म केन्द्रीय सदस्य चुनिए ‘जनतासँग कांग्रेस’ सुरु गर्नेछु

कृष्णप्रसाद कुईंकेल
नेपाली काँग्रेसको खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले ऐतिहासिक जिम्मेवारीहरु कुशलतापूर्वक पुरा गर्‍यो । एउटा परिवारको हातमा केन्द्रीत राज्यसत्ता, अर्थतन्त्र, समाज र उत्पादनका साधनस्रोतहरुलाइ जनताको हातमा ल्याउने काम गर्‍यो । राणाकालमा मानिसहरुलाइ स्वतन्त्रतापूर्वक सोच्न नदिइएको समयमा मानिसका अन्तरस्करण प्रस्फुटित हुनै पर्छ भन्ने उद्घोष गर्दा आज त्रान्तिकारी भनिएका कतिपय राजनीतिक दलहरु जन्मिएकै थिएनन् ।

नेपाली कांग्रेसले निर्दलीय पंचायति व्यवस्था र त्यसले प्रताडित गरेको नेपाली समाजलाइ लोकतन्त्र, मानवअधिकार र कानुनी शासनका सैद्दान्तिक आयामहरुमा उद्वेलित गर्न सक्यो । पंचायत व्यवस्था फालियो । २०३६ सालमा निर्दलीय व्यवस्थामा मतदान गर्ने दलहरु जो सिद्दान्ततः एकदलीयताको अभ्यास गर्न रुचाउँछन उनीहरुलाइ पनि प्रजातान्त्रिक पद्दतिप्रति आकार्षित गर्‍यो । जनवादको अभ्यास गर्ने मित्रहरु पनि जनवाद छाडेर बहुदलीय व्यवस्था र संसदीय प्रणालीमा आइपुगे ।

नेपाली कांग्रेसले तिरस्कृत साम्यवादको नसाबाट विक्षिप्त र हिंसारत नेकपा माओवादीलाइ खुल्ला राजनीतिमा अवतरण गरायो । माओवादी नेता तथा कार्यकर्ताहरुलाइ मान्छे हुनुको वोध क्षमता अभिवृद्धि गर्ने मार्गमा अभिमुखिकरण गर्‍यो । फलत हिंसा त्यज्य रहेछ भन्ने कुरा हिंसात्मक अभियन्ताहरुलाइ समेत वोध गरायो र आज उहाँहरु पनि संसदीय व्यवस्थामा नेपाली कांग्रेस सँगै सत्ता साझेदारी गरिरहनु भएको छ ।

नेपाली कांग्रेसका हामी समस्त कार्यकर्ताहरु आफ्नो प्रिय पाटीद्वारा पुरा गरिएका यी प्रमुख ऐतिहासिक भारहरु जब संझन्छौ गर्वले हाम्रो शिर उँचा हुन्छ । हाम्रा अग्रजहरुको राजनीतिक कौशलता, रणनीतिक चातुर्यता, जनप्रियता र त्याग तथा बलिदानबाट हामी उत्प्रेरित हुन्छौँ । युगका अविभारा बहन गर्ने ती तमाम अग्रज नेताहरुप्रति सिर झुकारएर नमन गर्दछु ।

पुरा गरिएका ऐतिहासिक अविभाराले हामीलाइ भविष्यका लागि अरु जिम्मेवारी थपि दिएको छ । समय, राजनीति र प्रविधिले हाम्रा चुनौतिहरु पनि विशिष्ट गर्दै लगेको छ । हाम्रा दर्विला पैतालाहरु राणाशासनविरुद्ध जीवन उत्सर्ग गर्ने शहिदहरुले स्थापित गरेका मानवीय स्वत्वका अहरणीय मुल्यमा अडिएका छन । त्यस धरामा उभिएर हामीले देश जनता र समग्र मानवजातिको स्वत्व, स्वतन्त्रता, स्वाधिनता र स्वाभीमानका लागि लक्ष्य निर्धारण गर्ने यस पुनित अवसरमा म १४ औँ महाधीवेसनका सम्पूर्ण प्रतिनिधिहरुमा आफ्ना अनतरस्करणको आवाज सुन्न, विचार गर्न र आफ्ना भुमिका पूरा गर्न आग्रह गर्दछु ।

म नेपाललाइ पूर्वीय दर्शनको वृहत अध्ययन थलोकोरुपमा विकास गर्न मेरो विवेक, बुद्धि र यथोचित परिश्रम गर्ने छु । किराँत, मिथिला, बुद्ध र हिन्दु संस्कृति र सभ्यताका मानवीय चरित्र, शिक्षा, चेतनाको धिपधिप गरिरहेको अन्तरस्करणको वत्तिलाइ चम्किलो पार्न नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा अन्तरहृदयदेखि नै समर्पित हुने छु ।

