अविद्याको अन्धकारमा डोरीलाई सर्प ठान्छौं

विद्या र विद्यार्थी

दीन पन्थी

विद्या त्यो प्रकाश हो जसले भ्रमहरु हटाउँछ । हामी अज्ञानको अन्धकारमा असत्यलाई सत्य ठानी भड्किरहेछौं । विद्याले सत्यको स्वरुप चिनाउँछ । हामी अविद्याको अन्धकारमा डोरीलाई सर्प ठान्छौं तर उज्यालोमा डोरी चिनिन्छ ।

ज्ञान नहुन्जेल रहन्छन् भ्रमहरु । प्रकाश नहुन्जेल रहन्छ अन्धकार । अविद्यालाई अन्धकार र विद्यालाई प्रकाशसँग तुलना गरिन्छ । विद्या ज्ञान पनि हो विज्ञान पनि हो । विद्या सत्यको, ज्योतिको अमृतको प्रतीक हो । या विद्या सा विमुक्तये अर्थात् विद्या त्यही हो जसले मुक्ति दिन्छ । विद्याले जडताबाट, अज्ञानबाट, कूपमण्डूकताबाट, अहब्कारबाट मुक्ति दिन्छ । जीवनजगत्को यथार्थ बुझेपछि अहंकार रहँदैन । तत्वज्ञान भएपछि व्यर्थ स्वाब् लोकाचार, लाल्चा, आडम्बर रहन्नन् । संसार चिनेपछि कूपमण्डूकता रहन्न । चेतना खुलेपछि जडता त्यसै भाग्छ । फलेको हाँगो झुकेजस्तै विद्वान् पनि विनम्र हुन्छ ।

विद्या किताबबाट मात्र प्राप्त हुँदैन । अनुभूत ज्ञानराशि हो विद्या । किताब विद्याका साधन हुन्, साध्य होइनन् । किताबमा, श्रुतिस्मृति परम्परामा, अनुभूतिमा र नवीन अन्वेषणमा ज्ञानधारा प्रवाहित भएको हुन्छ । विद्या विश्वविद्यालयका तुलाले जोखिने वस्तु पनि होइन । यो संसार एउटा पाठशाला हो । यो प्रकृति विश्वविद्यालय हो । ज्ञानको भोक जोसँग छ त्यही विद्यार्थी हो । जसबाट सद्ज्ञान प्राप्त हुन्छ, तिनै गुरm हुन् । जीवनजगतका रहस्यहरु खोतल्दै जानु विद्याको काम हो ।

सुगा रटाइले रहस्यका ढोका खुल्दैनन् । विद्याकै सहाराले मान्छेले भूगर्भ खोतलेको छ, खगोल चहारेको छ, ग्रहनक्षत्रहरुको गणना गरेको छ, पदार्थहरुका गुण र स्वभावहरु पर्गेलेको छ । आखेट युगदेखि राकेट युगसम्मको मानवजातिको महायात्रामा विद्याको भूमिका सर्वोपरि छ । विद्याले धर्म, आत्मा, जीवन, मृत्यु, सौन्दर्य, पुरmषार्थ, मनजस्ता विषयहरुका अनन्त जिज्ञासालाई सम्बोधन गरेको छ । विद्याको सीमा छैन ।

नित्य नूतन कुरा आइरहन्छन् संसारमा । मानव सभ्यता अघि बढिरहन्छ । स्थापित मान्यतामै अल्झिएर बस्ने हो भने हामी जति हिडे पनि कोलका गोरु झैं जहाँका तहीं हुन्छौं । उपनिषद्ले भन्छ ‘चरैवेति, चरैवेति’ अर्थात् निरन्तर गतिशील बन, अघि बढ ।

हामीलाई लाग्छ झोलामा किताब बोकेर हिड्ने मात्र विद्यार्थी हो । हामीलाई लाग्छ विद्या भनेको सम्पत्ति आर्जन गर्ने कला मात्र हो । विद्यार्थीसँग त कहिल्यै नभरिने जिज्ञासाको झोला हुन्छ । किताबका कुरा सबै कण्ठ गरे पनि तत्व बुझिएन भने विद्वान् भइन्न ।

Ad

‘बडे–बडे पोथी पढकर पण्डित भए न कोय’ अथात् ठुल्ठुला ग्रन्थ रट्दैमा कोही पण्डित हुँदैन । सुकरातले कुन स्कूलमा पढेथे ? लियोनार्दो दा भिन्ची पढ्ने बेलामा स्कूलबाट भाग्थे । शेक्सपीयरले उच्च शिक्षा पढेका होइनन् विश्वविद्यालयमा । वेदव्यास र वाल्मीकिलाई पढाउने को थियो त्यतिबेला उनीहरुभन्दा श्रेष्ठ ? गोर्कीले विद्यालय कुचेनन् । सिद्धिचरण आठकक्षा फेल हुन् । बालकृष्ण समको औपचारिक शिक्षा इन्टरमिडियटसम्म हो । यिनीहरुले जगत्बाट सिके, जीवनबाट पढे ।

दत्तात्रेयका चौबीस गुरु थिए । पृथ्वी, परेवा, पुतली, माहुरीजस्ता गुरु थिए उनका । उनले पृथ्वीबाट क्षमाशील बन्नुपर्छ भन्ने सिके, परेवाबाट बढ्ता प्रेममा आसक्ति गर्न हुन्न भन्ने सिके, पुतलीबाट रुपमा आसक्त हुनुहुन्न भन्ने बुझे, माहुरीबाट बढी धनसञ्चय गर्न हुन्न भन्ने जाने । यसरी जिज्ञासा भए सिक्ने कुरा धेरै छन् जगत्मा । न्युटनले फल तल खसेको तथ्य खोज्दा गुरुत्वाकर्षण पद्धति पत्ता लगाए । यो जगत् नै विश्वविद्यालय हो ।

जोसँग विद्या हुन्छ, त्यसलाई विद्वान् भनिन्छ । विद्याको न कुनै सीमा छ न पूर्णता छ । छोटो जीवनमा मान्छेले पढेको बुझेको कुरा अत्यन्त अल्प हुन्छ । विद्या प्राप्त गर्न इच्छुक विद्याव्यसनी व्यक्ति नै विद्वान् हो । जोसँग सरलता छैन, अहंकारी छ, संकीर्ण छ त्यो विद्वान् होइन । मूर्खहरु आफ्नो अत्यल्प जानकारीलाई पूर्ण ठानी मख्ख पर्छन् । ममात्रै जान्ने हुँ भन्ने अविनम्र व्यक्ति सबैभन्दा मूर्ख हुन्छ । विद्वान्हरु त म केही जान्दिनँ भन्छन्, विनम्र हुन्छन् । अल्पज्ञानी खहरे झै गुड्कन्छ, ज्ञानी सागर झैं शान्त हुन्छ । विद्वान् समदर्शी हुन्छ, उदारचित्त हुन्छ । धनीहरुसँग झुकेर कुरा गर्ने र गरीबहरुलाई हप्कीदप्की गर्ने स्वभाव विद्वान्को हुँदैन । जुन विद्यामा मानवता, स्वाभिमान र स्वतन्त्रता छैन त्यो कुविद्या हो ।

कुविद्याभन्दा अविद्या राम्रो हुन्छ । नराम्रा कुराहरु लेखेको कागजभन्दा कोरा कागज राम्रो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button