
नेता बन्न सजिलो छैन
आफ्ना प्रजाको सुखसुविधालाई ध्यान दिने राजा राम हिन्दू धर्ममा देवताको रुपमा पुजिन्छन् । आफ्ना अनुयायीलाई हरतरहले सहयोग गर्ने कृष्ण पनि देवताको रुपमा पूजा गरिन्छन् । संसारमा दुःख देखेर त्यो दुःखबाट मानवमात्रलाई मुक्त गर्ने भनेर शान्तिको मार्ग खोज्ने गौतम बुद्ध भगवानको रुपमा मानिन्छन् । सामान्य मानवभन्दा आदरणीय मानेर आफ्नो नेताप्रति श्रद्धा गर्छन् जनता, उसको हरेक कुरा मान्छन् जसको बदलामा उनीहरू सुव्यवस्था चाहन्छन् ।
हिन्दू वर्णाश्रममा राजालाई विष्णुको अवतार मान्नु नेतृत्वप्रतिको श्रद्धा हो ।
कविता पन्थी
नेता बन्न पक्कै सजिलो छैन । नेता बन्नु र भन्नुमा पनि फरक छ ।
मानव सभ्यताको विकासक्रमसँगै नेतृत्वको अबधारणा पनि शुरू भयो । नेताप्रति एकदम विश्वासको भावना र निर्भरताको अवस्था पनि भयो । राज्य सञ्चालन होस् वा सामाजिक जीवनका अन्य काम होस्, नेताको आवश्यकता महसुस गरियो । यससँगै सँगै नेतामा हुनुपर्ने गुणको बारेमा पनि कुराहरू उठे । समाजका सबै पक्षमा नेतृत्वको महत्व भए पनि राजनीतिक नेतृत्वको बढी चर्चा र महत्त्व हुन थाल्यो । राजनीति देश सञ्चालनको मुख्य काम भएको कारणले राजनीतिक नेतृत्वको बढी चर्चा र महत्त्व भएको हो । जनताका अपेक्षा हरेक नेता, नेतृत्वकर्ताप्रति स्वाभाविक रुपमा बढी हुने नै भए । यस हिसाबले नेताप्रति जनताको विश्वास र भरोसा रहन्छ । जहाँ विश्वास र भरोसा हुन्छ, त्यहाँ अपेक्षा पनि हुन्छ नै ।
आफूले मानेको, विश्वास गरेको नेताले आफ्नो लागि बोलिदेओस्, आफ्नो लागि सोचिदेओस् भन्ने भावना आम नागरिकको हुन्छ । नेता हुनु सजिलो काम होइन, विचार र नेतृत्वशक्तिले आफ्ना अनुयायीलाई सन्तुष्ट पार्न सक्नु नै नेताको दक्षता हो । कुनै पनि क्षेत्रमा नेतृत्व लिनुलाई व्यक्तिगत फाइदाको लागि नभई समग्र समाजको, जनताको लागि भन्ने सोच्नुपर्छ । जसले जनअपेक्षा अनुरूप निस्वार्थ भई काम गर्छ, निश्चय पनि उसलाई जनताले मन पराउँछन्, समर्थन गर्छन् ।
हामीले विभिन्न कालखण्डमा असल, खराब नेतृत्वका आचरणका बारेमा पनि धेरै सुनेका छौं, पढेका छौ र प्रत्यक्ष अनुभूत पनि गरेका छौँ । राम्रोसँग आफ्ना जनताका सुख सुविधाका बारेमा सोच्ने, काम गर्ने गरेका कति देवमानवको बारेमा सुनेका छौ । आफ्ना प्रजाको सुखसुविधालाई ध्यान दिने राजा राम हिन्दू धर्ममा देवताको रुपमा मानिन्छन्, पुजिन्छन् । अझै पनि उनको नेतृत्व रामराज्य भनेर चर्चा हुन्छ, सुशासनको कुरा गर्दा रामराज्यको कुरा आउँछ । आफ्ना अनुयायीलाई हरतरहले सहयोग गर्ने कृष्ण पनि देवताको रुपमा पूजा गरिन्छन् । क्षणिक स्वार्थबाट माथि उठेर अरूको सुख सुविधाको लागि काम