हामी पुच्छरबाहेक केही होइनौं

पुच्छरहरु

बिष्णु पादुका

नआत्तिनु होला । तपाईं पक्कै अहिले कुनै गाईको पछि गहुँत थाप्दै हुनुहुन्न नि । तपाईं कुनै बकेर्नो भैंसी दुहुँदै पनि हुनुहुन्न होला । ढुक्कसँग पढ्न सक्नुहुन्छ उसोभए । अलिकति व्याकरणको ठिमाहा विद्यार्थी भए अस्वभाविक शिर्षक लाग्न सक्छ ।

शिर र शिर्षक अस्वभाविक भए पनि स्वीकार गर्नैपर्ने जात जो पर्‍यो मान्छेको । कुलोले पानी तान्यो कि पानीले कुलो कुन्नि ? सम्भ्रान्त र सभ्य देखिन कुन शिर र कुन शिर्षकधारिहरु पछि परे र ।

पुच्छरको शिर्षक दिएर शिरका कुरा गर्दा तपाईंको शिर तात्न सक्छ । शिरा फुट्न सक्छ । म कामना गर्छु शिरहर्षले नछोओस् ।

आजभोलिको शैली नै भिन्न क्या सिलसिलेबार । शिरको मुख हुँदै शिरा धमनी छुदैँ शिर सम्म पुगेपछि बल्ल पुच्छर हल्लिने । हुन त यो स्थानीय जातको रक्सी जस्तो पुरातनवाद हुनसक्छ । जे सुकै होस् । शक्ति र सामर्थ्यका हिसाबले पुच्छरलाई त्यति हेयले नहेरियोस् । गोबर र मुत्रको गोठे रंगदानीमा चोबलिएको लचिलो बुरुस पो त पुच्छर । जागिरमा नगिरेको अथवा ब्यापरको अपारमा डुबेको बाबुको छोरो या छोरी नहुनुभए पक्कै एकदुई पटक गाला या निधार तिर पेन्टिङको सुन्दरता सजिएकै हुनुपर्छ ।

उसो त आजभोलि सेतो दूध रंगिन र्‍यापरमा प्याकिङ हुन थालेको छ । धन्न दुधको रंग सेतै छ । रासायनिक मिसावटका कारण मान्छेको रंग फेरिए जसरी दुधको रंग फेरिदो हो त ?

अँ, पुच्छरकै बारे घोत्लिउँ । हामी सबै आफुलाई शिर र सार्थक सम्झन्छौँ । तर हामी सबै पुच्छरबाहेक केही होइनौं । अझ पुच्छरको पुछारका रौं मात्र । पुस्ताका पुच्छर । परम्पराका पुच्छर । पुर्वजका पुच्छर । काम र कर्तव्यका तराजुमा कुनै झिँगा प्युसासम्म धपाउन सक्ने पुच्छर न हौं । कति त लिँडे नै छौँ । कोहि रौं बिनाका । कोहि गुप्ताङ्ग छोप्नसम्म अल्छी मानेर माथी ठडिएका या बाङ्गिएका छौँ । कुनै बाठो खरायोको पुच्छर त कुनै पाल्तु पप्पिका पुच्छर । जैविक चेतनाको दुनियाँमा पुच्छरको उपयोगीता मापन गर्ने धृष्टता गरेको कदाचित नठानियोस् । के सम्म हो भने पुच्छरका सेप साइप र युटिलाइजसम्म खोतल्न खोजेको ।

ठुलो ज्यानको ठुलै पुच्छर, ठूलो दलको ठुलै लस्कर ।

नयाँ भए पनि पुरानो भए पनि मिले पनि नमिले पनि उखान न हो । सबै उखानहरु कहाँ मिलेका हुन्छन् र । बाँदरको लागी लौरो भने नि हतियार भने पनि त्यही एउटा पुच्छर न हो । नवनिर्मित उखान पनि अमिल्दो पाराले पस्कियो, ज्यानभन्दा लामो पुच्छर भएको मुसाको जस्तो । सर्प जस्ता शत्रुलाई निम्तो दिनुबाहेक मुसाको पुच्छरको के उपयोगिता होला ?

Ad

अरुका आँखामा जे देखिए पनि मान्छे पुच्छर गुमाउनु परेकामा म निकै चिन्तित भएको देख्छु । बैज्ञानिकहरुले बंश बिज्ञान अनुसार बाँदरको पुच्छर भनिदिए पनि मान्छेलाई पुच्छरबिहिन हुँदा एकदम एक्लो देखिन्छ । त्यसैले त आधुनिकता छिप्पिँदै जाँदा अझ भनुँ संभ्रान्तपन र सम्पन्नता चुलिदै जाँदा मान्छेलाई पुच्छरको मोहले झन्झन् च्याप्दै गएको देखिन्छ । उसो त मोटो सभ्यतालाई झिँगा र प्युसादेखी जोगाउन धौधौ पर्दो हो । त्यसैले त मान्छेहरू कौचदेखि सौचसम्म पुच्छरको रहर गर्दाहुन् । पुच्छरहरु आधुनिक शैलीका हुनाले साइज र सेप घटबढ र सजावटमा फरकपन देखिनु स्वभाविक होला ।

आधुनिकता अचम्मको हुने रहेछ । पुच्छरहरु पनि पुच्छर झुन्ड्याउन चाहने । चाहनाको अनियन्त्रित पुच्छर जस्तो । पुछारको पुच्छरले अगाडिको मात्रै पुच्छर देख्ने पुच्छरका आँखामा सदैव पुच्छरले हान्ने चाहना । अचम्मको आधुनिकता ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button