के शाकाहारी संस्कृति सम्भव छ छैन ?

प्रदीप उप्रेती

सामान्यतया मानव समुदायले हिंस्रक प्रजातीको प्रतिनिधित्व गर्दैन । सामाजिक प्रतिमूर्तिको रुपमा रहेको मानवमात्रले कहिल्यै काहि धार्मिक आस्थाका नाममा पशुपन्छीजन्य समुदायप्रति क्रुरता प्रदर्शन गर्दै आएको पाईन्छ । जसअनुसार आ–आफ्नो आस्थाका आधारमा मठ-मन्दिरमा हजारौ पशुपन्छीलाई ईश्वरको नाममा बलि दिने प्रथा युगयुगान्तरदेखि आज पर्यन्त चल्दै आएको छ । बलिप्रथा धार्मिक हिसावमा कति न्यायोचीत छ वा छैन भन्ने कुराको निक्र्योल गर्ने अधिकार धार्मिक वकालतको विषय हो । किनकि देवता स्वयमले बली अवश्य पनि रोज्दैनन् । तथापि धर्मको नाममा दिइने बलिप्रथाले पशुअधिकारको हनन भयो भन्नेहरुको जमात पनि वर्तमान समयमा निक्कै ठुलै मात्रामा भेटिन्छन् ।

Ad

यदि साँचो अर्थमा देवताको नाममा दिइएको बलि स्वयम ईश्वरले भक्षण गर्ने अवस्था पैदा भएको भए निश्चित रुपमा आज कायम रहेको बलि प्रथा लगभग शुन्य प्राय अवस्थामा आउने थियो भन्दा फरक नपर्ला । ईश्वरीय गुण नै जनआस्थाको प्रतिमूर्ति भएको तथ्यलाई हामी कसैले पनि सहजै भुल्न मिल्दैन । तसर्थ धर्मका नाममा मानवमात्रले आफ्नो स्वास्र्थसिद्धीको लागि बलिप्रथालाई यथास्थितीमा राख्न खोजेको मात्र हुन् भन्ने प्रश्न विवादको घेरा मुक्त हुन सकेको पाईदैन ।

प्रस्तुत प्रयोजनको लागि कतिपय अवस्थामा बलियोग्य पार्न पशुपन्छीलाई पर्साउने चलन रही आएको छ । प्रस्तुत प्रवृति मानवमात्रको स्वार्थभाव अनुरुपको व्यवहार हो । वास्तवमा पर्साउने क्रियाकलापलाई बैज्ञानिक तथ्यका आधारमा अध्ययन गर्ने हो भने त्यसमा कुनै सत्यतथ्य प्रमाण भेटिदैन । किनकि मानव समुदाय लगायत यो विश्वब्रम्हाण्डमा रहेका जति पनि जीवात्माहरु छन्, तिनको शरिरमा एकाएक पानी लगायतका तरल पदार्र्थ छ्याप्दा हुन आउने एक प्रकारको कम्पनलाई पर्सिनुको रुपमा लिइएको छ । जुन धार्मिक हिसावमा बलियोग्य मानिन्छ ।

जसलाई पशुपन्छी लगायतका प्राणी समुदायमा देखिन आउने चेतनायुक्त प्रभावको उच्चत्तम रुप मान्न सकिन्छ । तसर्थ प्रस्तुत तथ्यका आधारमा अबोध पशुजन्य समुदायको पर्सिनुमा के दोष हुन सक्छ र ? यस तथ्यलाई बलिका नाममा गरिने अनेकन प्रभाव मध्येको एक हो भन्दा फरक नपर्ला । यस सन्दर्भमा शाकाहारी धार्मिकपक्ष एवं तामसिक धार्मिकपक्षका बीच अनेकन चर्चा परिचर्चा भने अवश्य पनि हुन सक्दछ । तत्सम्बन्धमा आ—आफ्ना बचाउका पक्षमा सकारात्मक वा नकारात्मक टिकाटिप्पणी पनि सम्प्रेषण भएकै छन् ।

