कोभिड पेन्डेमिकदेखि प्रत्येक ३ मा २ जना महिला कुनै न कुनै हिंसाबाट पीडित

लैङ्गिक हिंसाबिरुद्ध १६ दिने अभियान

सुशीला शर्मा

संयुक्त राष्ट्रसंघले २५ नोभेम्बरदेखि १० डिसेम्बर सम्मका १६ दिनलाई प्रत्येक वर्ष लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको रुपमा विश्वभरी नै मनाउने गरेको रुपमा लिन्छ । विश्वभरी नै करिब ३ मा १ जना महिला आफ्नो जीवनकालमा हिंसामा परेका हुन्छन् । आम प्राकृतिक विपत्तिलगायत महामारीका समयमा पनि महिलाहरु बढी जोखिममा पर्ने गरेका छन् ।

यूएन विमेनको प्रतिवेदनको आधारमा १३ वटा देशहरुमा गरिएको अध्ययनको आधारमा यो कोभिड पेन्डेमिकदेखि प्रत्येक ३ जनामा २ जना महिला कुनै न कुनै हिंसाबाट पीडित रहेको पार्ईएको छ । विशेष गरेर खानाको अनिश्चितता । अर्को तथ्य भनेको १० जनामा एकजना महिलाले मात्र हिंसापछि सहयोगको लागि प्रहरीकोमा जाने गरेको बताएका छन् । हिंसा न्यूनिकरणको लागि सर्वप्रथम त हिंसाबाट बाँचेकाहरुप्रतिको विश्वास साथै समावेशी र एकिकृत विधिहरुको प्रयोगले हिंसाको जरो थाहा पाउन मद्धत पुर्याउँछ । हानिकारक सामाजिक मूल्य मान्यताहरुको रुपान्तरण एकदमै जरुरी छ । महिला र किशोरीहरुको सशक्तिकरण तथा पीडित केन्द्रित आवश्यक सेवा सुविधालगायत प्रहरी, स्वास्थ्य सेवा,न्याय,तथा सामाजिक क्षेत्रमा समन्वय र सहकार्य पनि महिला तथा किशोरी हिंसा रोक्ने प्रमुख उपाय हुन सक्छन् । अर्को मुख्य कुरो महिला केन्द्रित योजनाका लागि सम्बन्धित निकायले पर्याप्त बजेटको विनियोजन पनि हुन आउँछ ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान एक अन्तरराष्ट्रिय अभियान हो । यस अभियानको पहिलो दिन अर्थात २५ नोभेम्बरलाई महिला तथा किशोरी हिंसा उन्मुलनको अन्तरराष्ट्रिय दिवसको रुपमा मनाईन्छ । यो अभियानको शुरुआत सन् १९९१ मा विमेन ग्लोबल लिडरसिप ईन्स्टिच्युटले गरेको थियो । यो कार्यक्रम रुटजर्स युनिभर्सिटीमा गरिएको थियो ।

सन् १९९१ देखि लगभग १८७ देशका ७००० संस्थाहरुले यो अभियानमा सहभागिता जनाएका छन् । प्रत्येक वर्ष अभियानमा विभिन्न थिमहरु नाराको रुपमा अगाडि सारेर सोही अनुसारका कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ ।

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानका महत्वपूर्ण दिनहरुलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

– नोभेम्बर २५ महिला विरुद्ध हिंसा उन्मूलनको अन्तरराष्ट्रिय दिवस
– नोभेम्बर २९ अन्तरराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस
– डिसेम्बर १ विश्व एड्स दिवस
– डिसेम्बर ५ आर्थिक र सामाजिक विकासका लागि अन्तरराष्ट्रिय स्वयंसेवक दिवस
– डिसेम्बर ६ मोन्ट्रियल मासाक्री वार्षिकी
– डिसेम्बर १० अन्तरराष्ट्रिय मानव अधिकार दिवस तथा मानव अधिकारको विश्वव्यापी घोषणाको बार्षिकोत्सव


१६ दिने अभियानकै क्रममा यी महत्वपूर्ण दिवसहरु पनि संगसंगै मनाउने गरिन्छ । प्रत्येक वर्ष थिम बदलेर या पहिलो वर्षकै थिमलाई लिएर यो अभियान मनाईरहँदा प्रमुख विषयबस्तुहरु पनि महिला हिंसा संग सम्बन्धित नै हुने गर्छन र सो हिंसा न्यूनिकरणका लक्ष्यसहित यस्ता नाराहरु अघि सारिएका हुन्छन् । यस अभियानको पहिलो वर्षको थिम महिला विरुद्ध हिंसाले मानव अधिकारको उलंघन गर्दछ भन्ने थियो । परिवारमा प्रजातन्त्र, परिवारको प्रजातन्त्र, प्रजातन्त्र सबैको लागि जस्ता नाराहरु अगाडि सारिदै यो वर्ष महिला हिंसा अहिल्यै अन्त्य गरौं भन्ने नाराहरुले महिलाहरुको वास्तविक समस्याहरुलाई उजागर गर्दै आईरहेको छ र यसबारेमा बोल्न, आवाज उठाउन, समाज र राज्यलाई जिम्मेवार बनाउने लक्ष्य नै १६ दिने अभियानको लक्ष्य रहेको छ ।

Ad

नेपाल पनि यस अभियानमा वर्षेनी सरिक हुँदै आईरहेको छ । नेपालमा महिला हिंसाका स्वरुपहरु आम तथा भिन्न रुपमा रहेकै छन् । सामाजिक सांस्कृतिक रुपले महिलाले अप्नाउनुपर्ने मान्यता लगायत, विभेदहरु महिला हिंसाका बाहक हुन् । घरेलु हिंसा, दाईजोको नाममा महिलामाथि गरिने हिंसा, बोक्सी प्रथा, छाउपडी प्रथा अझै पनि हाम्रो समाजमा सुक्ष्म रुपमा रहेकै छन् । छोरा र छोरीकै बीचमा गरिने विभेद कम भए पनि हटिसकेको छैन् । आर्थिक,सामाजिक,राजनैतिक अधिकारहरु अझै महिलाको पहूँचमा छैनन् । निर्णय तहमा महिलाका विचारलाई स्वीकार्ने माहौल अझै बनिसकेको देखिदैन् । महिला तथा किशोरीको बलात्कार अनि हत्या जस्ता जघन्य अपराध पनि दिनदिनै घट्ने घटनाभित्रै पर्नेगर्छन् । गरिबी, जातिय छुवाछुतले महिला तथा किशोरीलाई झनै पीडित बनाएको छ । यी विभिन्न कारणले लैङ्गिक हिंसा बिरुद्धका कार्यक्रम १६ दिने अभियानको रुपमा मात्र होईन कि प्रत्येक दिन र परिवार, समाज, राज्यका निकाय सबैले सधैं नै मनन गरेर उपयुक्त कार्यक्रममार्फत व्यक्ति तथा सम्पूर्ण समाजलाई सचेत र सजग बनाउनुपर्ने आजको आवश्यकता हो । हिंसा बिरुद्धको अभियान घरैबाट शुरु गर्नुपर्छ र यो १६ दिनमात्र होईन नियम कानुन र व्यवहारगत बानीबाटै कार्यान्वयनमा आउनुपर्नेछ । महिला शसक्त हुनु भनेको एउटा परिवार नै सशक्त हुनु हो ।

महिला अधिकार केवल महिलालाई उपलब्ध गरिने अधिकार मात्र होइन, यो मानव अधिकार पनि हो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button