गर्न सक्नु नेतामा हुनुपर्ने गुण हो । संसारमा दुःख देखेर त्यो दुःखबाट मानवमात्रलाई मुक्त गर्ने भनेर शान्तिको मार्ग खोज्ने गौतम बुद्ध भगवानको रुपमा मानिन्छन् । उनको त्याग अनुपम छ । समाजले, व्यक्तिले पनि त्यही, आफ्नो समुहप्रति समर्पित नेतृत्वको अपेक्षा गर्दछ । आफ्नो नेतृत्व सबल र हरतरहले सक्षम हुन्छ भन्ने पनि चाहना हुन्छ । आफूलाई समस्या परेको बेलामा नेतृत्वले सहयोग गरोस्, अभिभावक बनेर उभिदेओस् भन्ने चाहना जनतालाई हुन्छ । आफ्नो समस्या सम्बोधन गर्न नसक्ने लाचार नेतृत्वलाई जसरी सम्मान गरेको थियो, त्यसरी नै अपमान पनि गर्न सक्छ । यी र यस्ता कुराहरू अहिलेका विभिन्न घटनाक्रमले पनि पुष्टि गरेका छन् । हिन्दू वर्णाश्रममा राजालाई विष्णुको अवतार मान्ने कुरा हुनु नेतृत्वप्रतिको श्रद्धा हो । सामान्य मानवभन्दा आदरणीय मानेर आफ्नो नेताप्रति श्रद्धा गर्छन् जनता, उसको हरेक कुरा मान्छन् जसको बदलामा उनीहरू सुव्यवस्था चाहन्छन् ।
नेता हुनु महत्वपूर्ण कुरा हो । नेता बनेर समाजको परिवर्तन गर्न सकिएन, कुनै निकायलाई नेतृत्व गर्दै गर्दा त्यो निकायलाई सबल तरिकाले चलाउन सकिएन भने नेतृत्व सम्हाल्नुको कुनै अर्थ रहँदैन । अहिले धेरै व्यक्तिहरुलाई नेतृत्वको भोक लागेको छ । नेता बनेर पार्टी, देश, समुदाय, कार्यालय, निकायलगायत विभिन्न क्षेत्रलाई हाँक्न मन लागेको छ । नेता बन्न खोज्दै गर्दा उहाँहरूले नेतृत्व ग्रहण गर्नु, कुनै पनि क्षेत्र निकायको नेतृत्व गर्नु निकै चुनौतीपूर्ण छ भन्ने कुरा बुझ्नु पनि आवश्यक हुन्छ । साम, दाम, दण्ड, भेद प्रयोग गरेर प्राप्त नेतृत्व दीर्घकालीन हुँदैन । नेतामा नैतिकता हुनुपर्छ । सेवाभाव हुनुपर्छ । कुनै कुराप्रति दृढ संकल्प हुनुपर्छ । शाब्दिक रुपमा भन्नुपर्दा पनि नेता शब्दको अर्थ शब्दकोशमा कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति; कुनै समाजमा नेतृत्व दिनसक्ने व्यक्ति; अगुवा: नाइके, नेतृत्व गर्ने भनेर लेखेको छ । नितिपूर्वक अगाडि बढ्नु नै नेताको गुण हो । अहिले विधिको शासन भनेको पनि यही हो । विधि अनुरूप कामकारवाही नहुँदा अराजकता हावी हुन्छ । व्यक्ति कानुनभन्दा माथि हुँदा न्याय व्यवस्थामा आघात पुग्छ, सामान्य जनता न्याय खोज्न सडकमा आउनुपर्ने, आन्दोलन नै गर्नुपर्ने भयो भने हिंसा मौलाउँछ । देशमा भएको संवैधानिक व्यवस्था माथि प्रश्नचिन्ह गर्नुपर्ने स्थिति आउँछ । मस्त्य न्यायको अवस्था आउँछ । शक्तिशालीको सबै क्षेत्रमा वर्चस्व हुन्छ । प्रजातन्त्र नाम मात्रको हुन्छ ।

