बाँच्नेहरु वरिपरि हुन्छन्, मान्छे एक्लै जल्छ चितामा

फगत् एक्लै

दीन पन्थी

मान्छे एक्लै जन्मन्छ र एक्लै मर्छ । मान्छेले अनुभूति पनि एक्लै गर्छ, कल्पना एक्लै गर्छ र विचार र चिन्तन–मनन पनि एक्लै गर्छ । मान्छे एक्लै भावनाहरुमा डुब्छ र एक्लै पश्चात्ताप गर्छ । मान्छेले एक्लै संकल्प गर्छ र एक्लै विकल्प गर्छ । मान्छेले एक्लै ध्यान गर्छ र एक्लै तपस्या गर्छ । जीवन–वनमा मान्छे नितान्त एक्लो छ, निसहाय छ र निरीह छ ।

बाँच्नेहरु वरिपरि हुन्छन्, मान्छे एक्लै जल्छ चितामा । यत्रो समाज, यतिका प्रियजनहरु केवल श्रद्धाञ्जलि दिन्छन् बिदाइका । जीवन बाँच्दै गर्दा बन्छन् मित्रहरु, शत्रुहरु । वासनामा रम्दा जम्छन् परिवारहरु, कुटुम्बहरु । स्वार्थमा जोडिन्छन् नाताहरु, स्वार्थमा तोडिन्छन् नाताहरु । यिनै माकुरेजालमा जेलिएर सकिन्छ मान्छे अन्तमा माउखानेहरुले खाएर । एक्लै आयो, एक्लै गयो । रित्तै आयो रित्तै गयो ।

के लिएर जान्छ अन्तमा मान्छेले ? केका लागि हुन् यी संघर्षहरु ? कसका लागि हुन् यी चिन्ता र सुर्ताहरु ? मान्छेका बाहिर हुन्छन् परिवारहरु, कुटुम्बहरु, बन्धुबान्धवहरु, समाजहरु । मान्छेभित्र अर्को मान्छे हुन्छ–नितान्त एक्लो, नाब्गो, अराजक र आदिम । मान्छेका बाहिर हुन्छन्–धर्म, आदर्श, प्रेम र सद्भावहरु । मान्छेका भित्र हुन्छन्– स्वार्थहरु, डरहरु, इच्छाहरु, वासनाहरु, मात्सर्यहरु र उद्दाम भोगाशाहरु ।

प्रेमका नखराहरुमा लुकेका हुन्छन् स्वार्थमय मैथुनेच्छाहरु । सेवा र परोपकारका लोकाचारहरुभित्र छिपेका हुन्छन् असीम लालसाहरु । आदर्श, नैतिकता त स्वाब् र ढोब् मात्र बन्न पुग्छन् । मान्छेभन्दा कुटिल, निर्दयी, स्वार्थी, छली र जाली प्राणी अर्को छैन जगत्मा । सम्बन्धहरु स्वार्थले जोडिएका हुन्छन् । उपनिषद् भन्छ– अत्मानं कामाय सर्वं प्रियं भवति । पतिका लागि पति प्यारो भएको होइन, पत्नीका लागि पत्नी प्यारी भएकी होइन । सबै आफ्ना स्वार्थका लागि प्रिय भएका हुन् । समाज, परिवार सम्पत्ति सबका सब आफ्ना लागि प्रिय भएका हुन् ।

सँगसँगै बस्दा पनि एक्लाएक्लै हुन्छ मान्छे । समूहमा बसे पनि मान्छेका चित्त र चिन्तन एक्लाएक्लै छरिएका हुन्छन् । मान्छेभित्रको मान्छे एकाकी, अराजक र असामाजिक हुन्छ । बाहिर धर्मिक देखिए पनि मान्छे भित्र पापी हुन्छ । यो जगत् पाखण्डी, धर्मध्वजी, भ्रष्ट र ढोंगीहरुले भरिएको छ । माया, प्रेम, सद्भाव, मैत्री, श्रद्धा, भक्ति पूजा कुनै पनि निष्काम छैनन् । जालझेलले भरिएको यस कुटिल जगत्मा सज्जन सदाचारीहरुको सदा हार हुन्छ । जीवन एकाँकी यात्रा हो ।

यात्रापथमा भेटिन्छन्, छोडिन्छन् यात्रीहरु । गन्तव्यमा एक्लै पुग्नुपर्छ मान्छेले । मान्छे मर्छ । मलामीहरु घाटसम्म पुग्छन् । हाँस्दै फर्कन्छन् मलामीहरु । परिजनहरु क्षणिक विलाप गर्छन् । प्रियजनहरु सहानुभूति प्रकट गर्छन् । शोकसभा हुन्छ । श्रद्धाञ्जलि अर्पण गरिन्छ । असामयिक निधनमा शोकोद्गारहरु प्रकट गरिन्छन् । किरिया हुन्छ । गरुडपुराण भनिन्छ, पिण्डदान हुन्छ । तमाम लोकाचार र स्वाब पूरा गरिन्छ । हामी एकजना मर्छौं, सकिन्छौं, दिवंगत आत्मा बन्छौं । यसरी नै सकिदै जान्छन् सबै–सबै ।

