
‘बुद्धिजीवी’ समाज या त ओलीसहित वा रहित
परमादेशीय सत्तामाथि राजनीतिक मठाधीशिय हैकम, आक्राेशकाे ताराे भने प्रमुख प्रतिपक्ष
अरविन्द रिमाल
आज यी विचार पाेख्दा उसलाई तीनजना पुरुषहरुकाे सम्झना भइरहेछ, र, तिनकै उक्तिका आधारमा याे आलेख अघि बढ्दै छ ।
‘अरविन्द, सबभन्दा ठूलाे पुस्तक मनुष्य जीवन हाे । आफ्नै जीवनबाट शिक्षा लिनु पर्दछ ।
विकारबाट उत्पन्न उपासनले विकारबाट मुक्ति दिन सक्दैन ।
आफ्नाे लक्ष्यमा दृढ रहन सिक ।
प्रज्ञाकाे बाटाेमा हिँडदा आलाेचना सुन्ने सामर्थ्य बढाउन सक्नुपर्छ । प्रज्ञा कर्ममा प्रकट हाेस् । गफकाे आवश्यकता छैन ।
उदार भावनालाई कहिल्यै दवावमा नराख ।
स्पष्ट चिन्तन जीवनकाे सर्वाेत्तम प्रकाश हाे । विचार एवम् सम्पत्तिकाे गुलामी नगर ! स्वतन्त्र हुन सिक ।
विश्व नागरिक बन, असीममा प्रवेश गर । सीमाभित्र त पशुहरु रहिरहेकै छन् नि ।’
-सद्गुरु स्वामी सत्यदेवबाट २०५८ साल असाेज महीनाका विभिन्न गते अभिव्यक्त सन्देश ।
‘अरविन्द बाबु, आफ्नाे अतितकाे राजनीतिक जीवनकाे कहिल्यै अवमूल्यन नगर्नु । त्याे त तपस्या हाे । अनि आफ्नाे सार्वजनिक जीवनका कुनै पनि विचार निर्धक्कसँग, सुस्पष्टसँग, कसैले दाेहाेराे अर्थ लगाउन नसक्ने गरी अभिव्यक्त गर्नुपर्दछ ।’
-स्वामी महीधराचार्य।
‘अरविन्द भाइ, पत्रकारिता जीवनमा कलमरूपी घनले विचार ठाेकिरहनु परेजस्तै आध्यात्मिक साधनामा पनि सद्विचारकाे घन ठाेक्न छाड्नुु हुँदैन ।’
-मणिराज उपाध्याय, अग्रज पत्रकार बन्धु एवम् आध्यात्मिक जीवनकालका अग्रज साधक ।
अचेल राजनीतिक आलेखमा रूपकहरुकाे खूबै चलन चलेकाे छ । आज ऊ पनि आफूले २०१० सालतिर पढेकाे एउटा इतिहास -कथा सुनाउन गइरहेछ । लेखक काे नाम थाहा नभए पनि कथा सत्य हाे ।
जारकालीन रुसमा पनि उहिल्यै जारशासनविरुद्ध किसान संघर्ष चलिरहेकाे थियाे । दमन र प्रतिराेध चरम अवस्थामा पुगिरहेकै समयमा सत्तासीन जारकाे मृत्यु भएछ । उत्ताराधिकारकाे नाममा गद्दी के कसाे गरी हाे, कुनै मठ्याह जारले हात लगाएछ । संघर्षरत् किसान नेतृत्वले खाेटाे शासकलाई नहटाई आन्दाेलन अगाडि नबढाउने घाेषणा गरेछ । अनि हटाई छाडेछ ।
नेपाल देशमा पनि २०७८ सालमा नेपाली ‘जार’ भनी ‘प्रतिगमनविरुद्ध अग्रगमन संघर्ष’काे घाेषणा भयाे । तर यहाँका ‘जार शासन’लाई ज्यूँदै ढालियाे । परन्तु, नयाँ निर्वाचनबाट उत्तराधारी शासन बनेर चल्नुपर्नेमा संसदीय शासनप्रणालीमा प्रधानमन्त्री केन्द्रित राजनीतिक- राज्यीय व्यवस्था ‘न्यायिक’ परमादेशीय घाेषणाबाट विस्थापित भई मृत घाेषित हुनपुग्याे, फलत: उत्तराधिकारीकाे रूपमा प्रतिगमनकाे खाेटाे शासन चल्दा पनि ‘अग्रगमनवादीहरु’ हाेली वाइन सर्भ गरिएकाे काट्टाे खान पुगे ! अचम्म, तिनलाई उक्स्याउने- लाइनदिने कलमबाज – ‘बुद्धिजीवी’ पनि काट्टेभाेजमै रमाईरहेर ‘मृत’ सर्वसत्तावादीप्रति नै खैराे खनिरहेकाेरह्यै छन् ।
यसैकारणले गर्दा यहाँ ऊ रूपक सँधै ठ्याक्कै मिल्ने हुँदा रहेनछन् भन्ने पनि अनुभव गरिरहेछ । त्यसैले ऊ अब ठाडाे बाेलीमा ओर्लिन्छ ।
दुष्परिणामकाे पूर्वाभाष !