त्यसकारण देशको अवस्था सप्रिनु र बिग्रिनुमा नेता जिम्मेवार हुनुपर्छ । आफू आफूमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नु सक्षम नेतृत्वको गुण हुँदै होइन । हरेक पक्षमा दोषारोपण गरेर आफु पानी माथिको ओभानो बन्ने प्रवृति बढेको छ । पद र प्रतिष्ठाको लागि पनि उत्तिकै लुछाचुँडी छ । राम्रो योग्य मानिस भन्दा पनि आफूले भनेको मान्ने मानिसलाई अवसर दिँदा आगामी दिनहरू झनै प्रत्युत्पादक बन्ने निश्चित नै छ । विचार र सिद्धान्तका कुराहरूलाई पैसाको खोलोले बगाइदिएको छ । नेतृत्व जनताका समस्याप्रति उदासीन छ । नेताप्रति जनताका अपेक्षा धेरै छन्, ती नेता जसको लागि रातदिन हिड्ने, हरेक कुराहरू अनुशरण गर्ने कार्यकर्ताहरु आफूलाई परिआउँदा नेतृत्वले बेवास्ता गरिदिंदा रुष्ट हुन्छन् । समय परिवर्तन हुँदैछ, विद्यमान राजनीतिक संस्कार प्रति जनताको निराशा बढिरहेको छ, आक्रोश चुलिदैछ । राजनीतिक नेतृत्व त अब कमाई खाने भाँडो जस्तो बनेको छ । राजनीति सबै क्षेत्रको मियो हुने हुँदा यो सबल र सक्षम नहुँदा अन्य क्षेत्रमा पनि यसको असर परेको छ । देशको राजनीतिक अवस्था सबल, सुदृढ नबनेसम्म जति नै कोशिश गरे पनि देशकाे कुनै पनि क्षेत्र राम्रो बन्न सक्दैन । त्यसकारण देशको राजनीतिक नेतृत्व सबल सक्षम हुनुपर्छ । आफ्नो लागि होइन, जनता र देशको लागि सोच्ने हुनुपर्छ ।
नेता बन्नु विलासी जीवन व्यतित गर्नु होइन, नेता जनताको सेवक हो, सुखदुःखको सहयात्री हो । जनता दुःखमा परेको बेलामा उनीहरूको सेवा गर्नु, उद्धार गर्नु नेताको उत्तरदायित्व हो । जनतासँगै उकाली ओरालीहरुमा हिँड्न सक्नुपर्छ नेता, जनतासँगै एउटै अस्पतालमा उपचार गराउन सक्नुपर्छ नेताले । जनताले व्यथित भएर आँसु बहाउँदा त्यो आँसु पुछ्न सक्ने सामर्थ्य नेतामा हुनुपर्छ । जनता र नेताको जीवनस्तर एउटै हुनुपर्छ । जनताका सेवक हुँ भन्ने, जनतालाई केवल आफ्नो सत्तप्रप्तिको साधन ठान्ने, सत्तामा पुगेपछि सम्पति संकलनकै पछि लाग्ने, शक्ति आर्जनमै लाग्ने नेताहरुको प्रवृत्तिका कारण आज नेता शब्द नै विवादित बनेको छ । यो शब्दप्रति सम्मान नै छैन ।
सभ्यताको आदिकालदेखि नै नेता समाजको विकासको लागि आवश्यक छ । असल र जनता र देशप्रति सच्चा रूपले समर्पित नेता वा शासकबाट नै देश र देशबासीको प्रगति हुन्छ । सदाचारी शासकबाट नै देशमा सुशासन कायम हुन्छ । यस्ता असल नेताहरु युगयुगसम्म स्मरणीय हुन्छन् । जीवन र जगतको शाश्वत सत्य नबुझी खाली म, मेरो र मेरा मात्र सोच्ने नेताहरुलाई समयले ढिलोचाँडो पाठ सिकाउँछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




सुन्दर प्रस्तुति,
कति राम्रो विश्लेशण,
तर, बिडम्बना !
हामी जसलाई नेता मान्छौँ, तिनीहरूमा न त नेतामा हुनुपर्ने एउटा मात्रै गुण छन् न हुने लक्षण नै ।