यद्यपि एउटा सत्य कुरा केहो भने ईश्वर आफैले सृष्टि गरेको अनेकन जीवजन्तु, पशुपन्छीमध्ये चेतनशिल सामाजिक प्राणि मानव मात्रले धर्ममा नाममा सृष्टिका अन्य कुनै जीव-जीवात्मालाई बलिको रुपमा हत्या गर्न चाहन्छ भने त्यो निश्चित रुपमा ईश्वरीय परमात्मालाई कुनै पनि हालतमा स्विकार्य हुनै सक्दैन् । सामान्यतयाः ईश्वरले आफ्नो सृष्टिमध्ये कुनै पक्षलाई काखा र अर्को पक्षलार्ई पाखा अवश्य पनि गर्ने छैनन् भन्ने धार्मिक मान्यतालाई मानवसम्प्रदायले कुनै पनि हालतमा बिर्सनु हुँदैन । तसर्थ जीवात्माको बलि विपरितको विकल्प रोज्नु पशुजन्य समुदायलाई अभयदान दिनु सरह हो ।

तथापि बलिजन्य धार्मिक आस्थाका हिमायतीहरु यस प्रथालाई युग युगान्तरसम्म जीवन्त राख्न चाहन्छन् भने यसमा अन्य कुनै धार्मिक समुदायलाई कुनै पनि प्रकारको विमति रहनु युक्तिसंगत कार्य मान्न सकिदैन । किनकि धार्मिक आस्था जुन समुहमा रहेको हुन्छ, त्यसैलाई अङ्गिकार गर्न पाउनु सम्बद्ध पक्षको धार्मिक स्वतन्त्रताको महत्वपूर्ण अङ्ग समेत हो ।

यदि मानवसम्प्रदाय भन्दा अन्य कुनै शक्तिशालि समुहले चेतनशील प्राणी मानवमात्रलाई धर्मको नाममा बध गर्न खोज्ने प्रवृतिको विकास भए त्यस अवस्थामा मानवसमुदायको कुन हविगत रहला सहजै अनुमान लगाउन अत्यन्त कठिन हुनेछ । यसै प्रसङ्गमा भन्नु पर्दा बलि प्रथाको भयानक रुप यतिसम्म हुन्छ कि, कतिपय अवस्थामा मानवमात्रको कल्पनाभन्दा भिन्न परिवेशमा यसको रुप देखापर्दै आएको छ । प्रस्तुत अवस्थामा बलिका रुपमा नरबली अर्थात मानव भएर मानवकै बलिदिनु वा दिन तम्सने घटनाहरु नेपाल एवं भारतका विभिन्न शहरहरुमा बेलाबखत हुने गरेका तथ्यहरु सार्वजनिक भएबाट बलिप्रथाको दुश्प्रभावको बारेमा मनन गर्दै यथार्थमा धार्मिक आडमा पशुपन्छीजन्य समुदायप्रति गरिने प्रस्तुत बलिप्रथा समय सान्दर्भिक छ वा छैन भन्ने तथ्यलाई केलाएर हेर्नुपर्ने हुन्छ । विक्षिप्त मनोविकृति वा चरम धार्मिक अज्ञानताका कारण मात्र मानवले नरबलिजस्तो मानवसभ्यता विरोधी अपराधजन्य कुकर्मको चाहना राख्न सक्दछ । जुन धार्मिक अन्धविश्वासको पराकाष्ठाले निम्ताएको विभत्स रुपबाहेक अन्यथा केहि पनि हुन सक्दैन् । किनकि स्वयम कट्टर धर्मभिरु समेत यस प्रकारका सामाजिक विकृति एवं अपराधकर्मबाट अवश्य पनि पृथक रहन चाहने छन् भन्ने विश्वास लिन सकिन्छ । प्रस्तुत तथ्यले केहि हदसम्म पशुअधिकार संरक्षणमा सजकता कायम गर्न थप मद्दत पु-याउने छ भन्ने विश्वास लिन सकिन्छ ।

