन्ने कुराको यथार्थ पहिचान गर्न सम्भव रहन्छ । राजनीतिमा होमीने समुह लगायतका हरेक समुह विशेषलाई निश्चित रुपमा अर्थको आवश्यकता पर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । किनभने अर्थनीति र राजनीतिको समन्वयात्मक सहसम्बन्धको प्रतिफल नै आर्थिक विकास र समृद्धिको मुलद्धार समेत हो भन्दा फरक नपर्ला ।
तसर्थ शासकिय स्वरुपको उच्चतहमा आसिन रहदै राजनीति एवं अर्थोपार्जनको लागि लोकतान्त्रिक पद्धतीलाई आत्मसाथ गर्ने राष्ट्रहरुले निर्वाचनजन्य पद्धतीय ब्यवहारलाई आत्मसाथ गर्ने गरेको पाईन्छ । निश्चित रुपमा लोकतन्त्रको आत्मा भनेको सफल निर्वाचन पद्धती नै हो यसमा हामीहरु कसैको पनि भिन्नमत रहन सक्दैन । प्रस्तुत पद्धतीय ब्यवहारलाई आत्मसाथ गर्दै शासकिय सत्तामा पुग्न सफल रहने लोकतान्त्रिक समुहले जनविश्वास माथि कुठाराघात गर्दै निर्वाचनको समयमा प्रकट गरिएको द्धिविधायूक्त चारीत्रिक विशेषतालाई मुल रुपमा राजनीतिक भ्रष्टाचारको सूत्रधार समेत मान्न सकिनेछ ।
नागरिक-राज्यविच जनअभिमतद्धारा निर्देशित प्राप्त भएको शक्तिको उन्मादले लोकतान्त्रिक समुहको नैतिक इमान्दारीताको प्रश्नमा अपवादबाहेक अन्य अवस्थामा गतिरोधजन्य ब्यवहार उत्पन्न भएकै कारण सम्बद्ध राजनीतिक समुहको ब्यवहारमा समेत अनैतिकता, आर्थिक अपराध एवं सत्ता लोलुपताका कारण निहित दलिय स्वार्थपूर्ति गर्ने प्रवृतिको विकासले राजनीतिक भ्रष्टाचारजन्य गतिविधीले मात्र प्रोत्साहित हुने अवसर प्राप्त गर्नेछ ।
तत्पश्चात जनअभिमतमाथि तुषारापात गर्दै राजनीतिक वेइमानीको आचरण प्रस्तुत गर्ने अवस्था प्रारम्भ हुने देखिन्छ । उक्त तथ्यको सन्र्दभमा लोकतान्त्रिक समुहलाई प्रष्ट ज्ञात रहदा रहदै पनि आफ्नो समुहको लाभहानीको खातिर राजनीतिक बेइमानी गर्न हौसिने प्रवृतिको विकासले मुलुकमा चरम राजनीतिक बेथिती एवं भ्रष्टाचारको जन्म हुने तथ्यलाई सहजै नजरअन्दाज गर्न मिल्दैन । नेपालको राजनीतिक भ्रष्टाचारको ऐतिहासिक पृष्ठभूमीलाई नियालेर हेर्ने हो भने निश्चित रुपमा प्रस्तुत विषयगत विधाहरुले उच्च प्राथमिकता हासिल गरेको देखिन्छ । यसै तथ्यगत विशेषताले गर्दा मुलुकको राजनीतिक क्षेत्रमा भ्रष्टाचारले न्यूनता हासिल गर्न नसकेको मात्र हो । जसबाट मुलुक एवं नागरिक समाजप्रति कर्तब्य पथमा लिन रहने कसम खादै राज्य संचालनको प्रमुख अभिभारा बोकेका राजनीतिक समुहको नैतीक गरिमाको क्षेत्रमा समेत प्रश्न चिन्ह लाग्न गई परिणाम यति भयानक हुन्छ कि नागरिक समाजले निश्चित रुपमा विद्रोहि स्वभाव देखाउने चेष्टा गर्नेछन् । नेपालको सन्दर्भमा तारन्तार जनमतले असन्तुष्टी देखाई क्रान्तिगत ब्यवहारको प्रदर्शन गर्नुको प्रमुख कारक तत्व विशेषको रुपमा राजनीतिक भ्रष्टाचार एवं आर्थिक विकासको मन्दगतिलाई लिन सकिन्छ ।
