ब्रेन बाइट्सः २७ बर्षपछि मदनले भने, ‘मसँग चुनाव लडिबक्सिओस्’

ओम बानियाँ

इन्द्रः धर्मराज चित्रगुप्त, मलाई च्यालेन्ज गर्ने त्यो मान्छे को हो हँ ? त्यो मान्छे कसरी स्वर्गमा आयो ?
चित्रगुप्तः यो मान्छेको नाम मदन हो महाराज, २७ वर्ष पहिला नेपालबाट आएको हो । यो मान्छे निकै ईमान्दार छ, स्वर्गमा पनि यसले निकै राम्रो काम गर्दै आएको छ । यसले स्वर्गको राज्य व्यवस्था बदल्न चाहन्छ !

इन्द्रः ए उसो भए त यो मान्छे हाम्रो लागि खतरनाक छ, यसलाई पुनः नेपाल नै पठाउने व्यावस्था गर । अँ, नेपाल पठाउँदा यसलाई कसैले चिन्न नसक्ने रुपरंग दिएर तथा पुरानो कुराहरु सम्झन नसक्ने बनाएर पठाइदेऊ, सिर्फ उसलाई नेपाल मेरो देश हो भन्ने मात्र सम्झना होस् ।
चित्रगुप्तः जो आज्ञा प्रभु !



अर्को दिन नै यमदूतहरुले मदनलाई नेपालमा ल्याए र ुतिम्रो देश यही हो अब यहीँ बस्नुु भनी छोडेर गए ।



मदनले एक मुठी माटो समाए र हातलाई छातीमा राखेः ‘मेरो धरती ! मेरो देश नेपाल !!’


मदनले रेडियो सुने, टेलिभिजन हेरे, पत्रपत्रिकाहरु पढे । जताततै अराजकता, शोषण, अन्याय अत्याचार तथा लूट, गरीब तथा किसानहरु बिचल्ली देखे । उनको आँखाबाट तपतप आँसु ढिका खसे । उनले आँसु पुछ्दै मुठी कसेः ‘अब म चुप बस्दिनँ । यो जंगलराजलाई जरैसँग उखलेर फ्याँकिदिन्छु !’


अनि उनले भाषण गर्दै हिडे, मानिसहरुलाई सम्झाउँदै गए, रातरात उनको पछाडि मानिसहरुको ओइरो लाग्यो ।


शनिवारका दिन, मदनले खुल्लामन्चमा आयोजना गरिने विशाल नागरिक सभालाई सम्बोधन गर्ने तय भयो । लाखौं मानिसहरु मदनको भाषण सुन्न खुल्लामन्चमा उपस्थित भए । रातारात यसरी तहल्का मच्चाउने मानिस को हो हेर्न, प्रचण्ड, शेरबहादुर, रामचन्द्र, माधव, बामदेव, झलनाथ तथा बाबुराम आदि नेताहरु पनि भिडमा लुकेर बसेका थिए ।


ओलीले राजन तथा सूर्यलाई पठाएका थिए ।


मदनको दम्दार भाषण शुरु भयो, ‘मलाई अचम्म के लाग्यो भने तँपाईहरुले के सोचेर एउटा छुचुन्द्रोलाई सिंहासनमा विराजमान गराउनु भयो ? हेर्नुहोस् त, सिंहासन पाएपछि गनाउने जाबो छुचुन्द्रोले कसरी आफुलाई सिंह ठानेको छ । यसको नतिजा तँपाईहरुले भोग्नु परेको छ, देशले भोग्नु परेको छ । अब यो छुचुन्द्रोको घाँटी समाएर काशीतिर मिल्काउनुपर्छ, नत्र यो छुचुन्द्रोले देश वर्वाद बनाउँछ ।’


‘मैले संविधान पढेँ, देश चाहीँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र रे ? तर जता हेर्यो, उतै महाराज-महारानीहरु मात्र छन् त ? महारानीज्यु, आफ्नो ठेगानमा बसिवक्सियोस्, आँखा धेरै नचम्काइबक्सिओस् । राजनीति गर्ने हो भने छुचुन्द्रोको कारिन्दा भएर होइन, मसँग चुनाव लडेर गरिबक्सिओस् ।’


मोबाइलको घण्टी बज्यो, निद्रा खुल्यो ।


जय होस्, शुभरात्री ।

(कला र प्रखर व्यंग्यको योग ‘ब्रेन बाइट्स’ लेखकको निजी विचार हो ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button