अहिले राजनीति प्रायाेजित देखिन्छ, अनाैठाेलाग्दाे पाराले तर, भयावह दुष्परिणामकाे पूर्वाभाष गराउँदै ! यसलाई १८ओैँ शताब्दीकाे फ्रान्सेली क्रान्तिपछिकाे कार्ल मार्क्स नामाकृत 18राैँ ब्रुमेरकाे नेपाली संस्करण भन्ने कि, १९ओैँ शताब्दीकाे तेस्राे पक्षमा नेपाल भ्रमणमा आएका प्रथम रुसीप्राच्यविद् ईभान मिनायेभले नेपाल भ्रमणपछि यस देशकाे नामाकरण गरेका ‘सात ताल्चा मारिएकाे देश’काे मनस्थिति जस्तो भन्ने कि, नेपाली चिन्तक गाेविन्दप्रसाद लाेहनीले ‘रूपरेखा’काे २०२० साल आषाढकाे अङ्कमा (‘शारदा’ मासिक, स्व. गाेविन्दप्रसाद लाेहनी विशेषाङ्क, २०७८ कार्तिक) परिकल्पना गरेका भाेलिकाे संसार अहिले २१ओैँ शताब्दीकाे, हाम्राे पात्राेकाे २०७८ साल मंसीरमा पनि झिँझा तवरले रेखाङ्कित हुन नसकेकाे नेपाली सम्रग समाज भन्ने कि? के भनी यकीन गराउने, याे लेखकलाई हम्मेहम्मे परेकाे छ ।
भारतीय साहित्यकार कमलेश्वरकाे इतिहासम्बन्धी उपन्यास ‘कितने पाकिस्तान’काे भाषा सापट लिई भन्नुपर्दा नेपाल देशकाे वर्तमान कालमा ‘इतिहास रुका हुआ था । उसे कुछ पछतावा नहीं था । पछतावा ताे इन्सान है, इतिहास नहीं ।’ (पाना ५४) किनभने अहिलेकाे हकमा माथि बताइएका तीनाेटै वर्णन खासगरी राज्यका चारै अङ्गहरुमा चरितार्थ भइरहेकाे पाइन्छ । यहाँ ‘इन्सान’ भन्नाले चेतनशील मानिस ठानिनुपर्छ, प्रायाेजित ,जडसूत्रवादी, विकृत रुचिका मानिस हाेइन । यस्ता मानिसहरु त चलायमान देखिँदादेखिँदै गतिहीन वा निष्प्राण नै हुन्छन् ।
यहाँ नेपाली राष्ट्रविभूति, सुदूरदृष्ट्रिका राजनीतिज्ञ टङ्कप्रसाद आचार्य या ओझेलमै पारिन्छन्, या त उनलाई ‘तेस्राे दर्जाकाे राजनेता’मा झार्ने पहिलाका र हालका परमादेशीय गरी पाचाैँ प्रधानमन्त्रीलाई ‘बेदागी’झैँ छाडिन्छ, तर, विडम्बना, आचार्यकाे पहिलाे सङ्गठित दल र १९९७ सालकाे पर्चाक्रान्तिलाई वर्तमान चेतनशील राजनीतिक विकासकाे स्राेत वा आधारभूत घटनाक्रम मानी ओझेलमा पारिएकाे एवम् विकृत गरिएकाे इतिहासलाई सच्याउने दलका अध्यक्ष तथा समग्र दललाई निन्दा, भर्त्सना वा बदनाम गरिन्छ, श्यालकाे समवेत हुहिया झैँ ।
यहाँ ‘लाेकतन्त्र’ वा ‘गणतन्त्र’काे त बखान गरिन्छ, कर्मकाण्डीतवरले, तर ज्यूँदाे प्रजातन्त्र एवम् पुनर्स्थापित प्रजातान्त्रिक व्ववस्थालाई हाेली वाइनले छर्किँदै दिल्लीकाे लाल किल्लानिर गाडिन्छ, ‘रअ’काे घाटेवैद्यकाे ‘निदान’ मानेर ! तर यस्ताे कुकृत्य गर्ने मशाने राजनीतिक धन्दावालाहरुलाई चाेखाे झैं छाडेर नेपाल कम्युनिष्ट पार्टी-एमालेकाे दसाैँ महाधिवेशन हाेस्, राष्ट्रिय प्रजातन्त्र पार्टीकाे भर्खरैकाे अधिवेशन तथा नेतृत्व परिवर्तन हाेस् वा नेकाँकाे महाधिवेशनकाे चर्चाक्रममा हाेस्, वा विश्वकाे कुनै अतितकाे कम्युनिष्ट भनिने देशकाे घटनाक्रमकाे अर्धसत्थ वा मिथक वर्णन गर्दा पनि एकै व्यक्ति, के. पी. शर्मा ओलीमाथि प्रहार भइरहेछ ।