सम्बद्ध क्षेत्रमा कायम रहेको भ्रष्टाचारजन्य अपराधलाई वास्तवमै न्यूनीकरण गर्ने हो भने त्यसको लागि निसन्देह स्थायी सरकारको आवश्यकता पर्ने विश्वब्यापी प्रचलित राजनीतिक मूल्यमान्यता हो । तर नेपाल जस्तो राजनीतिक जनचेतनाको न्यूनता रहेको समाजमा स्थायी सरकारको उपस्थितीले मात्रै पूर्णरुपमा जनविश्वासी कार्य गर्दै राजनीतिको क्षेत्रमा कायम रहेको भ्रष्टाचारलाई समुल रुपमा अन्त्य गर्न सक्षम रहन्छ भन्ने कुराको प्रत्याभूती कायम गर्न गाहे पर्नेछ । किनकि स्थायी सरकारको आगमनले मात्र राजनीतिक भ्रष्टाचार पूर्ण रुपमा सून्यमा झर्छ भन्न सकिने प्रष्ट आधार कहि कतै भेटिदैन । यस कुराको पूर्ण निक्र्योल त्यती वेलागर्न गर्न सकिन्छ, जुन वेला सम्पूर्ण जनप्रतिनिधीहरु खरो रुपमा राजनीतिक भ्रष्टाचारको विपक्षमा खडा भई जनउत्तरदायी कार्य गर्नमा उद्दत रहने ब्यवहारहरु यथार्थ रुपमा प्रस्तुत गर्न सक्षम रहनेछन् ।
विपरित अवस्था कायम राख्दै सत्तासिन समुहको ब्यवहारमा नकारात्मक उर्जा प्रवाहका कारण जनउत्तरदायी रहनु पर्ने अवस्थामा पनि ऋणात्मक ब्यवहारहरु सतही रुपमा देखा पर्छन् भने त्यहा भ्रष्टाचारको जन्म हुने प्रवल सम्भावना रहन्छ । किनभने जनपहरेदारको अभावमा शासकिय स्वरुपमा आवद्ध रहेका समुह अनुशासनहिन वन्न गई आपराधिक मनोवृतीमा रमाउने प्रवृतिको वाहुल्यताले समग्रमा आर्थिक अपराधलाई नै प्रोत्साहन गर्नेछ भन्दा त्यति फरक नपर्ला ।
भ्रष्टाचार गर्ने कुत्सित नियतले अभिप्रेरित रहँदै नेपाललगायत समस्त दक्षिण एशिया क्षेत्र जँहा जनचेतनाको अभाव एवं असान्दर्भिक राजनीतिको तिब्र मोहको कारण वेला वखतमा मुलुकको प्रशासनयन्त्रमा समेत राजनीतिक प्रभाव पार्ने कुचेष्टा गरिन्छ । आर्थिक एवं सामाजिक अपराधलाई सहजै दवाउने उद्देश्य अनुरुपको ब्यवहारले गैरकानूनी रुपमा मुलुकको सुरक्षा एवं प्रशासनयन्त्रलाई आफु अनुकुलको प्रयोग गर्ने संस्कृतिको विकास नै राजनीतिक भ्रष्टाचारका अनेकन रुप मध्येको विभत्स रुप हो भन्न सकिन्छ ।
यस प्रकारको अनैतिक क्रियाकलापको अत्यधिकताले समाजमा जनविश्वास भन्दा पनि दलिय हैसियतले प्राथमिकता प्राप्त गरे जस्तो देखिने हुँदा भ्रष्टाचारजन्य अपराधलाई मौलाउन थप मद्दत पुग्ने अवस्था पैदा हुने देखिन्छ । प्रस्तुत अब्यवहारीक अवस्था त्यो बेलासम्म जीवन्त रहन्छ, जुन बेलासम्म राजनीतिको क्षेत्रमा भ्रष्टाचारको ब्यापकता कायमै रहन्छ ।
प्रस्तुत नकारात्मक उर्जाको दुरगामी प्रभावका कारण मुलुकको भविष्य समेत भ्रष्टाचारको दलदलमा फस्न गई जनविश्वास गुमाउनुपर्ने वाध्यकारी अवस्था सिर्जना हुनेछ । यस अवस्थापश्चात नागरिक-राज्य विचको सहसम्बन्धमा नकारात्मक प्रभावपरी समस्या समाधानमा सहजताभन्दा ब्यवधान चुलिने प्रवल सम्भावना रहन्छ । जसले सम्बद्ध राजनीतिक समुहको भावि निर्वाचनजन्य गतीविधीमा समेत ऋणात्मक प्रभाव पार्ने निश्चित छ ।