त्यसो भएको हुदा बलिप्रथा केहि हदसम्म मानविय सद्भाव विपरितको पशुपन्छी माथि गरिने क्रुरताको अनुपम नमूनाको भिन्न स्वरुपको रुपमा यसलाई सकिन्छ । यसको विकल्पका रुपमा अन्य वस्तु उपयोग गर्दै शाकाहारी बलिधारी समुदाय सरह धार्मिक आस्थामा रमाउन खोज्ने संस्कृतिको विकास गर्ने हो भने निश्चित रुपमा विश्वमा शान्तिको सन्देश प्रवाह हुने थियो । तर त्यसो भन्दैमा अन्य कुनै धार्मिक आस्थामा सद्भाव राख्ने ब्यक्ति वा समुदाय विशेषको धार्मिक स्वतन्त्रता माथि खलल पु-याउने लेखनको उद्देश्य कदापि पनि होइन । सामाजिक परीवेशमा देखिएको बलिप्रथा सम्बन्धि धारणालाई उजाग्रहण गर्न खोजिएको मात्र हो । मानव भएर मानव अधिकारका सन्दर्भमा सद्भाव खोज्ने हामी मानव समुदायले चेतहिन अवोध पशु अधिकार संरक्षणको क्षेत्रमा किन अलिकति पनि सद्भाव छर्न सामर्थ भएनौ भन्ने तथ्यलाई एक छिन मनन गर्ने हो निश्चित रुपमा यस सन्र्दभमा उल्लेख्य सकारात्मक परिणामहरु अवश्य पनि भेटिने कुरामा कुनै द्धिविधा रहने छैन ।

प्रस्तुत सन्दर्भमा कठोरताको प्रर्दशन गर्नु भन्दा पनि मानवअन्र्तमन भित्रका नकारात्मक भावना एवं दम्भलाई परित्याग गर्नु सच्चा अर्थमा आफु र आफ्नो समुहलाई ईश्वरको भक्तिमा समर्पित गराउनु हो । यो नै वास्तवमा ईश्वर प्राप्तिको अलौकिक मार्ग बन्न सक्नेछ । यस गहन तथ्यलाई राम्ररी मनन गर्ने हो भने मात्र पनि पशु अधिकारको सान्दर्भिकता आफै झल्किने छ । यस प्रकारका क्रियाकलापले मानव समुदायलाई धर्मका नाममा गरिने हिसांजन्य अवस्थाबाट पृथक राख्दै शान्तिपूर्ण धार्मिक सद्भावको सत्मार्गमा लाग्न अवश्य पनि प्रेरित गर्नेछ ।

यसका बावजुद् पनि नेपालको संविधान २०७२ ले धर्मनिरपेक्षतालाई अङ्गिकार गरिसकेको वर्तमान परिप्रेक्ष्यमा धार्मिक स्वतन्त्रताको हिसावमा कुनै व्यक्ति वा सम्प्रदाय विषेशले हिँसांजन्य बलिप्रथा कायम राख्नु पर्छ भन्ने अभिव्यक्ति दिएमा अन्य कुनै धार्मिक सम्प्रदायको आपत्ति रहनु त्यति शोभनिय कदम मान्न सकिँदैन । किनकि धार्मिक सद्भावका कारण आज पर्यन्त मुलुकले कुनै प्रकारको धार्मिक हिँसाजन्य व्यवहारको सामना गर्नु परेको छैन, जसलाई आम नेपाली जनसमुदायको धार्मिक सहिंष्णुताको उदाहरणीय नमूना मान्न सकिन्छ । यसै तथ्यगत विशेषताको आधारमा विविध धार्मिक आस्था भएका व्यक्ति वा समुदाय विशेषले अर्को धर्मको स—सम्मान गर्दै हरेक धार्मिक उत्सवहरुमा रमाउने चेष्टा गरेका हुन् । विश्वका अन्य मुलुकमा विरलै पाइने धार्मिक संस्कृतिको विकास नेपालमा मात्र भएको पाईन्छ, जसलाई अनेकन धार्मिक स्वतन्त्रता भित्रको एकताको प्रतिक मान्दा त्यति फरक नपर्ला ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button