ओली कसैका लागि व्यक्तिगत तवरले रुचिकर हुन वा नहुन्, उनी नेकपा-एमालेका निर्वाचित अध्यक्ष हुन्,संसदमा प्रमुख प्रतिपक्ष दलका नेता हुन् । तसर्थ त्यसकै आधारमा चर्चित हुन याेग्य छन्– गालीगलाेचकाे ताराे बनाइएर कदापि हाेइन ।
ओेली प्रधानमन्त्री बन्नासाथ ‘दुईतिहाई दम्भ’ हाेलीवाईने थाेपाबाट साँध चढाईएकाे हतियारले छिनाल्न सकिने खतराप्रति सचेत हुन, आफ्ना खाेटा सिक्कावाल तर आतङ्कवादी राजनीति नछाडेका मित्रमण्डलीबाट सावधान रहन, आफ्नाे दलभित्रका सम्भावित केसियस वा ब्रुटसका षड्यन्त्रबाट वचन, याेग्य टीम वर्क गठन गर्न, घमण्डी- हठी सल्लाहकारहरुलाई समयमै तह लगाउन, अनि मनमाेहन अधिकारीकाे अल्पमतीय प्रधानमन्त्रीत्वकालकाे जस्ताे दम्भी व्यवहारकाे दुष्परिणामबाट शिक्षा लिन उसले खुला फेशबूक डबलीबाट अनेक पटक चेतावनी दिँदा अहिलेका ओली -निन्दक ‘बुद्धिजीवी’ कहाँ थिए, त्याे ऊ जान्दैन । तर अहिले आएर उनीहरु पानीमाथिकाे ओभानाे भई थरिथरिका ‘वैचारिक’ छडी ठटाईरहेका छन् । याे घाेर विडम्वना हाे !
अहिलेकाे नेपाली ‘बुद्धिजीवी’ समाज या त ओलीसहित वा रहित नेकपा- एमाले सहिनसक्ने सङ्कीर्ण तत्त्व भएकाे छ, वा नेकपा- एमाले मुर्कट्टे नेतृत्वकाे अथवा आफूे भन्याजस्ताे मान्ने देख्न चाहने ‘उदार’ ! परन्तु तिनले चाहे वा नचाहे पनि नेकपा- एमाले २००६ सालमा नेपाली काँङ्ग्रेससँगसँगै नेपालकाे राजनीतिक क्षितिजमा उदाएकाे राजनीतिक सङ्गठन, पुष्पलालले नरबहादुर कर्माचार्य, निरञ्जन गाेविन्द वैद्य, नारायण विलास जाेशी, माेतीदेवीकाे सहयाेगबाट गठन गरेका नेपाल कम्युनिष्ट पार्टीकै उत्तराधिकारी हाे । याे तथ्य नमाने इतिहासप्रति विश्वासघात हुनेछ, विकृति हुनेछ, राजनीतिक स्वेच्छाचारिता हुनेछ भन्ने हेक्का सबै सम्बन्धित तत्त्वहरुले राख्नु जाती हुनेछ, भलै अहिलेकाे नेपाली राजनीतिमा कम्युनिष्ट पर्याय पहिलाकाे कालमा जत्ति सम्मानित छैन भन्ने कुरा पनि कटुसत्य हाे ! यति लेख्दालेख्दै पनि अर्काे अकाट्य सत्य के पनि हाे भने नेकपा- एमाले अध्यक्ष के. पी. शर्मा ओलीकै नेतृत्वमा नेपाली इतिहासमा भइआएकाे महाभूल, विकृतिलाई सच्याउने काम भएकाे छ । यसरी नेपाली सङ्गठित राजनीतिकाे मूलप्रस्थान विन्दु १९९३ साल र राजनीतिक आन्दाेलनकाे इतिहास १९९७ सालकाे पर्चा क्रान्ति हाे र यी दुवै ऐतिहासिक घटनाक्रम त्यही नेपाल प्रजा परिषदकाे नामसित अकाट्य रूपले जाेडिएकाे छ जसका यशश्वी नायक- अध्यक्ष पुष्पलालका राजनीतिक गुरु क्रान्तिवीर गङ्गलालका पनि नेता टङ्कप्रसाद आचार्य हुन् भन्ने ठाेकुवा गर्नु परम देशभक्तिपूर्ण सद्कार्य भएकाे निर्विवाद छ, र, हुनैपर्छ।
सबैमा जय नेपालकाे अभिवादनसहित आजकाे याे इतिहास प्रकरणलाई यहीँ विराम दिइन्छ !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




बस्तुनिष्ठ विश्लेषण ।