नमर्ने कोही छैन यस मत्र्यमा । जो उत्पन्न हुन्छ त्यो नष्ट हुन्छ । ज्यूँदाहरु तत्काल आफू नमरेकोमा ढुक्क र मख्ख छन् । हरेक मलामी यसरी नै लास बन्दै जान्छ । नयाँ थपिन्छन्, पुराना सकिन्छन् । पुराना पात झर्छन्, नयाँ पात पलाउँछन् । वन त रहिरहन्छ, पात झरेर गए पनि । भोलि पनि संसार चल्छ यसरी नै ।

Ad

हामी नभए पनि यी हिमालहरु यसरी नै उभिन्छन् । यी नदीहरु यसरी नै बग्छन् । यी सूर्य, यी चन्द्रमा यसरी नै उदाइरहन्छन्, अस्ताइरहन्छन् । हामी नभए पनि बैंस र वसन्त आउँछन्, मायाप्रीति लाइन्छन् यसै गरी । फूलहरु फुलिरहन्छन्, फलहरु फलिरहन्छन् । पातहरु झरिरहन्छन्, पातहरु पलाइरहन्छन् । यी पृथ्वी सँगसँगै जान्निन् कसैसित ।

नदीमा पानी बगेझैं बगिरहन्छ यो सृष्टि यसरी नै । प्रत्येक वर्तमान अतीतमा धकेलिन्छ यसरी नै । सूर्य एक्लै चम्कन्छ आकाशमा । चन्द्रमा एक्लै घुम्छ पृथ्वीका वरिपरि । तारा- नक्षत्रहरु एक्लाएक्लै घुम्छन् अनन्त ब्रह्माण्डमा । पृथ्वी एक्लै घुम्छिन् आफ्नो कक्ष र अक्षमा । मान्छेको एक्लोपन प्राकृत हो र समाज कृत्रिम हो ।

परिवारमा रमे पनि समाजमा जमे पनि प्रतिपल हामी भित्र एक्लै हुन्छौं । मान्छे-मान्छेको भिडमा पनि म त प्रत्येक मान्छे एक्लै–एक्लै देख्छु। संसार रंगीचंगी छ । रंगीन छन् समाजका व्यवहारहरु । गोजी छामेर नखरा गर्छे प्रेमिका । बैंस देखेर पछि लाग्छ प्रेमी । काम देखेर फुरुंग पर्छ मालिक ।

धन सकिएपछि कर्के आँखाले हेर्दिन प्रेमिका । बैंस निथ्रिएपछि तर्केर हिड्छ प्रेमी । बल सकिएपछि वास्ता गर्दैन मालिक । फूल वैलाएपछि भमराहरु बस्दैनन् फूलको बोटमा । तोरी फुल्न छाडेपछि माहुरीहरु आउन्नन् बारीमा । बूढो भएपछि मान्छे पनि उपेक्षित हुन्छ गोरु झैं । ब्याउन छाडेका बाख्रा र भैंसी बेचिन्छन् कसाईका हातमा । पूर्व उपकारीप्रति कृतध्न हुन्छ मान्छे ।

कहाँ छ धर्म ? कहाँ छ आदर्श ? कहाँ छ दया ? कहाँ छ कृतज्ञता ? मातापितालाई अनाथालयमा हुलेर सनाथ बन्छन् सन्तानहरु । नियतिको वशमा छ जीवन । विगत सम्झदै, भविष्यको आशा संगाल्दै मरुस्थलको एकाकी यात्रा गर्दै जानु हो जीवन । निर्लक्ष्य यात्रामा बरालिदै एक्लै मृत्युको मुखतिर लाग्नु हो जीवन ।

मान्छेसँग सधै न धन रहन्छन् न जन रहन्छन्, न यौवन रहन्छन् । खहरेका भेल झैं अस्थायी छन् यी । बिजुली झैं अस्थिर छन् यी । पानीका फोकाझैं अनित्य छन् यी । यिनीहरु भाग्छन् मान्छेलाई एक्लै छोडेर । समाजमा गरेका त्यागहरु भुलिन्छन् छिटो । संसार स्वार्थसाधनको कुरुक्षेत्र हो, जसले जित्छ त्यसैलाई सलाम गरिन्छ, जसले हार्छ त्यसलाई राक्षस भनिन्छ । यहाँ बलियाले निर्धालाई पेल्छ, बाठाले सोझालाई निचोर्छ । यो संसार मत्लबीहरुको सौदा गर्ने हाट हो । यही नीति हो समाजको । यही रीति हो परम्पराको ।

यहाँ कोही कसैको हुँदैन । यहाँ प्रत्येक मान्छे असहाय छ, एक्लो छ । यो संसार बटुल्दै र छर्दै जाने खेत हो । हामीले धेरै बटुल्यौं यहाँ । धन, बटुल्यौं जन बटुल्यौं, यौवन बटुल्यौं । अब छर्दै जानु पर्छ सबै । अब छाड्दै जानुपर्छ सबै । बोकेर जान मिल्दैन यिनी । राख्न मिल्दैन साथमा सधै ।

सबै छरेर बटुलेका जति निस्कनुपर्छ अब महायात्रामा एक्लै, फगत् एक्लै ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button