मानवसभ्यतालाइ चुनौति थपिरहेका पर्यावरणीय संकट समाधानका लागि, जलवायु परिवर्तनका कारण मौसममा आएको बदलावले नेपाली किसानहरुलाइ परेको समस्या समाधानका लागि नेपाली कांग्रेसले लिनु पर्ने वैज्ञानिक नीति तय गर्नमा मेरो अहम भुमिका रहने छ ।

महाधीवेसन पछि भुमिकावीहीन हुनुपर्ने महाधिवेसन प्रतिनिधिहरुको उर्जा जाँगर, क्रियाशीलतालाइ यथावत सक्रिय राख्न मैले मेरै संयोजकत्वमा राजनीतिक सामाजिक, पर्यावरण र वातावरणवीदहरुको एक सक्रिय स्वयमसेवक मंच तयार पार्ने छु र त्यसले देशभरिबाट छानिएका महाधिवेसन प्रतिनिधिहरुलाइ महाधिवेशन पश्चात पनि राजनीति संगठन र देशका चुनौतिपूर्ण सवालहरुको समाधान हेतु विशिष्ट त्रियाशीलता प्रदर्शन गर्ने छ ।

मेरो विचारमा महाधिवेसन एक आवधिक परिघटना मात्र होइन । यसको नेपाली राजनीतिलाइ दिशा निर्देश गर्ने गहन अविभारा रहेको छ । र, नेपाली राजनीतिलाइ दिशा निर्देश गर्ने महाधिवेसन प्रतिनिधिहरुको महाधिवेसन पश्चात भुमिका नहुनु दुःखदायी विषय मात्र होइन, पार्टी जीवनलाइ क्रियाशील बनाइरहने अवसरको उपेक्षा पनि हो । त्यसर्थ म केन्द्रिय समितिमा रहेका अवस्थामा महाधिवेसन प्रतिनिधिहरुका लागि एक विशिष्ट राजनीतिक मंच तयार पार्ने प्रतिवद्धता जाहेर गर्दछु ।

लामो समयदेखि नेपाली कांग्रेसले जनतासँग अन्तरसंवाद गर्न सकिरहेको छैन । जबकि इतिहासदेखि नै जनतासँगको अन्तरसंवादबाट नेपाली कांग्रेसले आफ्ना अवधारणाहरु परिस्कृत गर्दै आएको हामी सबैलाइ अवगत छ । म नेपाली कांग्रेसको केन्द्रीय सदस्य चुनिएको अवस्थामा जनतासँग नेपाली कांग्रेस भन्ने खुलामञ्च तयार पार्ने छु र प्रत्येक महिना कुनै न कुनै जिल्लामा जनता र नेपाली कांग्रेसबीच मेरै पहलकदमा अन्तरसंवाद जारी रहने छ । अन्तरसंवादका निश्कर्षहरु पार्टी केन्द्रिय कार्यालय, सरकार र संसदीय दलमा प्रस्तुत गर्ने छु ।

तथाकथित जनयुद्धका नाममा घरवारबाट विस्थापित गरिएका सयौँ कार्यकर्ताहरु आज पनि आर्थिकरुपमा दुखद जीवन भोग्न वाध्य छन् । उनीहरुको पुनस्र्थापना, क्षतिपुर्ति र सम्मानित जीवनका लागि मेरो सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हुने छ । जायजेथा खोसिएका व्यक्तिहरुको सम्पुर्ण सम्पति फिर्ता दिने काममा म सम्पूर्णरुपमा प्रयत्नरत रहने छु ।

मानिसको स्वाधीनता, स्वतन्त्रता र स्वत्व अहरणीय छन् । पार्टीको प्रत्येक सदस्यले आफ्ना भावना, आदर्श, प्रेरणा, योजना र दृष्टिकोण पार्टी समक्ष प्रस्तुत गर्न सक्ने संयन्त्र स्थापना गर्ने छु । यसले पार्टीलाइ सक्षम, प्रतिस्पर्धि, योजनावद्ध, विवेकशील र न्यायप्रेमी गर्नमा उत्प्रेरित गर्ने छ भन्ने मेरो ठहर छ ।

नेपाली कांग्रेस अन्य कुनै दलको सहाराबिना नै स्वतन्त्रतापूर्वक यो राज्यमा सरकार चलाउन र शासन गर्न सक्षम छ भन्ने बलियो विश्वास गर्दछु । त्यसका लागि नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ताहरुले पार्टीका लागि वौद्धिक, व्यवसायिक र संगठीत तवरले योगदान गर्न सक्ने गरी विचार र प्रसारणका माध्यमहरु स्थापना गर्न लाग्ने छु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button