यसबाहेक मुलुकको बृहत्तर हितभन्दा पनि राजनीतिक संरक्षकत्वबाट प्राप्तहुने लाभ-हानि अत्यधिक रहन्छ भन्ने विकृत मनस्थितीको प्रभाव स्वरुप ब्यक्तिगत स्वार्थ हावी भई इमान्दार रहनु पर्ने प्रशासन‡सुरक्षायन्त्रको ध्यान अनेत्र मोडिन गई विकासको लागि लिईएको लक्ष्यमा समेत राजनीतिक भ्रष्टाचारजन्य कुप्रभाव स्वरुप विलम्ब उत्पन्न हुन गई मुलुकको विकास तथा आर्थिक समृद्धिमा समेत गतिरोध उत्पन्न हुनेछ ।
सून्यशीलतामा रहनु पर्ने राजनीतिक क्षेत्रको भ्रष्टाचारले अत्यधिकता हासिल गर्ने अवस्था प्रारम्भ भए राजनीतिक संरक्षणको बलमा कुनै पनि आयोजना, परियोजनाको आदिको लागत खर्च रकम बढाएरै भए पनि आफु समर्पित राजनीतिक समुहलाई मुलुकको शासन सत्तामा यथास्थितीमा राख्दै तत्सगं सम्बन्धित समुहलाई ठेक्कापट्टा हस्तान्तरण गर्ने प्रवृतिले आर्थिक विकृतिबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक नतीजा हासिल गर्न नसक्ने ठोकुवा गर्न सकिनेछ ।
यसका अतिरिक्त गरिवी, वेरोजगारी एवं राजनीतिक भ्रष्टाचारको अत्यधिक प्रभावको कारण मानवसहायता वितरण गर्ने कार्यमा समेत बाधा उत्पन्न भई राज्यपक्षबाट सहज रुपमा प्राप्त हुनुपर्ने आधारभुत आवश्यकता प्राप्तिमा समेत न्यूनता छाउने छ । परिणामत नागरिक‡राज्यको विचमा कायम रहदै आएको अनुन्याश्रीत सहसम्बन्धको विकासमा ब्यवधान उत्पन्न हुन गई अविश्वासको दुरी बढ्ने देखिन्छ । जसले राजनीतिक भ्रष्टाचारलाई अभिबृद्धि गर्न सहयोग पु–याउनेछ, किनकी यस अवस्थामा नागरिक खवरदारीको पूर्णतया अभाव रहन्छ ।
कानूनी रुपमा प्राप्त हुन आउने छिद्रलाई राजनीतिक प्रभावमा पार्दै आफु अनुकुलको द्धिविधायूक्त ब्याख्या गर्ने परिपाटीको विकासले मुलत भ्रष्टाचारलाई संरक्षकत्व प्रदान गर्ने कार्यमा दक्षता अभिबृद्धि मात्र गर्नेछ । तसर्थ सम्पूर्ण न्यायप्रेमी नागरिक समाजलगायत राजनीतिक कर्मिहरुले कुनै पनि हालतमा भ्रष्टाचारको सन्दर्भमा आउने मुद्दालाई राजनीतिक संरक्षकत्व प्रदान गरिने छैन भन्ने प्रतिवद्धता सहितको कार्यगत एकताले नै आर्थिक अपराधजन्य कार्यलाई तहगत आधारमा नै न्यूनिकरण गर्ने विश्वास लिन सकिनेछ ।
अतः राजनीतिक सहनशीलताको जगमा आर्थिक अपराधका दरहरुलाई क्रमश न्यूनिकरण गर्नु आजको आवश्यकता हो । जसको लागि सर्वपक्षिय साझा प्रयासको सॉचो अर्थमा खॉचो रहन्छ । जसको पूर्ण कार्यान्वयनपश्चात राजनीतिको क्षेत्रमा विद्यमान अवस्थामा कायम रहेको भ्रष्टाचारको तगाराहरु विस्तारै हट्न गई सुशासनको सुखानुभूति नागरिक समाजले अवश्य पनि गर्नेछ भन्दा त्यति अत्यूक्ति नहोला ।